'रुख काटनुभन्दा अगाडि खुकुरीमा धार लगाउनु पर्छ। गन्तव्यमा पुग्नु छ भने एक सही दिशामा मात्र निरन्तर पाइला बढाउनु पर्छ।'
जति बेला उसका प्रायः साथीहरु आफूले चाहेको सफलताको उचाइमा पुगेर विजय उत्सव मनाइरहेका थिए, त्यतिबेला ऊ डायरीका पानाहरुमा सफलताका सपनाहरुको चित्र कोर्दै थियो। जतिबेला ऊसँगैका दौँतरीहरु समाजका चिर परिचित समाजसेवी, राजनीतिज्ञ, अधिकारकर्मी बनिसकेका थिए, त्यतिबेला ऊ समाज रुपान्तरणको खाका तयार गर्दै थियो।
त्यो एक समय थियो जहाँ ऊ जत्तिकै सक्षम इस्टमित्रहरु आफ्नो टन्न कमाईमा मोजमस्ती र मनोरञ्जनपूर्ण जीवन बिताइरहेका थिए। ऊ आफ्नो भविष्यको योजनाको लागि एक-एक पैसा वचत गर्दै थियो। जतिबेला उसका चिनेजानेका मानिसहरु आफ्नो प्रगतिका फलहरु भटाभट टिप्दै रमाइरहेका थिए। ऊ प्रगतिरुपी कलिला बिरुवामा मलजल हाल्दै थियो।
उसका वरपरका सबै सम्पन्नता र समृद्धिको ठूलो धरहरामा पुगेर तल जमिनमा नियाल्दै थिए। त्यो बेला जतिबेला ऊ आफ्नो हातले प्रगतिरुपी सिँडीको एक-एक किल्ला ठोक्दै थियो। उच्च शिक्षा अध्ययन सकेर प्रायः उसको हितैषीहरु शिक्षित र विद्वान भएको अनुभव गर्दै थिए। तर ऊ नयाँ नयाँ पुस्तकका पाना पल्टाएर शिक्षा, ज्ञान र सीप सिकि नै रहेको थियो।
ऊ रात-रातभर जागेर आफ्नो सपनाको रेखाचित्र रंगाउँदै थियो त्यो बेला। जति बेला अन्य मानिस सबै आफ्नो न्यानो विस्तरामा निदाएर रंगिन सपनाहरूमा रमाउँदै थिए। सबै आफ्नो आफ्नो जीवनमा सफलता, लोकप्रियता, समृद्धि र सन्तुष्टिको मार्गमा गन्तव्य भेट्न लागिसकेको थिए। तर ऊ बल्ल आफ्नो लागि गन्तव्य भेटाउने सही मार्ग पहिल्याउँदै थियो।
ऊ स्थानीय मिडियाको कार्यक्रम ज्यादा सुन्दैनथ्यो। राष्ट्रिय सेलिब्रेटी धेरैलाई चिन्दैन्थ्यो। राजनीतिज्ञ, नेता, मन्त्री या सांसद को-को छन्, उसलाई त्यति चासो हुँदैनथ्यो। टिभी, फेसबुक, टिकटक हेरेर समय बिताउनु गलत हो भन्थ्यो। अनावश्यक र अनुत्पादक कार्यमा बढी मेहनत गर्दैन थियो।
छरछिमेक, इष्टमित्र, आफन्तले उसलाई के भन्छन् मतलब हुँदैन थियो। पल्लो घर, वल्लो घरमा के हुँदैछ त्यो उसले थाह पाउँदैनथ्यो। उसकै सामुमा उसको आलोचना गर्नेहरुको सानोतिनो कुरामा ऊ ध्यान केन्द्रित गर्दैन थियो। उसको त महान् लक्ष्य थियो, ठूलो सोच थियो, कठोर परिश्रम थियो, विशाल दिशानिर्देश थियो र आफ्नो महान लक्ष्य प्राप्तिको लागि निरन्तर संघर्षरत थियो।
