पुसको महिना थियो, आँखाभरि अनगिन्ती सपना र काँधमा जिम्मेवारी बोकेर सहर छिरेको रामे सहरको रमझम र बेथितीले 'सहर' उसले सोचेभन्दा निकै भिन्दै बन्दै गैरहेको थियो। ऊ पसेको सहरबाट रामेले आफ्ना चाहना र आवश्यकता पूरा गर्न त सकेन बरु सहरले नै उसलाई उसले चाहेभन्दा फरक तरिकाले परिवर्तन गरिदियो।
यसैबीच एक दिन ऊ जाडो मेटाउन भनेर काम गर्ने ठाँउबाट घर फर्किँदै गर्दा एउटा सानो होटलमा छिरेर सुरपान गरेछ। केही समयपछि उक्त होटलबाट लरबराउँदै बाहिर निस्क्यो। ऊ आफ्नो गन्तव्यतर्फ लाग्दै थियो। यो स्पस्टसँग देख्न सकिन्थ्यो कि ऊ आफ्नो अधिनबाट फुत्किसकेको थियो। आफैलाई सम्हाल्न सकिराखेको थिएन।
सबै कुरा संयोगै त होला, बेथितीसँग हुँइकिँदै आइरहेको थियो। अचानक एउटा मोटरसाइकल अधबैँसे केटोले, उस्तै एक महिलालाई पछाडि राखेर आइरहेको थियो। मोटरसाइकल चालकको ध्यान पनि साधन चलाउने तिरभन्दा पनि अन्यत्र कतै केन्द्रित थियो। नसोचेको दृश्य देखा पर्यो। उक्त मोटरसाइकलले ठक्कर दिन्छ रामे लाई।
रामे भुइँमा लड्यो। मोटर साइकलले उसलाई केही परसम्म लतार्यो। ऊ रगताम्य भयो। धेरै ठाउँमा चोटपटक लागेको स्पस्टै देख्न सकिन्थ्यो। यत्तिकैमा त्यहाँ धेरै बटुवा जम्मा भए।
कसैलाई फोटो खिच्ने हतार त कसैलाई सवारी चलाउने र बाटोमा हिँड्ने तरिकाको दर्शन छाट्न भ्याइ नभ्याइ थियो भने कोही हेर्न नसकेर अर्कै तिर फर्कँदै पर्ल्याक्पुर्लुक हेर्दै थिए भने कोही मानवीय गुण दर्साउँदै एम्बुलेन्सको खोजी गर्दै थिए।
छोटै समयमै एम्बुलेन्स टुप्लुक्क आइपुगयो। भिड पन्छाउँदै एम्बुलेन्स रामे लडेकै ठाउँमा पुग्यो। घाइते अवस्थामा हेर्न त्यहाँ मानिसहरूको घुइँचो लागेको थियो। रामेलाई एम्बुलेन्समा राखियो। एम्बुलेन्समा एकजना पथिक रामेसँगै अस्पताल जान तयार भए। संयोग पनि कस्तो, उनैले एम्बुलेन्सलाई फोन गरेका थिए।
सहरमा त सबैको समय अति नै व्यस्त हुन्छ भन्छन्, उनले आफ्नो त्यस्तो अमूल्य समय रामेको उपचारमा दिन सक्ने भएछन्। उनी त्यस सहरका कामै नभएका मान्छे त पक्कै होइनन् होला। मानवीय भूमिकाको हिसाबकिताब भएर त होला नि।
घाइतेको उपचार सुरु भयो। ऊ छट्पटिरहेको थियो। फेरि संयोग, आफ्नो बाल्यकालको साथी ऋतुले नै उसको उपचार गरिरहेका हुन्छन्। त्यो देखेर ऊ बोल्न त सक्दैन तर निशब्द हुन्छ।
उसको मुखबाट अचानक वाक्य फुट्छ- 'ऋतु, तिमी?'
