हिन्दुस्तानको ठूलो मानसिक अस्पताल। मनोरोगी प्रोफेसर डाक्टर आरोग्य शमशेर जबरा अस्पतालको चौरमा निमको रुखमुनि मेचमा बसिरहेका छन्। आज कविता पाठ गर्ने पालो छ उनको।
आरोग्यको कविता सुन्न थुप्रै मानसिक रोगीहरु जम्मा भएका छन्। समारोहको संयोजन अस्पतालका वरिष्ठ मनोचिकित्सक विलम्ब अग्रवालले गर्दै छन्। निमको रुखको शीतल छायामा बसेका सबै छटाहाहरु आज शान्त छन्। आज आफ्नो परम मित्रले कविता पाठ गर्ने समारोह भएर होला डाक्टर अग्रवाल पनि बडो शान्त छन्।
आरोग्य शमशेरको जन्म देहरादुनमा भयो। उनका बाजे पारिवारिक रडाकोका कारण विदेशतिर लखेटिएका थिए। नेपाल फर्कन नपाउने गरी धपाइएका भएता पनि ती राणाले कुलको इज्जत आमदअनुसारको सम्पत्ति पाए।
आरोग्य देहरादुनका धनाढ्य व्यक्ति हुन्। उनको दिल्लीमा पनि एउटा ‘मकान’ छ। उनको मावली ग्वालियरतिरका राजपुत हुन्। आरोग्यले बाल्यावस्थामै हजुरबुवा विकर्ण शमशेरबाट नेपाल, नेपाल दरबारभित्र हुने सत्तासंघर्ष र राणा परिवारको दाउपेचबारे थाहा पाएका थिए।
सात सालपछि आरोग्यका पिता विचिन्त्य शमशेर आफ्नो माटो खोज्दै काठमाडौँ पुगे। उनले बालुवाटारतिर एउटा घर किने। विचिन्त्यले सन्तानलाई स्वदेशमै शिक्षादीक्षा दिने विचार गरेका थिए। किन्तु पत्नी मृदुलाले काठमाडौँ गएर स्थायी रुपमा बस्न इन्कार गरिन्।
हार खाएर विचिन्त्य नोकरहरुको व्यवस्था गरी छोरी साम्भवी राज्य लक्ष्मी र छोरा आरोग्यलाई काठमाडौँको विद्यालयमा भर्ना गरी देहरादुन फर्केका थिए।
आरोग्य कविता पाठ गर्न उठे। गोरो हिस्सी परेको अनुहार, सेतो कपाल र अग्लो पातलो शरीर। हलुका गुलाफी रङको कुर्ता र सेतो पाइजामामा आरोग्यको व्यक्तित्वको दीप्ति अवर्णनीय थियो। सबै छटाहाहरुले उठेर सम्मानसाथ ताली बजाए। उनले लामो नेपाली कविता पढे।
आरोग्यले त्यही कविता हिन्दी र अङ्ग्रेजीमा पनि सुनाए। एकजना वृद्ध मनोरोगीले उठेर भन्यो 'यदि राणा साहबको यो कविता जेल बाहिरका पागलहरुलाई सुनाउन पाएको भए तिनीहरुको दिमाग ठिक हुने थियो। उनीहरुले थाहा पाउने थिए कि उनीहरु को हुन् र हामी को हौं।' समारोहका संयोजक विलम्ब अग्रवाल कविता सुनेर धेरै बेरसम्म रोइरहे।
यसपालि आरोग्य छ महिनाका लागि मानसिक अस्पतालमा भर्ना भएका हुन्। डाक्टर अग्रवाल बिरामी जाँचेर भ्याएपछि आरोग्यलाई राखिएको क्याबिनमा आए। आरोग्य र विलम्बको चिनाजानी यही अस्पतालमा भयो। आरोग्य पहिलोपल्ट अस्पताल आउँदा विलम्बले एक हप्ताका लागि मात्र भर्ना गरेका थिए।
