घाम पश्चिमको डाँडाबाट झरिसक्यो। चिसो सिरेटोले सेल्दै थियो। उसै पनि पुसको मध्य समयमा हुर्किसकेको जाडोले सबैलाई तर्साउन थालिसकेको थियो। मानिसहरु आफ्नो कामबाट घरतिर फर्किँदै गरेको देख्न सकिन्थ्यो।
झुपुल्ला रुखहरुमा चराहरु चिरबिरचिरबिर गर्दै बेसुरे गीत गाउँदै गुँडसम्म पुग्ने तर्खर गर्दै थिए सायद। एक, दुई गर्दै सहरका हरेक घरमा बत्ती बल्न थाल्यो। सडक छेउका पोलमा पनि बत्ती बलेपछि बटुवाहरु झन् हतारिँदै, दुवै हात रगड्दै, टाउकाको टोपी कानतिर तन्काउँदै, गलबन्दी घाँटीमा बेर्दै मुखबाट स्याऽऽ सुऽऽ आसिसिऽऽ को आवाज निकाल्दै लम्कँदै थिए बासस्थान तर्फ।
प्रायः गर्मी महिनामा साँझपख हावा खान निस्कने मानिसहरुले भरिने यो पार्क आज शून्य जस्तै थियो। म छु, ऊ त्यहाँ पर दुई अर्धबैँसे आइमाई, अलिपर रुखनेर एक वृद्ध, त्यहाँ बेन्चमा। ओहो! चस्मा नलगाउँदा त टाढाको वस्तु ठम्याउन गाह्रो पर्छ।
एकजना युवक, अरे! ऊ त म तिर आउँदै छ। एक हातले झोलाको फिता समाएको, होचो कद भएको, अझ ऊ नजिकँदै जाँदा उसका अन्य पहिरन पनि स्पष्ट देख्न सकेँ। चस्मा सायद पावरवाला होला उसको।
उनीको टोपी, गल्बन्दीले टाउकोदेखि कान घाँटीसम्म ढाकेको, सेता तर मैला जुत्ता, कालो पाइन्ट खैरो ज्याकेट। मैले हेर्दाहेर्दै ऊ मबाट अगाडि बढ्यो। म तिर एक नजर पनि लगाएन। ऊ पार्कको पूर्वपट्टिको दोस्रो गेट, जुन बन्द थियो। त्यतैतिर लाग्यो।
उसले गेट वरिपरि नियालिरहेको थियो। सायद बाहिरिने बाटो पो खोजेको थियो कि। बाटो छैन भन्दिउँ कि जस्तो लाग्यो। ह्या होस् किन जान्ने पल्टने। अघि मलाई बेवास्ता गरेकोलाई म किन वास्ता गरुँ? बरु म घर फर्कन बाटो लागेँ।
'ए दाइ दाइ, सुन्नु न' म जान लागेको देखेर होला उसले चर्कै आवाजमा बोलायो। म फर्केर उसलाई हेरेँ तर केही बोल्नु अगाडि ऊ बोलिहाल्यो।
'दाइ यताबाट बाहिर निस्कने ठाउँ छैन?'
'छैन, यो गेट त प्रायः बन्द नै भइरहन्छ' मैले भनेँ।
'यताबाट छोटो बाटो होला भनेर भित्र पसेको बन्द पो रहेछ' उसले दिक्क मानेर भन्यो।
'यसरी बुझ्दै नबुझी पसेर हुन्छ त, कहाँ पुग्ने हो?' मैले भनेँ।
'खै! कता पुग्ने भनुँ, कुनै पाटीपौवा भेटे त्यतैकतै रात बिताउने सोच्दैछु' ऊ बोल्दै अघि म बसेको बेन्च नजिक आएर अन्यौलता प्रस्तुत गर्यो।
'कस्तो पाटी?' उसको कुरामा मेरो चासो।
'अँ… हुन्छ नि जहाँ बटुवाहरु रात गुजार्छन्। जसको घरबास हुँदैन, उनीहरु बस्ने ठाँउ क्या' उसले भन्यो।
म बोल्दै ऊ छेउमा पुगेँ। खै! किन पुगेँ। सायद कथाको लागि पात्र भेटिएको चस्का मनमा परेको थियो। अघिदेखि उसलाई नियाल्नु भित्र मेरो आफ्नै स्वार्थ थियो। आखिर पार्टटाइमर लेखक जो ठहरिएँ।
'किन तपाईंको बास छैन र? के काम गर्नुहुन्छ?'
