स्नातक तहको चौथो वर्षको बिहानी कक्षा सकेर शंकरदेव क्याम्पसबाट निस्कनेबित्तिकै प्रतिका र उसका साथीहरू चिया पसल पस्छन्। चिया, साथी र गफको त्रिकोणात्मक सम्बन्धले परिवेशलाई केही रमाइलो बनाउथ्यो तर आफ्नो सपनाको नजिक पुग्ने भोक सबैको आँखामा प्रस्ट देखिन्थ्यो।
प्रतिकालाई न अकाउन्टको हिसाब-किताब पढ्न मन जान्छ न बजार व्यवस्थापन पढ्ने रहर छ। तर उसको विशेषता भनेको ऊ साह्रै सुन्दर छे। त्यसमा पनि मेकअप र ड्रेसअपको कलात्मकताले उसको सुन्दरता अझै निखारिएको छ।
उसको कोकाकोला फिगरले होला, जति साधारण पहिरन गरेपनि मोडेलभन्दा कम देखिन्ने। अलिकति मोटाएजस्तो लाग्ने बित्तिकै उसले खाना खानै छोडिदिन्छे तर भन्छे चियाबिना ऊ बाँच्न सक्दिन।
लगभग क्याम्पसका सबै केटाहरु एकटकले हेरिरहन्छन् र मुग्ध हुन्छन्। लाग्छ उसलाई हेरेर कहिल्यै थाक्दैनन्। कोही भन्छन् 'नशा लागेजस्तै लठ्ठ हुन्छु उसको सुन्दरतामा, म प्रतिकाबिना बाच्न सक्दिनँ' यस्तै यस्तै।
आज उसलाई निराशा, दुःख, आक्रोश सबै संवेदनाले गाँजेको छ। उसले गर्ने रिसेप्सनिस्टको जागिरबाट उसले बिदा पाई। आठ/दश हजार कमाएकै थिई, खर्च चलाएकै थिई।
आफै कमाउछु, पढ्छु, सपना साकार बनाउछु भनेर चार वर्ष पहिले राजधानी होमिएकी प्रतिकालाई घरको अवस्था अनि आफ्नो हालत देखेर छटपटी हुन्छ। अब म यो सहरमा कसरी बाच्न सकुँला? उसलाई यही कुराले पिरोलेको छ।
सरकारी स्कुलबाट एसएलसी प्रथम श्रेणीमा पास गरेकी प्रतिकालाई घरव्यवहार, जिम्मेवारी, आफ्नो सपनाले पछ्याएको छ। यसैले पनि उसले पढाइलाई न समय दिन सकेकी छैन। न पहिलेजस्तो पढाइमा मन जान्छ।
उसलाई समस्यामा देखेकोले सम्झाउने अनि समाधान भन्न पाए अझै नजिक हुने लालसामा उसका समूहका केटा साथीहरूले सोध्छन्- 'तिमी यति राम्री छ्यौ, सामाजिक संन्जालमा सक्रिय हुनू, फ्यान फलो राम्रो बनाएसी सब विज्ञापन कम्पनी तिमीलाई खोज्दै आउँछन्। बरू यसो फ्यान बटुलेसी बजारमा चलेको, हट रहेको विषयमा बोल्नू, तिमी सिधैँ सेलिब्रिटी हुन्छौ। केही गर्नै पर्दैन नि।
सामाजिक संजालबाट तिमीलाई राम्रो सहयोग हुन्छ। अनि हाम्रो चेतनाको स्तर यस्तो छ कि कागले कान लग्यो भनिदिए मात्रै पनि, कान छामछुम नगरी कागको पछि लाग्छन्। कसलाई फुर्सद सोधखोज, अध्ययन सत्यताको लागि? तिमीलाई हामी सहयोग गरूँला नि। अहिलेको यो प्रविधिको जमानामा के गाह्रो छ र!'
