कतै फेसबुकमा पढेको थिएँ- 'रिसाउनु पूर्व दश पटक सोच्ने गर्नू ताकि त्यो रिसले आफैलाई कति हानि गर्छ भनेर।'
हो, मैले यो पढेदेखि धेरै पटक उठ्न लागेको रिस पनि पछि यसले आफैलाई केही नोक्सान गर्ला कि भनेर कन्ट्रोल गर्दै आएको थिएँ। तर होइन रहेछ, रिस कन्ट्रोल गर्नु भनेको स्पीडमा दगुरिरहेको गाडीमा झ्याप्प ब्रेक हान्नु भन्दा निकै जोखिम रहेछ।
मनले रिस कन्ट्रोल गरेपनि शरीरमा रिस बाँकी रहिरहँदो रहेछ। यसैले त बोलि, व्यवहार, हाउभाउमा प्रस्टै देखिँदो रहेछ रिस। त्यसैले आजकाल म रिस रोक्नु भनेको हाछ्यू रोक्नु जस्तै घातक हो भन्दै बरु स्टेप बाइ स्टेप रिसाउनुहोस् तर नरोक्नुहोस् भन्दै अरुलाई पनि यही सिकाइरहेको थिएँ।
तर यो त अरुलाई अर्ति दिन जति सजिलो छ, आफूलाई त्यही कुरा लागु गर्न धेरै गाह्रो पर्दो रहेछ। अरुलाई यस्तो गर, उस्तो गर भन्दिए भैहाल्यो त, आफूलाई लागु गरेर देखाउनु पर्दो रहेछ।
हो, यही रिस कन्ट्रोल गरेर देखाएकै कारण भनौँ वा सेवाग्राही रिसाउँदा पनि चुपचाप कामतिर नै ध्यान दिएको कारण उसले मलाई बुद्धको उपाधि दिएको थिई। ऊ अर्थात् मेरै अफिसको सहकर्मी।
उसले मेरो स्वभाव धेरै विचार गरेर बुद्ध जस्तै तपाईं पनि रिसाउनु हुन्न भनेर तुलना गरेको हो भन्थी तर उसको उपाधि मैले स्वीकार गरेको थिइनँ। किनकि रिस त मलाई भंयकर उठ्यो तर म अगाडि रिस नदेखाएर कहिलेकाहीँ पछाडि देखाउँथेँ।
सँगै बसेको साथीले रिस उठाउमा उसको ब्रसले ट्वाइलेट सफा गर्नेदेखि हाकिमले रिस उठाउँदा हाँडीघोप्टे, असत्ती भन्दै फेसबुकमा स्टाटस लेखेर 'वान्ली मि' गरेर पोस्ट गरेको छु। मलाई यस्तो गर्दा औधी आनन्द लाग्छ।
कहिले काहीँ मलाई पनि नुवाकोटमा उठेको रिस काठमाडौंको कोठामा पुगेपछि सिरक ओढेर ने किन नहोस्, कोट्याउँदै खाटमा मुड्की बजार्न मन लाग्छ।
अरुबेला मलाई खासै शंका नगर्न मेरी सहकर्मी जोसँग मेरो कुनै नाता सम्बन्ध थिएन र छैन पनि तर ऊ र म भावनात्मक रुपमा एक थियौँ। उसका र मेरा धेरै कुराहरु मिल्थे। उसले मैले लुकाउन खासै बाँकी कुनै कुरा थिएनन्।
कामकै कुरामा मैले एकदिन उसलाई सोधेको थिएँ, 'मेरो कतिको विश्वास गर्छौ?'