ऊ व्यापार, उद्योग, वाणिज्य, वित्तिय क्षेत्रको रिपोर्ट र लेखहरु पढ्थ्यो। उसलाई त ह्वाइट हाउस, युएन, युरोपेली युनियन वर्ल्ड ट्रेड युनियन, वाणिज्य संघमा के हुँदैछ भन्ने जान्दा र बुझ्दा नै फुर्सद हुँदैन थियो। बिबिसी, सिएनएन, बिजनेस वर्ल्डको समाचार सुन्थ्यो। बिल गेट्स, वारेन बफेट, जेफ बेजोज, ज्याकमा, विनोद चौधरी र टाटा ग्रुप जस्ता विश्व प्रसिद्ध व्यक्ति र कम्पनीको सफलताको कहानीबाट प्रेरित थियो।
पैसा, वित्त, पुँजी स्वरोजगारीको बारेमा लेखिएको सानो-सानो कुरा पनि डायरीमा नोट गरेर राख्थ्यो। कस्तो व्यापार व्यवसायले आर्थिक परनिर्भरता र बेरोजगारी हट्न सक्छ, अध्ययन गर्दथ्यो। सरकारको पैसा लिने त उसलाई रहर नै थिएन, ऊ त देशलाई आर्थिक संकट परेको बेला सहयोग गर्न चाहन्थ्यो, जसरी १९०७ को आर्थिक मन्दीको बेला उद्योगपति जेपि मोर्गनले अमेरिकालाई सहयोग गरेका थिए।
ऊ अरु जस्तो थिएन, उसले अरुले हिँड्ने बाटो कहिले पछ्याउन मानेन। अरुको सफलतामा कहिले जलेन। अरुको लोकप्रियतामा कहिले ईर्ष्या गरेन। उसको फरक सोच, फरक शैली, फरक विचार, फरक कार्यप्रणाली थियो। ऊ शारीरिक, मानसिक र आर्थिक रुपमा धेरै बलियो थियो, साथमा बौद्धिक, आध्यात्मिक, धार्मिक, र तीक्ष्ण बुद्धिको होनहार युवा थियो।
ऊ चाहन्थ्यो यस्तो कम्पनी खोल्न जसले देशको लाखौं युवालाई रोजगारी दिन सकोस्। यस्ता संस्थाहरु स्थापना गर्ने सपना देख्थ्यो जसले हजारौं अनाथ बालबालिकालाई शरण दिन सकोस्। यस्तो विद्यालय बनाउने कल्पना गर्थ्यो, जहाँ हजारौं गरिब बच्चाहरु निःशुल्क पढ्न सकून्। यस्तो आश्रम आमाबाबुको नाममा जहाँ हजारौँ वृद्धवृद्धाहरु आफ्नो घरमाभन्दा हाँसिखुसी बस्न सकून्।
ऊ यति पर्याप्त पैसा कमाउने तरिकाको खोजीमा तल्लीन थियो। जुन उसले सेवामूलक कार्यमा चाहेजति दान दिन सकोस्। ऊ आफू शक्ति सम्पन्न हुनु होइन, लाखौँ नेपालीको गरिबी र दरिद्रता अन्त्य गर्ने सामर्थ्य हासिल गर्न चाहन्थ्यो।
ऊ यस्तो केही आम्दानीको स्रोतको सृजना गर्दै थियो जसले जीवनकालभरि उसको पैसा सम्बन्धी आवश्यकता पूरा गर्न सकोस्।
एक यस्तो नेटवर्क या सिस्टम सुरुआत गर्न चाहन्थ्यो जसमा धन आर्जन गर्न उसले आफ्नो समय र स्वतन्त्रता खर्चिनु नपरोस्। यस्तो केही नयाँ, केही क्रान्तिकारी, केही परिवर्तनकारी र केही स्थायी जसले मानव सभ्यतालाई परिस्कृत बनाउँदै भोलिको पिडीँको लागि एक इतिहास रचोस्। एक अपरिहार्य अंग जस्तो कि फेसबुक, गुगल, कम्प्युटर, अमेजन र अलिबाबा या कुनै एक।
