तिनै देउता पाउने लालसाले
जीवनभर तड्पिएको हुन्छ मानिस,
पूजिरहन्छ तिनकै मूर्ति मन्दिरमा
अटल श्रद्धा अनि भक्तिभाव राखी,
तर, जब तिनै देउता उठेर
बोल्दै हिँड्न थाल्छन् मन्दिरबाट,
कुटिन सक्छन् बीच बाटोमा नराम्रोसँग
उही मान्छेको हातबाट,
जुन हातबाट पूजिने गर्थे उनी।
तिनै देउताको आशीर्वाद पाउन
हरेक कर्म फत्ते होओस् भनेर,
पूजिने गरेका छन् सुन्दर मूर्तिहरू
मनोकामनाका सिद्ध गर्न भेटी चढाएर,
तर, जब प्रसन्न भएर मान्छेको भक्तिबाट
प्रकट होऊन् त! तिनै देउता त्यहाँ,
कुटिन सक्छन् मन्दिरभित्रै नराम्रोसँग
तिनै भक्तको बाहुलीबाट
ढोँगी नक्कली ठग कहलिएर।
मान्छेलाई नक्कली देउता नै चाहिन्छ
बोल्ने र हिँड्नेमा त विश्वासै गर्दैन ऊ,
त्यसैले, अचाक्ली हुँदासमेत मन्दिर वरिपरि
चुपचाप सहने मूर्तिको महत्त्व धेरै छ,
लाखौँ, करोडौँका मूर्तिहरू बन्ने गर्छन् यहाँ
मानवता नभई सम्प्रदाय चिनाउन,
परोपकारी मानवलाई तिरस्कार गरेर
भिन्दै स्वार्थले मन्दिर बन्दछन् यहाँ,
अनि, चुपचाप सहने देउता कुँदिन्छन्
किनभने, उसको अत्याचारका विरुद्धमा,
कहिल्यै विरोध गर्दैन त्यो पत्थर
आफूले चाहेजस्तै सधैँ गरिरहने हेतुले
मूर्ति बनाउँछ, मान्छे मन्दिरमा!
अन्याय जताततै व्याप्त छ
रोग, अशिक्षा र भोकले थलिएको छ वस्ती,
तैपनि सुनका मूर्ति र गजुर बनिरहेछन्,
ज्ञानी र निष्ठावान्' गरिवहरूका झुपडी लडाएर
सुनौला तर अमुक मूर्तिहरू सजिएका छन्,
सत्मार्गीका वाणी सुन्न नभई
नक्कली मूर्तिप्रति झुम्मिएका छन्
हिम्मतै गर्दैनन् देउताहरू पनि उभिन र बोल्न
किनकि पटक पटक तिनैबाट कुटिएका छन्
त्यसैले चुपचाप निदाएका छन्,
विवेकशून्य चेतनाबाट ठगिएका मूर्तिहरूले
यसरी नै सहस्राब्दी बिताएका छन्,
यस्तै छ संसार, यस्तै छ जमाना,
विश्व चलाउने नै मूर्तिमा सजिएपछि त
दुष्टले नै संसार चलाएका छन्!
निष्ठा र मानवता दबाएर माटामुनि
आडम्बरले दुनियाँ चलाएका छन्।