अँध्यारोले आफूलाई औंसीका रातहरुमा गुजार्दै छ। 'फिरफिरे' नामको पुस्तकमा केहीबेर आँखा चराएपछि मोजाको बल, बासुरी, पाइपको पांग्रा, काठको गाडा, डाँठको घर, डन्डीबियो, भुरुङ्ग आदि आँखा अगाडि घुम्दै थिए। विभिन्न पात्रहरुमा आफूलाई खोज्दै थिएँ।
यी त विपनाका कुरा भए। आँखाको ज्योति भर्खरै अनन्त यात्रामा निस्किएको रहेछ क्यारे! विस्तारै ढोका उघ्रिन्छ, दुई वटा सेतो आकृति आफ्ना पैतालाहरुलाई संघार भित्र टेकाउँछन्।
चकमन्न अँध्यारोमा सेतो पोसाकमा सजिएका, उनीहरुको आकृति 'मेरो' जस्तै छ, प्रष्ट ठम्याउन सकिन्छ। एकसाथ सँंघार उक्लिन्छन् र ढोका थुन्छन्। पदचापहरुलाई विस्तारै म भएसम्म हिडाउँछन्। मेरै समानान्तर भएर थचक्क बस्छन्।
म हडबडाउँछु, पछि सर्न खोज्छु। नडराउन संकेत गर्छन्, विस्तारै मेरो शरीरमा कोमल हातको स्पर्श टेकाउँछन्। म फेरि हडबडाउन खोज्छु तर शरीर चल्दैन। उठेर कतै भागौँ वा प्रतिकार गरौँ भन्छु, तर हात चल्दैन। खुट्टाहरु बलियो कुनै जन्जिरले कसिए जस्तो अनुभूति हुन्छ।
चल्न खोज्छु चल्दैनन्, हिँड्न खोज्छु टेक्दैनन्। डराएर सोध्छु, 'को हौ तिमीहरु! किन आएको यति राति? के चाहन्छौ मबाट?'
एकसाथ आवाज आउँछ- 'हामीहरु तिमीले नै निम्त्याएका दुई साथीहरु हौँ। तिमीले नै वर्षौंदेखि हामीहरुलाई पालिरहेका छौ।
हामीहरु लामो समयदेखी तिमी भित्र समाहित छौँ, तिमीले नै हामीलाई सजाइराखेका छौ।'
म आश्चर्यमा पर्छु! 'तिमीहरुको नाम केहो? मैले कसरी निम्ता दिएँ तिमीहरुलाई? तिमीहरु जाऊ यहाँबाट, म तिमीहरुलाई चिन्दिनँ।'
'हाम्रो नाम 'इगो र अहंकार' हो। तिमीले नै हो वर्षौंदेखि हामीहरुलाई पालिराखेको। हाम्रो बाटो छोडिदेऊ। तिमी मस्त निद्रामा भएकोले हामी केही क्षणको लागि बाहिर गएका हौँ। तिमी ब्युँझिने बेलासम्म हामी तिमीभित्र प्रवेश गर्नै पर्छ। हामीलाई जानदेऊ। तिमीभित्र समाहित हुन देऊ। हामीहरु तिम्रै स्वभावका उपजहरु हौँ, तिम्रै अभिव्यक्तिहरु हौं।'
विस्तारै उनीहरुले आफ्नो आकारलाई टुक्राउँदै गए। सानो आकारमा रुपान्तरित भई उनीहरु मेरो मस्तिष्कको बाटो गरेर प्रवेश गर्न खोज्दै थिए।
यत्तिकैमा मैले अवरोध गर्न खोजेँ, प्रतिकारको भावना उत्पन्न भयो। ममा एउटा अदभूत शक्ति पलाएजस्तो अनुभूति भयो।हातखुट्टाहरु पनि जन्जिरबाट मुक्त भएजस्तो बोध भयो। साहस गरेर उनीहरुको प्रवेशलाई टक्क रोकिदिएँ र भनेँ- 'तिमीहरु मसँग हिँड।'
उनीहरु आश्चयमा परे। 'कहाँ जाने तिमीसँग?'
मैले तिमीहरुका लागि मेरो मथिङ्गलमा भन्दा धेरै राम्रो बासस्थान देखेको छु।
उनीहरु केही सोँचेजस्तो गरे। 'कहाँ हो त्यो?'
निर्भीकताका साथ उत्तर दिएँ 'आऊ मेरो पछि। म तिमीहरुलाई सबै कुरा बताउने छु।'
यति साहस कसरी उत्पत्ति भयो मैले आफै पत्तो पाइनँ! जुरुक्क उठेँ र ढोकातर्फ पाइला टेकाएँ, चुक्कल खोलेँ। उनीहरु पनि मसँगै पाइलाहरु बढाउँदै गए।
रातले आफ्नो साम्राज्य झनै विस्तार गर्दै थियो। सडकमा कुनै वस्तुको गाइँगुइँ थिएन। पाइलाहरुको आवाज प्रष्ट सुन्न सकिन्थ्यो, उभिएर सुन्ने हो भने मुटुको चाल पनि सुनिँदो हो। करिब पाँच मिनेट सडकमा हिँडिसकेपछि म जंगलतर्फ मोडिएँ, सडक बत्तीको उज्यालो मधुरिँदै गएको थियो।
हामीहरु किन जाने जंगल?' उनीहरुले सोधे।
'अन्तिम संस्कारको लागि' मैले भनेँ।
'अन्तिम संस्कार!' उनीहरु फेरि आश्चर्यमा परे।
'हो, हामीहरु चिहानमा जाँदै छौँ। जुन तिमीहरुका लागि उत्तम बासस्थान हो।' उनीहरु अलमलमा परे।
चिहान निकै विशाल थियो। तृष्णा, मोह, भय, अहंकार लगायतका वैराग्यहरुलाई दाहसंस्कार गरिएको थुप्रै निशानीहरु देखिन्थे।
एउटा खन्ने औजार फेला पर्यो धर्तीलाई, त्यही औजारले खोसर्दै गएँ ठूलो खाडल बन्यो।
खाडलमा एउटा मानव आकृति डुब्न मिल्ने जति गहिरो भयो। म खाडलमा पसेँ र निस्किएँ। 'इगो र अहंकार'हरु पनि मसँगै खाडलमा पसे तर उनीहरु निस्किएनन्। खाडल खन्दा थुप्रिएको माटोलाई माथिबाट छोप्दै गएँ। त्यही खाडल खन्ने औजारले माटोलाई खाँद्दै गएँ। मनैमनले उनीहरुलाई यही चिहानमा खुसीसाथ बसिरहन आग्रह गरेँ।
यत्तिकैमा मन्दिरको घण्टीको आवाज मेरो कानसम्म ठोक्कियो। आँखाहरु उघ्रिए, शरीरमा पसिना छुटिरहेको थियो। निद्राबाट ब्युँझेछु। स्वप्नयात्रा सम्झिएँ, साँच्चै मेरा 'इगो र अहंकार' हरुको अवशान भएकै होला त?