अरु स्टाफ भएका बेला हामी तपाईं तपाईं लगाएर बोले पनि अफिस बाहिर, फोन, फेसबुक र अरु स्टाफ नभएका बेला तिमी लगाएर बोल्ने गरेका थियौँ। मैले कतिको विश्वास लाग्छ भनेको दिन उसले 'म त तिम्रो आँखा चिम्लेर विश्वास गर्छु' भनेकी थिई। मैले उसको कुरा विश्वास नगर्दा उसले सिधैँ अफिस मास्तिर रहेको वनदेवी थानतिर देखाउँदै कसम खाएकी थिई।
एकदिन काठमाडौं जाने क्रममा अफिसबाट हाकिम साप, ज्योत्सना म्याम र म परेका थियौँ। ड्राइभरको छेउको सिटमा हाकिम साप बसेका थिए। पछाडि ज्योत्सना म्याम र म बसेका थियौँ। उसले सोचेकी थिई ज्योतस्ना म्याम ड्राइभरको छेउको सिटमा बसिदिए, पछि हाकिम साप र म बसौँ। तर उसले सोचेजस्तो भएन।
ऊ अलिक फन्किँदै मलाई कर्के आँखा तर्दै बाई पनि नभनी फन्किएर हिँडेकी थिई। हामी जाँदै थियौँ, देवीघाट पनि नकटी ज्योत्सना म्यामले टिकटक भन्दै भिडिओ बनाएर अपलोड गरिहालिन्। त्यसपछि त कृतिकालाई के चाहियो र, उसले फोन गर्न थालि हाली।
अब गाडीमा बारम्बार उसकै फोन उठाउन अप्ठ्यारो हुने देखेर एक/दुई पटक मैले फाइलको कुरा गरेर टारेको थिएँ। तर उसले बारम्बार फोन गरेपछि फोन साइलेन्समा राख्नु परेको थियो।
काठमाडौ कोठा पुग्दा उसको सत्र मिसकल र सात मेसेज थियो। फेसुबकमा पनि उस्तै थियो। मैले कल ब्याक गरेँ। उसले सिधैँ कस्को कोठामा भनेर ठाडै प्रश्न गरी। ए बाबा, कसको कोठामा हुनु नि, आफ्नै कोठामा हो भन्दा उसले भिडिओ कल गर भनी।
मैले भिडिओ कल गरेँ। कोठाको सबै देखाएपछि पनि किन ढिला? कि त्यो ज्योत्सेकोमा गएर आएको समेत भनी। 'हैन यार, तिमी त आफ्नै कुरामा पनि अडिरहिनछौ। कहिले आँखा चिम्लेर विश्वास गर्छु भन्छौ, कहिले शंका पनि हद गर्छौ किन हो यस्तो?' मात्रै भनेको थिएँ उसले त ज्योत्सना म्यामको पुरै भूत, वर्तमान र भविष्यको जन्मकुण्डली नै भन्न थाली।
'भयो हजुर, भयो पुग्यो' भनेर फोन काटेको, उसले उतैबाट फेरि फोन गरेर यस्तै अन्टसन्ट कुरा गर्न थाली।
ऊ थिई नै यस्ती। विश्वास आँखा चिम्लेर गर्छु भन्छी अनि शंका पनि नाना तरहका गर्थी। जसले बढी पाप गर्छ नि उसैले बढी धर्म गर्छ भनेको कतै सुनेको थिएँ। हो, जसले बढी विश्वास गर्छु भन्छ उसैले पल पलमा शंका गर्छन्। हो जस्तो लाग्यो उसको यो व्यवहार देख्दा त।
शुक्रबार त जेनतेन धानेको थिएँ। शनिबार पनि उठेपछि नुवाकोटको रिसहरु एक-एक गर्दै मानसपटलमा घुम्न थाले। अनि मैले फोन काटेर उसको रिस मत्थर गर्ने प्रयास गरेँ तर अफिसका हप्ताभरिको रिस फोन अफ गरेर मात्रै हुनेवाला थिएन। सिरक ओढेर खाटमा मुड्की नबजारेसम्म त रिस शान्त हुनेवाला नै थिएन।
