साउन महिनाको सोमबार विशेषले प्रितीलाई छुट्टै रौनक थपिदिएको छ। उसलाई मात्रै कहाँ हो र? साथीभाइ, देउरानी, जेठानी, सासू लगायत पूरै टोलबासीलाई नै खास बनिदिन्छ हरेक साउन।
हरेक वर्ष झैँ यसपालि पनि प्रितीलाई छपक्कै साउनले छोपिसकेको छ। हातमा श्रीमानको नामले भरिएको मेहेन्दी लगाएकी छे उसले। हरिया चुराले नाडीहरु सजिन थालिसकेका छन् उसको।
हरेक सोमबारको दिन उसको घरमा छुट्टै तयारी हुन्छ। खानामा चोखोनितो गर्नु, सिउँदोमा रातै सिन्दुर, गलामा रंगिन पोतेका साथमा राता, हरिया, पहेँला पहिरनमा आफूलाई सजाउनु उनलाई रमाइलो लाग्छ। शिवको प्रिय धतुरो, बेलपत्र, सोह्रसुते बत्ती कहिल्यै टुट्दैनन् प्रितीको घरमा।
घरको नियमित घरधन्दा सकेर, श्रीमान र छोराको लागि बेग्लै बेग्लै स्वादको खाना बनाइ अफिस पुग्नै पर्ने चपेटा। त्यसका बाबजुद हरेक सोमबारका दिन फरक फरक शिवको मन्दिर गएर आस्थापूर्वक पूजाआजा गर्नबाट टाढा रहन्न प्रिती।
प्रितीको श्रीमान् नितेस एक सरकारी कर्मचारी हुन्। प्रिती भने निजी संस्थाको जागिरे। एउटा छोरो छ। दुवै शिक्षित छन्। काठमाडौँमा आफ्नै घर, गाडी, आर्थिक हिसाबले पनि राम्रै थियो। अरुको नजरमा पनि राम्रै परिवारमा गनिन्थ्यो उनीहरुको परिवार।
सरकारी कर्मचारी भएकै कारणले दस बजे हाजिर हुनुपर्थ्यो नितेसको। प्रितीको भने नौ बजे नै पुग्नुपर्ने। बिहान आफ्नो घरको घरधन्दा सकी, छोरा घिच्याउँदै काठमाडौँको जाम छिचोलेर समयमै कार्यालय पुग्नु परिहाल्यो।
दिनभरि काम गरेर बेलुका स्कुलबाट छोरा लिँदै घर फर्कनु दैनिकी नै थियो प्रितीको। अफिस जाँदाआउँदा नितेसबाट बिरलै पाइने पिकअप र ड्रप पनि स्वर्णीम बनिदिन्थ्यो उसका लागि।
धन्न! अहिले त अनलाइन कक्षा भएर प्रितीले छोरा समाउँदै दौडिनु परेको छैन। भगवानप्रति निकै आस्था राख्ने भएकीले ऊ हरबखत आफ्नो श्रीमानको लामो आयु होस्, श्रीमानसँगको सम्बन्धमा गहिरो माया प्रेम भइरहोस् भनेर हरेक समय भगवान पुर्कान मन्दिर धाइरहन्छे। प्रायः खानेकुरा भगवानलाई छुट्याएर मात्रै खान्छे प्रिती।
प्रत्येक वर्ष साउन महिनाभरि उसको घरको भान्सामा लसुन-प्याज, माछामासु बर्जित हुन्छन्। आधुनिक युगकी पढेलेखेकी अनि जागिरे प्रितीले यसरी नियमपूर्वक उपवास राखेको देखेर जो कोही छक्कै पर्छन्। कोही त खुलेर प्रशंसा पनि गरिहाल्छन् प्रितीको।
श्रावनमासमा विभिन्न शक्तिपिठ घर, अफिस धाउँदै बितेको थियो। शनिबारको दिन परेकाले दिनभरि घर सरसफाई, बच्चालाई नुहाइधुवाई, हप्ताभरि सबैले लगाएको लुगा धुँदा, श्रीमान र छोराको रुचीअनुसार खाना बनाउँदै ठिक्क भइहाल्यो। अरु दिनभन्दा ओभर टाइम नै काम हुन्छ पारिश्रमिक बेगरको।
त्यो दिन ढाडै सोझ्याउनै भ्याइन उसले। थाकेर लखतरान भएर पनि होला भोलिपल्ट ऊ छिटो उठ्नै सकिन। जति नै ढिला उठेपनि अफिस जानु अघि घरको काम सबै नगरी धरै नपाइने।
