जन्मेर संसार बुझ्ने बित्तिकै
आमाबाबुले भन्छन् पढ् पढ्!
ज्ञानी, विद्वान, ठूलो मान्छे हुँदै
प्रगति पथमा अघि बढ।
विज्ञान, गणित, अर्थशास्त्र, लेखा
कम्प्युटर साइन्सको बढी डिमान्ड छ।
जागिर राम्रो, भविष्य उज्ज्वल होला
अङ्ग्रेजीमा जसको राम्रो कमान्ड छ।
आर्ट्स, एजुकेसन, साइन्स या पढे हुन्छ कमर्स
सबैभन्दा सजिलो काम रे बोर्डिङको मास्टर!
हो, हामी नै हो बोर्डिङका मास्टर!
बाल्यकालका ती स्वर्णीम पल
जवानीको सुखद् मिठो क्षणमा
पडाइको बोझ काँधमा हरपल
हार र जितको रोग तन र मनमा
किताब-कापीको बोझले झुकेको काँध
उच्च हुने रोजगारी र राष्ट्रप्रेमको सपनाले
इज्जत, प्रतिष्ठा, आत्मसम्मानका साथ
समाजमा जिउन चाहने कल्पनाले
योग्यता त समान हो, पेसाले मात्र अफिसर्स, बैंकर्स
समाज, राष्ट्र, परिवारबीच अस्तित्वको लडाइँमा 'बोर्डिङका मास्टर'
हो, हामी नै हो बोर्डिङका मास्टर!
एमए पासको सर्टिफिकेट बन्दकी राखी
एउटा पोस्टमा दश जनाको आवेदन!
लिखित, मौखिक परीक्षा पास गरी
पन्ध्र हजार तलब, पन्ध्र पल्ट क्लास अब्जरभेसन!
धेरै पढेपछि अर्काको नोकर बन्नै पर्छ रे
नत्र टोल छिमेकमा सुरु हुने अन्तरवार्ता र अनुसन्धान
'सी ग्रेड' ल्याए स्वरोजगार सीप र तालिमको बहार
स्वतन्त्रता सानैदेखि विदेश, व्यापार या खेती किसान
'ए ग्रेड' को लक्ष्य सिधा, इन्जिनियर्स, पाइलट या डाक्टर्स
'बि ग्रेड' आए समाजसेवा, परिचयमा 'बोर्डिङका मास्टर'
हो, हामी नै हो बोर्डिङका मास्टर!
आठ पिरियड पढाको पढाकै, टुसुक्क नबसी
छ घन्टा बोलेको बोलेकै, सासै नफेरी
जसले जे भन्छ मानेको मानेकै, चुइक्क नबोली
कपी चेकिङ टिफिन टाइममा, दायाँबायाँ नहेरी
प्रिन्सिपलको तिखो बोली, फाउन्डरको छड्के नजर
विद्यार्थीको हल्ला खल्ला, सहकर्मीको व्यंग्य प्रहार
कोअर्डिनेटरको रुखो बानी, अभिभावकको कटु व्यवहार।
स्कुल, विद्यार्थी, चक र डस्टर, के यही हो गुरुको मानव अधिकार!
श्रमिक हक, समान ज्याला, सेवा सुविधाका धेरै छन् पेपर्स
दुई दिनको ज्वरोमा तलब कट्टी, सहँदैछन् 'बोर्डिङका मास्टर'
हो, हामी नै हो बोर्डिङका मास्टर!
घन्टी घन्टीमा, पिरियड पिरियडमा, बाच्नु पर्ने जिन्दगी
एक-एक शिष्यको उन्नति प्रगतीमा, हाँस्नु पर्ने जिन्दगी
'नमस्ते सर!' र 'नमस्ते म्याम!' मा सफलता जाच्नु पर्ने जिन्दगी
केटाकेटीसँग राइम्स र बालगीतमा नाच्नुपर्ने जिन्दगी
एउटा फेल भयो रे, अर्कोको अंक कम आयो किन?
फस्ट सेकेन्ड त भए तर सबको ग्रेड तल झर्यो किन?
यसको लेखाइ नराम्रो रे, त्यसको अनुशासन खासै छैन किन?
किताबी ज्ञान त लिए तर यसको खेल, गायनमा चासै छैन किन?
मन्त्री, नेता, राष्ट्रपतिले गर्न हुने, हजारौँ गल्ती एकै दिनमा
शिक्षकले सानो भुल गरे खोसिने जागिर छिनको छिनमा।
विद्यार्थी र स्कुलको प्रोफाइल भित्र हराउँदैछ आफ्नो नाम र एड्रेस
पान्डोरा बक्समा खुसी र सपना सजाउँदै छ आज 'बोर्डिङका मास्टर'!
हो, हामी नै हो बोर्डिङका मास्टर!