तर सबै रिस आफ्नो कन्ट्रोलमा हुँदो रहेनछ। कुनै कुनै बेला मान्छेहरु यसरी रिसाउँदा रहेछन् कि रिसाउनुको कुनै कारण नै हुँदो रहेनछ। अब कारण नै बेगर रिसाउनेलाई फकाउन झन् अप्ठ्यारो पर्दो रहेछ। कतै सुनेको थिएँ, निदाएको मान्छेलाई उठाउन सजिलो हुन्छ तर निदाएजस्तो गरेर सुतेको मान्छे ब्युझाउन बहुत गाह्रो पर्दो रहेछ।
मेरो सहकर्मी जो मलाई बुद्ध भन्थी। म उसँग अफिसमा निकै नजिक थिएँ। मेरा फेसबुक स्टाटसदेखि अनलाइन पत्रिकामा प्रकाशित मेरा कविता र कथाहरु उसलाई पढ्न दिन्थे। एकदिन सेतोपाटीमा प्रकाशित अव्यक्त प्रेम शीर्षकको कविताको लिंक शेयर गरेर उसको म्यासेन्जरमा पठाएको थिएँ।
कविता पढेपछि उसले 'यो कविता कसका लागि लेखेको हो, म गेस गर्छु है' भनेकी थिई। हुँदा हुँदा उसले केसम्म भनी भने तिमीले व्यक्त गर्न नसके पनि मैले व्यक्त गरेँ भने भैहाल्यो। कुरा एउटै त होसम्म भनेकी थिई।
'तिमीले कविता राम्रोसँग पढेको रहेनछौ वा कविताको कविको फिलिङ र भाव बुझे नि पुनः एकपटक कविता पढ' भन्दै मैले फेरि कविताको लिंक पठाइदिएँ।
भोलिपल्ट अफिसमा यो बारेमा गफ भयो तर ऊ कविता मेरै लागि लेखेको हो भन्नेमा लिडेढिपी गर्नमै ढुक्क थिई। उसले कविता नबुझे पनि कथा त बुझ्छे होला नि भन्दै सेतोपाटीमै प्रकाशित डियर एक्स, मलाई छोडेपनि मेरो गिफ्ट किन छोड्न सकिनौ? र पूर्व प्रेमिका जब काकी बनेर आइन्... शीर्षकका दुई कथा पढ है भन्दै लिंक पठाएको थिएँ।
उसले कथा पढिछे। तर कथा पढेपछि कहिले मेरो पनि एउटा कथा छ लेखिदेऊ भन्थी। कहिले मेरो योभन्दा खतरा लभ स्टोरीवाला कथा छ लेख्न सक्छौ भन्थी। कहिले मैले कथा भन्दा नरोई सुनेऊ भने मात्रै कथा लेख्न सक्छौ, नभए सक्दैनौ भन्थी तर कथा समय आएपछि सुनाउछु भन्थी।
उसले आफ्नो कथा मलाई नसुनाए पनि मेरा कथाका पात्रका बारेमा जिज्ञासा राख्थी। कहिले 'यो कथा रियल हो। डियर एक्स त तिम्रै कथा हो' भनेर कसम समेत खुवाउन लागेकी थिई।
मैले 'मेरो होइन तर रियल कथा हो' भनेर कसम खाँदा समेत विश्वास नगरे जस्तो गर्थी। पटक पटक अविश्वास प्रकट गरेर 'यो कथाको पात्र को हो? अहिले कहाँ छे? उसले यो कथा पढी कि पढिन होला?' आदि सोधेको सोध्यै गर्थी।