सबैको लागि त ऊ असफल, डरपोक, अल्छी या भनौँ केही गर्न नसक्ने एकान्तप्रेमी अचम्मको पात्र थियो। अनि त यता उता चारैतिर उसको कुरा हुँदा सबैले ओठ लोपारी हाल्थे र सजिलै भनि पनि हाल्थे 'त्यो सानो हुँदा कति पढाकु, जान्ने, होनहार साथी थियो हाम्रो। के-के नै गर्ला जस्तो थियो तर केही गर्न सकेन। ऊसँगै पढ्ने फलानो ढिस्कनोले यो गरे, त्यो गरे, यस्तो भए, उस्तो भए, यति कमाए, उति कमाए।
उच्च शिक्षा प्राप्त गरेर अर्काको नोकर बन्नु उसलाई मन्जुर थिएन। सरकारी अधिकृतको ५०/६० हजारको तलबले उसका सम्पूर्ण आवश्यकता पूरा हुन्छ भन्ने उसलाई छँदै थिएन। अझ सरकारी अफिसर भएर सरकारी गाडीमा हुइँकिने या भनौँ अघिपछि कार्यकर्ता लिएर हिँड्ने उसको राजनीतिज्ञ साथीहरुको लोकप्रियता र जिन्दावाद पनि उसलाई महान् लागेन।
१० देखि ५ को नोकरी गरेर उसको सपनाहरू पूरा हुन्छ भन्ने उसलाई पटक्कै थिएन। जीवनकालभरि आफ्नो एक-एक मिनेट बेचेर पैसा कमाउनु र धन कमाउने बाध्यताले आफ्नो स्वतन्त्रता र सपनाको बली चडाउनु उसलाई स्वीकार्य थिएन। समाजमा भाषण, आसन ग्रहण र सभा सम्मेलनमा उसका दौँतरीले पाउने त्यो सम्मान र तालीको गुन्जनलेसम्म उसको मन मस्तिष्क हल्लाउन सकेन।
चाहनु हो मनैदेखि भने त ऊ सरकारी अफिसर, प्रोफेसर, बैंकको प्रमुख, समाजसेवी, नेता या जुन पदवी पनि पाउन सक्थ्यो। किनकि ऊ लगनशील, मेहनती, तीक्ष्ण बुद्धिको धेरै अनुशासित व्यक्ति थियो। तर, उसले देखिन लायक केही गरेन। गुजाराको लागि एक निजी कम्पनीमा एकाउन्टेन्टको काम गर्थ्यो जुन उसको स्तर र योग्यताभन्दा धेरै तल थियो। तर त्यो संस्थाको उत्कृष्ट कर्मचारी ऊ नै थियो।
ऊ धेरै फरक, गम्भीर र ठूलो सोच्दथ्यो र उसका गफहरु पनि त्यस्तै हुन्थे। उसको यस्तै बोली र व्यवहारको कारण उसलाई 'मिस्टर हावाराम' भनेर चिन्दथे। ऊ हरेक काम गर्न सम्भव छ भन्थ्यो। अनि अरुको सानोतिनो सफलतालाई महान् उपलब्धि मान्दैनथ्यो।
काम, श्रम, मेहनत, सत्य, न्याय, इमान्दारिता, धर्म, संस्कारको वकालत गर्थ्यो। 'जस्तो सोच्यो त्यस्तो पाउन सकिन्छ' भन्थ्यो अनि आकर्षणको नियममा ज्यादा विश्वास गर्थ्यो। बिल गेट्स, ज्याक मा, मुकेस अम्बानी, जेफ बेजोसको सफलता हेरेर यस्तो पो गर्नु पर्छ त भनी अरुलाई उक्साउथ्यो।
कसले के भन्छ? कसले के सोच्छ? लगभग उसलाई सबै थाहा थियो तर ऊ कसैको वास्ता नै गर्दैनथ्यो। जसले जे भन्छन् सुनीमात्र रहन्थ्यो। जसले जति व्यंग्य हाने पनि हाँसीमात्र रहन्थ्यो। उसलाई माया गर्ने उसका शुभचिन्तकको मन पोल्थ्यो। उसलाई अरुले गरेको त्यो हेला, व्यंग्य, अपमान र हीनता देखेर तर उसलाई केही हुँदैनथ्यो। उसलाई निरास, उदास र दुखी देख्नु असम्भव जतिकै थियो।