विवेकले खुब विवेकीपूर्ण कुरा गरेजस्तै गरी भन्यो। प्रितमले थप्दै भयो, 'आफ्नो बारेमा सुनाउँदा अत्यन्तै दुःख, कष्ट गरेर संघर्ष गर्दै छु भन्ने कथा सुनाउनू। मान्छे भावुक पनि होउन् र तिमीलाई माया गरुन्।'
सबै साथीले होमा हो मिलाएसी प्रतिकालाई पनि हो कि जस्तो लाग्छ। अब ऊ सञ्जालको दुनियाँमा हराउन थाली। साथीहरुले भनेजस्तै दिनानुदिन उसको क्रेज बढ्न थाल्यो। सुरुसुरुमा त उसले लाइभ आएर बोल्ने विषयको राम्रो खोज, अध्ययन गर्थी। नजानेका नबुझेका कुरा साथीहरुलाई सोध्थी पनि।
बोलीमा मिठास, सुन्दरताले पोख्त अनुहार,अनि विषयको राम्रो ज्ञान। यी तीन कुराको त्रिकोणात्मक सम्बन्धले क्षणभरमै स्टार बनाइदियो, धेरैको प्रेरणाको स्रोत बनी। संचार माध्यमको लागि सामाजिक अभिन्यता बनी। एक साधारण विद्यार्थीबाट अभिन्यताको बाटो कसरी तय भयो थाहा पनि पाइन।
उसका फोटोमा मोनालिसाको जस्तो मुस्कान, एसियाकै सबैभन्दा सुन्दर युवती, ब्युटी विथ ब्रेन यस्तै यस्तै कमेन्ट आउथ्यो। यी पढेपछि आफ्नो कोठाको टेबलमाथिको ठूलो ऐना हेरेर मुस्कुराउँथी अनि दंग पर्थी।
ऊ आफैँसँग आश्चर्यमा त थिई। तर जे भएपनि उसलाई राम्रै भइरहेको थियो। विज्ञापन एजेन्सीबाट दिनमा दूरी तीन वटा फोनकल आउँथ्यो। समय थोरै दिँदा पनि राम्रो पैसा कमाउन सकी। उसको जिन्दगीले एकाएक नयाँ मोड लियो।
चलचित्र, म्युजिक भिडिओका भकाभक अफर आए तर उसैले मन गरिन। समय खर्च गरेअनुसारको पैसा थिएन, उसको कारण यही थियो तर उसलाई आफूले अभिनय गर्न सक्ने नसक्नेमा कुनै सरोकार थिएन।
नाम पनि छ, दाम पनि छ। ह्या केका लागि पढ्नु भनेर ऊ क्याम्पस जान पनि छोडी, परीक्षा पनि दिइन। उसलाई पढाइबाट छुटकरा मिलेको थियो, रमाएकै थिई। सबैको वाहीवाही र टेलिभिजनतिर आफ्नो छोरीलाई देखेकाले गाउँमा भएका बाआमालाई गर्व थियो। बेलाबेला घरमा पैसा पठाउँथी, ऋणमुक्त हुँदै थिए। दंग थिए बाआमा पनि।
अब उसले कुनै पनि विषयमा खोज, अध्ययन,अनुसन्धान गर्न छोडी। किनकि ऊ जे बोले पनि बिक्री हुन्थ्थो। उसले नबोल्ने मान्छेको पनि विचार हुन्छ भन्ने बिर्सिसकेकी थिई। उसले आफ्नो अनुहारमा मजाको नकाब बोक्न थाली। चलेका दुई/चार वटा पुस्तक किन्थी, सामाजिक संजालमा पोस्ट गर्थी अनि सजाएर राख्थी। पढ्न उसलाई न मन, न फुर्सद।
कहिलेकाहीँ हुने भेटघाट,गोष्ठी र सम्मेलनमा भेटिने सबैखाले मान्छेलाई प्रशंसा गरिदिएर प्रफुल्ल पारिदिन्थी। उनीहरु मख्ख पर्दै धन्यवाद दिन्थे। उसले यति कुरा थाहा पाइसकेकी थिई, अरूको प्रशंसा जो कोहीले गर्न सक्दैन। आफूले गरेपछि केही न केही फाइदा भैहाल्छ।
तर समय सधैँ एकनास रहेन। अब उसको परिचय बदलिएको थियो। नेपालकै स्टार, राष्ट्रिय हिरो, विशिष्ट सौन्दर्यको उत्कृष्ट प्रतिमाको उपमा ऊजस्तै अर्की सुन्दर युवतीले पाएकी थिई। सोसल मिडियामा स्टार बनाउन गाह्रो पनि त थिएन। दुई/चार वटा फोटो, भिडिओ भाइरल गराइदिए पुग्थ्यो।
प्रतिकालाई अब आफ्नो समय सकिए जस्तो लाग्यो। ऊ निकम्मा भई। बल्लतल्ल एउटा सामाजिक विषयमा बोल्नको लागि आह्वान गरियो। उसले त्यो बारे केही अध्ययन गरिन। विषय त्यही त हो, अलिकलि काटछाँट गर्दे लयात्मक ढंगबाट मधुर स्वरमा बोलेपछि सबैको वाहीवाही। उसले यस्तै सोची।
तर उसले सोचेजस्तो हुँदै भएन। ऊ पहिलेजस्तै बोल्न सकिन। कुनै कुरा पनि दिमागमा सजाउन सकिन। बोल्न खोज्दा उसको खुट्टा लगलग काँपे, बोली फुटेन। ऊ निशब्द भई। उसले लगाएको बाहिरी लेप छताछुल्ल पोखियो।
आखिर ढिलो छिटो सत्य बाहिरियो। उसले के के बोलेर आफ्नो कुरा सकी उसलाई हेक्का रहेन। ऊ जतिसक्दो त्यहाँबाट निस्की र आफ्नो कोठामा हुत्तिई। अत्यन्तै लज्जाबोध भयो उसलाई र कोठामा आएर रातभरि रोई, छट्पटाई।
निकै लामो समयपछि उसको अश्रुधाराको प्रवाह बन्द भयो। उसले फेसवासले मिचीमिची सधैँको जस्तो मुख धोई। फरक यति थियो, यसपालि आफूले लगाएको नक्कली लेपका पत्र एक-एक गरेर फालीदिई अनि प्रफुल्ल हुँदै बिहानी प्रहरमा बिस्तरामा पल्टी।