बेलुकी रात त्यति छिप्पिसकेको थिएन। तैपनि अन्धकारले भने आफ्नो प्रभाव जमाइसकेकोले निस्पट्ट अँध्यारो थियो। हाम्रो घर वरपरका घरहरुमा झिलीमिली बत्ती बलिरहेका थिए। केवल हाम्रो घरमा मात्र बत्ती बलेको थिएन र अन्धकारले अधिकार जमाएको जस्तो देखिन्थ्यो।
यस अगाडि कहिल्यै पनि यस्तो थाहा थिएन मलाई। मीरा हाम्रो घरमा प्रवेश गर्नुभन्दा अगाडिदेखि नै रातभर एउटा बत्ती बलिनै रहनु पर्थ्यो र बलिरहेको हुन्थ्यो। तर आजको यस्तो स्थितिले मेरो मन उकुसमुकस भएर आयो। मनमा विभिन्न प्रकारका छालहरु तरंगीत थाले।
घर वरिपरि खुल्ला एवं घर डाँडैमा भएको कारण हाम्रो घरको क्रियाकलाप अलि टाढैबाट प्रष्ट देखिन्थ्यो। उकालो बाटो, भर्खरमात्र बिरामी भएर तङ्ग्रिएकोले हिँड्न त्यति जाँगर चलिरहेको थिएन। त्यसैले एक दिन एक बिहानको बाटो आज पूरापूर २ दिन बितिसक्दा पनि घर पुग्न बाँकी नै थियो।
हाम्रो घरलाई किन आज अन्धकारले छोप्यो! बुबाआमा, मीरा र छोरीहरु कोही पनि घरमा छैनन् कि कसो! यस बारेमा मलाई केही खबर पनि भएको थिएन। बिमारी पो भए कि? सपना पनि त्यति राम्रो देखिरहेको थिइनँ १०/१५ दिन अघिदेखि। आफू झन्नै खतम भएर बाँचियो।
यसपालि हाम्रो घरमा दशाले नै घेरेको छ कि कसो! मुटुको ढुकढुकी बढी नै रहेको थियो। यी नै कुराले छटपटिँदै म घरमा आइपुगें। घरमा सबै झ्याल ढोकाहरु उदाङ्गै थिए तर मानिसहरुको चालचुल भने थिएन।
किन अनि कसरी यस्तो भयो आज यो घरमा? म कसरी यो अवस्थाको विश्वास गरौं? मन अलिक डरायो पनि घर भित्र पस्न। तर डराइ राखेर पनि हुँदैनथ्यो। मसँग भएको टर्च लाईटको सहायतामा घरका सबै कोठाहरु चाहारें। तर अहँ! त्यहाँ त मानिसहरुको कुनै गन्ध पनि थिएन।
घरमा भएका अरु सबै कुराहरु ठिकठाक थिए। सबै आ-आफ्ना ठाउँमा मिलाएर राखिएका थिए। बत्ती बालेँ। अलिक उज्यालो भयो। उज्यालोले गर्दा मन केही हलुका भएर आयो। म आफ्नो कोठामा गएँ। कोठाको व्यवस्थापनमा पनि कुनै कसर बाँकी थिएन।
लुगाफाटो, किताब एवं पत्रपत्रिकाहरु मिलाएरै राखिएका थिए। घरको अवस्थाले भर्खरमात्र मानिसहरु घर बाहिर गएका हुन सक्ने अनुमान गर्न सकिन्थ्यो। मैले झोला भुइँमा फ्यात्त फ्याँकेर खाटमा पल्टिने कोसिस गर्दै थिएँ। खाटको भित्तापट्टि तकियाको छेउमा पट्टयाइएको अवस्थाका केही कापीका पानाहरु देखें। कपीका पानाहरु निकालेर हेरें। त्यसमा लेखिएको थियो-
पूज्य पतिदेव,
छोरी पाउनुमा मेरो के दोष हो र? खालि आमा यसले छोरो नपाउने भई मात्र भनिरहनु हन्छ। कोही पाहुनाहरु आएको समयमा 'खै! हाम्रो त छोराको बिहे पनि राम्ररी गर्न पाइएन। फ्याङलो गुन्द्रीमा भए पनि गुजारा चलाउँ है, बस्न दिने केही छैन' भन्नुहुन्छ।
छोरी पाउनु नै सबै यो दोष हो त? अनि तपाईंले आफ्ना बुवा-आमाको भावना अनुरुप सम्पन्न परिवारमा विवाह गरेर प्रशस्त दाइजोहरु ल्याउनु पर्थ्यो। हाम्रो गरिबीको बारेमा तपाईंलाई त राम्ररी नै थाहा थियो नि। मेरा बुबा आमाहरुलाई गरिबीले कहिल्यै छाडेन। त्यसमा पनि मेरै दोष हो त?
