दुई महिना सुत्केरी स्याहारेपछि बहिनी रमालाई घर पठाउने बेला भयो।
निम्न स्तरको आयले गर्दा यो दुई महिना बहिनीलाई दिनरात मासुभात खुवाएर पाल्न कति गाह्रो थियो मलाई नै थाहा छ। तैपनि दाजु हुनुको कर्तव्यबाट चुक्न चाहन्नथेँ। कर्तव्यभन्दा अझमाथि ऊप्रतिको मेरो स्नेह पनि थियो। सँगसँगै हुर्केकी मेरी प्यारी बहिनी हो ऊ।
काठमाडौंमा उसको माइती भन्नु म नै थिएँ। भाइबुहारी, बुवाआमा सबै गाउँमै हुनुहुन्छ। परिवारको जेठो छोरो हुनुको नाताले पनि मैले रमाको अभिभावकत्व जसरी पनि निभाउनै पर्ने थियो।
घर पठाउने बेलामा उसकी सासू, सासूका दिदीबहिनी, नन्द, आमाजू, जेठानी देउरानीलाई गरी जम्माजम्मी दश जोर कपडा तयार गरियो। सासू र उनका पाँचै दिदीबहिनीलाई सामान्य सुतीका धोती नहुने रे! पेटीकोट, ब्लाउज सबै सेटै सहितका सिफन साडीको माग गरेकी रहिछे बहिनी रमाले मेरी श्रीमतीसँग।
नयाँ पुस्ताका अरु सबैलाई कुर्ता सुरुवालका पिस चाहियो रे। ठिकै छ नि! बहिनीको घरमा इज्जत राखिदिनै पर्यो भनेर ऋण काढेरै भए पनि सबथोक उसले भने बमोजिम नै गरीदिएँ। आम्दानीको स्रोत ठप्प भएको समयमा पनि साथी उमेशले पचास हजार पत्याइदियो। एक महिनामै फर्काउँछु भनेर पैसा लिएँ।
'यो एक महिनाको भाका राखेर लिएको सापटी अर्को छ महिनासम्म पनि तिर्न सक्ने हो वा होइन' पैसाको बिटो हातमा लिएर आफ्नै मनसित संवाद गर्दैगर्दा आफैँ सुइयऽ सुस्केरा निस्किए मुखबाट।
म एउटा प्राइभेट स्कुलमा पढाउने साधारण शिक्षक। रातदिन घोटिए पनि आम्दानीको दायरा बढाउनै नसकिने। अलि अलि ट्युसन पढाएरै भएपनि आफ्नो गुजारा चलाइरहेको थिएँ। लकडाउनले स्कुलै बन्द भइदिँदा आधा तलबमै चित्त बुझाउनु पर्ने भयो।
त्यसमाथि कोरोना सक्रंमणको डरले ट्युसनै बन्द हुँदा आयस्रोत पनि शून्य भयो। भएको एउटा छोरो र स्वास्नीलाई नै कसरी पालौं भइरहेको स्थितिमा बहिनीको दोस्रो पटकको डेलिभरीले झण्डै झण्डै सडकमै पुर्यायो।
समाजको रीत नै यस्तै छ, आफ्ना छोरीचेलीलाई सन्तानको जन्मपछि केही समयको लागि माइतीमै राखेर स्याहारसुसार गर्ने। फेरि घर फर्कंदा आफन्त, नातागोता सबैलाई टन्न खानेकुरा र लुगाफाटा कोसेली पठाउने रिवाज पनि छ। बाबुबाजेका पालादेखि चलिआएको चलन मान्दिनँ भन्न पनि नमिल्ने। मान्छु भन्दा पनि म जस्तो गरिब दाजुका अगाडि आर्थिक अवस्था नै बीचमा आइदिने।
रीतिरिवाज नराम्रा कहिल्यै हुँदैनन् यदि यसमा आडम्बर नमिसाउने हो भने। देखासिकी र फजुल खर्चले नै हो रीतिलाई कुरीति बनाउने। कमजोरीको बेलामा आराम र उचित स्याहारका लागि बनाइएको एउटा संस्कारलाई मानिसले आफ्नो धनसम्पत्ति देखाउने माध्यम बनाएको छ। हुनेखानेलाई त ठिकै होला। तर, अरुले घोडा चढ्यो भनेर धुरी चढ्न खोज्ने प्रवृत्ति हावी हुँदा मजस्ता कति दाजुको ढाड सेक्किँदो हो।
छोरीचेलीलाई माइतीले मद्दत गर्ने परम्परा राम्रै हो। छोरीचेली र भान्जाभान्जीको माया त कसलाई नलाग्ला र? तर परम्पराकै नाममा भएभरका नातागोतालाई लुगाफाटा किनिदिनु पर्ने बाध्यता कहिल्यै उचित लागेन मलाई।
बुहारीले काम गर्न सकुन्जेल घरमा राख्ने अनि नसक्ने हुने बित्तिकै माइत पठाउने यो कस्तो चलन हो? महिनौं स्याहारेर उल्टै कोसेलीसहित घर पठाउनु पर्ने!
