आज अफिसमा मेरो पहिलो दिन। सबैजना नौला थिए। नयाँ अफिस, नयाँ जोश। नयाँ भएकोले अरु स्टाफसँग खासै बोलचाल थिएन। हल्का बोलचाल हुने भनेको उही एचआर जसले मेरो अन्तरवार्ता लिएकी थिइन्, बोलचालको नाममा उही हल्का हाईहेल्लो हुन्थ्यो।
पहिलो दिन भएकाले खासै काम थिएन। माघको कठ्यांग्रिँदो जाडो, साह्रै चिया खान मन लागेर आयो। चियाको अम्मली म, चिया नपिई दिनको सुरुआत हुँदैन थियो। त चिता म पुर्याउँछु भने झैँ तुरुन्त एचआर मेरो क्याबिनमा आएर सोध्नुभयो, 'अमृतजी, चिया खाने हो?'
'हजुर भइहाल्छ नि। मलाई पनि मगाउनु न' उत्तर दिएँ मैले।
'हेलो ब्रदर्श क्याफे? म यता स्वस्तिक इन्फोटेकबाट, पाँच कप दूध चिया पठाइदिनु न ल। अँ, चिनी अलि कम हैं दिदी।' मेरो क्याबिनबाट पनि एचआरको तीखो आवाज सुनियो।
चियाको व्यग्रताका साथ प्रतीक्षा गर्न थालेँ। धेरैबेर कुर्न परेन। देब्रे हातको कुहिनाले ढोका ठेल्दै दाहिने हातमा थर्मस अनि प्लाष्टिकको ग्लास बोकेर अन्दाजी १०/१२ वर्षकी एउटी बच्ची छिरिन्। हत्प्रभ भएँ म, त्यो बच्चीको अवस्था देखेर।
त्यत्ति सानो बच्ची त्यो जाडोमा मैलो पोलिस्टरको कुर्ता, फ्याटफ्याटे चप्पल अनि लेस मात्र ऊन, बाँकी रहेको पातलो कालो स्वेटर लगाएकी थिइन्। छिर्नासाथ अगाडि निक्लेका दुईटा दाँतको प्वाल देखाउँदै फिस्स हाँसेर 'अंकल चिया' भनिन्।
'नानुको नाम के हो?' मुखबाट खुस्कियो मेरो।
'म निमा' फेरि त्यही नमाझेको पहेलो दन्तलहर देखाउँदै थर्मसको चिया गिलासमा खनाएर मलाई हस्तान्तरण गरिन्।
चिसोले फटेको राता पोक्चो गाला, नकोरिएको कपाल, कानममा नक्कली सुनको झुम्का। फुच्चीको विश्लेषण गर्न धेरै समय खर्चिन परेन।
'कति रुपे हो?' बाक्लो दूधको चिया सुरुप्प पार्दै सोधेँ।
'पच्चिस।'
'आम्मामामा, दूधको चिया पनि पच्चिस! निमा त ठग रहिछे। पाँच रुपैयाँ चाहिँ आफ्नो खल्तीमा हाल्ने होला' गिज्याउन मन लाग्यो फुच्चीलाई।
चिम्सा आँखा सन्काउँदै, 'हैन अंकल, अैले नाकाबन्दीले गर्दा हो,' भन्न भ्याइन्।
पर्सबाट दश र बिसको एक-एक वटा नोट झिकेँ। 'पाँच रुपैयाँ तिमी राख्नू' भनेँ।
फुच्चीको आँखामा चमक आयो। चिसोले चिरा परेका ओठ तन्काउँदै, 'थ्यांकु अंकल!' भनिन् अनि सुत्त निस्किन् मेरो क्याबिनबाट।
लोग्नेमान्छे भएपनि कमलो मन मेरो। फिल्म तिर पनि कुकुर हात्ती मर्दा आँसु चुहिने। केही महिनाअघि बजरंगी भाइजान हेर्दा त झन् नयनबाट इन्द्रवती नै सुसाएको थियो। कति चोटि हाँसोको पात्र पनि बनेको थिएँ साथीभाइको अगाडि, तर मलाई आदत परिसकेको थियो। आज त्यत्रि सानी फच्ची जो आफैमा थर्मसजत्री थिइन्, त्यो रुपमा देख्दा मन अमिलो भएर आयो।
'आ नेपालमा यस्तै हो' निमाले ल्याएको चिया पिउँदै फेरि डकुमेन्ट्स चेक गर्न थालेँ।
अर्को दिन फेरि त्यही यन्त्रवत् दिनचर्या। बिहान उठ्यो, खाना खाएर बाइकमा अफिसतिर हान्निएँ। काम गर्दै गर्दा चियाको तलतल लाग्यो। आँत हरहर भएर आयो। यसो भित्ताको घडी हेरेँ, ठूलो काँटा दुईमा अनि सानो काँटा तीनमा दखेँ। चिया पिउने निर्णयमा पुगेँ। होटलको नम्बर एचआरबाट हिजै लिएको थिएँ। टेबलमा भएको फोनमा अंक दाबेँ अनि चिया मगाएँ।
फोन गरेको १० मिनेटपछि निमा फेरि त्यही स्टाइलमा क्याबिनमा प्रवेश गरिन्। छेउमा आएर थर्मसबाट चिया खन्याउन थालिन्, म भने चुपचाप काम गरिरहेँ।
चिया ल्यापटप छेउमा राखिदिँदै ल्यापटपलाई हेर्दै सोधिन्, 'अंकल, यो के हो?'
