'...
डटेर झ्यालमा बस!
डढाऊ लौ बनारस
अधर्मिणी! हिँडे पर!
सलाम! भो क्षमा गर!
बिगार्दछ्यौ मुहार के?
जगत पखाल्न सक्दथ्यौ!
हिलो भर!
सडी मर!'
घण्टाघरले 'टुन-टुन' गरेर फेरि पर पर डाँडासम्म आफ्नो ध्वनी गुञ्जायमान पार्यो। पाँच बजिसकेछ पत्तै भएन। आज क्लास नगएर हामी केही साथीहरु देवकोटा-सत्संग गरीरहेका थियौँ।
एक सुन्दरी वेश्या प्रतिको समीक्षा भने भोलि नै गरौँला भनियो। एकछिन उजाड रानीपोखरी हेरियो, जो ठिंग उदास भई उभिएको थियो। जो आफै पनि उजाड थियो। उनीहरुबीच साउतीमा केही कुरा भइरह्यो...
पुतलीसडकमा केही बेर नेपाल यातायात कुरेँ। धेरै बेर आएन। त्यसपछि आज पनि हिँडेरै जानु पर्यो सोचेर डिल्लीबजार-पिपलबोट मैतिदेवी हुँदै बानेश्वर फर्कँदै थिएँ। अचानक मैतिदेवी मन्दिर पनि एकछिन दर्शन गर्ने उत्कट अभिलाषा जाग्यो।
मैतिदेवी चोकबाट उत्तर तिरको बाटो जाँदै थिएँ, अचानक सम्झेँ देवकोटाको घर पनि यतैकतै हो। त्यसपछि एउटा पसलमा साउजीलाई सोधे, उनले थाहा नभएको प्रतिकृया दिए तर त्यतिमै पछाडिबाट एउटा बुढा वृद्धले शास्त्री मार्गको बाटो देखाइदिए।
मैतिदेवी चोकबाट बायाँ तर्फबाट हिँड्दै गर्दा मन्दिर पुग्नुभन्दा सय मिटर वरबाटै बायाँपट्टि लागेको बाटो छ, त्यो नै शास्त्री मार्ग हो। त्यो बाटोबाट नबिराएर सिधा हिँडेपछि भने अन्तिममा एउटा सानो टिनको गेट भएको पुरानो चार तले इँट्टाको घर (११०/३६) थियो।
एक्लै उभिएको आधुनिकताले नछोएको, माफ गर्नु होस् आधुनिकताले रंगिएको घर थियो। गेटमा लेखिएको थियो- कवि कुञ्ज। गेटमा भोटे ताल्चा ठोकिएको थियो। घरको छतमा घाँसहरु उम्रेको थियो। केही परेवाहरु अस्ताउँदै गरेको सूर्यका किरणहरु माझ 'सनबाथ' गरीरहेका थिए।
एउटा गुलाबी गुलाबको बोट थियो, केही भँगेराहरु त्यसैमा बसेर 'चिर-चिर' गरीरहेका थिए। उनीहरुले केही भनेरहेका थिए तर मैले त उनीहरुको भाषा बुज्न सकिनँ। लाग्यो यी सबै दृश्यहरु देवकोटाका कविताहरु हुन्। छानो थामीरहेको एक कुनाको काठमा एउटा उल्लु पनि बसेको थियो,ध्यानस्थ अवस्थामा। घर अघि एउटा ठेला राखिएको थियो।
घरको पूर्वपट्टि सँगै टाँसिएको ठूलो पक्की-आधुनिक घर थियो जसको गेटमा लेखिएको थियो- देवकोटा सदन। यो देवकोटा सदन भने देवकोटाका छोरा पद्म देवकोटाको रहेछ। एकपटक पालै पालो कवि कुञ्ज पनि हेरेँ, देवकोटा सदन पनि हेरे। अनि धिक्कार लाग्यो- कोदेखि थाहा भएन। सायद आफैँदेखि पनि।
छिमेकमा एकजना काकालाई भित्र जान पाइन्छ कि नाइँ भनी सोधेँ। उनले जान दिँदैनन् भने। केही बेर भनौँ धेरै बेर गेट अघि बसेर त्यो घर हेरीरहेँ जसमा झल्याक झुलुक देवकोटाको अनुहार देखिरहेको थिएँ। नेपाली साहित्य सागरको जीर्ण अनि खुम्चो चित्रण पनि।
त्यसपछि जब जब मैतिदेवी तिर जाने गर्थेँ एकछिन देवकोटाको घर पुग्थेँ। कुनै दिन भित्र जान पाइन्छ कि भन्ने चाहनाले। तर सधैँ गेटमा ताल्चा लागेको हुन्थ्यो। त्यहीँ पनि म सधैँ प्रसन्न भएर फर्कन्थेँ। जसरी म मन्दिर गएर फर्कन्छु।
एकदिन भने गेट खुल्ला थियो। भित्र एकजना दिदी ठेला राख्दै हुनु हुन्थ्यो। उनकै हातमा ताल्चा र साँचो थियो। म विस्तारै चारै तिर नजर डुलाउँदै घर हेर्न थालेँ। ठेलावाली दिदी एकछिन कतै जानु भयो। त्यही बाहना छोपेर म सुटुक्क घर भित्र छिरेँ।