उसको यस्तै प्रश्नले वाक्क दिक्क बनाएपछि मैले साउथ इन्डियन हिरोइन रश्मिका मण्डनाको अलिक दुर्लभ फोटा देखाएर 'यही नै मेरो कथा डियर एक्स भन्ने पात्र' भनेर देखाउँदा उसले पत्याएजस्तो गरेकी थिई। त्यो दिन मलाई उसलाई ढाँट्न सकेकोमा भित्रैदेखि खुसी भरिएर आएको थियो।
तर त्यो भरिएको खुसी धेरै दिन टिकेन। एकदिन कुरै कुरामा उसले मलाई 'तिमी त कस्तो छौ यार, बुझ्नै नसकिने पाराको छौ। हरेक कुरा केटाकेटीलाई सम्झाएजसरी सम्झाउन पर्छ यार' भनेर मलाई 'बुद्ध होइन, बुद्धु' समेत समेत भन्न भ्याई।
एक मन बुद्ध भन्न खोजेकी हो, चिप्लिएर बुद्धुमा झरेँ भन्ने लागेको थियो तर फेरि पनि दोहोराएर बुद्धु भनेपछि मलाई पनि खै के भयो भयो, अनुहार अलिक रातो भयो। स्वर पनि अलिक कडा भएछ।
'हो, तिमी नै सही। तिमी नै ठिक। बुझ्नै नसकेको भए किन संगत गरेको नि? कति न आफै मात्रै जान्ने बुझ्ने जस्तो। जासुस जस्तो पिछा गरेको छ। अनेक कुरामा जिद्धी गरेको छ। उल्टै मलाई कहिले बुद्ध कहिले के रे। कति न खुबै' भनेर एकैसासमा मैले यसो के भन्दिएको थिएँ, अरुबेला भए ऊ 'ल ल, सरी सरी' भन्थी तर त्यो दिन ऊ पनि रातो निलो अनुहार पार्दै उठेर हिँडी।
भएको जम्मा यति थियो। तर तिलको पहाड बन्छ भनेर पढेको थिए। आज आफूले नै महसुस गरेँ। यति सानो कुरा पनि तिलको पहाड बन्यो। अरु बेला अफिस छुट्टि हुने बेलामा सँगै कोठा फर्किनलाई कि उसले 'जाने हैन?' भन्दै पर्खिन्थी कि मैले 'अब त छुट्टी भयो, कति धेरै काम गरेको' भनेर उसलाई उठाएर सँगै कोठा लैजान्थेँ। तर त्यो दिन उ मलाई नपर्खी बाटो लागी।
मलाई पर्खिनुको परको कुरा, उसले एक पटक फर्केर होइन, कर्के आँखा पारेर समेत हेरिनँ। मेरो दिउँसोको त्यो बुद्धु शब्दले उठेको रिस नपरेर होला म पनि उसको पछि पछि लागिनँ।
काम सकिए पनि फेसबुक चलाएर लामो समय अफिसमै बसिरहेँ। चलाउन त फेसबुक चलाएको थिएँ तर न कसैकोमा लाइक हान्ने जाँगर थियो न कसैसँग च्याट नै गरेको थिएँ। मात्रै फेसबुको न्युज फिड रिफ्रेस गर्दै माउस तलमाथि सार्दै बसिरहेको थिएँ।
त्यो दिन त त्यतिकै बित्यो। अरु बेला दश बजेपछि फेरि उसको फोन आउथ्यो। रिस अलिक मत्थर भएर हो कि के भएर हातमा मोबाइल लिएर उसकै फोनको प्रतिक्षामा बसिरहेँ तर उसको न फोन आयो न म्यासेज नै आयो। फोन आउला र एकै रिङमा उठाउला भनी बिरालोले मुसो निस्केला र क्वाप्पै पारुँला भनेर ढुकेजसरी उसको फोन ढुकेर बसेँ।
तर उसको न फोन आयो न म्यासेज नै। फेसबुकमा पो केही लेखी कि भनेर उसको प्रोफाइल खोलेर हेरैँ। एकदिन अघि मैले नै अफिसको बगैँचामा खिचिदिएको फोटा बाहेको अन्य कुनै गतिविधि देखिएन। फोन आउला आउला भन्दै उसको फोन र मेसेज कुर्दा कुर्दै निदाएछु।
