झुपुक्क निदाएको रहेछु। गाडीका सहचालक भाइले चर्को स्वरले कराए।
'खाजा-खाना खान झर्नु है। दिसा-पिसाब पनि गर्नू। अन्त कतै रोक्दैन फेरि। पछि ल्याङ-ल्याङ गर्ने होइन।'
सहचालक भाइको सूचना कम थर्काइ बढी मिसिएको यो आवाजसँगै झसंग ब्युँझिएँ। गाडीबाट तल झरेँ। होटल साहुले दिसा पिसाब यता भन्दै देखाउँदै थिए। म देखाए तिरै लागेँ। शौचालयमा हावा खेल्ने भ्यान्टिलेसन र राम्रो सरसफाई नभएर होला, दुर्गन्धको त सीमै थिएन।
एउटा हातले नाक समातेँ, अर्को हातले फसर्नर खोलें। बिजोक त त्यतिखेर भो ढोकामा राम्रो चुक्कल नै रहेनछ। यसो सोंचे। जे त होला। त्यस्तै परे 'सरी भनौला' भनेर शौच कार्य गरी छाडेँ।
होटलको अगाडि भागमा आएँ। होटलका स्टाफहरु कुर्चीमै आफैले उचालेर बसाल्ने जसरी आग्रह गर्दै थिए।
यो खाने कि त्यो खाने भन्दै खानाको परिकार र बस्ने सिट देखाउँदै थिए। अघि शौचालयमा भोगेको सास्तीबाटै बाँकी सेवा प्रति पनि विश्वास गिरेको थियो।
यसो होटल बाहिर निस्केर छिमेकी होटल र पसल हेरें। कुनै बन्द थिए। कुनैमा मान्छे नै देखिनँ। अलि टाढा जाउँ गाडी छुट्ने डर।
ग्याष्ट्रिक छ आफूलाई। पेट खाली राख्न भएन। त्यही होटलमा गएर २ वटा सुक्खा रोटी र तरकारी दिन आग्रह गरें। तरकारीमा मैले खानै नसक्ने पिरो ठोकेको रहेछ। जसोतसो रोटी खाइयो। खाइयो पनि के भन्नु, निलियो।
पैसा तिर्ने बेला भयो। कति भयो होला भनेर सोधें। एक सय पचास भन्ने जवाफ आयो। मैले भनेँ 'दुई वटा सुक्खा रोटी र एक डाडु तरकारीको मूल्य भन्नुहोस् न।'
काउन्टरको पाखुरे टाटुवाला भाइले अलि झर्किँदै भने, 'कान छैन, एक सय पचास भनेको सुनिँदैन!'
'सुनेँ भाइ। तर यो रकम तपाईंले दिएको सामग्री र सेवाको लागि भन्न सुहाउँदैन। तपाईंले सामग्रीको मूल्य सूची पनि राख्नु भएको छैन। उपयुक्त मूल्य भन्नुहोस्।'
'खुरु खुरु दिनुस्। खाने अनि नदिने!'
'दिने तर तपाईंले भनेको मूल्य चित्त बुझेन। त्यती दिन सक्दिनँ भाइ मैले।'
अघिसम्म वेटर गरेका एक जना युवक अघि सरे। हिजै खाएको हो वा आजै बोल्दा उनको मुखबाट ठुस्स रक्सीको गन्ध आउँथ्यो। उनले मा.. राखेर गाली बर्साए।
अरु ग्रहाकले घरी मलाई त घरी ती भाइहरुलाई हेरे। कोही बोलेनन्। मैले पकेटबाट मोबाइल निकालेर १०० मा डायल गरें र पुलिसलाई सबै कुरा बताएँ। पुलिसले सबै कुरा सुने र तत्काललाई प्रहरी कार्यालयमा गाडी नभएकोले त्यहाँ आउन अलि समय लाग्ने जवाफ दिए।
म आएको गाडीको ड्राइभर मेरो अगाडि आए र मलाई सान्त्वना दिँदै भने 'गाडी लाइनका होटलले अलि बढी त लिन्छन्। अरु ग्राहकले पनि चित्त नबुझी नबुझी तिर्ने हुन्। तपाईंले अडान लिनु भो। तपाईं गएर गाडीमा बस्नुस्, म कुरा मिलाएर आउँछु। टेन्सन नलिनु...'
उसलाई फर्काउने जवाफ पनि मुखमै आएको थियो 'हजार/पाँच सय कमिसन आउने लोभमा यात्रु ठगिने होटलमा खाजा-खाना खान रोक्ने मतियार तिमी नै हौ।' तर भन्न सकिनँ। मन र मस्तिष्क थाकेछ सायद।
गोली सकिएको राइफल बोकेको सिपाही जस्तो खिस्रिक मन लिएर बसको सिटमा गएर बसें। आफैँले आफैँलाई प्रश्न गरें 'विवेकशील उपभोक्ताको विवेक कतिखेरसम्म काम लाग्छ?'
'उपभोक्ताको विवेकलाई भरथेग गर्दिन सरकारी निकायले प्रवर्द्धनात्मक, निरोधात्मक र दण्डात्मक व्यवस्थालाई बलियो बनाउन पर्दैन र?'
'उपभोक्ताको हितका लागि संवैधानिक, नीतिगत, कानुनी, तथा संस्थागत व्यवस्थाहरु केन्द्रदेखि स्थानीय तहसम्म रहेका छन्। के उपभोक्ता हितका लागि रहेका संस्थाहरु चल्तिका हाइवे साइडका होटलमा हुने उपभोक्ता माथिको यो ज्यादतीबाट बेखबर नै हुन त?'