ढोकामा एउटा मुढा छड्के तेर्साइएको मात्रै थियो। त्यो बेलाको लागि भने यो घर आधुनिक नै हुनु पर्छ। पहिलो तलाका कोठाहरु पुरै अँध्यारो थियो, एउटा गहिरो सन्नाटाहा थियो त्यहाँ। कुर्ची, टेबल अनि दराजहरु थन्किएका थिए, खप्टिएका थिए एकअर्कामा।
काठको सिँडी चडेर दोश्रो तला पुगेँ जसको आधा भुइँको भाग पुरै भत्केर खसिसकेको थियो। तेश्रो तलामा पुगेँ। जहाँ भत्केको काठे दराजमा केही किताबहरु थिए। प्रायः किराले खाइसकेको थियो। प्रायः धुलो माटोको थिचिएका थिए। किरा लागेको प्रमिथस पुरानो टेलिभिजन छेउमा थियो, लक्ष्मी निबन्ध संग्रह माटोले आधा पुरिएका थियो।
माटो रंगकी सुलोचना पुरै किराले खाएर लेदो बनीसकेकी थिइन्। एमएम ठाकुरले अंग्रेजीमा अनुवाद गरीदिएको निलो कभर भएको कविता संग्रह पनि एउटा कुनामा धुलै धुलोबीच टल्कीरहेको थियो। उनका कृतिहरुसँगै अन्य पुस्तकहरु पनि त्यहाँ यत्रतत्र थिए- निस्सासिएका।
मुना-मदन आधी-आधी छुट्टीएका थिए। थप किताबहरु दक्षिणको एउटा झ्यालमा माकुराका जालीहरु बीच सुरक्षित थिए। चर्किएको, भत्किएको अस्तव्यस्त आफ्नै कोठालाई हेरीरहेका थिए, सेतो सल पहिरेर ओजसपूर्ण अनुहारले मुसुक्क हाँस्दै।
त्यो बालकृष्ण समले एकाबिहानै खिचिदिएको फोटो थियो। कोठाका भित्ताहरुमा फोटोहरु भने चारै तिर राखिएको थियो। एउटा फोटोमा भने देवकोटा र मनदेवीजी रिसाएकै मुद्रामा मलाई हेरीरहेका थिए, मलाई कि देशलाई?
सबैभन्दा माथिल्लो तलामा पुगे जुन पक्कै पनि भान्सा बनाइएको थियो। कोठाको पूर्वपट्टि भाडाँहरु धुने ठाँउ जस्तै थियो, छेउमा जाँतो पनि राखिएको थियो।
यो त्यहीँ कोठा हुनु पर्छ जस्को झ्यालबाट आफ्ना अन्तिम दिनहरुमा देवकोटा विष्णुमती नदी हेर्दै बसीरहन्थे। मैले यही कोठामा उनले शंकर लामिछानेलाई उनले भनेको सम्झे, 'यदि यो मृत्युबोध मसित थप दुई वर्ष हुने थियो भने बल्ल मैले 'खास' लेखेको जस्तो हुने थियो।'
केही बेर त्यहाँ बसीरहेँ। घरी घाटमा छु जस्तो लाग्छ घरी जंगलमा छु जस्तो लाग्छ। यो भत्केको घरमा कता-कता देवकोटा अझै छन् जो भनिरहेका छन्- 'म बाँच्न चाहान्छु!'
घरको एउटा कुनामा उम्रेको पिपलको बोटमा पनि देवकोटाको निबन्ध लुकेको थियो। उनको आत्मा यो घरको प्रत्येक इँट्टाहरुमा पोतिएको छ। उर्जा महसुस गर्न सक्ने हृदयले यो सजिलै अनुभूत गर्न सक्दछ।
धेरै बेर बसेपछि भने कता-कता खिन्न लाग्न थाल्यो। बाहिर घाम डुब्दैछ, म भित्र पनि केही डुबीरहे झैँ अनुभूति भयो। आफू पनि यसै घरमा यत्रतत्र छरिएका पुराना सामानहरु बीच थिच्चिएको छु जस्तो लाग्यो। यादकै लागि भनेर ठाँउ-ठाँउमा साना साना प्वाल परेको 'मुनामदन' झोलामा राखेँ।
म तल झर्दा पनि ठेलावाली दिदी दिखिनु भएन, ढोका खुल्लै थियो। आज भने म त्यहाँबाट भारी मन लिएर फर्केँ। यो घर आफैँमा एउटा संग्रालय छ, यसलाई यही अवस्थामा यथावत राखेर संग्रालय बनाउन पहल गर्नु पर्छ जस्तो लाग्यो।
अचानक रिस उठ्यो। फेरि सोचेँ, कोदेखि पो रिसाउने हो र! स्रष्टा साहित्यकारहरुप्रति राज्यले कहिल्यै पर्बाहा गरेन, देवकोटा त यस्तो प्रवृत्तिमा पात्र मात्रै बने। महाकविको त यस्तो दुखान्त अवस्था छ, झन् अरूहरुको के अवस्था होला?
