मेरो घर छेउमै एकजना नेताजी बस्छन्। उनी अहिले देशको मूलधारमै रहेको एक राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य छन्। म सम्झिन्छु हामी सुर्खेत आउनुभन्दा पहिलेदेखि नै नेताजी यहाँ बस्दै आएका हुन्।
त्यसैले म उनीसँग पछि जोडिएको छिमेकी हुँ। त्यस ताका उनी पार्टीका जिल्ला सचिव थिए। मलाई सम्झना छ उनी जहिले पनि फोन गर्दा हेल्लो भन्नुपूर्व नै, 'नमस्कार! म फलानो। तपाईं फलानो पार्टीको जिल्ला कमिटी सचिवसँग बोल्दै हुनुहुन्छ। भन्नुहोस!' भनेर चर्को आवाजमा कुरा गर्थे।
त्यसपछि विस्तारै आफूलाई पार्टी जिल्ला उपाध्यक्ष र अहिले केन्द्रीय सदस्य भनेर चिनाउँछन्। उनको आवाज यति चर्को थियो कि फोनमा बोल्दा पनि कुनै आम सभालाई सम्बोधन गर्न लागे जसरी बोल्थे।
मलाई ज्ञात भएसम्म उनले कहिल्यै पनि घरभित्र एकान्तमा कुरा गरेनन् होला सायद। फोन बज्ने बित्तिकै उनी बाहिर निक्लिन्थे र पेटीमा उभिएर कि त बारीमा गएर कुरा गर्थे र सबैले सुनिने गरी जहिल्यै चर्को आवाजमा उसैगरी 'नमस्कार! म...' भन्थे।
उनको फोन आएको कुरा पुरै टोल छिमेकलाई थाहा हुन्थ्यो। एक त सहरमा घरहरु नौला प्रेमी सरह आपसमा टाँसिएका हुन्छन् जस्तो सातै जुनीसम्म नछुटिने वाचा गरेका हुन्। त्यसमाथि नेताजी र मेरो घर आमुन्ने सामुन्ने छ। त्यसैले उनको आवाज मेरो कोठासम्म प्रष्टै सुनिन्छ।
उनकै आवाज सुनेर म कति पटक झस्किएको पनि छु। उनी किन यसरी चर्को आवाजमा फोन गर्छन्, ज्ञात छैन। कि त उनी नौला नेता हुन् जसले अकडम बकडम जानेका छैनन र उनीसँग लुकाउनु पर्ने कुनै गोप्य कुरा नै छैन। उनी प्रष्ट छन् कि त नेताजी सबैलाई आफू नेता हुँ भनेर सजक गराउन चाहान्छन्। मालुम छैन!
नेताजीको यही चर्को आवाजमा कुरा गर्ने बानी भएर नै उनकी धर्मपत्नी हमेशा नेताजीलाई गाली गरिरहन्थिन्। आजकल केन्द्रीय सदस्य भएर होकि, धर्मपत्नीको आदेशले हो, नेताजी फोन गर्दा अलि बढी सजक हुन्छन्।
आजकल नेताजी किप्याड मोबाइल छोडेर स्मार्ट फोन चलाउँछन्। प्रचण्डको जस्तो कपाल, ठूला ठूला आँखा भएका, बडेमानको भुडी भएका हेर्दै नेता देखिने नेताजीको हातमा साँच्चै किप्याड मोबाइल सुहाउँदैन थ्यो।
कुनैबेला उनी ठूला होटल व्यवसायी थिए। अहिले एक स्वतन्त्र भुइँमान्छे। उनका एक छोरा भारतीय सेनामा छन् र छोरीहरु पनि विवाह गरेर आ-आफ्नै व्यवस्थामा छन्। बेला मौकामा मात्र आँउछन्। अहिले घरमा नेताजी र उनकी पत्नी मात्र बस्छन्।
उनी भावनात्मक रुपमा कट्टर देशभक्त देखिन्छन्। आफू सुत्ने कोठाको भित्तामा ठूलो देशको नक्सा र राष्ट्रिय झण्डा टाँगेका छन्। सिरान मास्तिर वीरेन्द्र राजा र उनका सपरिवारको बडेमानको तस्बिर टाँगेका छन्।
नेताजी बिहान सबेरै उठ्छन् र राजाकै तस्बिर हेर्छन्। भित्तामा टाँगेको देशको नक्सा हेर्छन्, राष्ट्रिय झण्डा हेर्छन् र फेरि ऐनामा आफैलाई हेर्दै जुंगामा ताउ दिन्छन्। उमेरले ५५ नाघेका नेताजीको जोस भने युवाकै छ।
बेलाबेलामा नेताजी घरको छतमा निक्लिन्छन् र फुर्सदले फुलेको सेतो कपालमा कालो मेहन्दी लगाउन र ऐनामा हेर्दै आफूलाई अझै जवान सम्झन्छन्। घरी टेबल र कुर्सी छतमै राखेर पुराना पुस्तक र डायरीको धुलो पुच्छन्।