'उपभोक्ता अधिकारका नाममा च्याउ झैँ उम्रेर सरकारी रकमबाट राजधानीको एक ठाउँमा सडक नाटक गरेर १० ठाउँमा त्यही बिल पेस गर्ने अधिकांश उपभोक्तावादी संस्थाले झन यो अवस्था देख्लान् र खबरदारी गर्लान् भन्ने कसरी विश्वास गर्ने?'
यस्तै-यस्तै प्रश्न मनमा खेलाउँदै थिएँ। गाडी अगाडि बढ्यो। नौबिसेको उकालो लाग्यो।
झ्यालबाट बाहिर हेरेँ, विज्ञापनहरु ठेलमठेल गर्दै देखिन्थ्ये। कुनै एउटा दल विशेषको मुख पत्र जस्तो छवी बनाएको एउटा पत्रिकाको विज्ञापनमा आँखा ठोकियो '....एउटै पत्रिका मात्र पढे पुग्छः समाचार, सूचना र विचारका लागि।'
त्यस्तै अर्को सिमेन्टको विज्ञापन पनि देखें 'हामी बनाउँछौ देशः जुट्छ देश, उठ्छ देश।'
अर्को त्यस्तै खाने तेलको विज्ञापनमा पनि आँखा पुग्यो 'मस्तिष्क चाहिन्छ मस्तिष्कः त्यसका लागि शुद्ध... तेल।'
नापियो भन्ने भावका साथमा मेरो तल्लो ओठ अनयासै तल झरे। जुन सिमेन्ट र तेल एक डेढ महिना अघि गुणस्तरहीन भनेर केन्द्रीय समाचार बनेका थिए। विज्ञापन त त्यसको शुद्धता, क्षमता, गुणस्तर र फाइदा प्रष्टिने साधारण मान्छेले बुझ्ने सूचनामूलक हुनु पर्ने होइन र?
यति सारो भ्रामक र विशाल अर्थ बोक्ने शब्दहरु प्रयोग गरेर उपभोक्तालाई कहिलेसम्म अलमल्याउने। विज्ञापन नियमन गर्ने ऐन तथा संयन्त्रहरुले यी विषयमा ध्यानपूर्वक हेरिदिए उपभोक्तालाई गुणस्तरीय बस्तु छनौट गर्न सहयोग पुग्थ्यो होला।
कराङ कुरुङ चराको सिलसिलेवार आकाशे उडान जस्तै घरी भोगाइ त घरी अपेक्षाहरु मस्तिष्कमा सिलसिलेवार रुपमा आइराखे।
वस्तु र सेवाको आपूर्ति व्यवस्थालाई सर्वसुलभ, नियमित र गुणस्तरीय बनाई उपभोक्ता हित संरक्षण तथा आपूर्ति प्रणालीमा सर्वसाधारणको पहुँच सुनिश्चित हुन सकेको छैन। फलस्वरूप अझ पनि वस्तु र सेवामा हुने मिसावट, कालोबजारी, कृत्रिम अभाव, कार्टेलिङ, ठगी, सिन्डिकेट, अस्वाभाविक मूल्यवृद्धि, एकाधिकार जस्ता विकृति हट्न सकेका छैनन्।
यसको मुख्य कारण उपभोक्ता सचेतनाको अभाव, कमजोर बजार अनुगमन, अव्यवस्थित सार्वजनिक आपूर्ति प्रणाली र उपभोक्ता हित संरक्षण सम्बन्धी नियमन संयन्त्रको निष्क्रियता हो। नागरिक जीवनसँग जोडिएको यो काम पटके प्रयासबाट होइन, निरन्तर अभ्यासबाट मात्र सम्भव हुन्छ भन्ने बुझाइको कमीले पनि यो विषय प्राथमिकतामा पर्न सकेको छैन।
व्यवस्थित, नियमित, जिम्मेवार र स्वचालित प्रणालीमार्फत बजार अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता हित संरक्षणको कार्यलाई अगाडि बढाउनु आवश्यक देखिन्छ ।
प्रदेश र स्थानीय तहका सरकारसँग संघीय सरकार र तहगत निकायबीच समन्वय कायम गर्दै यी सवालहरुको कारण र समाधानप्रति प्रधान रुपमा संघीय सरकारले अगुवाइ गर्दै अरु सरकारहरुलाई अभिप्रेरित गर्न सक्नु पर्दछ।
जस खोसाखोस, अपजस झोसाझोस गरेर कति बस्ने? उपभोक्ताले मौलिक हकको उपयोगको अनुभूति कहिले गर्न पाउने? यस्तै कतिपय प्रश्न त कतिपय समाधानका उपोयहरु मनमनै बाट्दै थिएँ। सहचालक भाइले 'ल है कलंकी झर्ने अगाडि आउनू' भनेपछि मन र दिमागले विषयान्तर गरे।
कलंकी ओर्लिन पर्ने म सितापाइला पुर्याएर मात्र बस रोकियो। कलंकी झर्न पर्ने सबैले टाढा ओरालिदिएको भनेर कराए। सहचालकले भने 'उता ट्राफिकले ल्याङ हान्छ। पैसा तिराउँछ।'
सहचालकको जाँउ जाउँ गुरुजी भन्ने आवाजसँगै बस गंगबु बसपार्क तर्फ लाग्यो। बसले फालेको धुलो र धुवाँ हामीतिर।
(लेखक कावासोती नगरपालिका, नवलपरासीका शाखा अधिकृत हुन्।)