भोलिपल्ट अफिस जाने बेलामा उसको बाटो कुरेँ। करिब दश मिनेट कुर्दा पनि ऊ नआएपछि म फुर्तिलो हैन, लोसे लोसे पारामा अफिस छिरैँ। त्यो दिन साढे दश बजे पछाडि मात्रै आई। मैले यसो अर्को साथीको आडमा छलिएर उसको अनुहार नियालेर हेरैँ।
कोरोना कहरले गर्दा डबल मास्क लगाएकी थिई। मास्क बाहिरको भागबाट जति देखेँ, उसको अनुहार मेरो जस्तै निन्याउरो थियो। एक मन त गएर सरी भन्न मन लागेको थियो तर फेरि उसले बुद्धु शब्दले च्वाँस्स घोच्यो अनि उठेर उसको च्याम्बरसम्म जाने आँट भएन।
दिनभरि काम भयो। बीचमा चिया लिएर कार्यालय सहगोगी दिदी आइन्। मैले चिया नखाने भन्दिएँ। उसले पनि चिया नखाने भनेर फिर्ता गरेको मैले स्पष्ट सुनेँ। 'हैन, आज त के भयो सर म्यामले नै चिया खानु भएन त?' भन्दै दिदी अर्को कोठातिर लागिन्।
खाजा खाने समय भयो। रोशन सरले खाजा खान जाउँ भने तर मैले 'सन्चो छैन, आज म खान्न' भन्दिएँ। उसलाई पनि चन्द्रकला म्यामले खाजा खान जाउँ भन्दा 'सोमबारको वर्त' भन्दिई। मलाई थाहा थियो। ऊ वर्त सर्त लिने केटी होइन।
सबै जोडी जोडी भएर खाजा खान गए। कोठामा ऊ र ममात्रै बाँकी रहेका थियौँ। कोही नहुँदा ऊ अरुबेला मसँग गफ गर्न मेरो च्याम्बरमा आउँथी। आज पनि आउछे र 'सरी हिजो मैले बुद्धु भनेँ' भनेर माफी माग्छे भनेर यसै कम्प्युटर चलाएर बसिरहेँ। तर ऊ मेरो च्याम्बरमा आइन।
यसो छड्के नजर लगाएर के गर्दै होली भनेर उसको च्याम्बर तिर आँखा दौडाएको त कम्प्युटर अगाडि हात टेबुलमा राखेर सुतेकी पो रै छै। साह्रै माया जागेर आयो। आफै गएर 'के भयो म्याम? सन्चो भएन कि के भयो?' भनेर सोध्न मन लागेको थियो। 'मसँग रिसाउनु भएको भए सरी है' भन्न मन लागेको थियो तर अन्तर कुन्तरमा रिस बाँकी भएर होला उठेर जान त्यसमाथि गएर माफी माग्न मन नै लागेन।
त्यो दिन ऊ पाँच नै नबजी सन्चो छैन भन्दै जोत्सना म्यामलाई केही पर्यो भने शाखा सम्हाल्नु है भन्दै उठेर हिँडी। ज्योत्सना म्याम 'के भयो आज म्यामलाई? मुड पनि अफ छ' भन्दै मलाई व्यङ्ग्य मिश्रित भावमा प्रश्न तेर्साइन्।
'खै!' भनेर उत्तर त दिन मन लागेको थियो तर किन हो उत्तर दिनु ठिक छैन भन्ने लागेर सुनेको नसुने जस्तै गरेर फाइलमा टिप्पणी उठाइरहैँ। यसै त अरुबेला ऊ र म गफ गरेको अनि सँगै आउने जाने, खाजा खाने कुराले अफिसमा साइड टक गर्नेहरुलाई मलजल मिलेको थियो।
