यातायात कार्यालयमा चर्को भिड थियो। एकजना साथी हस्याङफस्याङ गर्दै मलाई बोलाए- 'सजन सर, सजन सर!'
मैले हतारिँदै नजर पुऱ्याएँ। ठ्याक्कै नाम त मलाई थाहा भएन तर हाम्रो अफिसमा आइरहने एकजना व्यक्ति थिए। कति व्यक्ति दिनहुँको भेटघाटले हेलो हाई हुन्छ तर धेरै कुरा थाहा हुन्न त्यस्तै।
उनले हातको ब्लुबुक मेरो हातमा राख्दै भने 'यार, राजस्व तिर्न पर्यो, आज अन्तिम दिन हो।'
मैले घडी हेर्दैं भनेँ- '२ बज्नै लाग्यो, आज सम्भव छैन सर।'
उनले बिन्ती गरे, 'बरू यसो चियासिया...।'
'हैन हैन, त्यस्तो पर्दैन। मिल्यो भने म हेर्दिन्छु' भनें र फाँटमा 'सर अघि छुटेछ' भनेर राजस्व तिरीदिएँ।
दैनिक काम गर्ने मान्छेले यति गर्न सकिन्थ्यो। अधिकारकै दुरूपयोग त नभनौं आत्मियताको उपज भन्न सकियो।
भर्खर एक वर्षमात्रै चढेको रातो टक्सन कार लिएर उनी बाहिरिदैं भने- 'एकदिन भेटेर खाजा खाऊँ है?'
मैले 'ठिकै छ नि सर' भनेर काम तिर लागेँ।
शनिबारको दिन थियो, बहिनीले रहर गरेर उसलाई स्कुटी चलाउन सिकाउन अफिसकै स्कुटी लिएर रंगशाला नजिकै ट्रायल दिने ठाउँमा पुगेको थिएँ। संयोग ती मान्छे त्यही आएका रहेछन् (रोहन बस्नेत) जसको केही दिन अघि मात्रै मैले गाडीको कर तिरीदिएको थिएँ।
उनले 'सर मेरो घर त्यही हो, आज घरमै लगेर चिया खुवाउन पाउने भएँ' भने। मैले ठिकै छ फेरि खाउँला नि भने पनि मानेनन्। अति जिद्दी गरेपछि बहिनी र मसँगै उनको घर गयौं।
दुई तले आरसिसी ढलान पक्की घर। बाहिर खासै रङ रोगन नभए पनि भित्र रूममा एसी, गमलामा फूल सजिएका, महंगा सजावटका सामान, फराकिला कोठा भित्तामा २९ ईन्चको एलिडी टिभी, कुनै सम्भ्रान्त वर्गकै घर जस्तै थियो।
मैले अप्ठ्यारो मानीमानी सोधेँ- 'सर, यो जग्गा त…'
उनले म पूरा बोल्न नपाउँदै भनेँ- 'हजुर सर, यो ऐलानी जग्गा हो। नगरपालिकाको १३ वार्ड। अहिले नयाँ नाम छ शान्तिनगर, नत्र पहिले सुकुम्बासी वस्ती भन्थे।'
मैले थप सोधेँ- 'यस्तो ठाउँमा पनि लगानी ठूलै गर्नु भएछ त?'
'आफू जहाँ बस्यो त्यही गर्नै पर्यो नि सर, स्वर्ग भने नि घर भने नि यही हो। यति नगरे त न टोकन पाइन्छ न पूर्जा।'
उनले अझ हाँस्दै भने- 'सर, मणिग्रामको जग्गा फाल्दिन पाए उता नयाँगाउँ तिर एउटा प्लट आँट्न हुन्थ्यो, कोही छैनन्? मिलाएर दिन्थेँ। भए भन्नुस् है।'
'हस् सर' भनेँ। केही बेर गफगाफ गरी हामी छुटियौं।
अर्को दिन म अफिसको कामले बैंक जाँदै थिएँ, रोहनजी भेटिए। मैले सोधें, 'कता सर हतारिँदै?'
उनले केही आक्रोशित मुद्रामा भने- 'सरकारले सुकुम्बासी आयोग खारेज गरेछ सर। हामी आन्दोलनको तयारीमा छौं। आजबाट प्रशासनमा धर्ना दिने कार्यक्रम छ।'
'ए सर, ल है म नि बैंक तिर कामले, फेरि भेटौंला।'
उनी रातो गाडी सिसा टल्काउँदै आन्दोलन तिर लागे। म दाइले साउदी जान ऋण नपुगेर सहकारीमा धितो राखेको घर सम्झिदैँ बैंक छिरेँ।