हतार हतार गरी श्रीमान र छोराको लागि पानी, नास्ता तयार पार्दै थिई, मोबाइलमा घण्टी बज्यो। मोबाइल खेलाइरहेको छोराले 'फोन आयो हजुरको' भन्दै दौडेर नजिक ल्याइदियो। नम्बर पनि राम्ररी नहेरी फोन उठाई उसले। उताबाट आमाले रुँदै बोल्नु भयो। एक्कासी बुबालाई गाह्रो भएर अस्पताल लगिएको रहेछ। भर्ना गरिएको तर उताबाट केही खबर नआएको कुरा बताउनुभयो।
'चिन्ता नलिनुस् न आमा, सबै ठिक भइहाल्छ नि। समयमै अस्पताल पुर्याउनु नै ठूलो कुरा हो' प्रितीले आमालाई सम्झाई।
उसको आफ्नै मनमा भने एकपछि अर्काे गर्दै अनेकौँ विचारका ज्वारभाटा बर्सिए। त्यसपछि अत्तालिँदै श्रीमान् नितेस नजिकै पुगेर अस्पतालमा बुबालाई भेट्न जान अनुरोध गरी। तर नितेसले अफिसमा थुप्रै काम भएकाले जान नसक्ने बताए।
यस्तो अवस्थामा प्रितीले आफू अफिस जाँदा सँगै आफ्नै गाडीमा लगिदेलान् कि भन्ने ठूलो अपेक्षा थियो तर नितेसको निकै कम बोल्ने र छिटो रिसाउने स्वभावले गर्दा श्रीमान समक्ष अनुरोध गर्नै सकिन प्रितीले।
श्रीमान् आफैले छोराको स्कुल र उनलाई अस्पताल पुर्याउने बारेमा केही बोली पो हाल्छन् कि भन्ने झिनो आशा थियो। केही समयसम्म ऊ मौन रही। उताबाट कुनै प्रतिक्रिया आउने छाँटकाट नै देखिएन। उसको अगाडि फेरि अर्को चुनौती खडा भयो छोरालाई कता छोडेर जाने? सँगै लैजाउँ भने कोरोनाको बिगबिगी।
ऊ लाचार भएर छिमेकीको घरमा छोरा छाडेर अस्पतालतिर दौडी। घरबाट अस्पतालसम्म पुगुन्जेल बसको यात्रामा उसको मनमा अनेकन छालहरु बर्सिए।
अस्पतालको गेटबाट दुई तलामाथिको आइसियू वार्डमा पुगुन्जेल उसको शरीर पूरै पसिनाले भिजेर लपक्क टाँसिएको थियो। पीडाले ओठ मुख प्याकप्याकी परेका थिए। बुबाको अनुहार देख्न र बोली सुन्न उसको मन हतारिएको थियो।
दस मिनेट कुर्न पनि दस वर्ष जस्तै भयो उसलाई। भित्र छिरेर आफ्नो बुबाको अनुहार हेरेपछि बल्ल उसको मन केही हल्का भयो। केही समय अस्पतालमा उसको बुबा र दाजुसँग बसेर भलाकुसारी गरेपछि भारी मन लिएर घर फर्की ऊ।
आफ्नो बुबालाई हेरविचार गर्दै दाजुलाई साथ दिने मन त उसको पनि थियो तर आफ्नो छोरा नै अरुको घरमा छोडेर आएकी थिई। बुबासँग बसुञ्जेल पनि बुबाको पीडा एकातिर थियो भने अर्का तिर छोराको।
घर फर्कने बेला त श्रीमानको पनि छुट्टी हुन्छ। त्यसैले सँगै जान पाइन्छ कि भन्ने सोच्दै थिई। त्यति नै बेला नितेसको फोन आयो। उनले प्रितीलाई घर छिटो जान आग्रह गरे। विशेष काम परेकाले घर आउन ढिला हुने कुरा पनि बताए। नितेसका यी सबै कुरा सुनिसकेपछि प्रिती मनमनै निकै मुर्मुरिई।
'हैन, यो घर परिवार छोराछोरी हेर्ने, कतै बाहिर निस्कँदा घर छिटो पुग्ने स्वास्नी मान्छेले मात्र किन? मेरो जस्तो शिक्षित परिवारको त हालत यस्तो छ भने अरुको त के होला?'
