शिरमाथिको झुत्रो ढाकाटोपीले ढाक्न नसकेको सेताम्मे फुलेका कपालले हर्क बहादुरको बुढ्यौलिपन उदांग पारेको छ। आधा मुहार छोपेको सेतो मास्कले तीन मुजा चाउरी परेको उनको निधार भने छोप्न सकेन।
दाहिने हातले आफ्नो टाउकोलाई टेका दिएर गण्डकीको बगरमा धेरैबेर घोस्सिरहे। छेवैबाट सधैँ झैँ रफ्तारमा बग्दै गरेको गण्डकी श्रावणको भेलले आज अलि धमिलो देखिन्छ।
हिमालतिरबाट झरेको चिसो स्याँठले हर्क बहादुरको तन्द्रा खोलिदियो, अनि सोँचे- अब त अबेर हुन्छ। बगरभरि छरपस्ट थुप्रिएका ढुंगाहरूबीच आँखा डुलाए। नदीले बगाउँदै ल्याएर मिल्काएका काठका मुढाहरू, सुकेका हाँगाबिगाहरू बटुल्न थाले। ओभानो बालुवामाथि काठका टुक्राहरू विस्तारै चिताको आकार लिन थाल्यो।
काठका टुक्राहरू एकमाथि अर्को खप्टँदै गर्दा उनले मन झनै व्याकुलताले निसास्सिएको महसुस गरे। छेवैमा टुसुक्क बसेर एक खिल्ली चुरोट सल्काए।
सधैँ झैँ ‘मलाई नि है बुढा’ भन्दै छेउमा आइपुग्ने दुर्गामाया यसपल्ट भने आइनन्। परको ठूलो ढुंगाको आडमा रोकिएको ठेलागाडामाथि प्राण उडेर लल्याकलुलुक ओइलाएको शरीर अडाएकी दुर्गामायालाई यसपालि भने चुरोटको अमलले लोभ्याएन।
आफ्नो जीवनकालमा चिनेजानेका, छरछिमेक, नातागोता अनि आफन्तलाई पर्दा हर्क बहादुरले यसै बगरमा कयौँपटक मलामी बनेर उपस्थित भए। उस्तै नियति तर नितान्त फरक परिस्थितिमा आज उनी त्यहाँ आइपुगेका छन्।
मलामीका कोलाहल, एकोहोरो शंख ध्वनी, छट्पटी र विलौना रत्तिभर पाएनन् न त काँधमा धपधपाउँदै सान्त्वना दिने आफ्ना कोही। उर्लेर बगिरहेको नदीको पट्यारलाग्दो एकोहोरो आवाजलाई चिर्दै लामो सुस्केरा हालेर भने, 'कठै! विचरी तँ अभागिनी। मर्दा मलामी समेत नपाइने कस्तो मरण पाइस् नि तैँले?'
आँखाका डिलबाट हामफाल्नै लागेको आँसु पुछ्दै आफ्नी प्राणहीन अर्धांगिनीलाई एकपल्ट नियाल्छन्। जिउँदो रहुञ्जेल झेलेको संसारिक पीडालाई विश्राम दिएर दुर्गामाया चिरनिद्रामा विलीन छिन्।
परको बस्तीहरूमा मानिसहरू सलबलाउन थाले। आँगनको डिलमा, घरको छतमा, सडकको छेउमा उभिएर नदिको किनारमा ठडिँदै गरेको चितातिर सशंकित मुद्राले नियाल्न थाले।
'कठै विचरा! कालगति पनि कस्तो निष्ठुरी?' कसैले दयाको भाव दर्साए।
'खास्सै मरेको चाहिँ कसरी रहेछ?'