समय आफ्नै गतिमा चलिरहेको थियो। सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महिना, वर्ष गर्दै समयले आफ्नो यात्रा अघि बढाइ नै रहेको थियो। धेरैको धेरै प्रगतिका कुराहरु सुन्नमा आए। कतिका महान् उपलब्धिहरुलाई पत्रिका र संचार माध्यमले हेडलाइन बनाएर छापिरहेका थिए। कयौंको सफलताको बारेमा गाउँ टोलमा चर्चा परिचर्चा चलिरहेका थिए।
कति थिए जो आफू सफल र प्रसिद्ध भएकोमा गर्व गरिरहेका थिए। कति आफू धनी र सम्पन्न भएकोमा घमण्ड गरिरहेका थिए। यो त्यो समय थियो जहाँ केही गर्न सक्दैन भन्ने अनुमान गरिएकाहरु र औसतभन्दा धेरै तल रहेका युवा युवतीहरु पनि समाजमा देखिन योग्य पद, पैसा र प्रगती प्राप्त गरिसकेका थिए। देखाउन योग्य केही गर्न असफल एउटै नाम थियो 'मिस्टर हावाराम।'
धेरैको बारेमा धेरै कुरा सुनियो। तर उसको बारेमा केही कसैले सुनेन। धेरैको सफलताको बारेमा धेरै तारिफ र चर्चा भयो। तर उसले तारिफको एक शब्द कहीँ पाएन। धेरैको सम्पत्तिको बारेमा धेरै बढीबढाई भए तर उसले त धन कमाएकै थिएन। ताली, भाषण, सम्मान, पदक र आसन ग्रहणमा धेरैलाई बोलाइयो, तर ऊ कुनै मञ्च र गोष्ठीमा देखिएन।
ऊ सफल योग्य, धनी, परिचित, लोकप्रिय थिएन। त्यसैले ऊ कसैको चासोको विषय बनेन। ऊ उसका साथीभाइ, इस्टमित्र, आफन्त, छरछिमेक नातागोता, चिनजान, सानो ठूलो कसैको सम्झनामा थिएन। किनकि ऊ कसैको सम्पर्कमा थिएन या भनौँ ऊ सम्पर्कमा राख्न योग्य व्यक्तिहरुको लिस्टमा परेको थिएन।
सुरुसुरुमा त 'मिस्टर हावाराम' भन्दै खिसी गर्ने र व्यंग्य गर्ने बहानामा भएपनि उसको यताउता कुरा हुन्थ्यो। तर, अब त समयले पनि एक दशक काटिसकेको थियो। अब त मिस्टर हावाराम सबैको मस्तिष्क र स्मरणबाट हटिसकेको थियो। सबैले प्रायः सबैलाई सम्झिन्थे तर यतिका दिनमा ऊ कहाँ छ? के गर्दै छ? कसैले खोजी नै गरेन।
नयाँ नेपालमा समाज रुपान्तरणको प्रकृया जारी थियो। आधुनिक प्रविधि, उद्योगधन्दा, कल कारखाना, संघ-संस्थाहरु भटाभट खुलिरहेका थिए। बैँक, विद्यालय, कारखाना, उद्योग, सरकारी र गैरसरकारी संस्था दिनानुदिन बढ्दै थिए जसमा सक्षम युवा जनशक्तिहरुले आफ्नो सीप र श्रम प्रस्तुत गर्ने अवसर पाइरहेका थिए। समाजमा जल्दाबल्दा नयाँ अनुहार भित्रिने क्रम जारी थियो।