सेलरोटी, तरकारी, अचार, मिठाईका विभिन्न परिकार, फलफूलजस्ता कोसेली। अनि आमाबच्चाका सिरक डस्नादेखि सारा सामान जोहो गर्दा म त टाट पल्टिसकेको थिएँ। उमेशसँग लिएको पैसा पनि सक्कियो। एक लाख त पहिल्यैदेखिको ऋण थियो बुढीलाई अस्पताल भर्ना गर्दा लिएको। बिरामी भएर अस्पताल नै भर्ना गर्नु परेपछि उसको जागिर पनि छुटेको थियो।
उसको जागिर छुट्दा मुटु नै चिसो भएको थियो। भित्रभित्रै कसरी खर्च धान्ने भनेर आत्तिएको थिएँ। तैपनि 'म छँदै छु नि' भनेर उसलाई सम्झाएको थिएँ। स्वास्थभन्दा ठूलो जागिर कहाँ हो र?
ऋणमाथि ऋण थप्पिँदै थियो। यो कुरा श्रीमतीलाई भनौं भने नन्दभाउजूबीच मनमुटाव होला भन्ने डर। नभनौं, पीडा पोख्ने एक मात्र साथी ऊ नै थिई। पैसा नभएको कुरा गाउँमा आमाबाबुलाई भन्न त मन थियो। तर, भन्न सकिनँ किनकि पैसा नभएको कुरा सुन्न कोही तयार हुँदैनन्।
'आफ्नी स्वास्नीको लागि जति पनि खर्च गर्न सक्ने, बहिनीको लागि त के गर्न सक्थिस्?' भन्ने आमाको वचनले मलाई पीडा हुन्थ्यो। उहाँ कुरै नबुझी सारा दोष बुहारीमै थुपारीहाल्नु हुन्थ्यो।
भान्जा जन्मेको खबर सुन्नासाथ नातिको पास्नीमा एक तोलाको सुनको सिक्रीको माग गरिसक्नु भएको थियो। मामा भएपछि गर्नै पर्छ रे! छ महिनासम्म त जे होला होला जस्तो लागेको थियो। त्यसैले मौन थिएँ। अहिले त यही बोझले नै नराम्रोसँग थिचिएँ।
हुन त यो रमाको पहिलो पटकको बच्चा र सुत्केरी बसाइ थिएन। छोराको रहरले दोस्रो सन्तानको रुपमा भान्जा जन्माएकी मेरी बहिनी रमाले। बीचमा गर्भपतन हुँदा पनि स्याहारसुसार गरेकै हो।
काठमाडौंमा घर भएपनि रमाको आर्थिक स्थिति त्यति मजबूत छैन। ज्वाइँको खासै राम्रो इलम नभएकाले घरमा रमाको हैसियत बलियो थिएन। उसको देवर-जेठाजू राम्रा राम्रा पदमा कार्यरत थिए। त्यसैले देउरानी जेठानीका अगाडि सधैं कमजोर महसुस हुन्छ भनेर भाउजूलाई बताएकी रहिछ उसले। छोरा चाहियो भनेर उसकी सासूले पनि नानाथरी सुनाउँदि रहिछिन्।
आफूले भने बुढीले छोरीको कति रहर गर्दा पनि आर्थिक स्थितिले गर्दा सधैं बहाना बनाउनु परेको थियो। भित्रभित्रै एउटी पुतली जस्ती छोरीको बाबु बन्ने रहर त नपलाएको कहाँ हो र? तैपनि एउटै सन्तान भए पुग्छ भन्थें उसका अगाडि। गरिबीकै कारण आफ्ना रहरहरु कसरी मार्नु पर्दो रहेछ भनेर विस्तारै बुझ्दै थिएँ।
दुई महिना मेरी श्रीमतीले पनि सकेसम्म रमाको स्याहार गरी। काठमाडौंको महँगो बसाई। साँघुरा तीन कोठाको बास। कहाँ सजिलो थियो र? बेलाबेलामा केही दिन बस्ने गरी आउने ज्वाइँ र भान्जीले दिने दुःख पनि सहेकै थिई। कता-कता श्रीमती चिढिएर माइत पो जाने हो कि भन्ने डरले दिनरात सताइरहन्थ्यो। जसोतसो उसले पनि सहिदिई।
कति छाक त रमालाई मासुभात ख्वाएर उसले आफूले दाल भातमात्रै खाएकी देखेको थिएँ। छोराले पनि त्यस्तै खान खोज्दा अरु कुरामा भुल्याउने कोसिस गरेकी देख्दा आँखा रसाएका थिए। आफूले रुखोसुखो खाएरै भए पनि रमालाई सकेको सत्कार गरेकै थिई। गुनासाहरु त उसका पनि थिए होलान् कति, तर ती मेरा सामु कहिल्यै पोखिएनन्।