त्यसमाथि ऊ र म दुवै जना खाजा खान नजाँदा अनि ऊ सन्चो छैन भनेर छिटै घर जाँदा त्यो शंकाको तिर सिधैँ मतिर सोझिएको थियो। यस्तोमा मैले जे उतर दिए पनि उनीहरुले पत्याउने अवस्था नै थिएन।
प्रायः हाम्रो अफिसमा सेवाग्राही नै अलिक झगडा गर्ने खालका नै आउँथे। मभन्दा पहिले यो फाँटमा बस्ने साथीको धेरै पटक सेवाग्राहीसँग भनाभन परेदेखि अफिसकै माहोल खराब भएर पुलिस समेत बोलाउनु परेको थियो। तर मेरो यस्तो स्वभाव नभएकोक कारण म सेवाग्राहीले जति हतार गरे पनि जति नै दबाब दिएपनि आफ्नो मेलो मेसो छोडेको थिइनँ।
यसकारण कुनै सेवाग्राहीसँग मेरो झगडा परेको थिएन। कुनै सेवाग्राहीले अफिस बाहिर भेटूँ अनि जानेको छु भनेको सुन्न परेको थिएन। तर मान्छेको जात, जति नै सही हुँदा हुँदा पनि हाइवेमा आफ्नै लेनमा सुरक्षित हिँडेको सवारीलाई अर्कोतिरबाट आएको सवारीले बिना कारण ठोक्दिए जस्तै त्यो दिन एक सेवाग्राही यसरी रिसायो कि, कुनै मान्छे त्यतिकै रिसाउँछन् होला भने त्यही दिन मात्रै थाहा पाएको थिएँ।
अरु बेला सेवाग्राही रिसाउन त परको कुरा, अलिक साह्रो स्वरमा झर्किँदा मात्रै कृतिकाले आएर सपोर्ट गर्दिन्थी। यो अफिसमा उहाँ सर जस्तो बुद्ध मान्छे कोही आउँदैन। आफ्नो सुरमा काम गरिरहेको छ, किन हल्ला र खल्ला? किन झर्को र फर्को? भनेर उसले मेरो सपोर्ट गरेर बोलेपछि सेवाग्राहीहरु चुपचाप हुन्थे।
त्यसमा महिलाले अलिक ठूलो स्वरमा कराएपछि त झन्। तर त्यो दिन सेवाग्राहीले झर्किंदा मात्रै होइन, पुरै मुख छोडेर गाली गर्दा समेत कृतिका मेरो सपोर्टमा बोल्न आइन। ऊ आउली भनेर म चुपचाप लागिरहेँ, सेवाग्राहीको मनोबल झन् बढ्यो क्यारे ऊ झन् ठूलो स्वरमा कराउन थाल्यो। तर ऊ आइन, आउँदै आइन। सेवाग्राहीले कराएरभन्दा ऊ आएर सपोर्ट नगरीदिँदा मन यसै कुँडिएर आयो।
'पछाडिका मान्छेहरु पालो मिचेर अघि अघि घुस्रिएर काम गर्दै गैसके, खै हामी तातो घाममा बिहानदेखि...' यस्तै भन्दै केही फतफताउँदै एक अधबैँसे महिला झ्यालमा आएर कराउन थालिन्। उनलाई अरु दुई जना उही उमेरका पुरुषले साथ दिएर झन चर्को स्वरमा कराउन थाले।
अरु बेला म यसै शान्त थिएँ तर कृतिकाले बुद्धु भनेपछि खै के भयो भयो, मलाई पनि झनन रिस उठ्यो। अरुबेला म अलिक साह्रो स्वरमा कराउँदा कृतिका मेरो छेउमा आएर 'हुन्दिनु सर, हुन्दिनु, छोडिदिनु' भन्दै सम्झाउँथी।