प्रायः काम, रोजगार र सेवाको प्रकृति बदलिँदै गइरहेको थियो। विज्ञान प्राविधिक ज्ञान, सीपमूलक शिक्षा, व्यवहारिक ज्ञान र व्यक्तित्व विकासमा उच्च श्रेणीमा रहेका दक्ष उमेदवारहरुले राम्रो तलब र सेवा सुविधा उपभोग गरिरहेका थिए।
पुरानो ज्ञान, सीप, कला, क्षमता, योग्यता र कलाकौशलको सट्टामा नवीनतम, प्राविधिक, आधुनिक र व्यवहारिक ज्ञानको माग बढिरहेको थियो भने योग्य र सक्षम कर्मचारीलाई बढाइचढाई पारिश्रमिक दिन प्रयास कम्पनी तयार थिए।
उद्योग, कलकारखाना, कम्पनी, फ्याक्ट्री जस्ता उत्पादनमूलक कार्यक्षेत्रमा नयाँ पिडीँकै माग ज्यादा हुँदै थियो भने दशक अघि उच्च दर्जामा छानिएका काम, सेवा या जागिरहरु समयसँगै हराउँदै गइरहेका थिए। पुरानो र अनुभवी कर्मचारीलाई पेन्सन र थप सेवा सुविधा सहित बरखास्त गर्दै रोजगारदाता निकायहरु नयाँ युवा जनशक्तिलाई धमाधम भर्ना गर्दै थिए।
यो एक दशकपछिको दृश्य हो जहाँ दशक अघि जल्दाबल्दा, सफल र प्रसिद्ध मानिएकाहरु समेत ओझेलमा पर्दै गइरहेका थिए।
कम्पनी, संस्था, उद्योग, कलकारखाना, संघ-संस्थाहरु एकअर्कामा प्रतिस्पर्धा गर्दै समाज र राष्ट्रलाई विकासको बाटोमा डोर्याउँदै थिए। अझ त्यसले सृजना गरेको रोजगारीको अवसरले कैयौंको घरगृहस्थी राम्रोसँग चलिरहेको थियो। धेरै उच्च स्तरका कम्पनी गाउँमा खोलिनाले गाउँका युवा जनशक्ति काम खोज्न अन्त जानु परेको थिएन। प्रतिभा पलायन र युवा बेरोजगारीको विकराल समस्या न्यूनीकरण भएको महसुस गाउँबासीले गरिरहेका थिए।
यस्ता रोजगारदाता कम्पनीहरुको प्रतिस्पर्धामा सबभन्दा उच्च सम्मानित, पहिलो दर्जाको र धेरै युवाले रुचाएको कम्पनीको रुपमा स्थापित हुँदै थियो एक कम्पनी 'एमएचआर ग्रुप एन्ड कम्पनी'।
हरेकको जनजिब्रोमा झुन्डिएको, सबैले रोजेको, सबैको आड भरोसा र विश्वासको सहयात्री बन्दै थियो एमएचआर ग्रुप एन्ड कम्पनी। को होला जसले एमएचआरको नाम नसुनेको होस्, न त कोही होला जो यसको कुनै न कुनै सेवाको सदस्य या उपभोक्ता नभएको होस्।
क्षमता प्रस्तुती, सम्मानजनक पद, उचित सेवा, आशलाग्दो तलब, भत्ता, सञ्चय कोष, बिदा या प्रायः सबै विधामा अन्य रोजगारदाता निकायहरुलाई उछिन्दै कर्मचारीको मन जित्दै थियो एकातिर भने उत्पादन, वितरण, सेवा, भरोसा या हरेक विषयमा ग्राहक र सेवाग्राहीको पहिलो रोजाइ बन्दै थियो एमएचआर ग्रुप एन्ड कम्पनी र यसका प्रोडक्ट तथा सेवाहरु।