उसले आफ्नो चस्मा सज्दै बोल्यो 'पेसाले म शिक्षक हुँ, गाउँकै प्राविमा पढाउँछु। छोरीको मार्कशीट सच्याउनु पर्ने भएकोले यहाँसम्म आउनुपर्यो।'
'अनि कुनै आफन्त वा होटेलमा बस्न छाडेर किन पाटीपौवा खोज्दै हिँड्नु भएको? उसै पनि आजकल पाटीपौवाहरु कहाँ भेटिन्छन् र? मठमन्दिर वरिपरि भएका पाटीपौवाहरु त भत्केर दुरदशा छ, अन्त कसरी हुन्छ।'
मेरो कुराले उसको बेचैनी अझ बढेको महसुस गरेँ। ऊ बेन्चमा थचक्क बस्यो, जुन बेन्चमा अघि म बसेको थिएँ। जाडोको त्यो साँझ पसिनै आएर हो या यसै उसले गलबन्दीको फुर्कोले निधार सुम्सुमाउँदै बोल्यो।
'अब तपाईंसँग के कुरा लुकाउनु, यतैकतै कुनै होटलमा बास बस्नुपर्ला भनेर बसपार्कबाट यहीको लोकल माइक्रो चढेर आएँ। कन्डक्टरले भाडा माग्दा मैले आफ्नै पर्सबाट पैसा झिकेर दिएको याद छ। तर उत्रिसकेपछि गाउँतिरको केटोलाई फोन गरेर बोलाउँछु भनेर फोन डायरी खोज्दा त पर्स नै भेटिनँ। मेरो त होसै उठ्यो।
भएको पैसा जति सबै त्यसैमा थियो अनि फोन डायरी पनि। म कुद्दै त्यो माइक्रो खोज्दै गएँ। कता पुगेछ कता। अब यो सहरमा कता जानु, आफूले चिनेजानेका आफन्तहरु को कहाँ बस्छन् केही थाहा छैन। फोन गरुँ भने नम्बर याद छैन। डायरी हराइगयो। म त बडो आपतमा परेँ। के गर्ने कसो गर्ने केही सोच्नै सकेको छैन।'
उसले आफ्नो कहानी बतायो। फेरि पसिना नआए पनि गलबन्दीको फुर्कोले अनुहार सुमसुमायो।
'ओहो! तपाईं त ठूलो समस्यामा पर्नु भएछ, अब के गर्नु हुन्छ?' मैले सहानुभूति देखाएँ।
'त्यही त म के गरुँ? एउटा सानो छहारी भेटेदेखि जसोतसो रात गुजार्थेँ। उज्यालो भएपछि केही न केही उपाय लाग्ला नि' उसले भन्यो।
'अनि तपाईं शिक्षक जस्तो मान्छे मोबाइल त होला नि' मैले भनेँ।
'थियो नि एउटा खुर्पेटो। घरबाट हिँड्ने बेलामा हतार भो, साथमा राख्नै भुलेछु' उसले भन्यो।
'के भयो त, घरमा फोन गरेर गाउँका मान्छेहरु को कहाँ बस्छन् यो सहरमा सोधे हुन्छ नि। अनि उनीहरुको फोन नम्बर मागे त समस्याको हल भैहाल्छ नि। तपाईंको नम्बर भन्नु त मेरो मोबाइलमा डायल गर्छु' अब म लेखक होइन, मानिस भएँ।
'यो कुरा मेरो दिमाखमा नआएको हो र हजुर। साथमा पैसा नभए पनि बाहिरको पसलबाट घरको नम्बरमा फोन लगाएँ। मेरो दुर्भाग्य, मोबाइल नै अफ रहेछ। पछि बल्ल याद आयो, टेलिफोनको टावर बिग्रेर दुई/तीन दिनदेखि जिल्लाभरिको फोन अवरुद्ध भएका छन्' उसले भन्यो।
माइक्रोमा पर्स हराउनु, पर्समा मात्रै पैसा हुनु, मोबाइल फोन घरमै बिर्सनु, फोन डायरी पर्ससँगै हराउनु, सहरमा रहेका आफन्तको ठेगाना थाहा नहुनु। फेरि गाउँको फोन अवरुद्ध हुनु। यी सारा कुराको तालमेल कसरी एकचोटि हुन सक्छ! मलाई कता-कता ऊ माथि शंका नलागेको होइन।
तत्क्षण बिहान कतै न्युज पेपरमा टेलिफोन अवरुद्ध बारे समाचार पढेको भन्दा पनि हेडलाइन देखेको याद आयो। होइन होइन, यी सबै घटना घटेको पनि त हुनसक्छ। यो मान्छे साँच्चीकै अप्ठ्यारोमा परेको हुनसक्छ। मेरो मन भित्र छिटोछिटो धेरै कुरा खेल्दै थिएँ। मैले उसको मन बुझ्ने हेतु बोलेँ।
'त्यसो भए आज मेरो घरमा जानुहुन्छ त?'