रुवाई रुवाई अंग्रेज़ी बोल्न सिकाएका विद्यार्थी पनि
आज हाँसी हाँसी युके, युएसमा होलान्
कराई कराई अनुशासनमा लगाएका विद्यार्थी पनि
आज आर्मी या पुलिस फोर्समा होलान्
डराई डराई शिक्षकले हाड/छाला खियाएका विद्यालय पनि
आज प्रतिष्ठित उच्च दर्जाका शिक्षण संस्था भए होलान्।
थोरै थोरै तलबमा शिक्षकले योगदान दिएका विद्यालय पनि
आज लाखौँ करोडौंको प्राइभेट कम्पनी भए होलान्।
अभिभावकको बुझाइमा पैसाको मूल्य ज्यादा
स्कुललाई शुल्क तिरेपछि शिक्षकलाई सम्मान दिनु किन?
विद्यालयको हेराइमा शिक्षकको पारिश्रमिक ज्यादा
टन्न तलब बुझेपछि काम गर्न अल्छी र सक्दिनँ भन्नू किन?
स्कुल र विद्यार्थीको उन्नतिमा दंग पर्दैछन्, अभिभावक र फाउन्डर्स
स्कुल र विद्यार्थीको प्रगतीको लागि ज्यान दिँदैछन् बोर्डिङका मास्टर
हो, हामी नै हो बोर्डिङका मास्टर!
कोरोनाको कहर चल्यो, भाइरस महामारीले विश्व खायो
सन्चो बिसन्चो हालचाल सोध्न कहिले कोही आएन
खाद्यान्न अभाव, आर्थिक संकट, भोकमरीले संसार जल्यो
के खाँदैछन्, कसरी बाच्दै छन्? बुझ्ने यहाँ कोही भएन
छ/सात महिना तलब छैन, न त केही सहयोग राहत नै
स्कुल चलेन, चुल्हो बलेन न पेस्की, न बैँकमा बचत नै
शिक्षा विद्या दान गरी समाजलाई योगदान दिएकै हो
राजस्व बुझाइ, कर तिरी, देशको ढुकुटी भरेकै हो
शिक्षक त एकै हो- सरकारीका काखाँ, बोर्डिङका पाखा किन?
सामुदायिकलाई साम र दाम, निजीलाई दन्डभेद सजाय किन?
घरमै बसि बसि तलब समाउँदै छन् सरकारका 'श्रमजीवी टिचर्स'!
पसिनाको कमाइ दान गरी पुन्य कमाउँदैछन् 'बोर्डिङका मास्टर'!
हो, हामी नै हो बोर्डिङका मास्टर!
महामारी विश्वव्यापी कोरोनाको कहरमा
राहत प्याकेज दिने लिने गाउँ टोल सहरमा
सरकार, समाज, सन्था, अफिस सबका कोही त रक्षक छन्
सहयोग सहानुभूति बिना जिउने मात्र बोर्डिङका शिक्षक हुन्।
श्रम, सीप, ज्ञान दियो देशकै लागि ज्यान दियो
तर अहिले संकट आउँदा शिक्षकलाई देशले के दियो?
स्कुलले बन्द भन्यो, सरकारले लकडाउन भन्यो
अनिकाल, भोकमरीले शिक्षक मर्दा खै यहाँ कसले देख्यो?
संस्था, समाज,राष्ट्रबाट अधिकार विहीन 'बोर्डिङका मास्टर'
दक्ष, योग्य, शिक्षित तर आवाज विहीन 'बोर्डिङका मास्टर'
हो, हामी नै हो बोर्डिङका मास्टर!
वृद्धवृद्धा, घर परिवार सरमिसका पनि थिए होलान्
छोराछोरी भोकाभोकै सुत्दा सरमिस पनि रोए होलान्!
खाने अन्न, चिया खाजा, औषधि कसरी चल्यो होला?
घरभाडा, पानी, बिजुली, ग्याँस कसरी बल्यो होला?
देशको नागरिक होइन जस्तो समाजलाई गुरु चाहिन्न जस्तो
श्रम र कर त लुट्ने तर दु:खमा अन्याय अत्याचार यस्तो
विद्यालय मौन! सरकार शान्त! प्याबसन, एन प्याबसन चुपचाप बस्ने
स्कुल खुलाइन्छ! कामदार चाहिन्छ! शिक्षक भेट्न दौडधुप हुने
नेपाल सरकार! सक्छौ भने बनाउऊ सबलाई सामुदायिक सरकारी टिचर्स
किन पक्षपात, अपमान र शोषणको अग्निमा जल्दैछौँ हामी बोर्डिङका मास्टर!
यस्तो चालले आउने पुस्ता बन्लान् सबै अफिसर्स, बैंकर्स
कि त गल्फ या युरोप तिर कि व्यापारी, किसान, फेक्ट्री वर्कर्स!
आत्मसम्मान दाउमा राखी के बन्लान् खै टिचर्स, मास्टर!
विद्यार्थी होलान्, स्कुल होला, नहोलान कतै बोर्डिङका मास्टर!
नगददेखि पदकसम्म बन्चित हामी 'बोर्डिङका मास्टर'
युगदेखि युगसम्म शोसित हामी 'बोर्डिङका मास्टर!'
युगदेखि युगसम्म शोसित हामी 'बोर्डिङका मास्टर!'
हो, हामी नै हो बोर्डिङका मास्टर!
हो, हामी नै हो बोर्डिङका मास्टर!