एमएचआरको स्वामित्वमा एक विद्यालय थियो जसमा बच्चा पढाउन पाउनु आमाबाबुको लागि गर्वको विषय थियो। एक हस्पिटल जुन सस्तो, सुविधाजन्य,विश्वासनीयताको कारण बिमारीको पहिलो रोजाइ थियो। एक पाँच तारे होटल जहाँ उच्च पद र अन्तर्राष्ट्रिय स्तरको बैठक र सम्मेलन हुन्थ्यो।
एक अन्तर्राष्ट्रिय उत्पादन कम्पनी जसले धेरै प्रोडक्ट बजारमा ल्याइरहेको थियो। यति त छँदै थियो, सबैभन्दा ठूलो यो कम्पनीको विशेषता भनेकै सेवामूलक संस्था, अनाथ आश्रम र वृद्धा आश्रममार्फत कम्पनीको मुनाफाको धेरै हिस्सा सवाजसेवा र मानवसेवामा खर्चंदै थियो।
यस्ता अनेकौं विशेषताका कारण एक प्रगतिशील र माथिल्लो दर्जाको अन्तर्राष्ट्रिय कम्पनीको रुपमा सम्मानित थियो एमएचआर ब्रान्ड। सरकारी सेवा सुविधा छोडेरसम्म कयौं कर्मचारी त्यसको पदपूर्तिको फाराम र इन्टरभ्यू धाइरहेका थिए। सबैको एउटै प्रश्न थियो दिमागमा, 'आखिर कुनै कम्पनी यति छोटो अवधि मा यति विश्वासनीय सफल र लोकप्रिय कसरी बन्न सक्छ? आखिर कसरी र कसले सम्हालेको होला यति ठूलो संस्था?'
केही समयपश्चात् अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन महोत्सव त्यही गाउँमा हुने निश्चित भयो जहाँ वृद्धाश्रम, बाल आश्रम र सेवामूलक संस्थाहरु खोलिएको थियो। देश विदेशबाट व्यापार, अर्थ, वित्तिय र लगानीको क्षेत्रमा ख्यातिप्राप्त उद्योगी, व्यापारी, लगानिकर्ता सबै त्यही गाउँमा भेला हुने तय थियो जसको कारण गाउँको रौनक नै फरक थियो।
पूरा गाउँलाई दुलही जस्तै श्रृंगारिएको थियो भने आगन्तुक अतिथिको सेवा सत्कारको लागि उच्च स्तरीय सुरक्षा, खानपिन, बसोबास, भ्रमण संचार आदिको प्रबन्ध मिलाइएको थियो।
त्यहाँ पाल्न लाग्नु हुने व्यापारिक साम्राज्यको बादशाहहरुको बीचमा विशिष्ट अतिथिको रुपमा एमएचआर ग्रुपको सिइओ पनि प्रहिलो पटक त्यहाँ आउने खबरले गाउँबासीको खुसीको सीमा थिएन। कोही आफ्नो लागि काम माग्ने, कोही छोराछोरीको लागि जागिरको भनसुन गर्ने त कोही आफ्नो संस्थाको लागि केही चन्दा माग्ने, सबैको योजना आ-आफ्नो थियो।
अन्तत: त्यो पल आयो जहाँ गाउँमा पहिलो पटक भव्य र सव्य कार्यक्रम 'अन्तर्राष्ट्रिय व्यापार, उद्योग र पर्यटन महोत्सव' सुरु भयो। यति विशाल कार्यक्रम योभन्दा पहिला सम्भवत कसैले अवलोकन गरेको थिएन।
औपचारिक कार्यक्रम, आसन ग्रहण, राष्ट्र गान, स्वागत मन्तव्य र अतिथिको भासण सुन्ने क्रम जारी नै थियो। आधा कार्यक्रम सकिनै लाग्दा सबै मौन भए। स्टेजमा रहेका सबैले प्रमुख गेटतर्फ एकटक हेरिरहेका थिए। उद्घोषकले लामो कपिको पाना हातमा बोकेर कसैको काम, योगदान, पदक, सम्मान र समाजसेवाको चर्चा गरी नै रहेको थियो।
