चकमन्न अन्धकार रातमा
चिरविर-चिरविर चराचुरुंगीका आवाजहरु
चम्किरहेका ताराहरुको भिडमा ध्यानमग्न छन्
तर, एउटा फगत मान्छे
गन्तव्यविहीन दिशामा एक तमासले लम्किरहेको छ
अनवरत हिँडिरहेको छ
केही वस्तुको खोजीमा भौतारिरहेको छ।
बोल्दैन, त्यो उन्मत्त मान्छे
किन-किन मौनता साँधिरहेको छ
टोलाएर अगाडि बढेको छ
तर, अचम्मको स्वभाव पनि छ
खिसिक्क हाँसेको बहाना गर्दछ
रत्तिभर भय र त्रासमा नअल्झिई
दिवास्वप्न प्राप्तीको सत्कर्ममा जुटेको छ।
अन्यौलतामा बीचमा रुमलिएको त्यो मान्छे
निशब्द, नजर र पदचाप पछ्याउँदै
अविश्रान्त कथा-व्यथा बुनिरहेको छ
तर, कुनै विशेष वस्तुको खोजी र आशामा
नयाँ अन्वेषण घोषणाको संघारमा देखिन्छ
नवीन सोचको उमंग लिएर
एकान्तमा ठिंग उभिएको गाउँतर्फ लम्केको छ।
क्षितिजमा बादलुको घुम्टोभित्रको दृष्यले
किन-किन उसको मन उत्साहित हुन्छ
आफैसँग साउती मारेको महसुस गर्दछ
तर, गिज्याएको महसुस गर्न थाल्छ
आकर्षणको उद्देश्य अभिव्यक्त नगरेपनि
केवल उन्माद जोशको आडमा
उद्देश्यविहीन लक्ष्यको अनमोल यात्रामा मस्त हुन्छ।
हो, बादल मुनिको एउटा गाउँले
एक तमासले उसलाई नियालिरहेको छ
सायद उसको अन्तिम गन्तव्य
ऊ जन्मेको र हुर्केको स्वर्ग, अनि सारा संसार
उसले खेलेका कान्ला र खेतहरु
उसलाई हुर्काउने आमा-बाबुको काख
अर्थात्, एक बज्रस्वाँठ फगत यात्रीको जीवित संसार।
अनावश्यक गलफत्ति गर्न मन नपराउने ऊ
बादल पारिको अनन्त गन्तव्यमा पुगेपछि
उसको अव्यक्त रहस्य मुस्कानमा मुखरित हुन्छ
र, उसको शरीरमा कम्पन छुट्छ
जीवनभरको अभिष्ट चाहना पूरा भएको महसुस गर्दछ।
मनैदेखिको प्यास मेटिएको आभास हुन्छ
फलतः शौन्दर्यपूर्ण उसको अलौकिक संसार प्रस्फुटन हुन्छ।