मेरो मनलाई तिम्रो नजरले चिमोटेको दिनदेखि
मेरो ढुकढुकी तिम्रो परेलीमा धड्किन थालेको छ,
तिम्रो त्यो मुस्कानले मलाई पोलेको क्षणदेखि
वर्षातमा पनि चिटचिट पसिना बग्न थालेको छ,
तिमीले मलाई भेट्यौ नि प्रिय जुन दिनदेखि
त्यो दिनबाट मेरो जीवनले एक अर्थ पाएको छ,
तिमीले छोयौ नि मायालु मलाई जुन पलदेखि
त्यो पलबाट निदाएका कोषहरु ब्युँतिन थालेको छ।
म त जीवन यही हो भन्दै एक्लै नाचिरहेको मान्छे
तिमी आयौ र पो त साथको मिठास चाख्न पाएँ
म त सुख्खा मरुभूमि पनि रसिलो भन्दै बाँचिरहेको मान्छे
तिमी आयौ र पो त जिन्दगीको रसपान गर्न पाएँ
म त तीतै भए पनि केही सपनाहरु साँचिरहेको मान्छे
तिमी आयौ र पो त विपनाको स्वाद पनि थाहा पाएँ
म त आँसु पुछ्न बिर्सेर जबरजस्ती हाँसीरहेको मान्छे
तिमी आयौ र पो आँखा पनि मुस्कुराएको चाल पाएँ।
मलाई के थाहा तिमीभित्र पनि एक 'म' रहेछ
अनि मैले त्यो 'म'लाई भेटेपछि आफूलाई बिर्सेछु,
मलाई के थाहा मभित्र पनि एक 'तिमी' रहेछ
अनि मैले त्यो 'तिमी'लाई चिनेपछि आफूलाई सम्झेछु,
मलाई के थाहा तिम्रो प्रेममा अद्भुत शक्ति रहेछ
ढिलो आयौ तर छिट्टै मेरा भावनाका लहरा हुर्किरहेछ,
मलाई के थाहा कसैको मुस्कानले सपना ब्युँझाउँदो रहेछ
तिम्रो ओठको गहनाले ममा जिउने बाहाना छर्किरहेछ।