'यो ल्यापटप हो।'
'अनि यसमा के गर्नु भएको?'
'यसमा काम गरेको। तिमीलाई स्कुल जान पर्दैन?' प्वाक्क सोधीहालेँ।
'दिदीले भन्न भएको अर्को सालदेखि रे' चिम्सा आँखा क्याबिन वरिपरि नचाउँदै उदास स्वरमा भनिन्।
'लौ चकलेट' ब्यागबाट चकलेट निकालेर दिन चाहेँ। आँखामा लोभ थियो तर अन्कनाउँदै, 'दिदीले भन्नु भएको नचिनेको मान्छेसँग खानेकुरा नलिन रे' एकै सासमा भन्न भ्याइन्।
हाँसो उठ्यो, आजकलका बच्चाहरु फरवार्ड भइसकेका छन्। 'डराउन पर्दैन्। घरमै लगेर खाए हुन्छ।' चकलेटहरु निमाको पातलो स्वेटरको गोजीमा खन्याइदिएँ। चियाको पैसा अनि सदाझैँ पाँच रुपैयाँ थप। फरुंग पर्दै क्याबिनबाट निस्किइन् निमा।
गहिरो सोचमा डुबेँ म। स्कुल जाने खेल्ने उमेरमा चिया बेच्नु परिरहेछ विचरीलाई। तुरुन्तै फेसबुक लगइन गरेँ। अमेरिकामा भएको मेरो साथी मनिषलाई म्यासेज टाइप गर्न थालेँ- 'यार, देयर इज वन लिटल गर्ल, सी निड्स टु गो स्कुल। आइ वान्ट टु हेल्प हर। आई निड योर हेल्प टु।'
'आर यु स्योर?' उताबाट पनि रिप्लाई आइहाल्यो।
'एकदम' सर्ट एण्ड स्वीट जवाफ दिए।
'ओके, लेट्स सी के हुन्छ। तलाई बेलुकासम्म खबर गरौँला।' यति भन्दै मनिष अफलाइन भयो।
गहिरो निश्वास छोडेँ। निमाको बारेमा सोच्दै काम गर्न थालेँ। बेल्का खाना खाइवरी फेसबुक लगइन गरेँ। मनिषको म्यासेज आएको रैछ अनि तीन/चार वटा अरु नोटिफिकेशन। अरुबेला टाइमलाइन फस्टमा चेक गर्ने आज हतारहतार म्यासेज हेरेँ, प्रतिक्रिया सकारात्मक थियो।
'अमर, खुसीको खबर छ। मेरा अफिसका अन्य कर्मचारीहरुले पनि एक दिनको तलब दिने कुरा गरेका छन्। तर फुच्चीको तस्बिर हेर्ने भनेका छन्, भोलि म्यासेज गर ल।'
'थ्यांक्स अ लट। आई विल सेन्ड यु हर फोटोज टिल टुमरो इभिनिङ' मेरो म्यासेज पनि सेन्ट भयो।
मनमा चैन छायो। सोचे मानवताको कमी रहेनछ। स्कुल युनिफर्ममा निमालाई कल्पना गरेँ, मन प्रफुल्ल भयो। सोच्दा सोच्दै निदाएछु।
सदाझैँ अफिस आएँ पनि आफ्नो काम गर्न थालेँ। आज मनिषलाई फोटो पनि पठाउन थियो निमाको। फोन गरेर चिया मगाएँ अनि निमाको व्यग्र प्रतीक्षा गर्न थालेँ, निमालाई सखद् समाचार जो सुनाउन थियो।
भन्न मन थियो, 'निमा, तिमी यही सालदेखि स्कुल जान पाउँछौ।'
उत्तिखेरै क्याबिनको ढोका खलेको आवाज आयो। आज थर्मस बोकेर निमा हैन, अर्कै व्यक्ति छिरे। एकछिन त अचम्मित भएँ, सोचेँ काम परेर आइनन् होली।
'खै त निमा?' सामान्य भावमा सोधेँ।
'निमा त गइन्' चिया ग्लासमा खन्याउँदै व्यक्तिले जवाफ फर्काए।
'कता?' अब मेरो लवजमा हल्का डर अनि आश्चर्यको समिश्रण थियो।
'विचरी, उता सोलुमा अति जाडो हुन्छ नि त। चिसो छल्न आएकी थिई। आज सखारै गई। उनकी माइली दिदी घरबाट भागिछिन्। गाउँमा भेडा हेर्ने कोही भएनन् अरे।'
पैसा लिएर गयो त्यो व्यक्ति, अरु कुरा सोच्नै सकिनँ, सोधिनँ पनि। 'थुक्क!' यतिमात्र मनमनै भन्न सकेँ। आँखाभरि चिम्सी निमा नाच्न थालिन्।
'ऐया!' तातो चियाले हात पनि पिल्सेछ। हैट!