मेरा केही आफन्तहरु छन्, जो आफ्ना छैनन्
मलाई झुक्किएर पनि नसम्झने,
मैले चाहिँ बिर्सिएर पनि नबिर्सने
मेरा केही आफन्तहरु छन्
जो मसँग भेट हुँदा मलाई नै गुनासो गर्छन्,
तैँले कहिल्यै हामीलाई सम्झदैनस्
तँ त आफ्नो पनि के भन्नू, आफ्नो जस्तै छैनस्।
बाटोमा देख्दा उता फर्कने,
बोलिहाल्नु पर्छ कि भनेर,
अझ यसले बोलाइहाल्छ कि भनेर पर तर्कने
मेरा केही आफन्तहरु छन्
जो मसँग भेट हुँदा मलाई सुनाइहाल्छन्
आउजाउ गरे न आफ्नो लाग्ने गर्छ
यसो आउँदा-जाँदा पस्ने गर्नू, घर बाटोमै पर्छ।
मोबाइलमा मेरो नम्बरसम्म नहुने,
मेरो अनुहारको ख्यालसम्म पनि नगर्ने
उनीहरुलाई चाहिँ कहिल्यै मलाई सम्झनु नपर्ने
मेरा केही आफन्तहरु छन्
जसलाई म आफन्त सम्झेर कहिलेकाहीँ फोन गर्छु
त्यतिबेला उनीहरु नै मलाई घुर्की लगाइदिन्छन्-
ओहो! आज घाम कताबाट उदायो ?
साच्चै तँलाई पनि मेरो सम्झना आयो?
भेटैपिच्छे परिचय गराउनु पर्ने
हरेक पटक मैले सम्बन्ध सम्झाउनु पर्ने
मेरा केही आफन्तहरु छन्
जो मसँग गफ हुँदा मलाई भनिहाल्छन्,
हामीलाई त निकै टाढाको मान्छस् आफ्नै भएपनि
तैँले त हामीलाई पराइजस्तै ठान्छस् आफ्नै भएपनि।
मेरो नामसम्म पनि नसम्झने,
नाताले मलाई सम्मान गर्नुपर्ने,
तर मेरा अगाडि झुक्किएर पनि दुई हात नजोड्ने,
सम्पत्तिको अहमतामा उल्टै मबाटै सम्मान खोज्ने
मेरा केही आफन्तहरु छन्,
जसले भेट हुँदा महंगो फोन तेर्स्याउँदै बोलिहाल्छन्,
कहिलेकाहीँ फोन गर्दै गरेस् चाहिन पनि सक्छ
हामी पनि ठाउँमा छौँ नभुलेस्, चाहिन पनि सक्छ ।
यहाँ अचम्म छ,
मेरा केही शत्रुहरु छन् जो पराई हैनन्।
छन् भन्नका लागि
मेरा केही आफन्तहरु छन्, जो आफ्ना छैनन् ।