गोलो पावरवाला चश्मा लगाएर कहिले नेताजी अक्षर केलाउँछन्। शनिबारको दिन आफ्ना सबै कोटहरु आफै जतनले धोएर सुकाउँछन्। सबै सबै जुत्ताहरु दिनभरि पालिस गर्दै लस्करले घाममा सुकाउन लाइन लगाउँछन्। नेताजी गज्जबका छन्।
बिहानै सुट-बुट लगाएर हातमा लेदर ह्यान्ड ब्याग बोकेर नेताजी दिनहुँ कतै लम्किन्छन्। उनी कहिल्यै रिक्सा वा गाडी चड्दैनन्। घाम, पानी, हुरी बतास जुनसुकै मौसम, जुनसुकै समय जहिल्यै उसरी नै नेताजी एक झोला, एक छाता र एक व्यक्तित्व बोकेर दिनहुँ कतै हिँडिरहन्छन्। उनी कहाँ जान्छन् ज्ञात छैन।
पार्टी अफिस? कुनै आम सभामा? कतै सम्मान लिन? कतै सम्मान दिन? कुनै बस्ती, कुनै गाउँ? देश बनाउन? देश भत्काउन? थाहा छैन नेताजी कहाँ जान्छन् तर पनि नेताजी हिँडिरहन्छन् कतै।
नेताजीको घरमा अघिल्तिर लिभिङ रुम छ। उनको लिभिङ रुममा त्यति सर-सामान छैन। एक सामान्य मध्यम वर्गीय घरको लिभिङ रुम कस्तो हुन्छ र! कोठामा एउटा पलङ छ, सोफा छैन। अघिल्तिर टेबलमा ठूलो डब्बावाला केवल टिभी छ। भित्ताभरि प्रशस्त तस्बिरहरु टाँगिएका छन्। कोठाको एक कुनोमा सानो फ्रीज छ र सिलिङमा एउटा पुरानो पंखा छ।
नेताजी दिउँसो आराम गर्न र समाचार हेर्न मात्र त्यो कोठामा उपस्थित हुन्छन्। उनको सुत्ने कोठा अलग्गै छ। नेताजी सुटबुट लगाएर कतै लम्किन्छन्। फुर्सदमा उनी खेतबारी तिरै हुन्छन्। उनले बारीमा प्रशस्तै तरकारी फलाएका छन्।
म उनको छिमेकी भएका नाताले कहिलेकाहीँ ताजा तरकारी मलाई पनि दिन्छन्। जे होस् नेताजी मिलनसार छन्। सुटबुट लगाएरै उनी बारी खन्छन्। बोट बिरुवामा पानी चार्छन्, थाङ्ग्रा हाल्छन्, मल हाल्छन्। सबै गर्छन्। वास्तवमा भन्ने हो भने नेताजी बारीमा देश फलाउँछन्।
हातगोडा माटोमा खेलेर, जिउभरि पसिना बोकेर नेताजी त्यही लिभिङ रुमको डब्बा टिभी अगाडि बस्छन्। सिलिङको पुरानो त्यही पंखा चालु गर्छन् र एक विशेष प्रकारको ठूलो स्टीलको मगभरि चिया लिएर नेताजी टिभी हेर्छन्।
सिलिङको पंखा र उनले देखेको देशको हालत उस्तै छ। पुरानो डगमगाइरहेको। चल्न त चलिरहेको तर चल्नु र नचल्नुको अर्थ नभएको। नेताजीको पंखाले कट... कट... कट... कट गरेर टिभीको भन्दा ठूलो आवाज दिन्छ तर हावा दिँदैन र पनि नेताजी पंखा चलाइरहन्छन्।
उनको पंखा चलेको आवाज मेरो कोठासम्म आइपुग्छ। बेलाबेला म चाल पाउँछु, ए नेताजीको पंखा चालु भएछ। कट... कट...कट...कट...
नेताजी पाहुना आएको दिन पंखा चलाउँदैनन्। किन भनेर जवाफ उनैलाई थाह होला। मुख्यतः दिउँसो पनि उनको पंखा त्यति चल्दैन तर रातैभरि भने पंखा चलिरहन्छ। हावा बिर्सेर पंखा आवाज निकालीरहन्छ।
देश बदल्न तम्सिएका नेताजी पंखा बदल्न नसक्ने अवस्थाका कदापि होइनन्। तर पनि किन-किन वर्षैं भयो नेताजीको सबथोक बदलियो तर पनि न आफ्नो व्यक्तित्व बदले, न सिलिङको पंखा बदले।
नेताजीलाई थाहा छैन म यतिबेला उनको कथा लेखिरहेको छु तर संजोग हेर्नुहोस्, अहिले फेरि नेताजीले पंखा चालु गरेका छन् र उनैको कथा लेख्न उनैको पंखाले डिस्टर्ब गरीरहेको छ। कट... कट.. कट... कट..!