ए मनुष्य!
न बनायौ तिमीले यो संसार
न बनायौ यो आकाशगंगा
न त भर्न सक्छौ तिमी प्राणवायु
दिवंगत शरीरमा
न त कोर्न सक्छौ तिमी
आफ्नै भविष्यको नक्सा,
व्यर्थै फैलाइरहेछौ किन
अहंकारका फणाहरु?
व्यर्थै नाचिरहेछौ किन
शक्ति र सत्ताको उन्मादमा?
व्यर्थै कुदिरहेछौ किन
स्वार्थको अनन्त आकाशमा?
व्यर्थै दौडिरहेछौ किन
लोभ र तृष्णाको भवसागरमा?
कुन रसायनले भिजेको छ
तिम्रो छाती?
कुन रगत बगिरहेछ
तिम्रो मस्तिष्कका द्वारहरुमा?
जसले तिमीलाई
हरबखत लखेटिरहेछ
असन्तुष्टिको महायात्रामा
ए मनुष्य!
स्वार्थको अनन्त जलधिमा
डुबुल्की मार्दै गर्दा
कहिल्यै नबिर्सनू सुन्न,
तिम्रो अन्तरआत्माको आवाज
कहिल्यै नभुल्नू हेर्न,
समाधिस्थलमा उडिरहेको धुवाँ,
कहिल्यै नमेट्नु तिम्रो छातीबाट
मानवताको त्यो पवित्र रंग
ओ मनुष्य!
कति भर्छौ लोभका घडाहरु
मरुभूमिको प्यास बनेर
कति मर्छौ हरेक दिन
जिन्दगीको दास बनेर
च्यातिदेऊ अब
आडम्बरी मुकुण्डो
भत्काऊ तिमीभित्रै उठेका
उचनिचका पर्खालहरु
ढलाऊ तिमीभित्रै बाँचिरहेका
कुभावका सतिसालहरु
जलाइदेऊ ती विषाक्त भाइरसहरु
जसले यो सुन्दर संसारलाई
सुन्दर बन्न रोकिरहेछ
जसले मान्छेभित्र बाँचेको मानवलाई
हरेक दिन मारिरहेछ
हरेक दिन निमोठिरहेछ।