दुवैबीचको सम्बन्ध डाक्टर र बिरामीको थियो। एक हप्ता पुग्नुभन्दा दुई दिनअघि आरोग्यको छोरो अनुराग शमशेर र बुहारी निहारिका आएर डाक्टर अग्रवाललाई गोप्य रुपले भेटेका थिए।
अनुरागले भनेको थियो 'डक्टर! प्लिज मेरो कुरा ध्यानले सुन्नुहोला। अचेल पापाको स्वास्थ्य अत्यन्तै ‘कृटिकल’ हुन थालेको छ। यसभन्दा पहिल्यै पनि पापालाई अर्को अस्पतालमा भर्ना गरेका थियौं। तर उहाँले अस्पतालमै बबाल गर्न थाल्नुभयो। यहाँ ल्याएपछि त्यस्तो कुनै समस्या छैन। कृपया पापालाई अरु केही दिन यहीँ राखिदिनुहोस्।' आरोग्य तीन महिनाका लागि राखिए।
डाक्टर विलम्ब दिल्लीको प्रतिष्ठित अग्रवाल परिवारका सदस्य हुन्। आमा उनी सानै हुँदा बितिन्। पिता नब्बे वर्षको उमेरमा दुई वर्षअघि बिते। पिताको मृत्युपछि विलम्ब अस्पतालमै बस्न थाले। अस्पताल प्रशासन पनि एउटा अनुभवी मनोचिकित्सक अस्पतालमै बसेर सेवा दिन इच्छुक हुँदा खुसी हुने नै भयो।
डाक्टर क्याबिनको एउटा मेचमा बसे। उनले भने- 'राणा! आज तिमीले मलाई रुवायौ। मलाई लाग्यो, जुन कविता तिमीले पढेर सुनायौ, त्यो मेरै बारेमा लेखिएको हो। म कविताको एक पङ्क्ति फेरि सुन्न चाहन्छु।'
आरोग्यले भनेका थिए-
'मान्दिनँ संस्कारहरु चिन्दिनँ भगवानहरु
मन पर्दैन चाहिन्नँ मिथ्या चमत्कारहरु
इच्छा छैन तिमी भोग तिम्रा खुसहालहरु
नपुछ आँसु बग्न देऊ फ्याँकिदेऊ रुमालहरु
जान देऊ धेरै नफकाऊ छाडिदेऊ चर्चाहरु
मर्न देऊ धेरै नसताऊ मिल्क्याइदेऊ पर्चाहरु'
आरोग्य भनिरहे 'हुन त मेरो तिमीसँग लामो दोस्ती भइसक्यो। तथापि तिम्रो पारिवारिक जीवनबारे मलाई केही पनि थाहा छैन। बरु म एउटा मनोरोगी भएको हुँदा तिमीलाई कतिपय कुरा मेरो तर्फबाट र कति मेरो परिवारको तर्फबाट जानकारी भएको छ। मैले लेखेको कविता मेरो आफ्नै मनको आवेगपूर्ण विद्रोह हो। मेरो परिवारले मेरो कुरा सुन्दैन, किनकि मैले जति पनि कुरा गर्दछु ती सबै ‘पागल प्रलाप’ हुन्।
यो अस्पतालले मलाई ठूलो अवसर दिएको छ साथी! यहाँ मेरो कुरा सुन्ने र मनन गर्ने मानिसहरु छन्। दुनियाँको नजरमा म एउटा मानसिक सन्तुलन बिग्रेको विक्षिप्त व्यक्ति हुँ। यस अस्पतालमा भर्ना भएर बसेका तमाम मनोरोगीहरु पनि ‘पागल’ हुन्। तर कमसेकम उनीहरुले मलाई सुन्छन्, मेरो कुरा बुझ्दछन् र मप्रति सहानुभूति राख्दछन्।
हेर डाक्टर! विशेष गरेर मनोचिकित्सकले आफ्ना बिरामीहरुको व्यक्तिगत जीवनका समस्याबारे समेत सोध्न सक्छ र सोध्नु पर्छ। तर डाक्टरको जीवनबारे कसैले पनि सोध्दैन र सोध्न पनि मिल्दैन। तिम्रो कुराबाट मलाई कस्तो महसुस भइरहेको छ भने कतै तिमी पनि मेरो जस्तै समस्याबाट गुज्रिरहेका त छैनौ?'
