अमुल्य यो जीवन साथी कोरोना महामारीबाट बचाउ ।
नाक मुख छोप्ने गरि मुखमा मास्कको कोर्को लगाउ ।।
कानमा कहिले चिउडोमा कहिले मास्क न झुण्ड्याउ ।
म मास्क हुँ तिम्रै रक्षा गर्छु, मलाई बेइज्जत नगराउ ।।
स्वच्छ हावामा एक्लै हिंड्दा मास्क नलगाए नि हुन्छ।
एकछिन भए नि स्वच्छ हावामा प्राणवायु लिनु पर्छ ।।
कसैसंग कहीं कुरा गर्दा मास्क लाएर कुरा गर्नुपर्छ ।
मास्क लाउँदा भाइरसले केही गर्दैन, ढुक्क हुनु पर्छ ।।
यो महामारीमा पनि नेताहरु कति बैठक गरेका हुन ?
न भौतिक दूरी न मास्क बालुवाटारमा बसेका हुन ।।
निषेधाज्ञामा पनि मास्क बिना जुलुसमा हिंडेका हुन ।
लोकाचार पार्न कहिले डबल मास्क लगाएका हुन ।।
के भन्लान विदेशीहरुले चिउडोमा त्यो मास्क देखेर।
भेला जुलुसमा मास्क बिनानै हिंड्ने नेतालाई देखेर ।।
भाषण गर्दा हातले घरिघरि नाक मुख पुछेको देखेर ।
हाँस्दा होलान तिनीहरु महामारीमा दशा जो देखेर ।।
ठूलाबडा यी नेताहरुले मास्क किन नलगाएका हुन ?
कि हाम्रा नेताजीहरुलाई भाइरसले छुन्न भनेका हुन ?
मलाई चिउडोमा राखी भाषण गर्दै के देखाएका हुन ?
पढेलेखेकाले नि मास्कको महत्व किन नबुझेका हुन ?
मेरो ख्याल नगरे नि नेताजी तिम्रो ख्याल राख्नु पर्छ ।
बच आफू र जनता बचाउ सधैं मास्क लाउनु पर्छ ।।
मलाई हेला गरेमा कोरोना सिंहदरबारमा नि आउँछ ।
ख्याल ख्याल गर्दा तिमीलाई आर्यघाट नि पुर्याउँछ ।।
मास्क बजारमा छन थरीथरीका राम्रो किनेर लाउनु।
आफैंले बनाएको मास्क कपडाको भए पनि लाउनु ।।
दुवै कानमा डोरीले अड्काई नाक र मुख छोप्ने गर्नू ।
सचेतना नभएकाहरुलाई मास्क लगाई हिंड्न भन्नु ।।
मलाई जुनसुकै पसल र टंकीबाट नि किनेर ल्याउनु ।
सुर्ति र चुरोट सेवन नगरि रु. दशको मास्क रोज्नु ।।
लोभ धेरै नगरि मलाई जहाँबाट पनि खोजेर लाउनु ।
लोभले लाभ र लाभले विलाप पछि किन पछुताउनु ?
जाबो यो मास्क भनि मलाई तुच्छ किन सम्झिनु नि ?
हेला गरि मलाई नलगाउँदा अस्पताल जानु पर्ला नि !
रु. दशको लोभले भेण्टिलेटरमा लाखौं रु. जाला नि !
सकिन्छ कमाएको सम्पत्ति बैकुण्ठको बास होला नि !
मलाई प्रयोग गरि सकेपछि जथाभावी फाल्ने नगर्नु ।
ढकनी भएको पात्रमा राख्नु तर, कसैले छुने नगर्नु ।।
जम्मा भएका मास्कहरुलाई आगो बालेर नष्ट गर्नु ।
जथाभावी मास्क फालेर संक्रमण फैलाउने नगर्नु ।।