भान्जाको पास्नीसम्ममा एउटा आधा तोलाकै भए पनि सुनको सिक्री जसरी भए पनि बनाइदिने विचार गरेको थिएँ। म आमाको चित्त कुनै हालतमा दुखाउन चाहँदैनथें। उनको आदेश नमान्नु भनेको मेरी निर्दोष श्रीमतीलाई आमाको दोषको भारी बोकाउनु जत्तिकै थियो।
रमाले चाहेजस्तै गरी सबथोक जोडजाम गरियो। तर पनि घर जाने दिनसम्म उसको मुहार उज्यालो देखिनँ। सारा पैसा खर्च गरेर सामान जुटाएको उसकै मुहारमा खुसी देख्नलाई नै थियो। दाजुले यति पनि गर्दिएन भन्ने उसको मनमा नपरोस् भनेर नै ऋण सापटी लिएको थिएँ, बुढीलाई थाहा समेत नदिएर।
यति गर्दा पनि केही नपुगेको पक्कै होइन होला भन्ने लागेको थियो मनमा। अरु नै कुरा पो थिए कि! तैपनि मन चोर्न चाहें। श्रीमती भान्छामा व्यस्त भएको मौका पारेर रमालाई सोधें-
'सबै कुरा तैंले भनेजस्तै गरिदिएको छु। चित्त दुखाएकी त छैनस् होला नि। कुनै कुरामा कमी भएको भए भन्' सबै कुरा जुटाएकोले छाती फुकाएर मैले भनें। एकछिनलाई आफूमाथीको ऋण सापटी सबै बिर्सिदिएँ।
रमा अकमकाई। मेरा अपेक्षा भने छुट्टै थियो उसको जवाफका रुपमा। धन्यवादको वर्षा हुन्छ कि भन्ने अपेक्षा थियो। भोलिपल्ट उसलाई घर पठाउने जमर्को हुँदै थियो। उसको मुहारमा भने अझै सन्देहका धर्साहरु पो देखिइरहेका थिए।
'खुसी छु दाइ' भन्छे होला भन्ने मेरो आशा उसले एकैछिनमा तोडिदिई।
'दाइ, मेरो एउटा अनुरोध छ। मान्नुहुन्छ?' उसले संकोच मान्दै सोधी।
'के हो भन्, आफ्नै दाइसँग पनि के संकोच। अरु पनि केही चाहियो?'
मैले एकछिनलाई आफू दुनियाँकै सर्वश्रेष्ठ दाजु भएको अभिनय गरें। आफ्नो धरातल बिर्सिएँ। आफू एउटा पिता अनि पति भएको पनि बिर्सिएँ। स्वास्नी र छोरोप्रतिको आफ्नो कर्तव्य अनि जिम्मेवारी सबथोक भुलें। म एक दाजुमात्र भएर उभिइदिएँ आफ्नी विवेकहीन बहिनीको अगाडि।
'मेरी देउरानीले विवाहमा प्रशस्त दाइजो ल्याएदेखि सबैले मलाई हेला गर्न थालेका छन्। आफन्तहरु सबै उसको र मेरो खानदानको तुलना गर्छन्। अंशबन्डा भएपछि त झन् मेरो दाइजोमा केही आएको रहेनछ भनेर थाहा भयो। सँगै बसेर खाने एउटा डाइनिङ टेबुलसम्म पनि भएन।
ज्वाइँले पनि दाजुसँग जसरी भएपनि राम्रो खालको एउटा डाईनिङ टेबुल किनी माग्नु भन्नु भएको छ। मेरो बिहेमा दिइएको थिएन नि त। देउरानीले दाइजोमा ल्याएको डाइनिङ टेबुल त यति राम्रो छ कि दाइ के भन्नु।'
ऊ मबाट यही प्रश्नको प्रतीक्षामा रहिछ। म अवाक भएँ। बहिनीको मागका अगाडि बोली नै फुटेनन्। आफ्नै लागि साधारण डाइनिङ टेबुल किन्न मात्र सकेको भए म आफैं चकटीमा बसेर भात किन खान्थेँ र! मलाई पनि त रहर थियो। 'ठाउँ छैन' भन्ने गज्जबको बहाना मिलेको थियो मलाई।
म जस्तो निम्न वर्गको लोग्नेसँग मेरी बुढीले कसरी निर्वाह गरेकी छे त्यो मलाई मात्र थाहा छ। उसले आफ्नो जीवन नै सम्झौतामा बाँचेकी छे। उसको माइतीले दिन्छु भन्दा पनि एक पैसा लिन मान्दिन। बरु आफैं दुःख गर्छु भन्छे।