डाक्टर- 'हो, डाक्टरको जीवन अत्यन्तै कठिन हुन्छ। बाहिरबाट हेर्दा सुकिलोमुकिलो र राम्रो पहिरनमा हुन्छ। मानिसहरु सोच्दछन् ‘इफ आई वेर अल्सो अ डक्टर!’ किन्तु डाक्टरले व्यतित गर्ने जिन्दगी दु:खले भरिएको हुन्छ। डाक्टरलाई आफ्ना दु:ख र दर्दहरु प्रकट गर्ने सुविधा हुँदैन।
आफ्नै दर्दहरू गाउने डाक्टरले अरुको दर्दमा के मल्हम लगाउँला भन्ने प्रभाव पर्छ समाजमा। सधैँ व्यस्त रहने अन्य सहकर्मी चिकित्सकहरुलाई आफ्नो पीडा पोख्नुको पनि कुनै प्रयोजन छैन, किनकि उनीहरुसँग न सुन्ने समय हुन्छ न सुनाउने।'
डाक्टर विलम्ब अग्रवालको वास्तविक नाम आलम्ब अग्रवाल हो। ठूलो कारोबार रहेको प्रतिष्ठित बाबुको छोरा हुन् उनी। दूधे बालक हुँदै आमा गुमाएका आलम्बलाई आयाले हुर्काइन्। कहिल्यै कारोबारबाट फुर्सद नहुने बाबुले यदाकदा उनको शारीरिक स्वास्थ्य र खानपानबारे जानकारी लिने बाहेक केही पनि गर्न भ्याएनन्।
अबोध शिशुमाथि आयाले लादेको अनुशासन साह्रै कठोर थियो। उनी शैशवावस्थाको छुकछुके स्वभाव देखाउने अवसरबाट सर्वथा वन्चित रहे। किन्तु उनका दाइ, दिदी र बाबु ‘कितना भोला है’ भनेरै रमाइरहे।
विद्यालय भर्ना भएपछि बल्ल आयाको ‘पिण्ड’ छुट्यो। स्कूलको अनुशासन अत्यन्तै कडा थियो। तथापि त्यो नियन्त्रण उनका लागि ठूलो स्वतन्त्रता जस्तो भयो। आलम्बले सानै उमेरदेखि ‘मिल्ने साथी’ बनाउन सकेनन्।
यही दब्बूपना उनका लागि वरदान सिद्ध भयो। उनी पढाइमा अब्बल निस्के। उनका तीनै जना दाइहरु स्नातकसम्म पढेर बीसे बाइसे उमेरमै कारोबार सम्हालेर बस्न थालिसकेका थिए।
आलम्बका बाबुले सोचे, ‘यसले कारोबार गरेर खानेवाला छैन।’ बाबुले उनलाई डाक्टरी पढाउने विचार गरे। जे गर् भन्यो त्यही गर्ने बानी परेका आलम्बले बाबुको प्रस्ताव सहर्ष स्वीकार गरे। उनले ‘मेन्टल इलनेस’ विषयमा विशेषज्ञता हासिल गरे।
पढाइ सकिनासाथ उनको विवाहका लागि प्रस्ताव आउन थाले। जुनसुकै कुरामा परिवारले जे भन्यो त्यही स्वीकार गर्ने उनी विवाहको मामिलामा ‘ढीठ’ निस्के। भाउजू महिमाले ल्याएका एक से एक कन्यालाई हेरे। तर सधै ‘सोचेर भन्छु ’ भनेर टारिरहे।
एक दिन साँझको खानाको समयमा बाबुले सोधेका थिए- 'के ताल हो बाबु तेरो यो? कहिलेसम्म यसरी भाखा राखिरहन्छस्? म अब बूढो भएँ। तँ तीन महिनाको हुँदा तेरी आमा बितिन्। तिमीहरुले दु:ख पाउला भनेर मैले अर्को विवाह पनि गरिनँ।'
आलम्बले मनमनै सोचे, ‘अब त विवाह गर्नुपर्ला।’ तर जेठा दाजुले अनायास साह्रै मन दुख्ने कुरा गर्न पुगे। दाजुले भनेका थिए 'यो मानसिक रोगीको डाक्टर आफै मानसिक रोगी भइसक्यो। यस्ताले के विवाह गर्ला!'
