नौ वटा दक्षिण अमेरिकी देशहरूमा फैलिएको विशाल जंगलको नाम एमेजन जंगल हो। एमेजन जंगलको ६०% भू-भाग ब्राजिल, १३% पेरु र १०% कोलम्बियामा पर्छ। बाँकी १७% भू-भाग वोलिभिया, भेनेजुएला, गाइआना, फ्रेन्च गिआना, इक्वेडर हुँदै सुरिनेमसम्म फैलिएको छ।
एमेजन जंगल भित्र असंख्य आदिवासीहरू बसोबास गर्छन्। ती मध्ये 'ग्वारानी' समुदाय एक हुन्। 'ग्वारानी' समुदाय ब्राजिलको उत्तर-पश्चिमी क्षेत्रमा बसोबास गर्छन्। अन्य आदिवासीको तुलनामा, 'ग्वारानी' समुदायको जनसंख्या एमेजन जंगल भित्र-बाहिर अधिक रहेको छ।
मार्कोस भेरोन ग्वारानी समुदायका मुखिया हुन्। यिनी ग्वारानी समुदायको हकहितका निम्ति संर्घषमा होमिएका नायक हुन्। यिनले जीवनका अधिक हिस्सा ग्वारानी समुदायकै उन्नयनमा समर्पित गरेका थिए। बाँकी हिस्सा घर-परिवार र व्यवसायमा खर्चेका थिए।
मार्कोसद्वारा सामाजिक, व्यवसायिक र पारिवारीक जीवनलाई सन्तुलनमा राखिएको देखिन्छ। सामाजिक जीवन झैँ, पारिवारिक र व्यवसायिक जीवनमा पनि माया, प्रेम र भातृत्वका रंगहरू छरिएको देखिन्छ। सत्तरीयौँ वसन्त टेके पनि मार्कोसको स्मरणशक्ति धमिलो भएको छैन तर शारीरिक रुपमा पोहोर/परारभन्दा निकै कमजोर देखिन्छन्।
वृद्ध अवस्था सगँसँगै यिनका पुराना जोश जागरहरू क्रमशः लुप्त भएका छन्। सत्तरीयौँ जन्म-जयन्ती मनाएको तेस्रो साँझ, छोरा आभा भेरोन र बुहारी दामीआना भेरोनलाई आफू छेउ डाक्छन्। आफ्ना कुराहरू ध्यानपूर्वक सुन्न आग्रह गर्छन्।
'प्यारा छोरा-बुहारी, हिजोआज म कमजोर भएको छु। अस्वस्थ देखिएको छु। अब लामो समय बाच्छु जस्तो लागेको छैन। संसारबाट छिट्टै बिदा हुन्छु जस्तो लागेको छ। तर मृत्यु अगाडि घर सल्लाह गर्न चाहान्छु। हाम्रा विगतबारे जानकारी दिन चाहन्छु।
आज हाम्रो तबेला घोडाहरूले भरिभराउ छ। यहाँ रहेका सबै घोडाहरू भारी बोक्छन्। हामीलाई मनग्य आम्दानी गर्न सहयोग गर्छन्। यी घोडाहरूकै बलमा हाम्रा दिन फेरिएका छन्। तर सुदूर अतीतमा हाम्रो अवस्था भिन्नै थियो। हामी गरिवी, अभाव र पछौटेपनको भूमरीमा रूमल्लिएका थियौँ।
मेरा आमा-बुवा, दिनहुँ उखुँ खेतीमा जोतिन्थे। उखुँ खेतीमै मजदुरी गरेर, जीविकोपार्जन गरेका थिए। गरिवी र अभावका कारण, आमा-बुवाले अल्पायुमै ज्यान गुमाउनु भयो। बुवा पैँतिस र आमा सैँतिस वर्षको उमेरमा परलोक जानु भयो। उहाँहरूको मृत्युपछि, म बेसहारा भएँ।
अभिभावकहरूको छहारीबाट बिमुख भएँ। त्यसपछि, म पनि बुवाआमा झैँ उखु खेतीमा काम गर्न थालेँ। तेह्र वर्षको कलिलो उमेरदेखि मजदुरी गरेँ। मजदुरी गरेको दशकौँपछि पनि जीवनमा कुनै परिवर्तन नआएको महसुस गरेँ। दशकौँदेखिको श्रम निरर्थक भएको मूल्यांकन गरेँ।