'माफ गर्नुहोला, भलै तपाईं सज्जन् मान्छे हुनुहोला तर यो अन्जान सहरमा अन्जान मान्छेको घरमा गएर बस्नु मेरो लागि हितकर नहुन सक्छ' उसले भन्यो।
मेरो आग्रह ठाडै अस्वीकार गर्दा पक्का यो मान्छे असल हो भन्नमा ममा कुनै शंका रहेन। ऊ आफूलाई असुरक्षित ठानेर मसँग जान नमान्नु राम्रो कुरा हो। अझै उसको मन बुझ्न मैले भनेँ,
'तपाईंलाई मेरो घर जाउँ भनि म कर गर्दिनँ, अप्ठ्यारोमा परेको मान्छे दाइ सहयोग गरौँ भन्ने मेरो इच्छा मात्र हो। बरु एउटा काम म गर्न सक्छु, मसँग यो पाँच सय रुपैयाँ छ। यसले तपाईंलाई आजको रात काट्न राहत मिल्छ। यो रुपैयाँ राख्नुहोस्।'
मैले आफ्नो पर्सबाट नोट निकाल्दै भनेँ। हुन त मसँग चार/पाँच हजार जति थियो होला त्यतिबेला।
'तपाईंले यसरी अपरिचित व्यक्तिलाई विश्वास गरेर पाँच-पाँच सय रुपैयाँ दिँदा पक्कै पनि तपाईं दयालु मान्छे हो भन्ने कुरा प्रमाणित हुन्छ। तर म पनि अर्काले पसिना बगाएर कमाएको धन अप्ठ्यारोमा परेँ भन्दैमा यत्तिकै लिदिनँ। तपाईंको ठेगाना वा फोन नम्बर दिनुस्। ताकि यो रुपैयाँ कुनै दिन म सजिलै फिर्ता गर्न सकूँ' उसले भन्यो।
'तपाईं आज अप्ठ्यारोमा हुनुहुन्छ, त्यसैले मैले सहयोग गरेको फिर्ता गर्नु पर्दैन' मैले भनेँ।
'त्यसो हो भने म यो पैसा लिन्न, बरु भोकभोकै खुला आकाश मुनि रात काट्न सक्छु तर आफ्नो स्वाभिमान घट्न दिन्नँ' उसले ढुक्कसाथ भन्यो।
उसको यस्तो व्यवहारले ऊ असल मान्छे हो भन्नेमा अब कतै शंका रहेन। म उसको इमान्दारिताबाट झनै प्रभावित भए। धन्य दुनियाँमा यस्ता मानिस पनि छन्।
'ल ल भैगो तपाईंकै जित भो, ल लिनुस् मेरो कार्ड र पैसा पनि' उसले मेरो भिजिटिङ कार्ड यसो हेरेर मात्र पैसा सँगै ज्याकेटको खल्तीमा राख्यो। हामी पार्क बाहिरसम्म सँगै आयौँ। मैले नजिकै एउटा सस्तो होटल पनि देखाइदिएँ त्यसपछि म घर फर्केँ ऊ होटलतिर लाग्यो।
बेलुका घरमा मेरो कुरा सुनेर इन्दिरा जोडसँग हाँसिन्। उनलाई लाग्यो मैले जोक्स सुनाइरहेको छु।
'तिमी किन यसरी हाँसेकी, अर्काको दुःख माथि अलिकति दया त राख' मैले भनेँ।
हाँसो राक्दै 'तपाईंलाई के लाग्छ उसको कहानी सत्य थियो? हाँ हाँ हिँ हिँ' फेरि हाँस्न थालिन्।
'यो कुरा त उसको व्यवहारबाटै थाहा हुन्छ ऊ खराब मान्छे होइन भनेर' मैले भनेँ।
'केही मान्छे आफू जाना जान कसरी ठगिन्छ र?' उनले भनिन्।
'तिम्रो मतलब म ठगिएँ।'
'अनि के त।'
'तिमी जे भन मैले राम्रो काम गरेको छु, समस्यामा परेको मान्छेलाई मद्दत गरेको छु।'