भाउजूले पनि मौका छोपेर भनिन् 'ये हमारे छोटे देवर किसी भी बातमे निर्णय नही ले सकते। किसी भी प्रस्तावमे इनका उत्तर होता है ‘बादमे बताउँगा’। इनका नाम तो आलम्ब नहीं विलम्ब होना चाहिए था।'
डाक्टरको विवाह भएन। अहिले उनी त्यही अस्पतालको एकजना बूढी नर्ससँग बस्छन्। एकपल्ट जेठा दाइ उनलाई भेट्न आएका थिए। दाइले सोधेका थिए 'तेरो नाम त आलम्ब हो, तर बाहिर बोर्डमा विलम्ब लेखेको छ। विलम्ब भनेको तँ नै हो कि अरु कोही?'
विलम्बले भने 'हो, मेरो नाम आलम्ब नै हो। तर एक दिन भाउजूले ‘इनका नाम तो विलम्ब होना चाहिए था’ भनेको सुनेपछि मैले सोचें, विलम्ब भनेको ढिलासुस्ती मात्र होइन, कुनै कुरामा लागेपछि त्यसैमा ध्यान दिइरहनु पनि हो। भाउजूले जुन मनसायले भनेको भए तापनि मलाई त्यो नाम राम्रो लाग्यो। अनि मैले औपचारिक सरकारी ‘डकुमेन्ट’ बाहेक सबै ठाउँमा विलम्ब लेख्न थालें।'
दाजुले भनेका थिए 'विवाह पनि गरिनस्। के कति कमाइ हुन्छ, हिसाब किताब छैन। न घर आउँछस् न त फोन गर्छस्। के हो तेरो चाला? त्यत्रो परिवार छ, समाज छ, कुटुम्ब छ। तँ भने सारा छाडेर चौबीसै घण्टा यो पागलखानाको कोलाहलमा बसिरहन्छस्। मानिसहरु तँलाई नै पागल भन्न थालिसके।'
विलम्बले भने 'तिमीहरुको संसार बेग्लै, मेरो बेग्लै। तिमीहरु पैसा, शेयर, व्यापार, उद्योग, अर्थतन्त्र, घाटा र नाफाको विषयमा चर्चा गर्छौ, जसमा मेरो रुचि छैन। जब म तिमीहरुले कमाएको पैसाबारे सरोकार राख्दिनँ भने तिमीले मेरो कमाइको सरोकार किन राख्ने?
जहाँसम्म पागलखानाको कुरा छ, मेरो विचारमा यो अस्पताल सानो पागलखाना हो भेने तिमी बस्ने बाहिरको संसार ठूलो पागलखाना हो। तिमी बाहिरको पागल, म भित्रको पागल। तिम्रो पागलखाना ठूलो छ, मेरो सानो। तिम्रो पागलखानामा बस्नेले भित्रकोलाई पागल भन्छ, भित्रकोले बाहिरकोलाई।
तिमीलाई पैसाको संसार ठिक छ, मलाई बिरामीको सेवा। समाजलाई तिम्रो संसार पनि चाहिन्छ र मेरो पनि। एक प्रकारले भन्ने हो भने म घरमा नबस्नाले तिमीहरुले मबाट मुक्ति पाएका छौ भने मैले तिमीहरूबाट। हिसाबकिताब बराबर छ।'
विलम्ब र आरोग्य धेरै बेरसम्म एकअर्कोलाई हेरेर बसिरहे। आरोग्यले कफी बनाए। कफीको चुस्की लिँदै डाक्टरले भनेका थिए- 'एउटा कुरा सुन प्रोफेसर! तिमी मनोरोगी होइनौ।'
आरोग्य (हाँस्दै ) 'तिमीले मलाई कडा मनोरोग लागेको बिरामी भनेर योभन्दा अगाडि नै पटक पटक गरी अठार महिना अस्पतालमा राखिसक्यौ। अहिले फेरि छ महिनाका लागि राखेका छौ।'
डाक्टर- 'त्यसो भए डिस्चार्ज हुने हो त?'
