कहाँ छ खै
सन्तुलन यहाँ?
प्राकृतिक देन
पानीको रासायनिक सुत्र
एचटुओमा पनि हाइड्रोजन
अणु बढी भेटियो।
विभिन्न आयनका चार्ज
पनि ± ले तलमाथि
परेको भेटियो।
कहाँ छ खै
सन्तुलन यहाँ?
एउटै बोटमा दाहिने
हाँगा लटरम्मै भई
भुइँ छुँदा, देब्रे हाँगा
सुकेर भाचिएको भेटियो।
हिजो सुस्त बगेको पवनमा
झुलीरहेको धानको बाला
आज हुरीसँगै मडारिएको भेटियो।
कहाँ छ खै
सन्तुलन यहाँ?
खोज्दै छु सन्तुलन
म
कहाँ छ खै यहाँ?
आफ्ना आँखा रसाएर
छोराछारीको हाँसोमा
रम्ने आमाको मायामा
कहाँ छ खै
सन्तुलन यहाँ?
पुतली झैँ पंख हाली
बेफिक्री निलभीमा उडिरहेको मन
असन्तुलित भई चोट लाग्ने
डरमा किन धर्तीमा झारुँ म!
सन्तुलन कहाँ खोजुँ म?
आखिर कहाँ छ खै
सन्तुलन यहाँ?
कहाँ छ खै
सन्तुलन यहाँ?