निलो सुट, सेतो सर्ट, रातो टाई, टल्कने जुत्ता, सानो चस्मा लगाएको उच्च व्यक्तित्वको धनी एक युवक मञ्चमा चडे, वरपर दुई/तीन जना अंगरक्षक सुरक्षाको लागि स्टेज तल बसिरहेका थिए। उच्च आदर सम्मानको साथ विशिष्ट अतिथिको आसन ग्रहण गराउँदै प्रमुख अतिथिको छेउको सोफामा बसाएपछि हल्लाखल्ला सुरु भयो।
त्यहाँ उपस्तिथि गाउँबासीले बुझिहाले कि उहाँ नै हो एमएचआर ग्रुपको प्रमुख। 'कति सानो युवा पो रहेछ! हैन यो त कता-कता देखे जस्तो छ! हेर्दै कति इमान्दार पो रहेछ। कसको छोरा होला नि यति जान्ने! हैन धेरै पढेको छ्न् अरे नि त!' खासखुस खासकुस यस्ता कुरा चली नै रहे लगभग आधा घन्टासम्म।
एकछिनपछि मञ्चबाट उद्घोष भयो, 'अब आजको यस कार्यक्रमको विशिष्ट अतिथि आफ्नो कार्य व्यस्तताको कारण हामीबाट बिदा मागेर जाँदै हुनुहुन्छ। यो महोत्सव उद्घाटन कार्यक्रमपछि यसै गाउँको स्थानीय प्रतिनिधि र राजनीतिज्ञहरुसँग उहाँको युवा स्वरोजगार, समाज सुधार र सुरक्षाको विषयमा छलफल छ। त्यस पश्चात् यहाँ आज नै भारतको नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ एउटा नयाँ प्रोजेक्टको अन्तिम छलफलका लागि।
बिदा मागेर जानु अगाडि केही शब्द राखिदिनु हुन हार्दिक अनुरोध गर्दै निमन्त्रणा गर्दछु, उद्योगपति, व्यापारी, लगानिकर्ता, समाजसेवी युवा, सृजनशील युवा व्यक्तित्व, एमएचआर ग्रुप एन्ड कम्पनीका एकल मालिक मिस्टर हिमालराज शर्मालाई।'
हिमालराज शर्मा? हिमाल राज? त्यहाँ उपस्थित प्रायः धेरैको दिमागले त्यही नाम दोहोर्याई रहेको थियो।
माइक्रोफोन हातमा पर्नासाथ सबैलाई अभिवादन र अभिनन्दन गर्दै त्यस ठाउँमा उपस्थित जनसमुदायमा उनले एउटा प्रश्न राखे 'आजको लगभग १५ वर्ष अगाडि यो गाउँमा बसोबास गर्नुहुने को-को हुनुहुन्छ? कृपया हात उठाइदिनु हुन अनुरोध गर्दछु!'
लगभग आधाभन्दा बढी जनसमुदायको हात उठ्यो।
'मलाई चिन्नु भयो?'
सबै मुखामुख हेराहेर गर्न थाले।
'म यही गाउँमा जन्मेको। यहीँको सरकारी स्कुल र कलेज पढेको। यही गाउँको हावापानीमा हुर्किएको केटा हो नि। अहिले व्यस्त भएर मात्र हो केही वर्ष आफ्नो गाउँ आउन नपाएको।
यो कार्यक्रमको आयोजना मैले आफ्नै गाउँमा गर्न लगाएको नै आफ्नो गाउँ, आफ्नो आमाबुबा, दाजुभाइ, दिदीबहिनी अनि तपाईहरु सबैसँग भेट्न् मन लागेर नै हो। म नै हुँ हिमालराज, एमएचआर ग्रुपको सिइओ। एमएचआर पूरा अर्थ हो- मिस्टर हावाराम!
