उसको घर केवल रंगमञ्च रे
लाग्छ कबेली झैँ कलाकार त्यहाँ
जीवन्त छ भूमिका सबैको नाटकीय
आ-आफ्नै हर्क छ, अभिनय छ
अनि खेला देखाउने कला,
अख्तियार दिने दर्शक भुलेर
रमाएकै छन् यसैमा तमाम
सकेन ऊ रम्न त्यो मञ्चमा किन
भइरहेको नाटकको लेखक
न सम्पादक ऊ,
न उत्पादकको हैसियतदार
समर्थनको संकेत ज्वाला र राप,
दर्शकले हेर्दा मन खोलेर।
अरूको त खासै के महत्त्व र
सिरियल तथा चलचित्रमा
पात्र हुँदा नायक हुने हो
मामुली को छ र यहाँ?
आफ्नो घर भत्किए भत्काए के भो?
माननीय र सम्माननीयका ओहदाका
गतिला गातिला बिल्ला ओढेर
बाजा थरीथरी बज्दछन् यहाँ
गीतको शब्दसँग सुहाउँछ नै कति
आशा भरोसाको केन्द्र विकेन्द्रीकण
आज इलाज हरायो आमाको बरा
नाराज छन् सन्तति, सुनुवाई हुन्न,
के भो र यहाँ अति बोलेर!