'जिन्दगी एक यात्रा हो। सहयात्री थुप्रै भेटिन्छन् तर याद गर्नू, गन्तव्य सबैको फरक हुने गर्छ।'
फेसबुक खोलेर केही यस्तै पोस्टाउँदै थिएँ। त्यत्तिकैमा मेसेन्जरमा कसैको म्यासेज आयो, 'खाना खायौ?'
रिता सापकोटाले पठाएको त्यो म्यासेजको रिप्लाई नगरी धन्यवाद लेखी पठाएँ। ऊ अनौठो मान्दै सोधी 'किन नि?'
'भोलि नसम्झी जिन्दगीमा आजमा रमाउने म तर पनि नजिकको कोहीले छाडेर जाँदा मन रुने रहेछ। त्यसरी एक्लिएको बेला कोही साथमा हुँदा टाढैको भएपनि आफ्नै लाग्ने रहेछ। हो, तिमी त्यही पात्र हौ।
म बोल्ने सबैजसो मान्छेलाई भन्ने गर्थेँ 'नजिकिने गल्ती नगर्नुहोस् मसँग, नचिन्दै प्रेम हुनसक्छ तर चिनेपछि पछुतो।'
यही सुनाउँदा सुनाउँदै पनि बोलेको चार दिनमै मिल्ने साथी बनुम् न भन्ने उसले आज सायद मलाई राम्ररी चिन्न सफल भई। त्यसैले होला ऊ मबाट टाढा भएकी छ। र, त्यो बेला मेरो एक्लोपन केही कम गर्न तिमीले सहयोग गरेकी छौ।'
'नभन धन्यवाद, तिमीले पनि मलाई त्यत्तिकै सहयोग गरेका छौ' उसले भनी।
साहित्यमा केटाकेटी पारामा कलम चलाउने म उसलाई अनायसै एउटा प्रस्ताव राखेँ 'तिम्रो प्रेम जीवनको बारे एउटा कथा लेखौ न।'
म्यासेज पठाइसकेपछि एकपटक मनमा कुरा आयो। साथी सम्बन्धमा एकले अर्कोलाई सेयर गरेका केही कुरा अर्थात् प्रेम जीवनको बारे लेख्न अनुमति त कसरी पाउन सकिन्छ होला र! सोच विपरीत उसले सकारात्मक प्रतिक्रिया दिँदै सोधी 'लेख्न ठिक होला त?'
'केही हुँदैन' भन्दै मैले प्रश्न सोध्न थालेँ।
'प्रेमको बारे यसरी खुलेर बहस गर्ने तिम्रो त्यो मन कसले ह्याक गर्न सक्यो नि?'
'देखावटी कुरामा बहकिने मनलाई आजभोलि मान्छेले नाटकीय रुपमा नै ह्याक गर्न सक्छन्। म पनि त्यस्तै ह्याकरको शिकार भएँ सायद। कक्षा बाह्रमा पढ्ने म एकदिन यसै फेसबुकका भित्ता घिसार्दै थिएँ। त्यत्तिकैमा मेरो साथीले फेसबुकमा बनाएको दाइ अर्थात् अरुण ढकालले साथी बन्न अनुरोध गरेको भन्दै नोटिफिकेसन आयो।
त्यसको अर्को दिन मैले उसको साथी बन्ने अनुरोध स्विकार्दै रिक्वेस्ट एसेप्ट गर्दिएँ। केही बेरमा उताबाट म्यासेज आयो। कुराकानीको सुरुआत सामान्य चिनजानबाट नै भए पनि विस्तारै कुराकानीको समय बढ्न थाल्यो।
उसका कुराहरु विस्तारै प्रेमतर्फ परिणत हुन लागेका थिए। विदिप, जिन्दगीमा प्रेमको सही परिचय त कसैले पनि दिन सक्दैन होला। प्रेमको परिचय कसरी दिन सकिन्छ मलाई पनि थाहा छैन तर पनि लाग्छ प्रेम एक विश्वास हो, र प्रेमी एक विश्वासिलो पात्र।