५/५ वटी छोरी जन्मियौं। बल्ल एउटा छोरो जन्मियो, हामीहरु सबैको भाइ। ५ वटी छोरीहरुको बिहे दान गर्नु पर्यो उहाँले। हातमुख जोड्न त्यति समस्या नभए पनि प्रशस्त सम्पत्ति जोड्न सक्नु भएन। के त्यसमा पनि मेरै दोष थियो?
अनि तपाईंहरु एक छोरा र एक छोरी, तैपनि तपाईंको दिदीको विवाहमा कति नै दाइजोपात दिनु भएको थियो र? तपाईंकी दिदीको घरमा दिदीलाई यस्तै व्यवहार हुने हो भने तपाईं अनि आमा बुबाको मन रुन्छ रुन्न होला? के सम्पत्ति नै सबथोक हो? यदि त्यस्तै हो भने मलाई कतै लगेर बेचिदिनुस्। अनि जोड्नोस सम्पत्ति र खुसी पार्नु होस् आफ्ना बुबा आमालाई।
५ वर्ष भयो म यो घरमा भित्रीएकी, बुबा त आजसम्म पनि मसँग बोल्नु भएको छैन। कि घरमा नै बस्न नदिनु, बस्न दिएपछि कस्तो व्यवहार हो बुबाको यस्तो! मैले गरेको काम त हेला भएको छैन त यो घरमा।
वस्तुभाउलाई घाँस सोतर, खोले पानी, सोहोर साहार, बाख्रा पाठा हेरचाह आदि। हुन त यी कुन पो काम हुन् र तैपनि हो जस्तो लाग्छ मलाई। मैले आफ्नो शरीरको वास्ता नगरेर पनि घरको काम गरिरहेकै छु। मेरो काम प्यारो अनि म किन हेला?
आमाले जति नै वचन लगाए पनि, गाली गलौच गरे पनि मैले सहेर बसेकै थिएँ। के कुनै कुरा तपाईंलाई भनेकी थिएँ र? हाम्रो मायाको चिनो दुई छोरी भए त के भयो? अरु अरु छरछिमेकका घरमा भने छोरी जन्मँदा लक्ष्मीको प्राप्ती भयो भनेर खुसी, उल्लास मनाइन्छ। तर हाम्रो घरमा भने खुसी र उल्लासको त कुरै छोडौं, गाली गलौचको वर्षा नगरिदिए त पुगिहाल्यो, अरु के चाहिएको छ र मलाई?
भएन म अर्काकी छोरी तर छोरीहरुलाई समेत राम्रो मुखले बोलाउनु, खेलाउनु हुँदैन यो घरमा आमाबुबाले। ल मैले छोरीहरु पाएँ, मेरो यो दोष नै रहेछ भने पनि ती निर्वोध बालबच्चाको के दोष? के मेरो गर्भबाट जन्मनु नै उनीहरुको दोष हो?
राजा उत्तानापादकी जेठी पत्नी सुरुचीको कोखबाट जन्मिने बित्तिकै बालक ध्रुव राजाको काखमा बस्न अयोग्य ठहरिने यो कस्तो नीति? कान्छी सुनितीको कोखबाट जन्मिनु पर्ने अरे ध्रुवले पनि, साँच्चै त्यस्तै हो त यहाँ पनि? छोरीहरुले माया, ममता र स्नेह पाउन म बाहेक अरुका कोखबाट जन्मनु पर्ने हो?
नत्र तपाईंकी दिदीले पनि त तीन छोरीहरु त पाइसक्नु भएको छ। खै त दिदीलाई 'तैले छोरीमात्र पाइस्' भनेको सुन्दिनँ त यहाँ। कि मैलेमात्र छोरा पाउनु पर्ने हो, अरुले भने छोरी पाउँदा पनि हुने हो? आफ्नी छोरीले जन्माएका तीन छोरी भने लक्ष्मी हुने अनि छोराले पाएका छोरीहरु अलक्ष्मी हुन्छन्?
