उदास हुँदा,
मन रुँदा,
म बिरामी हुँदा,
कसैले केही
नराम्रो भनिदिँदा,
हाँस्दा हाँस्दै
केही सम्झेर रोकिँदा,
सम्झना भित्र तिमी नै
बस्छ्यौ आमा।
चाडबाड आउँदा,
मिठो खान मन लाउँदा,
थकाइ लाग्दा,
मध्यरातसम्म जाग्दा,
गोजीमा पैसा नहुँदा,
सम्झनाहरुले ढोका ढकढक्याउँदा,
सम्झन्छु तपाईंहरुलाई नै,
सम्झन्छु परिवारको मायालाई,
हामीलाई एकमुस्ट जोडेको
त्यो ममताको छायालाई।
यी भित्ताहरुले आफ्नोपनको
अभाव बताउँदा,
त्यी भित्ताहरु सम्झन्छु,
जहाँ मैले पहिलो पटक कोर्न सिकेँ,
यहाँ कहिलेकाहीँ उदासीपनले सताउँदा,
ती ममताका हातहरु सम्झन्छु,
जस्ले मलाई ताते गर्न बामे सार्न सिकाए,
ती हातहरु जस्ले मलाई लड्नै दिएनन्,
यहाँ त म लडेर चोटी खाए पनि
उठाउने हात परपरसम्म भेट्टिन्नन्,
त्यो भुइँ जहाँ मैले धेरै पटक
लडेपछि बल्ल हिँड्न सिकेँ,
त्यो छानो जस्ले हाम्रा दुःख अभाव देख्यो,
हामी दिदी बहिनीको झगडा अनि
एकअर्काप्रतिको प्यार लगाव देख्यो,
ती सिँढी जहाँ लुकामारी खेल्थ्यौ,
सँगै तलमाथि गर्दा मात्रै पनि कति
खुसी र हाँसोहरुका बाहना भेट्थ्यौँ,
सम्झन्छु त्यो भान्छाघरको कुर्सीलाई,
जहाँ ६ जना वरिपरि बसी खाइन्थ्यो,
घर थर्किने हाँसो हाँसिन्थो,
एकअर्काको कुरा लगाइन्थ्यो,
एकअर्कालाई उडाइन्थ्यो,
रिसाइन्थ्यो, मनाइन्थ्यो।
सुनिथ्यो बाबाका कविता, कथा
सँगै मामुका गीत अनि गुनासा।
त्यो घर, त्यी कोठामा अभाव त थियो,
अभावसँगै थियो प्यार अनि आफ्नोपन।
त्यो आँगन जहाँ हामीसँगै
दशैँको टीका थाप्थ्यौँ,
तिज गीत र भैलीमा सारा दुःख
भुलाई हात गाँसी नाच्थ्यौँ,
सहर त छुट्यो घरसँगै
अनि घर छुटेछ
हामी चार भाइबहिनी,
चार दिशा लागेसँगै,
सुनसान छ रे हाम्रो
चिच्यावटले थर्किने त्यो घर,
बैँसमा चार सन्तान हुर्काएका बा-आमा,
बुढेसकालमा एक्लै परेका छन्।
घर र सहर छुटेसँगै छुट्यो
बचपन अनि छुटे कैयौँ रहर।
सपनाको खोजीमा त्यो सहर, घर छोडी,
आफ्नाबाट टाढा आएकी म,
आजभोलि सपनामा त्यही घर देख्छु,
आफ्नालाई भेट्ने सपना देख्छु।