आरोग्य- 'मलाई पनि थाहा छ म मनोरोगी होइन। यो त फगत बहाना मात्र हो। मैले धेरै सोचेपछि निकालेको निचोड हो यो पागलपन। दुनियाँको नजरमा म ठूलो खानदानमा जन्मेको सम्पन्न व्यक्ति हुँ। म दर्शनशास्त्रको विद्यावारिधि। हजारौं चेलाहरूको प्यारो प्रोफेसर पनि हुँ।
मलाई नेपाली, हिन्दी, अङ्ग्रेजी र फ्रेन्च भाषाको राम्रो जानकारी छ। मैले लेखेका किताबहरु दर्शनशास्त्रको स्नातकोत्तर तहको पाठ्यक्रममा राखिएका छन्। मैले अमेरिका, ब्रिटेन, फ्रान्स र जापानमा दर्शनबारे ‘रिसर्च’ गरेको छु, प्रवचन दिएको छु।
म अघिल्लोपल्ट अस्पतालमा बस्दा मेरो फ्रेन्च साथी प्रोफेसर स्यामुएल भेट्न आयो। ऊ घन्टौं गफ गरेर खान र बास बस्न मात्र होटेल जान्थ्यो। एक हप्ताको बसाइपछि उसले भनेको थियो, 'आरोग्य! तिमीसँग सम्पर्क नै हुन नसकेपछि मैले अनुरागलाई सोधेको थिएँ। उसले तिमीलाई अत्यन्तै कडा मनोरोग लागेको कुरा बतायो।
उसले भनेको थियो ‘पापा धेरै बिरामी हुनुहुन्छ। उहाँ कहिले बतासिएका र अचम्म लाग्दा कुरा गर्नुहुन्छ। कहिले भोकै बस्नुहुन्छ, कहिले खाएको खायै गर्नुहुन्छ। कहिले रातभरि सुत्नु हुन्न त कहिले तीन दिनसम्म सुतिरहनुहुन्छ। पापा कहिले बाथरुम गएर राम्रोसँग सफा नै नगरी फर्कनुहुन्छ भने कहिले तीन घन्टासम्म बाथरुमभित्र गीत गाएर बस्नुहुन्छ।
कहिले एक्लै फ्रेन्च भाषामा भाषण गर्नुहुन्छ त कहिले नेपाली र हिन्दी भाषाका फोहोर शब्दमा एक्लै कराउन थाल्नु हुन्छ। कहिले घरबाट सुट कसेर बाहिर निस्केका पापा तीन दिन हराएर लुङ्गी मात्र लाएर फर्कनुहुन्छ।’
तर यहाँ आएर एक हप्तासम्म तिमीसँग बसेपछि मैले थाहा पाएँ, तिमीलाई कुनै मनोरोग लागेको छैन। यो सबै तिमीले जानिजानी गरेको अतिरेकपूर्ण ‘ड्रामा’ हो। यसमा अवश्य पनि अत्यन्तै गहिरो कारण छ। किन्तु मलाई तिमी यो सबै किन गरिरहेका छौ भनेर सोध्न उचित लाग्दैन।'
राणाले भने- 'माई सन् वाज राइट! उसले भनेका सबै क्रियाकलापहरु गरेकै हो मैले। एकदिन मैले खानाको टेबुलमै सबैजनाको अगाडि भनेको थिएँ-
‘भो पुग्यो नदेखाऊ तिम्रा अनुहारहरु
चाहिँदैन नल्याऊ यी खस्रा उपहारहरु
हेर्दिनँ दिग्दार लाग्छ नदेखाऊ भग्नताहरु
सिकसिको लाग्छ प्रदर्शन नगर अश्लील नग्नताहरु’
सबैले एकछिन मतर्फ हेरिरहे। म घोप्टो परेर खाना खेलाइरहें। फेरि उनीहरु आपसमा हेराहेर गरिरहे।
'स्यामुएल! ल भन त तिमीले केही नगर्दा कसैले ‘मार्यो मार्यो गुहार देऊ’ भनेर चिच्च्यायो भने के हुन्छ?'