आफ्नो लागि समय दिने, परिपक्व मान्छेलाई नै केटीले प्रेमी बनाउन खोज्छे। म पनि त्यस्तै केटीमा एक हुँ। उसका कुरामा म यी कुराहरुको झल्को पाउने गर्थेँ। सायद ऊ मलाई प्रेम गर्थ्यो।
यति छोटो समयमै प्रेम बस्न सक्छ र? म जवाफ विहीन थिएँ। मेरो विचारमा माया भनेको एउटा त्यस्तो समय अवधि हो जहाँ आफूलाई मायाको आभास र भाग्यमानी महसुस हुन्छ। हरेक कुरा प्यारो लाग्न थाल्छ।
हाम्रो वरिपरि भएका सबै कुरा राम्रो नै हुँदैछ जस्तो एवम् पोजेटिभ हुन मन लाग्छ। एउटै कुरा सोचेर आफूमा खुसी महसुस हुन्छ कि मलाई पनि माया गर्ने मान्छे कोही छ, मेरो ख्याल गर्ने मान्छे कोही छ। त्यसपछि त सबै कुरा राम्रो लाग्ने।
दुई पात्र बीचमा एकले अर्कोलाई महसुस गराएका हुन्छन् कि म छु तिम्रो लागि। मैले पनि सोचेकी हुन्छु, आज म कसैका लागि महत्वपूर्ण छु, म ऊसँग सुरक्षित छु। त्यो पलमा जीवनमा आइपर्ने साना-साना कुरा पनि ऊसँग साट्न मन लाग्छ, चाहे त्यो सुख होस् या दुःख। तर अहिले नै मैले यो सबै कुरा महसुस गर्ने पाइरहेकी थिइनँ।
कुरा चल्दै गर्दा उसले भन्यो, 'तिमी मलाई विश्वास गर, म वाचा गर्छु त्यो विश्वास कहिले पनि तोड्ने छैन। यदि चाहान्छौ भने तेस्रो कोही व्यक्तिलाई हामी बीचमा पनि राख्न सक्छौ। म उसको सामु पनि वाचा गर्न तयार छु।'
साथमा उसले एक प्रश्न सहितको प्रस्ताव पनि पठायो 'जिन्दगीमा म धेरै कुरा चाहान्छु, ती कुरा पूरा गर्न तिम्रो हात अनि साथ चाहिन्छ। म तिम्रो साथ चाहान्छु, सफल हुन जीवनमा दुई वटा हात जरुरी छन् जस मध्ये एक मेरो हुनेछ, के त्यो अर्को हात तिमी बन्दिन सक्छौ?'
उसले प्रेम गरेको त मसँग हो, तेस्रो मान्छेलाई किन राख्नु पर्ने! यदि विश्वास नै छैन भने त्यो प्रेम कसरी हुन सक्छ र? तर पनि मन न हो, सोचिहाल्यो। त्यतिसम्म भन्नेले खै कसरी पो विश्वासघात गर्ला र? तर अर्को मन भने सोच्दै थियो, उसलाई आफूमाथि नै विश्वास छैन, प्रेम नगर त्योसँग। जिन्दगी हरेक कुराको निर्णय सही लिन सकिँदैन। सायद त्यसै भयो मेरो ऊसँगको प्रेम जीवनको निर्णय।
हो, तिमीले सही बुझ्दै छौ। त्यो निर्णय गलत थियो। तपाईंबाट सुरु भएका हाम्रा बातहरु तिमीसम्म पुग्दा उसले ती तीन शब्द निकै नै प्रयोग गर्थ्यो, अझ प्रेम प्रस्तावपछि 'आई लभ यू।'
यी तीन शब्दले दिगो सम्बन्ध कहिले बनाउँदैन भन्ने सुनेकी पनि थिएँ तर खै यही शब्दहरु आजभोलि खास लाग्दै छन् मलाई। म प्रेममा परेँ। हामी चखेवाका जोडी बन्न सफल भयौँ।
'मन त यसै उडिरहेछ,आज म प्रेममा परेकी छु,
सपना यसौ सजिरहेछ, आज म प्रेममा परेकी छु,
भावनाहरु यसै छचल्किँदै छन् मनमा खै किन
मले आफैलाई छाडेर डुलिरहेछ, आज म प्रेममा परेकी छु।'
क्रमशः