बाजेले भेडा के हो नचिनेरै
छिमेकमा कम्बलसँग साँटेछन् र
घर आएर बज्यैलाई सुनाएथे रे-
बुढी, मैले कम्बल पो ल्याएँ त
जाबो एउटा छतौरो मागेको छ
ऊ भने दिनू है।
बाबुले लैनो चौँरी नचिनेर नै
निर्यात गरेको पाँच डलरमा
त्यति नै थपेर नौनी र मक्खन
भित्र्याएछन् र आमालाई भनेछन्-
अचेल त नौनी र मक्खनको
भाउ कति ह्वात्तै पो बढेछ है!
छोराले आफ्नै बरबगैँचाको
बुटी नचिनेर बिरामी हुँदा
छिमेकीको कोसेली
दुई/चार ट्याबलेट सिटामोलको गुन भनी
करेसाबारी, हिटीधारा र बेंसीको अब्बल खेतसहित
कोसी र सुस्ताको जल सयौं दशकलाई बन्धकी दिएछ
नातिले आफ्नो अस्तित्व र घरै चिन्न नसकेर
आफ्नो घर छिमेकीलाई बन्धकीमा लगाएर
आफ्नै घरमा भाडामा बस्न खोज्दै छ रे
अब नातिको लागि कसले दिएला शिक्षा
मातृभूमिको अस्तित्व र स्वतन्त्रताको महत्व?