स्यामुएलले भनेको थियो 'त्यस्तो अवस्थामा सबैले कराउनेकै कुरामा विश्वास गर्दछन्। अझ महिलाले ‘पुरुषले दु:ख दियो, कुट्यो, समात्न आयो’ आदि भनेर हल्ला गरिन् भने त बित्यासै पर्छ। यस्तो घटना दुर्लभ हो, तर यस्तो पनि हुन सक्छ।'
राणाले फेरि सोधे 'केही गर्दा पनि परिस्थिति अनुकूल हुन सकेन, सम्हाल्नै सकिएन र काबुमा आउँदै आएन भने के गर्छौ?'
स्यामुएलले भनेको थियो 'जतिसुकै प्रयत्न गर्दा पनि केही उपाय लागेन भने परिस्थितिलाई समय (ईश्वर) को जिम्मामा छाडिदिने। कहिलेकाहीँ समयले नै चमत्कार देखाउँछ। मनुष्यले गर्न नसकेका निर्णयहरु समयले गर्दछ। समय मनुष्य जस्तो अनिर्णयी भएर कहिल्यै बस्दैन। दर्शनशास्त्रले यही भन्छ। डाक्टरहरु पनि आफ्ना सारा प्रयत्नले काम नगरेपछि बिरामीलाई समयको जिम्मामा छाडिदिन्छन्।'
बिदा भएर जाने बेलामा स्यामुएलले भनेको थियो 'अब मलाई एउटा कविता सुनाएर बिदा गर साथी!'
आरोग्यले भने-
‘अविभाज्य पीडा दिने नियन्ता थकित हुने समय कुर्दै छु
जिन्दगीको परीक्षामा उत्तीर्ण हुने उपाय खोज्दै छु।
सत्य तथ्य लेख्न मिल्ने कलमको खोजी गर्दै छु
छातीभित्र दबाएर राखेका झुटा आडम्बरलाई
छ्याल्ल ब्याल्ल वाक्न मिल्ने भाँडोको खोजी गर्दै छु’
यो कविता सुनेपछि स्यामुएलले भन्यो 'म एक्लै यता हिँडेपछि मेरा साथीहरुले सोच्दै होलान् ‘स्यामुएल मोज गर्न एक्लै इन्डिया र नेपालतिर लाग्यो।’ म यहाँ रुनका लागि आएको हुँ भनेर मान्न कोही तयार छैन। सबैले अरुकै जिन्दगानी ‘मस्ती’ मा देख्छन्।' ऊ फर्क्यो।
आरोग्य शमशेरको विवाह हिन्दुस्तानको नामी राजपुत परिवारकी छोरीसँग भयो। सुरुसुरुमा त सबै ठिकै चल्यो, तर विस्तारै मतभिन्नता हुँदै गयो। पत्नी अनुप्रिया धेरै नै आधुनिक विचारकी र विलासी जीवनप्रति लगाव राख्ने। तर आरोग्यको जीवनप्रतिको सोच नै फरक।
आरोग्य र दिदी साम्भवी एसएलसी गरेपछि हिन्दुस्तान फर्केका थिए। बिए अध्ययनको सिलसिलामा साम्भवीको थापा थरको एकजना भूतपूर्व गोर्खा क्याप्टेनको छोरासँग प्रेम बस्यो। एक दिन उनी भागेर थापाको घरमा पुगिन्।
अप्रतिष्ठित खानदानको केटासँग भागेको हुँदा उनको परिवारले आफ्नो इज्जतमा धक्का लागेको सम्झ्यो। साम्भवीलाई थापाको घरमै गएर थुतेर ल्याए पिता विचिन्त्य शमशेरले। साम्भवी अहिले हरिद्वारको एउटा आश्रममा बस्छिन्।
आरोग्यकी पत्नी आरोग्यको खानदान आफू लायक नभएको भनेर बारम्बार खिसी गर्ने गर्दछिन्। आरोग्यले प्राध्यापन पेसा अँगालेकोमा पनि उनको ठूलो विरोध रह्यो। उनी भन्ने गर्दथिन् 'आई सी नथिङ अड्माएरेबल इन दि फ्रुटलेस क्यारियर अफ टिचिङ।'