सायद, म भित्र परिवर्तनका अंकुरहरु पलाएको हुनुपर्छ। फलस्वरुप, दशकौँदेखिको मजदुरी पेसा त्याग्ने सोच बनाएँ। विकल्पमा, नयाँ व्यवसाय प्रारम्भ गर्ने सपना बुनेँ। आफूसगँ संचित र छिमेकीसगँ लिएको सापटी रकमबाट घोडा किन्ने अठोट गरेँ। योजना अनुरूप एउटा वयस्क घोडा खरिद गरेँ। घोडाको नाम ‘हेप्पी’ राखेँ।
हेप्पीको आगमनपछि घरको आर्थिक अवस्थामा सुधार हुन थाल्यो। हेप्पी र मैले कठोर परिश्रम गरीरह्यौं। साथसाथै, सामान ढुवानीको काममा वृद्धि भयो। गाउँकै अगुवाहरूको रहोबरमा बिहे गरेँ। अर्को वर्ष आभाको जन्म भयो।
हेप्पी र म एकनासले सामान ढुवानीमा लागिरह्यौँ। हामीसँग अटुटरूपले पैसा जम्मा हुँदै गयो। जम्मा भएका रकमबाट, वर्षैपिच्छे नयाँ घोडाहरू किन्दै गयौँ। नयाँ घोडाहरू हेप्पी जस्तै परिश्रम गरे। परिश्रमी घोडाहरूकै कारण आज हामीले गरिबी र अभाव माथि विजय हासिल गरेका छौँ।
साथसाथै, दुई दर्जन घोडाका धनी भएका छौँ। यी सबै घटना क्रमहरूलाई मूल्यांकन गर्दा हेप्पीको आगमनले हामीलाई उन्नतीको मार्गमा डोहोर्याएको छर्लंग हुन्छ। हेप्पीले हाम्रो परिवारमा लगाएको गुण, हामीले कदापि बिर्सिन हुँदैन। हेप्पी हाम्रो घरमा सौभाग्य बनी आयो। उसको अनुपस्थितिमा घरको सौभाग्य हराउन सक्छ। त्यसर्थ जस्तोसुकै परिस्थितिमा हेप्पीलाई नबेच्नू। बेवारिसे नबनाउनू।'
यति कुरा भनेसँगै मार्कोस आफ्ना भनाइ टुङ्गाउँछन्। बुवाको कुरा सुनेपछि छोरा-बुहारी गम्भीर मुद्रामा देखिन्छन्। एकअर्कोको मुहार हेर्छन्। दुवैजना वृद्ध बुवाको हात समाउँछन्। बुवाको सुझाव अनुरुप हेप्पीलाई कदापि नबेच्ने र बेवारिसे नबनाउने प्रतिज्ञा गर्छन्। छोरा-बुहारीको प्रतिज्ञा सुनेर मार्कोस खुसी हुन्छन्। छोरा-बुहारी र बाबा बीचको घर-सल्लाह आत्मीय ढंगले टुङ्गिन्छ।
घर सल्लाह भएको पाँचौ दिन, प्रकृति अशान्त बन्छ। एमेजन जंगल वरपर भारी वर्षा हुन्छ। हुरी-बताससँगैको भारी वर्षाले सयौँ रुखहरू ढल्छन्। पुराना रुख ढलेको देख्दा नयाँ रुखहरू विरक्त मान्छन्। रुखहरू ढलेकै दिन मार्कोस पनि ढल्छन्।
यसरी, प्रकृति अशान्त भएकै दिन वृद्ध मार्कोस धर्तीबाट बिदा हुन्छन्। बुवाको देहावसानपछि व्यापार-व्यवसायको जिम्मा आभाको काँधमा आइपुग्छ। दामीआना, घर-व्यवहार मिलाउन श्रीमानलाई हर-सम्भव सहयोग गर्छिन्।
समयको बेगसँगै, श्रीमान्-श्रीमती, घर-परिवार र व्यापार-व्यवसाय अगाडि बढाउन अभ्यस्त हुन्छन्। घर-परिवार र व्यापार-व्यवसाय राम्ररी चलाउछन्। अन्य घोडाझैँ हेप्पी काममा व्यस्त हुन्छ।