उसले यो प्रश्न गर्नु स्वाभाविकै थियो। बाल्यकालमा 'म डाक्टर बन्छु' भन्दा 'तिम्रो रुपले तिम्लाई डाक्टर बन्न दिन्छ र?' भनेर ऊ माथि प्रश्न उठाउने साथीहरु मध्ये रामे पनि एक थियो।
रितु भन्छिन्, 'तिमीहरूको त्यो लाखौँ तितो बोलीभन्दा मेरो आमाले मलाई म सानो छँदा सुनाएको एउटा कथाले मलाई अगाडि बढ्ने हौसला दियो, र म आज यो स्थानमा छु।'
'अलि बुझिनँ नि मैले त' रामेले भन्यो।
रितुले आमाले सानैमा उनलाई भनेको कथा सुनाउँछिन्। 'कुनै एउटा बगैँचामा रहेका आ-आफ्नै किसिमले फुलेका फूलहरुले त्यस बगैँचाको सुन्दरतालाई मनमोहक बनाएका थिए। वातावरणलाई नै सुगन्धित बनाएका थिए। त्यही फूलहरु मध्ये कमल, गुलाब र तुलसीबीच कुराकानी चलिरहेको थियो।
कुराकानीकै क्रममा गुलाफ र कमलले तुलसीलाई न त रुप छ न त रंग नै, तलाई कसैले मन पराउँदैनन् भन्दै उसलाई गिज्याइरहेका थिए। यो तुलसीले चुपचाप सुनेर ऊ मुसुमुसु हाँसेर बसिरहेको थियो।
केही समयपछि एउटा परिपक्क व्यक्ति जो निराश थियो उसले त्यो गुलाफ र कमललाई टपक्क टिपेर तुलसीको बोटमा चढाइदिन्छ र भन्छ, हे तुलसी तिम्रो गुलाफको जस्तै रंग छैन्, कमलको जस्तै सुन्दरता पनि कमैले देख्छन्। तर तिम्रो भित्री औषधीय क्षमता, सांस्कृतिक र धार्मिक महिमा धेरैलाई नहुन सक्छ।
त्यस्तो बहुगुणी तिमीलाई मेरो नमन छ। मलाई तिम्रो नजिक हुँदा तिमीमा अन्तर्निहित बहुगुणले धेरै उर्जा प्रदान गर्दछ। बाहिर देखिनेभन्दा नदेखिने गुणको महत्व धेरै हुन्छ, तिमीलाई कोटी कोटी नमन छ।'
रितुले थपिन्- यसैबीच आमा भन्नु हुन्थ्यो, हेर छोरी मान्छेले बाहिर देखिने आवरण मा मात्र बढी केन्तृत हुन्छन्। यो त गौण कुरा हो। मुख्य कुरा त हरेक मान्छेको आन्तरिक तर प्रस्फुटन हुन नसकेको उर्जालाई सकृय बनाउनु पर्छ।
जब मान्छेको त्यो अन्तर्निहित उर्जा प्रस्फुटित हुन्छ, उसका हरेक कृयाकलाप सुन्दर र मनमोहक हुन्छन्, तार्किक हुन्छन् र धेरैलाई मार्ग निर्देशक पनि हुन्छन्। त्यसैले खाली बाहिरी आवरणमा ध्यान दिनेभन्दा हरेक मानव मा अन्तर्निहित त्यो क्षमतालाई बुझी त्यस्लाई प्रस्फुटन हुने वातावरणको खोजी गर्नु है।'
यही वचन नै मेरो जीवन परिवर्तनको सुत्र हो। मैले यही सुत्रलाई प्रयोग गर्दै आएँ र आज यहाँ तिम्रो उपचारमा संयोगवश म आफै छु।'
यो सुनेपछि रामे निशब्द हुन्छ र बोल्ने सक्दैन। उसका ती पुरै खुल्न नसकेका आँखाबाट तप तप आँसु थोपा झरिरहेको हुन्छ।