म प्रतिक्रिया विहीन थिएँ। उसको कुरा सुन्दा मजा नै आइरहेको थियो। यसो त जीवनमा एक प्रेमी बनेर प्रेमको अनुभूति गर्न नपाएको म तर एकतर्फी प्रेमको भने गुरु नै थिएँ।
एकतर्फी प्रेमबाट नै भए पनि मैले लुकेर रुन, खुलेर हाँस्न अनि पटक-पटक टुटेर जीवन जिउन सिकेको छु। एकतर्फी प्रेम निकै मिठो हुन्छ भन्छन् तर गर्नेलाई थाहा हुन्छ मिठो आवरण भित्रको त्यो तितो यथार्थ।
खुलेर गर्नु पर्छ प्रेम, लुकेर कहाँ हुन्छ र? भन्दै गर्दा उसले नाई भन्छे कि भन्ने कुराले मलाई रोकिराखेको थियो। हिम्मत गरी प्रेमबिन्ती गर्दा म उसको जवाफले अनगिन्ती टुक्रामा परिणत भएको थिएँ। 'एकतर्फी प्रेम' सुन्नासाथ म सम्झन्छु मित्र जासोनलाई। अहो! उसको प्रेम, त्यो एकतर्फी प्रेम!
कक्षा दशमा पढ्दा शैक्षिक भ्रमण, त्यो बस अनि उसको छेउको सिट। तीन वर्षसम्म बिर्सन सकेको छैन त्यो यात्रा र उसको मुस्कान। दुवैजना मेरै मित्रहरु। सुनेको, बीचमा उनीहरु प्रेममा पनि परे तर पछि खै के भयो सम्बन्ध टुंग्याउने कुरा समेत भएछ।
तर खै! कस्तो लत बस्यो, सायद प्याला प्यालामा प्रेम पिएको थियो। त्यसैले छिट्टै लत छुट्न सकेन। हिजो पनि उस्कै कुरा गर्दै थियो। अझै पनि कुरा मिल्छ कि भनेर मैले पुष्पालाई म्यासेज पनि गरेँ।
उसको कुरा सुरु गरिनसक्दै भनी 'ऊ अझै पनि यही कुरामा अड्किरहेछ, अहो! एक वर्ष भइसक्यो। विगतलाई भुलेर वर्तमानमा रमाउन सिकाउनू उसलाई।'
म निशब्द। खै के भनु उसलाई! मैले कुरा घुमाएँ। सोचेँ एकतर्फी प्रेममा एक जनाले मात्र बुझ्छन्, जस्ले गर्छ।
'प्रेममा त परेऊ तर भेटघाट भएन तिमीहरुको?' मैले अर्को प्रश्न राखेँ।
'भेटौँ भनेर तीन र अचानक दुई गरी पाँच पटक भेट भयो हाम्रो। फरेस्ट्रीको प्रवेश परीक्षा दिन म काठमाडौँबाट पोखरा जाँदै थिएँ। बाटैमा मोबाइल बिग्रेको र अरु कसैको नम्बर थाहा नभएकाले साथीकोमा फेसबुक खोली उसलाई मैले म्यासेज पठाएँ। 'मोबाइल बिग्रेपछि साथीको बाट तिमीलाई म्यासेज पठाउँदै छु, लिन आउनू मलाई।'
ऊ लिन पनि आयो, होटेलसम्म छाडेर फर्कियो। अर्को दिन पनि परीक्षा हलसम्म पुर्याउने वाचाअनुसार हामी सगैँ गयौँ। फर्किँदा गाउँ जाने बस चडाएर ऊ फर्कियो।
मन त छुट्टिन मानेको कहाँ थियो र, तर पनि बाध्यता भनौँ या घरको याद। म बस चडेँ, हिड्यो बस आफ्नो यात्रा तय गरेर, छोडियो मन पोखरामै उसको मायाजालमा परेर। अन्तिम भेट थियो यो हाम्रो। पहिलो भेट हाम्रो गाउँभन्दा तल स्कुल छ त्याहाँदेखि थोरै तर मोटर बाटोसम्म पुगेँ म उसलाई भेट्न।
ऊ आउने पर्खाइमा थिएँ म। बाटो हेरिबसेकी म, निलो ज्याकेट लगाएको कोही म तिरै आउँदै थियो। खै किन आफ्नै मान्छे आए जस्तो लागिरहेको! नभन्दै ऊ त्यही मेरो पर्खाइ थिए। नजिकै आएर रोकिएको स्कुटरमा बस भन्दै इसारा गर्यो उसले। म बसेँ त उड्यो मेरो मन, छोयो त्यो मायाको उचाइलाई, हराए म खै कतै!