इन्दिरा घरीघरी त्यही कुरा कोट्याउँदै हाँसिरहिन्। हुन त उनी सदा ठट्टा गरिरहन्छिन्। हाँसिरहन्छिन्। उनी जति ठट्यौली छन् त्योभन्दा बढी व्यवहारिक पनि। वास्तवमा उनी मेरो लागि योग्य श्रीमती हुन्।
भेलिपल्ट बिहान अस्पतालबाट फोन आयो। गए राति एक युवकको मिनिबसले ठक्कर दिँदा मृत्यु भएछ। उसैको पोस्टमार्टम गर्नुपर्ने भयो। म अस्पताल पुगेर पोस्टमार्टमको लागि फरेन्सिक ल्याबमा पुगेँ। लास चिर्ने क्रममा मेरा आँखा अगाडि राखिएका कपडामा पर्न गए। जसमा रगत लतपतिएको थियो। ओहो! यो जुत्ता त मैले कतै देखेको छु। कस्को! कस्को! म सम्झिने प्रयास गर्दै थिएँ।
ए साँच्ची, हिजोको शिक्षकको। ओहो! यो कसरी भयो? अरु पनि मिल्दो छ। त्यही पाइन्ट, ज्याकेट, टोपी र त्यही गल्बन्दी पनि। म झस्किएँ, मृतकको अनुहारमा हेरेँ। उसको अनुहार चिन्न सक्ने अवस्थामै थिएन।
वास्तवमा हिजो मैले उसको अनुहार राम्रोसँग देखेको पनि थिइनँ। एक त बेलुकाको समय, अर्को उसले लगाएको टोपी र गल्बन्दीले अनुहारको धेरै भाग छोपिएको थियो।
रिपोर्टको लागि ल्याबमा परीक्षण हुँदै गर्दा हिजोको शिक्षकको अनुहार सम्झने कयौं कोसिस असफल भए। सबै लुगा र जुत्ता शिक्षकसँग मिल्नु यो कुनै संयोग थिएन। लास पनि शिक्षककै भएको अनुमान गरेँ। यस्तो लाग्दै थियो वर्षौं पहिलेदेखि चिनिराखेको आफन्तलाई गुमाएँ।
बाहिर चौरमा रुवाबासी थियो। एकजना प्रहरी मित्रले बताए, 'हिजो राति दुर्घटनामा मर्नेका आफन्त हुन्।'
म झन् आश्चर्यमा परेँ। यो राता रात उसका परिवार कसरी आइइपुगेँ? मलाई तेस्रो झट्का त तब लाग्यो जब प्रहरीले उसको नाम, ठेगाना र पेसा हिजो उसले बताएभन्दा भिन्न बताए।
अर्को दिन पोष्टमाटम रिपोर्टमा उस्ले मद्यपान गरेको खुल्न आयो। रक्सीले मातेर सडकमा जथाभावी हिँड्दा बसले ठक्कर दिएको हुनसक्ने अनुमान गरे। प्रहरीले आफ्नो अनुसन्धानबाट साँचो कुरा बाहिर ल्याउला। म भने अन्यौलमै थिएँ।
मेरो मन त्यो लास मलाई झुक्काउने शिक्षक थियो भन्न सकिरहेको थिएन। मेरो अन्योलतालाई प्रहरीले समाधान गरिदिए। ऊ त्यही व्यक्ति रहेछ, तर उस्ले मलाई बताएको सबै कहानी झुटो।
न त ऊ शिक्षक थियो, न कुनै अप्ठ्यारो परेको मानिस। उसको सही पेसा ठगी रहेछ। जसरी मलाई ठग्यो। उसको कपडाको अलवा उसको साथमा रहेको मेरो भिजिटिङ कार्डले ऊ त्यही ठग शिक्षक भएको प्रमाणित गर्यो। मैले प्रहरीसामु यथार्थ घटना सुनाएँ। उसले म जस्ता धेरैलाई ठगेको सत्य प्रहरीले सुनाए।
तर मेरो मनमा एउटा अपसोच अझै रहिरह्यो। लाग्यो उसलाई परमधाम पुर्याउनुमा मेरो पाँच सय रुपैँया दोषी बन्यो।