देवकोटा बाँच्न चाहान्छन!
धेरैले यसको दोष पद्म देवकोटाजीलाई मात्रै दिन्छन्। तर के देवकोटा कसैको श्रीमान, छोरा वा बाउमा सीमित व्यक्ति हुन् र? उनी त हामी सबैका साझा व्यक्ति। उनमा हामी सबैको हक लाग्छ। उनी नेपाली साहित्य जगतको, सिङ्गो राष्ट्रको गहना हुन्। त्यसैले यसमा हामीहरुको पनि उत्तिकै दोष छ। यदि कोही मुख्य दोषी छ भने त्यो राज्य नै हो।
घर पुगेपछि थाहा पाए त्यहीँ दिन प्रज्ञा प्रतिष्ठानले 'संग्रालय' बनाउन त्यो घर किनेछ। प्रतिष्ठानले नै जिम्मा लिएपछि म ढुक्क भएँ, धन्न जोगिने भएछ- कवि कुञ्ज। तर आज आएर लाग्यो यो देशमा ढुक्क भएर बस्न नसकिँदो रहेछ। अहिले आएर संग्रालयको नाममा उक्त घर भत्काइएको छ।
इतिहास मेटाएर आधुनिकता अपनाइएको छ। के अब त्यो संग्रालय उत्तिकै जिवन्त हुन सक्छ जस्तो पहिले थियो? जिर्णोद्वार पनि गर्न सकिन्थ्यो वा प्रविधिको यो समयमा धेरै तरिकाले त्यसको मौलिकता जोगाएर पनि संग्रालय बनाउन सकिन्थ्यो।
त्यतापट्टि अलिकति पनि ध्यान भएन प्रज्ञा प्रतिष्ठानको! उनीहरुलाई देवकोटा केही करोडमा किनेको व्यक्तिगत सम्पत्ति लाग्यो। चार सय वर्ष पहिलेको विलियम सेक्सपियरको घर उस्तै छ, ६० वर्ष भएको देवकोटाको घर भने जोगाउन सकिएन।
केही पनि होइन, हामीले हरेक प्रकारको संवेदना गुमाइसकेका छौँ। अब जे हुनु भयो, यस्तो गल्ती फेरि हुनु हुँदैन। बाँकी रहेका घरका सामानहरुको भने सुरक्षा होस। हुन त त्यो घर जोगाउँदैमा देवकोटाको सम्मान हुने होइन, उनी हाम्रो चेतनामा अनि हृदयमा सधैँ अमर नै रहनेछन्। के अमरत्वको पनि आयु हुन्छ?
मुख्य त उनको कृतिहरुले उचित सम्मान पाउनु पर्ने हो। हामीले उनको कृतिहरुलाई विश्व सामु पुर्याउन सक्नु पर्ने हो। पहिले पनि थुप्रै लेखक, कवि अनि सहित्यकारहरु थिए तर देवकोटा नेपाली सहित्यका मूल हुन्। नेपाली सहित्य चेतनाका शिभत्व हुन। उनले दिनु जति सबै दिएर गएका छन्, ती कुरा जोगाउने कर्तव्य हाम्रो काँधमा छ।
यो घटनाले देवकोटाप्रति मात्र ध्यान सीमित नहोस्, अन्य थुप्रै इतिहासमा निस्सासिएका हाम्रा लेखक तथा सहित्यकारहरुप्रति पनि चासो जाओस्। जबसम्म साहित्य जगतमा उज्यालो दीप बलीरहन्छ तबसम्म देश र राष्ट्रिय चेतना पनि ज्वाजल्यमान रहिरहन्छ।
देवकोटासँगै उनीहरु पनि बाँच्न चाहान्छन!
आज पनि म गएँ हिँड्दै 'भत्केका देवकोटा' हेर्न। माफ गर्नु होला, तर आधा बाटोबाटै फर्केर आएँ। लाग्यो देवकोटाको भत्केको घर प्रतिबिम्ब हो देशको हालको अनि नेपाली साहित्य र साहित्यकारहरुको अवस्थाको पनि। के भन्ने हो र अब?
संसार रुपी सुख स्वर्ग भित्र,
रमे रमाए लिई भित्र चित्र,
सारा भयो त्यो मरुभूमि तुल्य
रात परेझैँ अब बुज्छु बल्ल?