कीर्तिपुरले चाहिँ तिमीलाई सोध्या छ है!
आउनु मित्र लिन
कीर्तिपुरको एउटा अँध्यारो
छिँडीमा तिमीले एउटा पुरानो स्टोभ
बिर्सेर गएको छौ
जुन स्टोभमा समाधिस्थ आगोलाई
तिम्रो मनमा दन्किने प्राचीन आगोको
अवस्था के छ अत्तोपत्तो छैन
उस्तै दन्किन्छ कि अझै भविष्यको पिरले
या निभाइसक्यो त्यो आगो
सुन्दर वर्तमानको नीरले
जे भए नि मित्र
कीर्तिपुरले चाहिँ तिमीलाई सोध्या छ है !
जिन्दगीको आधा दशक यतै ताछेर
सिसाकलम चुच्चिएपछि
लेख्न थालेको सफलताको कथामा
खोइ त कीर्तिपुरको नाम?
नयाँ हुँदा छातीमा टाँसेर
पुरानो भएपछि कुनामा फालेको जेथाजस्तो
रातभरि श्रीमतीको सपना देखाएर
शरीर भोगेपछिको परित्यक्त वेश्याजस्तो
कीर्तिपुर त्यस्तै परित्यक्त छ
देशका प्रधानमन्त्री, सचिव, न्यायधिस
पत्रकार, व्यापारी कसलाई पालेन कीर्तिपुरले?
आज कीर्तिपुर किन किन रिक्त छ
तिमीले रुखमा खोपेका प्रेमिल अक्षरहरु
तिमीले तलाउमा हेरेका प्रतिबिम्बहरु
सबै धुमिल भइसके
तिमीले कीर्तिपुरलाई त्यसरी नै बिर्सियौ
मित्र
जसरी तिमीले बिर्सियौ
तिम्रा अनुहारभरि कुनै समय आगो झैँ
दन्किने कुण्ठाका जुँगादाह्रीहरु
साँच्चीकै
तिमीले कीर्तिपुर बिर्सेकै हो मित्र
तर
कीर्तिपुरले चाहिँ तिमीलाई सोध्या छ है!