समयले कोल्टे र्फेने क्रमसँगै, हेप्पी वयस्क अवस्थाबाट वृद्ध अवस्थामा हुत्तिन्छ। उसको सार्मथ्य क्रमशः विलुप्त हुन्छ। पुराना जोश जागर हराउँदै जान्छ। गह्रुंगो भारी बोक्न अप्ठ्यारो मान्छ। कामप्रति अरूचि बढ्दै जान्छ। हेप्पीको परिर्वतित आनिबानीसँग आभा छिट्टै परिचित हुन्छ।
हेप्पीको अल्छिपना, ढिलासुस्ती र काम प्रतिको अरूचीले आभालाई खिन्न बनाउँछ। हेप्पी वृद्ध भएकाले कडा श्रम गर्न नसक्ने आभा ठहर गर्छ। त्यसर्थ, वृद्ध हेप्पीलाई तबेलामा धेरै समय राख्नु खर्चिलो र बोझिलो ठान्छ। हेप्पीलाई छिटो तबेलाबाट निष्कासित गर्नु श्रेय मान्छ। तथापि, हेप्पीलाई गल्हत्याउन सहज नभएको ठहर गर्छ।
हेप्पीलाई निष्कासन गर्नु र फलामको चिउरा चपाउनु उस्ता उस्तै ठान्छ। किनकि स्वर्गबासी बुवाले जतिसुकै कठिन परिस्थितिमा पनि हेप्पीलाई नबेच्नु र बेवारिसे नबनाउनू भन्नु भएको थियो।
आभा स्वयमबाट हेप्पीको सरंक्षण गर्ने प्रतिज्ञा भएको थियो। बुवाको सुझाव र आफ्नै प्रतिज्ञाले आभालाई धर्मसंकटमा पारेको छ। ऊ अन्योलग्रस्त भएको छ। निल्नु न ओकल्नुको दोसाँधमा उभिएको छ। हेप्पीलाई तबेलाबाट निष्कासन गर्दा आर्थिक बोझ कम हुनेछ। तर बुवालाई दिएको प्रतिज्ञाबाट, आभा बिमुख हुन पर्नेछ। तसर्थ, ऊ रनभुल्लमा परेको छ।
समय बित्दै जाँदा, हेप्पी झन् झन् कमजोर बन्छ। आभा पुरानो प्रतिज्ञाभन्दा हेप्पीद्वारा श्रृजित आर्थिक बोझबाट छुट्कारा चाहन्छ। बुवालाई दिएको प्रतिज्ञाबाट विमुख हुँदा, आर्थिक बोझ कम हुने निष्कर्ष निकाल्छ।
यसका साथै हेप्पीलाई घरबाट निकाल्ने सही समय आएको ठहर गर्छ। हेप्पीलाई घरबाट बेदखल गर्ने विचार दामीआनालाई सुनाऊँ वा नसुनाऊँ? आभा अलमलमा पर्छ। यदि सुनाएमा, दामीआनाको प्रतिकृया के कस्तो हुन सक्छ? भन्दै चिन्तन मनन गर्छ।
बुवासँग गरिएको प्रतिज्ञालाई तलमाथि नगर्दा बेस भनी दामीआनाबाट सुझाव पाउन सक्ने अड्कल काट्छ। जीवन संगिनीबाट आफूले अपेक्षा गरेझै उत्तर नआउने भए, सूचना नचुहाउँदा मनासिव हुने ठहर गर्छ।
अब धेरै ढिला नगरी हेप्पीलाई घरबाट निकाल्ने योजना बनाउन आभा अग्रसर हुन्छ। सम्भव भएसम्म, हेप्पीलाई एमेजन जंगलमा छाड्दा राम्रो हुने निर्क्योल गर्छ। हेप्पीलाई एमेजन छाडिए, ऊ कहिल्यै घर फर्केर आउन नसक्ने विश्वास गर्छ।
आज साँझ, हेप्पीलाई हर हालतमा तबेलाबाट हटाउने गरी आभा मनमनै योजना बुन्छ। विडम्बना नै भनौँ, हेप्पीमाथि षड्यन्त्र रचिएकै दिन प्रकृतिमा ठूलै उथलपुथल भएको छ। धेरै समयपछि तेज गतिमा हुरी चलेको छ। तीव्र गतिको हुरीबतासले यस क्षेत्रको दैनिकीमा बाधा पुर्याएको छ।