उनी झूटो गुड्डी हाँकेर आफ्नो बाबुलाई झुक्याई एउटा गरिब परिवारले फसाएको आरोप लागाइरहने गर्दथिन्। तथापि सहनशील र शान्त आरोग्यले आफ्नो भाग्यसँग सम्झौता गरिरहे।
विश्वविद्यालयको काममा धेरैजसो समय बाहिरै जानुपर्ने हुँदा घरमा कमै बस्ने सुविधा प्राप्त थियो। कठिनाइबीच पनि जीवन अगाडि बढिरह्यो, छोरो जन्म्यो, छोरी जन्मी। जब उनी सेवाबाट अवकाश भए, जीवनको सबैभन्दा मुस्किल घडी आइहाल्यो।
उनी भौंतारिंदै हरिद्वार दिदी बस्ने आश्रममा पुगे। दिदीले भनेकी थिइन् 'मलाई थाहा छ तिम्रो जीवन कसरी बितिरहेछ। मनुष्यको अहंकार पनि गजबै छ भाइ! मलाई मेरा बाबुले सानो खानदानको केटोसँग भागेर गई भनेर थुतेर ल्याए। आज त्यही परिवारमा विवाह भएर आएकी तिम्री पत्नीले सानो खानदानको भनेर तिमीलाई खिसी र उपहास गर्छे।'
आरोग्यको घरमा एकजना नेपाली सहयोगी थियो जालिम सिंह। बिए पास गरे पनि नेपालमा रोजगारी नपाएको हुँदा ऊ हिन्दुस्तान हानिएको थियो। जालिमलाई राणा परिवारले राम्रै पारिश्रमिक दिएर ‘मुनिम’ बनाएर राखेको थियो।
उसले एक दिन भनेको थियो 'राणा साब! हजुरलाई केही कमी छैन। यत्रो दौलत छ, धन छ, गाडी छ, मकान छ, नोकर चाकर छन्। जहान राजाकी छोरी हुनुहुन्छ, बुहारी अर्को राजाकी छोरी। छोरा साहेब पनि बुलन्द हुनुहुन्छ। यति हुँदा पनि हजुरलाई सधै गम्भीर र चिन्तित देख्दछु। खाना पनि राम्रोसँग खानुहुन्न। यहाँ मानिस एक पेट खानको लागि अधीर छन्।'
वास्तवमा जालिम ठिक बोलिरहेको थियो। परन्तु जालिमको सत्य उसको परिधिभित्र सीमित थियो। सबैका सोचहरु आ-आफ्नो परिधिको सीमाभित्र घुम्दछन्।
आरोग्यले भने 'तिमी ठिक भन्दै छौ। हेर भाइ! मलाई खान नपाएर मर्ने मानिस छन् भन्ने थाहा छ। मलाई थाहा छ, कतिपय मानिसहरु धेरै खाएर मर्छन्। यहाँ कोही खान मन नलागेर पनि मर्छन्।
त्यति मात्र होइन, कति त यहाँ खाँदा पिउँदै पनि जिउँदै मर्दछन्। मलाई भोक लाग्छ, किन्तु जब म खाने टेबलमा जान्छु, भोक मर्दछ। जब बाहिर जान्छु, गल्लीको होटेलको खाना मिठो मानेर खान्छु। मेरो बारमा महँगा रक्सीका बोतलहरु सजाएर राखिएको छ। तर मलाई गल्लीमा पाइने लोकल ठर्रा मिठो लाग्दछ।'
उनी भन्दै गए- 'उपहास र घृणाले पाएको स्वर्गभन्दा प्रेमले पाएको नर्क जाती हुन्छ। हेपेर दिएको अमृतभन्दा मायाले दिएको भुटेको भटमास मिठो हुन्छ। आफ्नो अन्तरात्माको आवाजलाई दबाएर चुपचाप भोग गर्नुभन्दा आवाज बुलन्द पारेर झोपडीमा बाँच्नुमा आनन्द हुन्छ।