मेरा हर दुःख बुझिदिन्छे ऊ। बचत गर्ने प्रयास मात्रै गर्छे। फजुल खर्च कहिल्यै गर्दिन। आजसम्म मैले आफ्नै घरको हिरालाई नचिनेको रहेछु। ऊ जस्ती स्वाभिमानी नारीलाई श्रीमतीको रुपमा पाएकोमा पहिलो चोटि मेरो छाती गर्वले फुल्यो।
रमाले त उसले भन्दा राम्रोसँग मलाई चिन्नु पर्ने हो। एउटै परिवेशमा हुर्किएका हौं हामी। उसको र मेरो त रगतको नाता पो छ त। सानो छँदा ऊ र म सँगसँगै खेल्थ्यौं। सानो भाइलाई एक्लाउँथ्यौं। बुबाको दायाँबायाँ बसेर उहाँको त्यही एउटै स्यालको कथा सयपल्ट सुनेर पनि अघाउँदैनथ्यौं। एकअर्काको समस्या सजिलै बुझ्थ्यौं। उस्तै कुरामा हाँस्थ्यौं। उस्तै कुरामा मन दुखाउँथ्यौं।
सधैं समझदार लाग्थी मलाई मेरी बहिनी रमा। तर, आजसम्म म त भ्रममा बाँचेको रहेछु। किनकि दुई महिना सँगसँगै बस्दा पनि उसले मेरो दुःख नै बुझ्न सकिन। मैले उसका सबै माग पूरा गरिदिएको उसको खुसीको लागि हो। पैसा धेरै भएर कहाँ हो र!
यस्तो अप्ठ्यारो स्थितिमा पनि उसले कसरी यति महँगो सामानको माग गर्न सकी? आफूलाई घरायसी प्रयोजनका लागि चाहिएका सामानहरुका लागि उसको दम्पत्ति मिलेर मेहनत गर्ने कि माइतीको मुख ताक्ने? उसको देउरानीमाथिको इर्ष्याको भागी म गरिब दाजु किन हुनु पर्ने? औंला दिंदा कोही किन डुडुल्नो निल्न खोज्छन्?
यस्तै लालचले नै रहेछ माइती र चेलीको सम्बन्ध बिग्रने। देखासिकी गरेर बोझमाथि बोझ थप्न पनि नहिच्किचाउने चेलीबेटीका स्वभावले धेरैको घर उजाडेको छ। सम्बन्ध बिगारेको छ। घाँटी हेरेर पो हाड निल्नु पर्छ! दाजुभाइका पनि आफ्नै परिवार हुन्छन्, जिम्मेवारी हुन्छन्। चेलीबेटीले पनि यो कुरा बुझ्नु पर्ने होइन र? के उसकी नन्दले यस्ता चिज माग गरी भने उसले पुर्याउन सक्छे?
दिदीबहिनीका अनावश्यक ढर्रा र स्वार्थ हावी हुँदा कति सम्बन्धहरुले बाँच्नै बिर्सिएर घिटीघिटी सास मात्र फेरेका हुन्छन्। धन्न! मेरी बुढीले यो सम्बन्धको नाक राखीदिएकी छे। सास मात्र फेर्ने होइन, निर्धक्कसँग नन्दभाउजूको सम्बन्धलाई बचाइदिएकी छे।
मनभरि प्रश्नैप्रश्नका खात लागे पनि रमालाई केही भन्नै सकिनँ। शरीरभरि भने खल्खली पसिनै पसिना भएछन्। गालाहरु तात्तिएर पड्किएला कि जस्तो भएछन्। मुख पनि प्याकप्याक सुकेछ। एकछिन अघि आफ्नो धरातल नै बिर्सिएर ठूला कुरा गर्ने पात्र मै थिएँ। डाइनिङ टेबल त के, मसँग दालचामल जुटाउनेसम्म रकम थिएन। त्यसैले केही बोल्न सक्ने कुरै भएन।
म अनुत्तरित भएको देखेर त उसले बुझ्नु पर्ने हो। शरीरको हाउभाउ पनि प्रस्टै थिए। सन्तानहरुको जन्मपछि पनि दाइजोका कुरा उठाउनु त सरमको कुरा हो। दोस्रो पटकको सुत्केरी बसाइपछि त झन् कृतज्ञ हुनु पर्ने हो। तर, कस्तो सरमहीनता!
आफैले बुझेर परिस्थिति सम्हाल्नु पर्नेमा ऊ त झन् आफ्नो लोग्नेकै नाम लिएर पो निसंकोच माग राखिरहेकी छे। हात फैलाइरहेकी छे निर्लज्ज भएर। अझै ऊ मेरो मुख ताकिरहेकी छे 'हुन्छ' भन्ने जवाफका लागि।