सुरु भयो हाम्रो यात्रा
सुरुमै मैले तिमीलाई देखेँ
छेउको सिट खाली
कोही नभए त म बस्थेँ
मेरो सिट भएता पनि।
यात्रामा धेरै पटक हाम्रा नयन मिले
मुख एकपटक पनि बोलेन
तर आँखा
कति बोले बोले
तिमीले कति बुझ्यौ या बुझेनौ
तिमीले पनि त भन्यौ कति कुरा
तिमीले भन्न खोजेको जति नबुझे पनि
जति बुझेँ साह्रै मन लगाएर बुझेँ
यो हाम्रो प्रेमले न वर्ण बुझ्यो न जात न औकात
न त अनुहार नै खोज्यो
सबै कुरा बताए नयनले
अरु केही बुझ्नै खोजेन यो मनले
एक मनले
बोलाउन मन नलागेको पनि कहाँ हो र
बोलाउँ भन्दा तिम्रा नयन बोल्थे
अनि मैले पनि त नयनले नै बोल्नपर्यो
धेरै कुरा गर्ने मन थियो
यो छोटो यात्रा
सधैँ यस्तै चलिरहोस् झैँ लाग्यो
अझ कति कुरा गर्नु थियो नयनबाट
कति कुराको उत्तर दिनु थियो
कति प्रश्न गर्नु थियो
समयले हाम्रो गन्तव्य फरक बनाइदियो
तिमी गाडीबाट ओर्लिएको हेरिरहेँ
यी चलबलाएका ओठ खोल्न पनि सकिनँ
तिमीले फरक्क फर्की मुस्कुराएर बाई भनेको कल्पना गरेँ
र उही समयले फेरि कुनै दिन भेटाउने छ भनी आफ्नो गन्यव्यमा ओर्लिएँ
म उही समयको प्रतिक्षामा छु।