प्रकृतिले उथलपुथल पारेकै साँझ आभा तबेलामा सुटुक्क छिर्छ। हेप्पीप्रति देखावटी प्रेमभाव दर्शाउँछ। कसैले चुइक्क चाल नपाउने गरी हेप्पीलाई तबेलाबाट निकाल्छ र घरबाट एमेजनतर्फ लाग्छ। कोसौँ पैदल यात्रापछि आभा र हेप्पी सँगसँगै जंगल छिर्छन्।
हेप्पीलाई गन्तव्यमा पुर्याउँदा रात छिप्पिएको छ। बुवासँग गरेको प्रतिज्ञालाई तिलाञ्जली दिँदा आभाको मुहारमा रत्तिभर हीनताबोध वा प्रश्चाताप देखिँदैन। बरु, हेप्पीलाई आफ्नो षड्यन्त्रको शिकार बनाउन सफल भएकोमा विजयभाव झल्किन्छ।
आजीवन तबेलामा रमाएको हेप्पीलाई जंगलमा अलपत्र पारेपछि आभा हर्षित हुँदै घरतिर लम्कन्छ। घण्टौँको अन्धकारमय पैदल यात्रापछि आभा गाउँ नजिक आइपुग्छ। गाउँमा कुकुरहरु एकोहोरो भुकिरहेको आवाज सुनिन्छ। आभा तिनीहरूका नजिक पर्नासाथ, भुकाइहरु बन्द हुन्छन्।
ऊ गाउँको बाटो हुँदै आफ्नो घरतर्फ लम्कन्छ। तर घरतिरको अकल्पनीय दृष्यका कारण, उसको मनमा चिसो पस्छ। अघि बढ्दै गरेका पाइलाहरू अचानक गह्रुंगो हुन्छ। करिब पाँच सय मिटरको दूरीबाट घर र तबेलामा भिषण आगलागी भएको देख्छ।
यस्तो अविश्वसनीय दृष्यले आभालाई हस्याङ फस्याङ गर्दै घर तिर कुद्न बाध्य पार्छ। घरको आँगनमा आइपुग्दा नपुग्दै तबेला जलेर पूर्णरुपले ध्वस्त हुन्छ। तबेलासँगै जलेर, घोडाहरू खरानी बन्छन्। लगत्तै आभाको कानमा प्राणप्रिय श्रीमतीको चित्कार सुनिन्छ।
क्षणभरमै श्रीमती पनि अग्नीको शिकार बन्छिन्। श्रीमतीको आवाज सदाको निम्ति अग्नीमा विलीन हुन्छ। यसरी, हुरी बताससँगै सल्किएको आगलागीमा परी आभाले एकैसाथ तबेला, घोडा, घर र श्रीमतीलाई गुमाउँछ।
गाउँका बुढापाका मानिसहरू यसअघि गाउँमा यस्तो भयानक आगलागीका घटना कहिल्यै नघटेको बताउँछन्। छरछिमेकहरु आभाको वरपर झुम्मिछन्। आगलागीबाट हुन पुगेको ठूलो धनजन र मानवीय क्षतिप्रति गहिरो सहानुभूति प्रकट गर्छन्।
आभा छरछिमेकहरूबीच उभिएता पनि आफूलाई एक्लो महसुस गर्छ। आभाको कानमा बारम्बार दामीआनाको चित्कार गुन्जिरहन्छ। आभाका दुवै आँखाहरु राता भएका छन्। आँखाबाट आँसु बगिरहेको छ। श्रीमती गुमाउनु पर्दाको पीडाले विक्षिप्त भएको छ।
आगलागी किन भएको होला? कतै बाबासँग भएको प्रतिज्ञाको अवज्ञा र हेप्पीमाथि रचिएको षड्यन्त्रकै कारण घरमा बज्रपात आइलागेको त होइन? हेप्पीको अनुपस्थितिकै साँझ भयानक त्रासदिपूर्ण दुर्घटना! यो रहस्मय दुर्घटना, केवल संयोगवश घटेको घटना हुनै नसक्ने, आभाको निष्कर्ष रहन्छ।
अन्तमा, लाभ हानिलाई सर्वपरी ठानी बाबासँग गरिएका प्रतिज्ञाको स्वामित्व ग्रहण नगरेकोमा आभा प्रश्चाताप गर्छ।
(नोट: दक्षिण अमेरिकी देशहरूमा पुरुषको नाम आभा हुने गर्छ।)