कस्तो मानसिकता, कस्तो परिवेश अनि कस्तो अर्थबोध छोरीहरुका बारेमा। आमा पनि त कसैकी छोरी हुनहुन्छ। अनि म पनि त्यस्तै छोरी हुँ मेरा आमाबुबाका निम्ति। जस्ती तपाईंकी दिदी तपाईंका आमा बुबाका निम्ति हुनुहुन्छ। खै! यो कुरा बुझ्नु भएको वा बुझ्ने कोसिस गर्नु भएको? घरमा यस्ता कुरा हुँदा तपाईं केही बोल्नु हुन्नथ्यो भने मैले त बोल्ने कुरै भएन।
तपाईं प्रायः घर बाहिर नै बस्नु हुन्थ्यो। घरमा के हुँदैछ सबै कुरा थाहा नहुन पनि सक्छ। तर मैले कहिलेकाहीँ सुनाउँदा पनि सुनेको नसुन्यै गरेपछि मैले के भन्ने? कसरी मन बुझाउने? कस्को आड भरोसामा जिउने?
जिउने अधिकार त मलाई पनि छ नै होला जस्तो लाग्थ्यो र त जिउने आशा जागेर आउँथ्यो। तर अब त अति भयो। मेरो आशाको दियो निभ्न पनि बेर लाग्दैन जस्तो लाग्थ्यो। मलाई धेरै दिन यस्तै यस्तै कुराहरुले सताइ नै रह्यो। मैले मेरो मनसंग धेरै लडाइँ गर्नु पर्यो र अन्ततः उसैको जित भयो।
मेरो आफ्नो मनसँग त म हारेँ भने अन्त कहाँ जित्न सकिन्छ र जित्ने निरर्थक प्रयास गर्नु? मलाई सार्थक प्रयासमा मात्र विश्वास लाग्थ्यो। त्यसैले निरर्थक प्रयास गर्ने कोसिस नै गरिनँ। मैले तपाईंसँग बढी मागेकी पनि त थिइनँ। मायामा लेनदेन हुँदैन र हुनु पनि हुन्न भन्ने लाग्थ्यो मलाई।
मायामा त्याग हुन्छ र त्यसमा नै प्राप्ती भएको मान्नु पर्छ भन्ने हुन्थ्यो मलाई। मैले त्यही कोसिस पनि गरेकी थिएँ, तर सफल हुन सकिनँ अहिले म। मैलेमात्र मेरो स्थान खोजेकी थिएँ। म पनि त यो घरकी बुहारी हुँ। कि हैनस् भन्नु पर्यो, नत्र मेरो पनि केही अधिकार छ यहाँ भन्नमात्र चाहेकी थिएँ।
बिना कुनै अपमान मलाई पनि बाँच्न पाउने अधिकार छ। त्यो खोसिनु हुन्न भनेर बुझाउन खोजेकी थिएँ। म तपाईंहरुको खुसीका लागि जे जति पनि त्याग गर्न तयार थिएँ। भन्नु भए हुन्छ, अरु के-के गर्नु पर्छ मैले तपाईंहरुका निम्ति पनि भनेकै हुँ।
म यो घर छोडेर हिँड्नुपर्छ भने पनि तयार नै छु। तपाईंलाई प्रशस्त दाइजो आउने अनि तपाईंका परिवारमा छोराहरुको खात लगाइ दिने ठाउँमा विवाह गर्ने पनि छुट छ, म सहेरै बस्छु पनि भनेकै थिएँ। बाँच्नुमा नै मोह किन लिनु छ अस्तित्व विहीन भएर। मर्न पनि म तयार नै छु भनेकी थिएँ। मबाट यो घरमा तपाईंहरु कोही पनि खुसी हुनुहुन्न भने सबैलाई बेखुसी बनाएर यहाँ म बसिरहनु र बाँचिरहनुको कुनै तुक देखिनँ मैले।
यो घरमा केही मागेकी थिइनँ। केवल एक वचन मिठो बोली, अनि बालबच्चाहरुलाई माया र ममतामात्र। तर यहाँ त तिरस्कार, हेलाहोचो, गाली गलौच र कठोर वचन बाहेक केही पनि पाउने कल्पना रहेन अब।
यदि म र यी अवोध बालिकाहरु यो घरको माया ममता पाउन योग्य छैनौं भने तपाईंले यो कुरा भन्दिनु पर्छ किनभने मलाई तपाईंले नै यो घरसम्म डोर्याउनु भएको हो भनेकी थिएँ। यहाँ छोरी र बुहारीमा किन यस्तो विभेद? छोरा र छोरीमा किन यस्तो विभाजन? आखिर दुवै उही मुटुका टुक्रा नै त हुन्।
तर खै! किन हो, यी र यस्ता कुराहरुमा पनि चुपचाप बसिरहनु भयो। तपाईंमा यो एकांकीपन किन पलायो। हिजो अस्तिको जस्तो तपाईंको त्यो हँसिलोपन अचेल कता गयो गयो। साँच्चै मेरा लागि हाँसो खुसीका दिनहरु सकिएका हुन त? मैले अब कहिल्यै पनि हाँसोखुसी देख्न पाउँदिनँ त?