'कोरोनाले हो अरे।'
दुर्गामाया दमको रोगी। उमेरले उकालो चढ्दै गर्दा रोगले निचोरेको शरीर धमिराले खोक्राएको काठ झैँ हुँदै गयो। बुढ्यौली जीवन दिनभर हर्क बहादुरले ठेल्ने ठेलागाडा झैँ विस्तारै अघि बढ्दै थियो। कोरोना फैलिएपछिको निषेधाज्ञामा जेनतेन आधा भोक मेटेर बाँचेको शरीरबाट विस्तारै ताकत हराउँदै गयो।
एक दिन साँझ पर्नै लाग्दा दुर्गामायाले दमले चाप्यो भनिन्। भोलिपल्ट बिहानसम्म ओछ्यानमा पल्टेर खोकिनै राखिन्। ज्वरोले जीउ भुङ्ग्रो जस्तै तातेको थियो। नाकबाट पानी बगिनै रह्यो। जान्ने बुझ्नेले लख काटे- कोरेनाले भेटेछ।
'बरै! एक्लै परेछन्। आफन्तले पनि साथ छाडेका। बेलै उस्तै छ, सबैलाई डर मर्दो।' चितानिर एक्लै उभिएका हर्क बहादुरतिर हेर्दै एक अधबैँसे महिला चुकचुकाइन्।
'यस्तो समयमा हामीले पनि के नै गर्न सक्छौँ र?' कसैले असमर्थताबोध जाहेरी गरे।
दुर्गामायालाई रोगले झन् च्यापेपछि हर्क बहादुर अत्तालिन थाले। यसपालिको बिमारलाई पहिले झैँ तातो नुनपानीले टार्न सकेनन्। आँगनको डिलसम्म आइपुगेका आफन्तहरू बिमारीको छेउ पुग्न हिम्मत गरेनन्। बिरामीको चिन्ताभन्दा पनि आफैलाई सर्ने पो हो कि भन्ने स्वभाविक त्रास थियो उनीहरूमा।
सबैले अस्पताल लैजान सल्लाह दिए तर मद्दतको हात अघि सार्न कसैको आँट भएन। सहयोगको सबै ढोका बन्द भएपछि हर्क बहादुर एक्लैले दुर्गामायालाई अस्पतालसम्म पुर्याउने जमर्को कसे। तर लैजाने केमा? बुढेसकालको दुई प्राण धानिदिने उही पुरानो ठेलागाढाले भने आफ्नाले झैँ साथ छोडेन।
अत्तालिँदै भित्र छिर्नेहरू अनि उस्तै हतासिँदै बाहिर निस्कनेहरूको बाक्लो ओहरदोहर थियो अस्पतालमा। मास्कले आधा ढाकेको सबैको अनुहारमा निराशाले भने पुरै छोपेको थियो। हर्क बहादुरको गाडा अस्पतालको प्राङ्गणमा रोकिएपछि उनमा भएको झिनो आशा विस्तारै कमजोर हुँदै गयो।
बिरामीको भिड थेग्न हम्मेहम्मे परेको अस्पतालले अब थप बिरामी लिन नसक्ने स्विकारोक्ती गरिरहेको थियो। मरणबाट भाग्दै अस्पताल छिर्ने कोही भाग्यले जीउसम्म बिसाउने शय्या भेटे, धेरैले चिसो भुइँमै बसेर बलजफती सास फेर्ने कोसिस गरे। अस्पताल बाहिरै छट्पटाइरहेका कयौँ बिरामी भने उपचारको पालो पर्खिरहे।
पश्चिमका डाँडाहरूबाट घाम झरेपछि चिसो बढ्न थाल्यो। दुर्गामायाको उपचारको आशमा हर्क बहादुरले अस्पताल अगाडि घण्टौँसम्म रुँगी रहे। उनी जस्तै अरु थुप्रै थपिए, हरेस खाएर फर्किए।
डाक्टरहरूको अत्तोपत्तो थिएन न त दुर्गामायाको अवस्था बुझ्न नै कोही आए। होस गुमाउनै लागेकी दुर्गामायाले आधा दबेको सासमा भनिन्, 'भो, अब धेरै नबसम्। बरु घरैको आँगनमा मरुँला।' हर्क बहादुरका आँखाबाट आँसुका ढिकाहरू ओर्लेर बग्न थाले।
नदीको किनारतिर नजर लगाउँदै साउती गर्नेको ठूलै जमात लागिसकेको छ। त्यहाँ चिता जल्नु सामान्य हो तर असामान्य समयमा बाँचिरहेका सामान्य मानिसहरू जस्तो कुरामा पनि सशंकित हुन्छन्। 'हामीलाई पनि डरै पो हुने भो त! रोग हावामा फैलियो भने को जिम्मेवार?' भड्किलो स्वरमा एकजना कराए।
बग्दै गरेको गण्डकीको किनारमा एउटा सग्लो चिता खडा भएको छ। हर्क बहादुरले पखेरु बिलाएको दुर्गामायाको शरीर दुई हत्केलाले ठेलागाडाबाट उठाए। रोग, भोक र चिन्ताले बाँकी छाडेको पातलो शरीर हलुंगोसँग उनका हत्केलामा अड्कियो।
संसारिक सबै पीडाहरू बिर्सिएर ध्यानमग्न साधु झैँ शान्त थिइन् दुर्गामाया। हर्क बहादुरलाई एक्कासी उनकी प्राणहीन पत्नीप्रति ईर्ष्या जाग्यो- बाँचुञ्जेली नपाएको चिर शान्तिको विलाशीतामा ऊ एक्लै रम्दै थिई।
दुर्गामायालाई बोकेर चिता नजिक पुगेका हर्क बहादुरका पाइला एकाएक रोकिन्छन्। नजिकै केही आवाज सुनियो। आफन्त पो फिरेछन् कि? उनमा आफू एक्लै हुनु नपर्ने कपोकल्पित आशा पलायो। टाढाबाट उनीतिरै सोझिँदै आइरहेका एक हुल मानिसहरूलाई उनका नजरले ठम्याउन सकेनन्। एकैछिन पर्खिए।
शिरदेखि पाउसम्म सेतो वस्त्र, हातमा सेतै पञ्जा, आँखामात्र देखाएर मुहार पुरै ढाकेको। उनलाई स्मरण भयो- यस्ता हुलिया हिजो अस्पतालमा रहँदा छ्यापछ्यापती देखेका थिए। किन आएछन् त यहाँ? तिनीहरू उनीभन्दा केही दूरीमा आएर अडिए।
'हर्क बहादुर तपाईं नै हो?,' पंक्तिमा अगाडि उभिनेले सोध्यो।
'हजुर,' उनी अलमल्ल परे।
'लास भुइँमा राख्नुस्।'
लास भुइँमा राख्ने उर्दीले उनी झस्किए। वक्क परेर उभिरहे। उनका हत्केलाहरूमा दुर्गामाया उस्तै चुपचाप चिरनिद्रामा छिन्।
'मर्नेको नाम?,' अर्कोले सोधे।
'दुर्गामाया,' हर्क बहादुरले जवाफ दिए। प्रश्न गर्नेले कापीमा केही लेखे।
'उमेर?'
