कवि नभएको समाज
तपाईं नभएको समाज बन्छ
बोट भएको फल नभएको
रुख जस्तो बन्छ
आँखा भएको
आँसु नभएको, के काम लाग्छ र समाज?
कस्लाई छुँदा
यो मै हुँ जस्तो लाग्छ तपाईंलाई?
केमा हेर्दा देख्नुहुन्छ आफूलाई?
कस्लाई भेट्दा भेट हुन्छ आफूसँग तपाईंको?
कोबाट निस्किएको बास्ना
आफ्नो जस्तै लाग्छ तपाईंलाई?
कस्को देख्दा सिर्जना
आफ्नो जस्तै लाग्छ तपाईंलाई?
रोइदिएजस्तो गर्नेहरुलाई छोडेर
तपाईंसँगै बसेर
अर्को को रोइदिन्छ तपाईंसँग?
हाँसिदिएजस्तो गर्नेहरुलाई छोडेर
तपाईंसँगै बसेर
अर्को को हाँसिदिन्छ तपाईंसँग?
कस्ले गाइदिन्छ जीवनको गीत?
कस्ले मिलाइदिन्छ दु:खहरुको लय?
छायामा परेकाहरुको कथा
कस्ले सुनाइदिन्छ घामलाई?
समाजमा भेटिएका समवेदना
कस्ले टिपेर राख्छ छातीमा?
आफूलाई बिर्सिएर तपाईंलाई माया
कविले भन्दा अरु कस्ले गर्छ?
तपाईंलाई कविको माया लाग्दैन?
बिहान हुन्छ भन्ने आशा
बिहान हुँदैछ भन्ने उत्सुकता
कस्ले दिन्छ तपाईंलाई
कवि नभएको समाजमा?
बिहान् भएको
चरा नकराएको
बिहानको कल्पना गर्नुस् त!