मैले स्वीकार गरेँ हजुरहरुले मायाले त्यो बेला दिएको यो नाम। हो! म नै हुँ मिस्टर हावाराम। उहीँ तपाईहरुको प्यारो मिस्टर हावाराम!'
सबैतिर खैलाबैला मच्चियो। मिस्टर हावाराम? मिस्टरहावा राम?? हिमालराज? कि हावाराम?
'एमएचआर ग्रुप एन्ड कम्पनी मेरो मात्र कम्पनी होइन, यो तपाईं हरु सबैको साझा सम्पत्ति हो। यो ती हरेक मिस्टर हावारामहरुको सपना हो जो भिडको नक्कल गर्नुको सट्टा भिडभन्दा केही फरक गर्ने महान् लक्ष्य राखेका छन्। ती महान हस्तीहरुको यो साझा धरोहर हो जो सपना देख्ने र सपनालाई साकार बनाउने हैसियत राख्दछन्।
हाम्रो संस्था ती महानायकहरुको सम्मान गर्दछ जो आज बाटो खन्दैछन्, भोलि त्यसमा कालोपत्र लगाउने छन्, अनि पछि त्यही बाटोमा हजारौं सफलताका कारहरु कुदिरहेका हुनेछन्। हामी त्यस्ता ऐतिहासिक व्यक्तित्वहरुलाई सदा साथ, हौसला र सहयोग दिन अग्रसर हुनेछौँ जो पुरानो इतिहास रटनमा होइन, नयाँ इतिहास लेख्नमा समय बिताउने साहस राख्दछन्।
यो म जस्ता 'संघर्षको समयको मिस्टर हावाराम' र 'सफलताको समयको मिस्टर हिमालराज' हरुको कम्पनी हो। सफलता प्रगती र परिवर्तन सम्भव छ भाइबहिनीहरु, मात्र लक्ष्य र मेहनत अनि संकल्प बलियो हुनुपर्छ।
पटक पटक सफल भइ रहेको व्यक्ति केही महान कार्य गर्छ भने त्यो एक हेडलाइन मात्र बन्दछ। तर, पटक-पटक असफल भइरहेको व्यक्ति केही महान् कार्य गर्छ भने त्यो एक इतिहास बन्दछ। यो इतिहास रट्ने समय होइन, यो इतिहास रच्ने समय हो।
धन्यवाद! यो 'मिस्टर हावाराम' लाई अरबपती, उद्योगपति, समाजसेवी एक सफल व्यक्तित्व 'मिस्टर हिमालराज' बनाइ दिनु भएकोमा। इट्स नो टाइम टु टेक टाइम। थ्यांक्स्।'
तालीको गुन्जनले पूरा स्टेज, पन्डाल, कार्यस्थल साथमा पूरा गाउँ नै गुन्जयमान भयो। सुन्न त त्यस ठाउँमा उपस्थित सबैले सुने। बुझ्नेले कति बुझे, कतिले केही पनि बुझेनन्। लाज र पश्चातापले कति रातो पिरो हुँदै निहुँरिए। कतिको शिर गर्वले उच्च भए। कति-कति उसको सफलताको कहानी दोहोर्याइरहे।
त्यो बेला यस्तो लाग्दै थियो मानौँ ऊ सँगैका सारा दौँतरीहरु छुटिरहेका थिए पछाडि नै तर ऊ बढिरहेको थियो अपार सफलताको मार्गमा। एक्लै होइन, दुक्लै होइन। पूरा युनिट, पूरा टिम, पूरा कम्पनीको साथमा। अब पछाडि फर्केर हेर्न ऊसँग समय नै कहाँ छ र! उसको त एक सेकेन्डको मूल्य अरुको २४ घन्टाभन्दा बढी नै होला!
बधाई छ! संघर्ष र सफलताको मिसाइल मिस्टर हावाराम! हामी गर्व गर्छौ तिमीमा।