यहाँ हररात कंश मामाको घरमा पार्टी चल्छ
षडयन्त्रता, दरिद्रता, ईर्ष्याको परिकार र पकवानहरुमा
नाता र सम्बन्धहरु अनि मित्रताका स्लो पोइजनहरु घोलेर
प्यारा भान्जाहरुलाई फसाउने
चक्रव्यहूको रचनाको योजनामा आफ्नै घरमूलीहरु, आफ्नै कंश मामाहरु
अनि
अनि फेरि दुर्योधन र शकुनीहरु
ईर्ष्या, डाहा र अभिमानको जुस पिएर
पाण्डवहरुको इमान्दारितामा हाँसो हाँस्छन्
अनि जालमा फसेको मृग देखेर
कुटील! मित्र कथामा वर्णित दयालु जाल काट्ने मुसाको भेषमा
म बाँधिएको जाल काट्ने बहानामा
हामी जेलिएको बन्धन छुटाउने अभिनयमा
निसहाय! निर्दोष म, तिमी, तपाई अनि हामीहरु माथि
किला ठोकिन्छ, मुटुमा सुइरो बनाएर घोचिन्छ- घ्वाप्प! घ्वाप्प!
थाहा छैन को जित्छ? यहाँ मित्र
थाहा छैन को हार्छ? मित्र भनिएको शत्रुमित्र
अहंकार, अभिमान, रिस, ईष्या, घृणाको सुन्दर कोकोकोला र फ्यान्टाहरु
यही त रमिता छ यहाँ
मैले जडौरीमा भोटो टालेँ भने ईर्ष्या छ मेरै घरकाहरुलाई
मलाई कसैले आच्चा.. भनेर फालिएको एक हड्डी टोकेँ भने-
यही त रिस अनि ईर्ष्या छ- मेरै दाजुभाइ, दिदीबहिनी र संगीहरुलाई
अनि भन्छौं कुर्लिएर-
त्यसले सक्यो, त्यसले लुट्यो, यसले रोक्यो, यसले छेक्यो
हो, यसकारण त कहानीमा वर्णित कुवाँको भ्यागुते र भ्यागुताहरु हौं हामीहरु।
खासमा त
बादल माथिको जूनको संसार अर्कै छ
स्टोरीपछिको फिल्मको क्लाइमेक्स अर्कै छ प्रिय!
धान खाने मुसा र चोट पाउने भ्यागुताहरुको कथा पनि अर्कै छ
काम बिराउने एउटा र नाम बिराउने अर्को बिल्ली बबुराहरुको व्यथा पनि अनौठो छ
यहाँ लुट्ने अर्कै छ हामी भित्रको प्रिय!
यहाँ भुट्ने अर्कै छ हामी भित्रको मित्र!
यहाँ चुट्ने अर्कै छ हामी भित्रको प्रिय शत्रू!
हामी त एउटै नाउमाथि तैरिएर
हामी त एउटै घरमा बसेर
एउटै थालमा खाएर, एउटै गन्तव्य लिएर
तर!
तर, हो हामी त केवल
हामी त हामीकै बीचमा कुखुरे बल दँजाउनैमा ठिक्क छौं
हामी त हामीबीच घंघारुको तिखा घातक काँडायुक्त पट्टा खेल्दैमा ठिक्क छौं
अनि हाम्रै करेसाबारी माडिएपछि
पट्टाहरुले आफ्नै जीउमा बज्रिएपछि
हाम्रै टाउकोमा पट्टाको लट्टाले रगतको भलबाढी चलेपछि
कुनामा छेउमै बसेर भुसतिघ्रेहरु हाम्रो कुस्तीको मजामा
आनन्दले श्वास फेर्छ यहाँ
त्यसैले त हामीहरु यहाँ हौं- हामीहरु।