अनुचित नियम र अनुशासनको साङ्लोभन्दा अकिन्चन संसारमा मुक्तिको अनुभव हुन्छ। अब म मेरा पूर्वजको संसारमा जानेछु। मलाई थाहा छ त्यो संसारमा गएर पनि केही फाइदा छैन, किन्तु म त्यहाँ जानेछु।'
एक दिन प्रोफेसर आरोग्य निमको बोटमुनि उभिएर मानसिक रोगीहरुलाई प्रवचन सुनाइरहेका थिए। डाक्टर विलम्ब पनि आरोग्यको छेउमै थिए। अनायास एक जना सम्भ्रान्त देखिने महिला आएर डाक्टरलाई सादर अभिवादन गरिन्।
डाक्टरले चुप लागेर बस्ने सङ्केत गर्दै दर्शकदीर्घामा रहेको खाली मेचतर्फ इसारा गरे। महिला मानसिक रोगीहरुको पङ्क्तिमा बसिन्। ती भद्र महिला थिइन् आरोग्यकी पत्नी अनुप्रिया। आरोग्य धाराप्रवाह बोल्दै गए।
अनुप्रियाले ‘मास्टर’ भनेर हेला गरेका आरोग्यले कक्षा कोठामा पढाउने बाहेक पनि केही गर्छ भन्ने उनलाई न थाहा थियो न सरोकार नै। आरोग्यले किताब लेखेको, उनका किताब विश्वविद्यालयको पाठ्यकरमा समावेश भएको र रिसर्च गरेको कुनै कुरा थाहा थिएन उनलाई।
आरोग्य विदेशतिर जाँदा पनि उनी घुम्न गएको होला भन्ने सोच्दथिन्। प्रवचन सकियो। आरोग्य केही थाहा नपाए जस्तो गरी आफ्नो क्याबिनतर्फ हानिए। अनुप्रिया उनको पछि लागिन्। क्याबिनमा पुगेर मेचमा बसेपछि उनले भनिन् 'सरी'।
अनुप्रियाले भनिन् 'लोग तुम्हारी बिमारीको लेकर बहुत सि बातें कर रहे हैं।' उनी भनिरहिन् 'अब तिमी बुढो भयौ। म पनि बुढी हुन थालें। अचेल मलाई बुहारीसँग बस्न कठिन लाग्न थालेको छ। अब तिमी घरमा बस्नु पर्छ। सँगै बाँचौँ, सँगै मरौँ।'
आरोग्यले भने 'जहाँ कुनै क्रिया हुन्छ, त्यहाँ प्रतिक्रिया हुनु स्वाभाविक हो। मेरो मानसिक स्वास्थ्यलाई लिएर मानिसले चर्चा गर्नु कुन ठूलो कुरा भयो? आज तिमी पागलखानाभित्र छिरेको देख्नेहरुले तिम्रो विषयमा पनि अनेक कुरा गर्नेछन्। मलाई कसले के भन्छ भन्ने कुरामा कुनै मतलब छैन।
यो पागल हुने अठोट म आफैले गरेको हुँ। तिमीले पनि जिन्दगानीको बीभत्सता, नग्नता, खिसी र उपहासको जीवन कस्तो हुन्छ भन्ने अनुभव गर्नु जरुरी छ। म अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि घर जान्नँ। म बाहिर रहँदा मलाई सहज भएको छ र तिमीहरुलाई पनि।
मैले तिमीहरूबाट मुक्ति पाएको छु भने तिमीहरुले मबाट। म यहाँबाट आफ्नै माटो खोज्दै काठमाडौँ जानेछु। परन्तु एउटा कुरा भन्छु, तिमीलाई साह्रै दु:ख र असह्य पीडा भयो भने मलाई सम्झनू।'