हृदयको प्रयोगशालामा
कागजी मुटु सहित
एउटा प्रेमिल मन
प्रेमकै कैची बोकेर
ठिंग उभिएको छ।
शल्यक्रिया गर्न
कागजी मुटुको
घरि विस्तारै निचोर्छ
घरि बेस्मानी थिच्छ
परेलीको डिलबाट
आत्महत्या गर्न खोज्छ
थिचिएको छाति
निचोरिएको मुटु
अंगालेर किनकिन
धुरूधुरू रोइदिन्छ
आफैं चकित पर्छ।
हेर्दै आफैंलाई
विकल्पमा खोजिरहन्छ
सिंगै ऐनामा उभिएर
ग्लोब जस्तै हृदयमा
मुचुल्का उठाउँछ
महासागरमै डुव्छ
एउटा प्रेमिल कैंची
हृदयको प्रयोगशालामा
कागजी मुटु लिएर
सुटुक्क आउँछ।
शल्यक्रिया गर्न थाल्छ
हूलका हूल सपना च्यापेर
मौनताको इन्द्रेणी रहर बोकी
स्वतन्त्र छायाहरू संगोली
तरंगित छालको हिमालबाट
प्रदीप्त ज्योतिहरू
धिपिक्क निभाएर
कागजी मुटुको शल्यक्रिया गरी
बिगुल फुक्दै फुक्दै फर्किन्छ
अदालतमा इजलास दिन