करिब चालिस मिनेटको यात्रा तय गरेर हामी कुस्मा पुग्यौँ। पहिलो पल्ट कुस्मा आएकी म, अझ प्रेमीसँग। सोच म कति भाग्यमानी थिएँ!'
मलाई बीचमै जान्न मनलाग्यो, र सोधिहालेँ 'कथामा त नलेखौँला तर तिमी कतिसम्म खुलेका थियौ आफ्नो सम्बन्धमा?'
उसले बुझिन, मैले खुलेर नै सोधेँ, 'शारीरिक सम्बन्ध त पक्कै भएन, त्यो बाहेक अरु केही भएको थियो भेटमा?'
'कुश्माबाट बलेवा जाने पुल तरिसकेपछि स्कुटर रोक्यो उसले। एउटा रुखको छेउमा बसेर कुरा गर्दै गर्दा उसका ओठहरु म नजिकै आइपुगेँ, रोकेँ मैले।'
'माया गर्न पनि नपाउनू?' उसको यो प्रश्नको जवाफमा 'के मायामा चुम्बन बिना हुँदैन र?' भनी सोधेँ।
'चुम्बनले मायाको स्पर्श गराउँछ, विश्वास बढ्छ' ऊ अझ नजिकियो। परिवार अनि आफ्नो विगतको बारे सबैकुरा भनिसकेको ऊ लाग्यो यति अनुमति दिनु पर्छ। यो कुरामा विश्वास गर्न सक्छु म उसको।
विस्तारै मेरा यी निधारले उसको ओठको स्पर्श गर्न थाल्यो। आँखा बन्द भए त मनले सोच्यो निधारमा किस गर्नु त एक विश्वास हो, बुझ्नु पर्छ ऊ मेरो परिवार जस्तै हो। ऊ समर्थनमा छ मेरो, जिन्दगीको आधार हो ऊ। त्यो स्पर्श अब गाला हुँदै विस्तारै ओठ तिर सर्दै थिए, मैले रोकेँ उसलाई।
पहिलो भेटपछि यो हामी अझ नजिक भएका थियौँ। दोश्रो भेटमा यी कुरा फेरि दोहोरिए। अन्तिम भेट अर्थात् पोखरा परीक्षापछि हामी होटल फर्केका थियौँ, बन्द रुम भित्र दुई जना। खुसी म अनि मुस्कुराइ रहेका मेरा ओठले सायद उस्लाई जिस्काइरहे। त्यसैले त होला कान नजिकै आएर भन्यो 'ओठले मागी रहेछ।'
'त्यस्ता माग्ने ओठलाई सुधार्न पर्ने भो, म नभएको बेला पनि माग्न थाल्यो भने के हुन्छ?' मैले मजाकी पारामा जवाफ दिएँ।
'दिनेसँग न माग्ने हो' भन्दै ऊ नजिकियो। उसको अंगालोमा बाधिनु अनि उसका ती ओठले मेरा निधार चुम्नु, अहो! मिठो आभास हुने गर्थ्यो मलाई।
मेरा निधारमा अडिएका ती ओठका प्रेमभाव अब गाला तर्फ सर्दै थिए। पहिलो पल्ट चुम्बन गर्न रोकेकी म तर योपालि उसका निधार अनि गालाले पनि मेरा यी ओठलाई स्पर्श गर्न पाए। विस्तारै एकअर्काका ओठमा ओठ जोडिए त हाम्रो चुम्ब्बन गहिराइसम्म पुग्यो।'
यतिसम्म नजिक हुँदा शारीरिक सम्बन्ध राख्न मन केटालाई पक्कै पनि आएको होला। मैले फेरि पहिलेकै प्रश्न सोधेँ 'अनि शारीरिक?'