घरीघरी मेरो मन त्यसै कुँडिएर आउँथ्यो। तपाईं बिनाको कैयौं दिन र रातहरु मैले यसरी यी नै कुराहरुसँग साटफेर गरेर बसिरहन्थेँ तपाईंको आगमनका निम्ति। तर तपाईंको आगमनले पनि केही फरक र नयाँपन देखिन छाड्यो। न मेरो कुरा सुन्ने धैर्यता तपाईंमा हुन्थ्यो न सहानुभूतिका कुनै शब्दहरु।
कति पटक त तपाईं हाम्रोबीच दोहोरो बातचित समेत भएन। तपाईंलाई पनि सम्झना छ नै होला, मैले एक दिन भनेकी थिएँ, 'केही त बोल्नुहोस्, ममात्र कति फतफताइ रहुँ? के तपाईं पनि मसँग बोल्न छाड्नु भएको हो? त्यसो हो भने पनि एक वचन बोलेर अबदेखि बोल्दिनँ, मलाई नबोलाउनू भन्नु भए हुन्छ।
तपाईंहरु यसमा खुसी हुनुहुन्छ भने म खुसी नहुने त कुरै भएन। किनकि तपाईंको खुसी नै मेरो खुसी हो। बरु त्यसै गरौं। पहिलोचोटि पनि त तपाईंले नै बोल्न थाल्नु भएको थियो नि हैन र? बोलचालको अन्त्य पनि तपाईंबाट नै हुनु पर्छ है, कि हैन त?
अनि छोरालाई पनि रिझाउन नसक्ने भइस भनेर आमाले गाली गर्ने एउटा गालीको वाक्य पनि थपिने भयो। बाँकी त्यति नै पनि त थियो आमाले मलाई गर्ने गालीमा। अब त त्यो पनि पूरा हुने भयो। यसो भएपछि त आमाबुबा पनि खुसी, तपाईं हामी पनि खुसी। हामी सबैको खुसी भएपछि त परिवार झनै रमाइलो हुने भयो।'
तर अहँ! यस पटक पनि केही नबोलेरै दुई दिनको बसाइपछि तपाईं आफ्नो कामतिर लाग्नुभयो।
सम्झनुहोस् त एक पटक ती पुराना हाम्रा दिनहरु, त्यो बेला हाम्रो माया पिरतीको आरिस गर्दै जल्लनेहरु कति थिए। सायद तपाईंलाई लाग्दो हो साप्सुको पानी धेरै बगिसकेको छ अहिले, फरक त परिहाल्छ नि। म पनि त हैन कहाँ भन्छु र? साप्सुको पानी जति वगे पनि सकिँदैन र सकिएको पनि छैन।
साप्सु खोला त्यो समयभन्दा पनि अगाडिदेखि नै बगिरहेको थियो जुन समय हामी साप्सुको छालसँगै रमाउने गर्थ्यौं र आजभोलि पनि बगिरहेछ, निरन्तर बगि नै रह छ यसरी नै अनन्तकालसम्म पनि। सूर्य र चन्द्रमा पनि उही र उस्तै छन्। तिनको चमकमा कुनै फरक आएको छैन।
वनपाखा अनि भिर पहरामा फुल्ने चाँप चिमल र सुनाखरी फूलहरु पनि त जस्ताको त्यस्तै छन् नि जुन समयमा हामीले कैयौं दिनहरु ट्याम्केडाँडा, मेरुङडाँडाहरु अनि चखेवाका नागीहरुमा रमाइ रमाइ डुलिरहेका हुन्थ्यौं। त्यतिखेर फुलेका फूलका बास्ना र अहिले फुलेका फूलका बास्नामा कुनै फरक आएको छ र?
