मौसम उही
आकाश उही
उस्तै बादल
सररर बहिदिने
हावा त्यही
हिजो अनि अस्तिजस्तै
तिमी आयौ
जीवनको आयान बनेर
अनि फेरियो रुप
झल्कियो इन्द्रेणी रंग
चारैतिर
'म' हुनुको अर्थ
यति गहिरो, अवर्णनीय
सायद समय
साह्रै बलवान छ
धैर्यशाली छ!
हिजो पनि उही नै थियो
भोलि नि उही रहनेछ
फरक त मात्र समयका छालहरू
परिवर्तनका संवाहक हुनेछन्
चंचल ती बानीहरु
चन्द्र छुने सपनाहरु
सब उस्तै उही गतिमा छन्
फरक त मात्र
रुपान्तरणको छ
भविष्यको खाकाको छ
कति पढेर त कति परेर
जिन्दगानी फुल्दैछ
उस्तै नै!
चुपचाप, गुमनाम
चिच्याहटमा के छ र?
पुस्तकका पानाझैं पल्टिँदै
सपनाको रेखाचित्र
विपना हुँदैछ
हेर्नुस् त!
समय कति फरक भैसकेछ
सफलताको कहानी
लक्ष्यको प्राप्ति
प्रेरित मार्ग हिँडेरै त हो
उत्सव मनाउने
जानी नजानी गरेरै हिँडेको
अनेक घुम्ती पार गर्दै
जिन्दगी बाँच्न जानेको
आफूलाई चिनेको
कति दौँतरीहरु छुटिए
कति जोडिए
घमण्डमा के छ र?
परिवेश उही
देश उही
प्रदेश नि उही
फरक त मात्र अनुभूतिको
बदलिँदो समयको
आँखा उही
परिस्थिति उस्तै
प्रगति उस्तै उस्तै
फरक त सोच छ
समयका पंखहरु त
उस्तै नै
फरक त मात्र उचाइहरु छन्
समयभन्दा बलवान
अनि शक्तिशाली
को पो छ र?