तातेको पारो उसले सम्झाएपछि यसै सेलाएर तल स्वात्तै डाउन हुन्थ्यो। तर त्यो दिन सुरुमा मलाई भाउन्न हुनेगरी नै रिस उठेको थिएँ। जस्तालाई त्यस्तै भन्दै म पनि त्यही अधबैँसे आइमाईसँग च्याठिन थाले।
मेरो स्वर अलिक चर्कै हुँदा कार्यालय सहगोगी चन्द्रकिशोर दाइ आएर मेरो पक्ष लिए तर अरुबेला अलिक साह्रो स्वर गर्ने बित्तिकै आउने कृतिका त्यो दिन आइन। म ऊ आउली र सम्झाउली भन्दै चर्को स्वरमा बोल्न थालेँ। तर ऊ आउँदै आइन।
निकै बेर कुरा हुँदा ऊ नआएपछि मलाई त्यो अधबैँसेसँग हैन, कृतिकासँग नै झनै रिस उठ्यो र मैले उसको च्याम्बरमा जा भनेर कृतिकातिर त्यो अधबैँसेलाई देखाएर बाथरुमतिर लागेँ।
त्यो दिन पनि बेलुका कोठा गएर उसकै फोन कलको प्रतिक्षामा बसेँ। फोन गर्ली र 'सर सर, तल त्रिशुली नदीको बगरको पार्कमा जाउँ न' भन्ली भन्दै मनमा दश वटा कुरा खेलाउँदै बसिरेहेँ। तर उसको फोन आएन।
आफै फोन गर्नुपर्यो भनेर मलाई भन्दा धेरै कण्ठस्थ भएका उसको नम्बर मेरा हातमा औँलाहरुले डायल गरिसकेका थिए। फेरि कुन मनले हो डायल भएको नम्बर कल भन्ने अप्सनमा थिच्नु अगावै क्यान्सिल भयो।
कल हैन, म्यासेज गर्नुपर्यो भनेर मोबाइलको छातीमा निर्मम ढंगले दबाए। तर मोबाइलभन्दा मेरो छाती दुखेजस्तो भयो र आँखा रसाउन थाल्यो। अब आसुँले भिजेका अक्षर उसले पढ्न नसक्ली भनेर टाइप गरिसकेको म्यासेज सेन्ट होइन, ड्राफ्ट बसेर बस्यो।
अर्को दिन ऊ अफिस नै आइन। अरुबेला ऊ अफिस नआउँदा फाँट प्रमुखको हैसियतमा मलाई जानकारी त दिन्थी तर यो पटक अफिस पुगेको धेरैपछि उही ज्योत्सना म्याम नै आएर काम गर्न थालेपछि मात्रै थाहा भयो आज ऊ आइन।
मैले कार्यालय सहयोगी चन्द्र किशोर दाइलाई 'यसरी थाहै नदिई बिदा बस्न त भएन नि दाजु, लु के हो? किन हो? एकपटक फोन हान्नोस्' भनेर लगाएको थिएँ। उसको मोबाइल स्विच अफ रहेको जानकारी आयो।
यत्तिकैमा हाम्रो शाखा अधिकृत सर आए र 'आज कृतिका मिसलाई सन्चो भएन रे आउनु हुन्न रे, रोचक जी कसरी हुन्छ आज म्यानेज गर्नोस् है' भन्दै निर्देशन दिएर गए। उनको निर्देशन त सामान्य नै थियो। तर मनमा बढ्दै गएको छटपटीले असामान्य रुप लिँदै थियो।
बेलुका कोठा गएर उसलाई फोन डायल गरेँ तर उसको मोबाइल अफ थियो। मेसेन्जरमा म्यासेज पठाउन पर्यो भनेर म्यासेन्जर खोलेँ तर म्यासेन्जरमा पनि उसलाई भेटाउन सकिनँ। मनमा यसरी डर उब्जियो। के भयो कृतिकालाई? किन मोबाइल अफ गरी? फेसबुक पनि किन डियक्टिभ गरी? के म त्यति रिसाएको भरमा उसले यस्तो गरेकी हो या अन्य घरायसी कारण पो भयो कि!