मैले यसमा कुनै फरक पाएकी छैन। कि तपाईंले फरक पाउनु भयो? मैले तपाईंसँग केही मागेकी थिइनँ र अब त माग्ने पनि छैन। तर मलाई एउटै कुरामा चिन्ता लागि रहेको थियो कि मैले तपाईं र तपाईंको परिवारमा खुसी दिन सकिनँ। मैले खुसी दिन नचाहेकी भने हैन। तर खै किन किन त्यो हाम्रो इच्छा पूरा हुन सकिरहेको थिएन।
अनि यसको बाधक के थियो भन्ने कुरा छुट्टयाउन सकिरहेकी थिइनँ मैले। त्यो समयमा त कुहिराको काग नै भएकी थिएँ म। हाम्रो मिलनको डोरी निकै कमजोर हुँदै गएको हो कि भन्ने भान परिसकेको थियो ममा। तर तपाईंको खुसीका लागि त्यो डोरीको पनि पर्वाह थिएन मलाई। त्यसले तपाईंलाई कुनै फरक नपर्ने भएपछि मलाईमात्र पर्ने फरकको के अस्तित्व अनि के महत्व रहन्छ र हैन?
एउटा सानो स्वभाविक हाँसोका कारण द्रौपदीले महाभारतको त्यत्रो विशाल शभामा नाङ्गिनु पर्यो। उनको नग्नता र निरीहतामा खुसी मनाउन भेला भएको विशाल भिडको बारेमा सुन्दा मलाई ती महानुभावहरुप्रति दया जागेर आयो। जुवाको दाउमा हारिनुपर्ने तिनै निरपराध द्रौपदी जसलाई ५ जना पति वरण गर्न बाध्य पारियो।
हार्ने बेलामा भने एउटै युधिष्ठिर काफी भए। ५ भाइकी पत्नीलाई कुनै एउटा भाइले मात्रै जुवाको दाउमा थाप्ने अधिकार नहुनु पर्ने हो तर बलियोले जहाँ समाए पनि दुख्ने रहेछ नि हैन त? युधिष्ठिरलाई जुवामा हार्ने अधिकार थियो भने केवल उनकी एकलौटी रुपमा भित्र्याएकी पत्नीको हकमा मात्र थियो।
किन दाउमा राखेनन् उनले तिनीलाई? उनी त्यागी हुन भने त्यसो गर्न सक्नु पर्दथ्यो नि त? तर उनी किन यसो गर्न सक्थे? उनलाई पनि त स्वास्नीको आवश्यकता रहन्थ्यो। आफ्ना लागि अरुको अस्तित्व र मर्मलाई कहाँ कहिले कुन पुरुष पात्रले बुझ्ने कोसिस गरेका थिए र?
युधिष्ठिर पनि तिनै पुरुष पात्र नै त थिए जसले द्रौपदीलाई नग्न बनाउने निरर्थक प्रयासको मुक दर्शक भएर हेरेका थिए। सत्यको जित हुन्छ र भएरै छाड्छ। अन्ततः द्रौपदीले जितेरै छाडिन् किनकि उनी सत्यवादी थिइन्, सत्यवती थिइन् र आज्ञाकारी पनि। उनले आफ्नो स्वार्थभन्दा पनि अरुकै हित गरिन् र गरिरहिन्।
तर म त गाउँकी सोझी मान्छे, सानी मान्छे अनि हजुरहरु त ठूला मान्छे। मबाट केही पाउनु पनि त भएन हैन र? तर मैले त पाएकी थिएँ। परिवारमा आमाबाट आधुनिक रुप, हेलाहोचो, तिरस्कार र गाली गलौच। म यसैमा सन्तुष्ट छु र मलाई यथेष्ट छ। हजुरबाट शान्तिको पाठ, बुबाबाट ध्यान भक्ति। यहाँभन्दा बढी के पाउनु थियो र हैन?
