माटो छोड्दा शीरभरि आमाको आशीर्वाद लिएर आकाशमा उडेको म
आफ्नो देश फर्किँदा तिनै जननीको पोल्टाभरि खुसी भर्न चाहन्थेँ म
अनेक परिवर्तन देखेर, भोगेर बाध्यताले अवसर खोज्दै खाडी छिरेको म
परिवारका अनेक अधुरा चाहनाहरू आफ्नो पसिनासँग साट्न चाहन्थेँ म
काम गर्दा आइपरेका अप्ठ्याराहरु छोराछोरीको खुसी देख्दा सजिलै बिर्सने म
परदेशिनुका पीडा लुकाएर दुःख बाँड्न खोज्दा परिवार सम्झी बेलाबेला भक्कानिने म
म मात्र नभई परदेशिएका साथीभाइको पीडा हेरी मन शान्त पार्न खोज्ने म
परिवारकै लागि सजिलो अप्ठ्यारो वास्तै नगरी अहो रात्र खटिरहने म
आफ्नोभन्दा पनि परिवारको खुसी बारे हरबखत सोचिरहने म
म बिना मेरो परिवार के होला, कहिल्यै सोच्न पनि नसक्ने म
कोसेली बोकेर सबैलाई हाँसी खुसी स्वदेश फर्किने सपना देखेको म
तर विडम्बना! लासको पहिचान बोकी बाकसमा फर्केको म
लासै लासको माझमा असारे झरी सरी आँसु झार्दै उनी
बेलाबेला मुर्छा परी मेरै निम्ति प्राण धानेको जस्तो देखिने उनी
बाबाको कोसेली र माया कुरेर बसेका छोराछोरी आमा जस्तै देखिन्थे मलिन
भन्दै थिए 'के गरौंला रित्तो घर नरहेपछि घरको मूल दलिन?'
एकातिर लासको तस्बिर क्यामरामा कैद गर्नेको लर्को थियो
अर्कोतिर परिवारको बिलौना मन थाम्नै नसक्ने गरी झन् चर्को थियो
आमाले भन्छिन् 'आशाको किरण मायाको पोको लास बनी आयो नि'
अँगालो हाली रोएर उनले भन्दैछिन् 'जीवनभर अँध्यारो छायो नि'
आउँछन् गाउँले यो लासलाई अब जलाउँ भन्दैछन्
पीडामा उनी यो मेरो प्राण हो, यसलाई नचलाऊ भन्दैछिन्
ती लालाबाला, ती वृद्ध आमा छन् सबै लास झैँ
छोड्छन् कि जस्तो पीडामा सबैले यही अन्तिम सास झैँ
नरोऊ प्रिय अदृश्य रक्षक बनेर सधैँ म साथै रहुँला
जिन्दगीभरि सुखमा हाँसो, दुःखमा आँसु बनी म बहुँला
तिमीले हारे यी सन्तान हाम्रा कसरी जित्ने छन्
मनदेखि सधैँ बलियो बन सन्तानले तिम्रै पाठ सिक्नेछन्।