उसले मलाई उसको घर त देखाएकी थिई तर मैले ठ्याक्कै नठम्मयाए पनि ए त्यो अग्लो घर भनेर उसलाई उल्लाइ दिएको थिएँ। उसले पनि हाँस्दै तिमीभन्दा त अग्लै छ हौ भनेर मलाई होच्याएकी थिई।
आज पछुतो भयो। उसले घर देखाउँदा कम्तीमा चिनेको भए घर जान त हुन्थ्यो। अब अफिसका अरुलाई लिएर जाउँ भने फेरि शंकाले लंका जलाइहाल्छ अनि नजाउँ यता मनमा छटपटीले सताएर होस हवासै उडाउला जस्तो बनाएको छ।
मान्छेहरु भन्छन् नि ठूलो कुरामा हैन, सानो-सानो कुरामा खुसी हुन सिक्नुपर्छ। हो रहेछ, आज थाहा भयो सानो कुरामा पनि कति शक्ति हुँदो रहेछ। जम्मा पाँच मिनेटको हाम्रो अनकन्ट्रोल्ड कुराकानीले आज यो स्थिति ल्याइदियो। मायामा धोका खाँदा खाँदा गरेको कुन मनोरोगीले भनेको हुनुपर्छ मायामा शक्ति हुन्छ भनेर। हो रहेछ, आज बल्ल थाहा भयो। हो, मायामा अदृश्य शक्ति नै हुँदो रहेछ। त्यही शक्तिले मलाई आज छटपटीमा रन्थनाइदिएको छ।
मोबाइलमा हरेक फोनको रिङ बज्दा उसकै फोन हो भनेर तरंग बनाउँदा, टिङ टिङ मेसेजको टोन बज्दा पनि उसकै हो भने हत्तपत्त मोबाइलतिर आँखा दौडाउँछु तर कहिले कुन तोरीको फोन त कहिले कुन तोरीको मेसेज हुन्छ। तर पनि उसकै फोन र बोली सुन्न मन यति तड्पिएको छ कि कुरै नगरौँ।
आज सातौँ दिन भैसक्यो। उसँग बोलचाल हराएको। उसलाई देख्न त परको कुरा, उसको हालखबर समेत थाहा नपाएको। ऊ कुन दुनियाँमा छे, के गर्दै होलि, के सोचेर बसिरहेकी होलि! यता मलाई छटपटी भएजस्तै उसलाई पनि उता उसैगरी पिरोलिरहेको होला कि!
अफिसमा सबै आ-आफ्नै धुनमा मस्त छन्। अफिस जाने बितिक्कै सबैले के छ सर भनेर प्रश्न सोध्छन्। अरु बेला जे-जस्तो भए पनि ठिकै छ भनेर जवाफ फर्काउने म अब त्यो के छ भन्ने प्रश्नमा ठूलो कुटिलता देख्छु। संसारको सबैभन्दा डरलाग्दो प्रश्न नै हरेक दिन के छ भनेर सोधिने यही प्रश्न हो जस्तो लाग्छ।
मनमा दुनियाँ आधीहुरी र छटपटी चलिरहँदा पनि मनका पीडा लुकाएर ठिकै छ भन्नु पर्या छ। यस्तो लाग्छ यो के छको उत्तर ठिकै छ भन्नु मस्ट डेन्जर उत्तर जस्तो लाग्छ। तर ठिकै छको अर्को उचित उत्तरको विकल्प पनि छैन नि त मसँग। अनि म के उत्तर दिउँ। के गरुँ। म मन सम्हालुँ कि सेवाग्राही सम्हालुँ कि फाँट सम्हालुँ।
आज उसको कथा सुन्नु अगावै मलाई आँसु आइसक्यो। मैले उसको कथा सुन्दा आँसु झार्दिनँ भनेको त्यो पल सम्झिएँ। तर उसले कथा वाचन गर्नुपूर्व नै मलाई छटपटी भयो। आँखा आँसुले टिलपिल भरिए। उसको कस्तो कथा होला? वाचन पूर्व नै आँखा रसाउने।