छोराले कति दुःख दियो होला, भोकायो पनि होला, न कतै चोट लागिसक्यो कि? भन्ने कुरा मनमा गुनगुनाउँदै छिमेकीको घरमा पुगेर बच्चा लिई आफ्नो घर पुगी ऊ। छोरालाई भोक लाग्यो कि? भनेर एकैछिन टुसुक्क पनि नबसी किचेन तर्फ लागी।
किचेनमा जाँदा पनि उफ! बिहानको नास्ता खाएको जुठो भाँडा, जताततै खाना छरिएका र पाकेका खाना पनि खाइनसकेपछि त्यतिकै नछोपी छाडिएको।
यी सबै दृष्य हेरेर एकैछिन अमुक भई प्रिती तर आफूलाई सम्हाली। हुन त यी सबै कुरा नौलो नै कहाँ थियो र? ऊ जस्तै बिरामी परेपनि उसको श्रीमान् नितेसले माखो मार्दैनन्। श्रीमानका यी सबै कुराले ऊ आजित भैसकेकी छे। कसलाई सुनाउनु आफ्नो पीडा सबै? भित्रभित्रै ऊ पिरोलिन्छे। हुन त नितेसलाई कैयौँ पटक नसम्झाएकी पनि कहाँ हो र उसले? तर पनि कानमा बतास लगाएका हैनन् नितेसले।
कहिलेकाहीँ त उसलाई नितेसभन्दा पनि यो पितृसत्तात्मक समाज, उनले पाएको शिक्षा र समाज पनि दोषी लाग्छ। उनले कहिल्यै यस्तो कार्य सिक्ने अवसर नै पाएनन्। छोराले पनि घरको काम गर्नु पर्छ भनेर कसैले सिकाएनन्। उल्टै उनको समाजमा प्रशंसा हुन्थ्यो सरकारी जागिरे, जाँड रक्सी नखाने भनेर।
थाकेर लखतरान भएपनि छोरा र नितेसको लागि खाना बनाई र खुवाइ छोरालाई उसले। जति नै गाह्रो भएपनि, रिस उठे पनि उसलाई नितेसको साह्रै माया लाग्छ। दिनभरि कामले थाकेका होलान्, मैले पनि माया नगरे कसले गर्छ र? भन्ने पनि लाग्छ उसलाई। हुन त दिनभरि ऊ पनि काम गर्छे। घर पनि उसैले धानेकी छे, श्रीमानको भन्दा तुलनात्मक रुपमा कमाई थोरै भएपनि।
अस्पताल, घर, अफिस धाउँदै बित्यो प्रितीको समय। उसको बुबालाई पनि निको भएर घर ल्याइयो। यो कुराले केही हदसम्म भएपनि पीडामा मल्हम लागेको थियो उसको।
साउनको अन्तिम सोमबार नजिकिँदै थियो। प्रितीले यो साउन अन्य वर्षभन्दा चटारोमै बिताई। जति जे भएपनि ऊ आफ्नो उपवास राम्ररी समापन गर्ने तयारीमा थिई। आफूले पनि अफिसमा त्यस दिन छिटै आउने, मिलेसम्म छुट्टी नै लिने, श्रीमानलाई पनि घर चाँडो आउन आग्रह गर्छु भन्ने कुरा गुन्दै थकित भएर सोफामा पल्टेकी थिई।
यतिकैमा उसको चार्जमा राखिएको मोबाइलमा म्यासेजको घण्टी बज्यो। दिनभरि कार्यालयको भारी काम त्यसमा पनि घरको थप कामले मोबाइल छुनै मन लागेन। पुनः सोही मुद्रामा घण्टी दोहोरियो। त्यसपछि उसले कसैको केही महत्वपूर्ण कामले पनि हुन सक्छ भनी उठेर फेसबुकको म्यासेन्जरतर्फ हात सारी।
त्यहाँ दुई तस्बिर पठाइएको रहेछ। जुन तस्बिर हेर्ने बितिकै उसका आँखा तिरमिराए। ६ रेक्टरकै भुइँचालो गएजस्तै भयो उसको मनमा। त्यस तस्बिरमा अर्धनग्न केटीसँग लपक्कै टाँसिएर बस्ने आफ्नै श्रीमान् नै हुन् त?
विश्वास नगरुँ पनि कसरी? आफ्नै घरको आफ्नै बेडरुममा बसेको फोटो देखेपछि कुन श्रीमतीको मनमा रमाइलो होला? कुन श्रीमतीको चाहना हुन्थ्यो र आफ्नो श्रीमान् परस्त्रीको साथमा रमाओस्? उसले कुन कुरामा कमी र अभाव गराएकी थिई होला?
भर्खरै टुँसाएका सपनाका मुनाहरु तुसारापातले खाएजस्तै भयो। उसले हरेक व्रतमा श्रीमानको लामो आयु र सफतलाको कामना गरेकी के काम लाग्यो र? खै त! शिवजीले उसको कामना सुनेको? शिवजीप्रतिको उसको समपर्ण खेरै गएको हो त? उसले अन्तिम सोमबारको व्रत समापन गर्नुभन्दा पहिले आफ्नो पारिवारिक खुसीको नै समापन गर्नुपर्यो।
भगवानप्रति पनि कसरी विश्वास गर्ने? सम्बन्ध सुमधुर राख्न व्रतभन्दा धेरै त परस्पर माया, प्रेम र सद्भाव पो हुनुपर्ने रहेछ। नितेस र प्रितीको सम्बन्ध त साउनमा हत्केलामा सजाएको मेहेन्दीको रंग जस्तै पो हुन पुग्यो। सुरुमा लोभ लाग्दो, पछि समय बित्दै जाँदा विस्तारै खुइलिएर घिनलाग्दो।