'दोश्रो भेटपछि एक दिन फोनमा कुरा गर्दै गर्दा उसले प्रस्ताव गर्यो। म अचम्म पर्दै थिएँ 'आखिर के भन्दै छ यो?' मनमा प्रश्न आयो तर मैले मजाकमै उसको कुरा उडाइदिएपछि उसले यो कुरा गर्ने हिम्मत गरेन।'
सुनेको थिएँ पहिलो प्रेम गहिरो हुन्छ, सम्बन्ध समयले टुट्न सक्छ तर मनले कहिले बिर्सन मान्दैन। सुनेको सबै कुरा साँचो पनि हुँदैन भन्ने कुरा सोचेर म अर्को प्रश्न तर्फ अघि बढेँ 'तिम्रो पहिलो प्रेम होइन यो? पहिलो प्रेम त छुट्दैन भन्छन् त, कसरी छुट्यो नि?'
'मानिसले जन्मेपछि हरेक पल प्रेम गर्छ। उसको पहिलो प्रेम त्यो दूधसँग हुन्छ जुन उसले पहिलो पल्ट पिएको हुन्छ। त्यो काखसँग प्रेम हुन्छ जुन काखमा कही नपाउने प्रेम पाएको हुन्छ। तर पनि मानिस पहिलो प्रेम भनी अनेक थरीका गफ लगाउने गर्छन्।
यसैले ऊ मेरो पहिलो प्रेम थिएन। तर बाबा अनि तीन भाइ गरी चार भाग लगाएको मेरो मुटुमा अझ एक भाग थप्दै बीचको भागमा ऊ बस्न सफल भएको थियो। सायद चाहिनेभन्दा बढी महत्वपूर्ण मानेँ उसलाई मैले। ऊ आफ्नो मुडमा चल्ने मान्छे। अहिलेको मुडमा म प्यारी छु त अर्को मुडमा नहुन पनि सक्थेँ।
त्यो रात समान्य कुरामा झगडा पर्यो। अर्को दिन मैले सोधेँ उसलाई 'मलाई छाडेर त जाँदैनौ नि?' जवाफ कडा पाएँ 'के थाहा?'
अर्को दिन बिहान उठेपछि म्यासेनजर खोली हेर्दा उसले म्यासेज छाडेको थियो- 'जबरजस्ती प्रेम सम्बन्धमा बस्नु हामी दुवैको लागि राम्रो हुँदैन। त्यसैले यो सम्बन्धको यही अन्त्य गरौँ।'
उसलाई फोन गर्ने प्रयास असफल भयो। बदलिए प्रेम यात्राका मोडहरु, बाँकी रहे अब चोटहरु। तर पनि उसको अन्तिम म्यासेज 'जति बेला सहयोग र साथ चाहिन्छ, सम्पर्क गर्नू। म सधैँ तिम्रो लागि तयार रहने छु' हेरेर बेलाबेला मुस्कुराइ रहन्छु।
आज ऊ छोडेर गयो, दोष खै कसलाई दिनु ?
सम्बन्ध यसै तोडेर गयो, दोष खै कसलाई दिनु ?
जीवन मरभूमि थियो, प्रेमको वर्षा सुरु हुँदै थियो
उम्रन नपाउँदै प्रेमको पालुवा गोडेर गयो, दोष खै कसलाई दिनु ?
यो पनि:
प्रेम जीवनको यात्रा