पतिदेव,
पहिले पहिलेका हाम्रा निर्णयहरु हाम्रा सहमतिमा हुन्थे। जहाँ तपाईंको उपस्थिति हुन्थ्यो, तपाईं खुसी हुनुहुन्थ्यो अनि म पनि खुसी हुन्थेँ। हाम्रा हरेक कार्यहरु सरसल्लाहमा हुन्थे। छलफल गर्थ्यौं, समीक्षा गर्थ्यौं अनि मात्र निर्णय हुन्थे।
तर अहिले त कोसँग छलफल गर्ने? तपाईं पनि बिरानो जस्तो लाग्न थाल्यो। म एक्लिँदै गए जस्तो हुन थालें। तपाईंको मनभित्रबाट पनि निकालिएँ जस्तो अनुभव गरेँ मैले। त्यो अनुमान मेरो गलत पनि हुन सक्थ्यो तर हाम्रो घरको वातावरणले त्यस्तै सोच्न बाध्य पारिएँ म।
त्यसैले आजको एउटामात्र निर्णय म एक्लैले गर्न पुगें। अब हामी तीन जना त्यो साप्सु खोलासँगै रमाएर निरन्तर बगिरहने छौं। उसको सुसाइसँगै सुसाइ रहनेछौं र तपाईंलाई कदापि कचकच गर्ने छैनौं। तपाईंको त्यो मिठो बोली नसुनेको पनि धेरै भएको थियो। मलाई त तपाईंको बोली सुन्न कति रहर लाग्थ्यो। तर तपाईंलाई त मेरोभन्दा पनि अझ राम्रा-राम्रा कोकील स्वरहरुले स्वागत गरिरहेका थिए होलान् जहाँ सम्पन्ता हुन्थ्यो, श्रेष्ठता अनि प्रियता पनि।
मेरो भाग्यमा खुसी थोरै नै रहेछ। जुन कुरा थोरै हुन्छ, सायद सबैलाई त्यही कुरा बढी चाहिन्छ। मलाई त्यही भएर होला खुसी धेरै भएको भए हुन्थ्यो जस्तो लाग्थ्यो। हुन त आँसु नहुने हो भने हाँसोको पनि महत्व हुने थिएन, सिक्काका दुई पाटा जस्तै, जहाँ एउटाको अभावमा अर्काको अस्तित्व नै रहँदैन।
त्यसैले त म थोरैमा सन्तुष्ट हुन सिकिरहेकी थिएँ अर्थात् कोसिस गरिरहेकी थिएँ। त्यो त अब केवल मिथ्या कोसिसमात्र हुन पुग्यो। धेरै दिनपछि घरमा आउँदा घरको कचकच सुन्दा तपाईंलाई पनि दिक्क त लाग्थ्यो होला।
तर मलाई पनि त लाग्थ्यो मेरो सबै हर्ताकर्ता तपाईं नै भएपछि महिनौँ दिनसम्म उकुसमुकुस भएर तरंगिएका मनका भावनाहरु एक रातमा भए पनि सबै पोखीसकूँ र फेरि महिनौंका लागि ठाउँ खाली बनाउँ। तर तपाईं मूर्तिवत रुपमा मात्र रहनु हुन्थ्यो।
म जति बोले पनि तपाईंको एक शब्द सुन्न नपाउँदा पनि निराश भएँ हुँला अनि मेरो मन पनि त छिया छिया भयो होला? जसरी रुखको टुप्पोबाट पाकेका फलहरु भुइँमा फ्यात्त झरे झैं छियाछिया भएको मेरो मन पनि भुइँमा झर्यो निशंकोच।
लाग्यो तपाईंको बोली सुन्ने अधिकारी म बन्न सकिनँ अब। त्यसैले तपाईंको अनुपस्थितिमा नै प्रिय वा अप्रिय जे भए पनि मैले यो निर्णय गर्नु पर्यो र गर्न पुगें। तपाईंहरु सबैको खुसीको बाधक बनेर रहन चाहिनँ मैले। अब तपाईंको घरमा खुसीले पर्दापण गरी रहोस् सधैंभरि।
मेरो मुटुका टुक्राकै कारण म तिरस्कृत भएकीले मुटुको टुक्राहरुलाई मबाट छुटाएर राख्न र निसहाय बनाउन सकिनँ र चाहिनँ पनि। यसर्थ उनीहरुलाई पनि साथै लाने दुस्साहसिक निर्णय गरेकी हुँ। छायाले त सधैं मूललाई नै पछ्याउँछ नि हैन? यो सानो निर्णयका लागि माफ पाउँ। अब तपाईंको परिवारमा सम्पन्नता र खुसीले भरी भराउ भएको हेर्न पाउँ। हवस्त, सदाका लागि बिदा।
उही तपाईंहरुलाई खुसी दिन नसक्ने पात्र
मीरा।