'६८ लागेँ हजुर।'
'मर्नेको सोधेको।'
'६५।'
'लास भुइँमा राख्नुस्' झर्को मिसिएको स्वरमा अर्कोले भन्यो।
यसपालिको उर्दी हर्कबहादुरले टार्न सकेनन्। दुर्गामायालाई विस्तारै फुक्का बालुवामा बिसाए।
'मर्नुअघि केही बिमारी या लक्षण थियो?'
'बुढीया दमकी रोगी हजुर। बेस्कन खोकेकी थिई। छाती पोल्यो भन्थी। ज्वरोले चापेको थियो। नाकबाट पानी बगेको थियो।' उनलाई दुर्गामायाले मर्नुअघि भोगेकी पीडा र आफ्ना सारा वेदना एकैपल्ट पोखूँ जस्तो भयो। सोधिदिने कोही भेटेका थिएनन्। सुनिदिने कोही आए जस्तो भयो उनलाई।
'कोरोनाले नै मरेको रहेछ नि' अर्का एकजनाले बीचैमा बोलिहाले। कापीमा लेख्नेले खुरुखुरु लेख्दै गए। के लेखे हर्क बहादुरलाई पत्तै भएन।
तिनीहरू मध्ये दुईजना अगाडि बढे। बालुवामा लडिरहेकी दुर्गामायाको छेउमा स्टेचर राखे। एकजनाले टाउको र अर्कोले खुट्टामा समातेर बडो सावधानिपूर्ण स्टेचरमा चढाए। स्टेचरको दुई छेउ समात्दै जुरुक्क उठाए। नजिकै उभिएका हर्क बहादुर एक्कासी कामज्वरो आएझैँ काम्न थाले। मुख सुकेर बोली फुटेन।
'कोरोना लागेर मरेकालाई यसरी खुल्ला ठाउँमा अन्त्यष्टी गर्नहुन्न। हामीले छुट्टै व्यवस्था मिलाएका छौँ। यो लास अब हामी जिम्मा लिन्छौँ।'
यति भनेर सबैजना आएकै बाटो सरासर फर्किए। रित्तै आए। दुर्गामायालाई लिएर गए। नदीको किनारमा एक्लै छाडिएका हर्क बहादुर मुर्छा परेर चिच्याउन थाले। पछिपछि दौडिएर जान खोजे। गोडाहरू लल्याकलुलुक भए।
उनी बगरमै बजारिन पुगे। घिस्रन खोजे। जीउ बाङ्ग्रिएर चल्नै छाड्यो। भुइँमा घोप्टो परेर चर्को विलाप गरिरहे। ठूलो स्वरले सुसाएको गण्डकीभन्दा चर्को स्वरको रोदन बस्तीमा जम्मा भएको भिडसम्म पुग्यो।
शव बाहन लेखिएको सेतो गाडी घरहरू बीचको सडकमा रोकिएको छ। अघिका सेतो बस्त्रधारीहरू दुर्गामायाको शव लिएर आइपुगे। शव गाडीभित्र राखे। गाडी गुड्नुअघि त्यहाँ जम्मा भएका रमितेहरू तिर हेर्दै एक सेतो बस्त्रधारी चिच्याए, 'किन जम्मा भएको यत्रा मान्छे? कोरोनाको डर छैन? यसरी नै मर्न मन छ तिमीहरूलाई?' सबैजना घरभित्र कुदे। धुवाँ उडाउँदै बजारबीच त्यो मोटर तुफानले कुद्यो।
दुर्गामायाको चिता रित्तो छ। रित्तो चिता रत्तिभर नसुहाएको। उनले अस्पतालबाट फर्किँदै गर्दा अन्तिम सास लिँदै चिताको न्यानो रापको कल्पना गरेकी थिइन् होलिन्। कठै! मान्छेको जन्म कुण्डलीभन्दा मरण कुण्डली बलियो हुन पर्ने रहेछ। उनको मरण कुण्डलीमा खोट रहेछ। मरेपछिको चिताभोग गर्न पाइनन्।
जल्न नपाएको चितालाई किनारमै छाडेर हर्क बहादुर आफ्नो ठेलागाडालाई ठेल्न थाले। बल लगाएर ठेल्दा उनका खुट्टा चिप्लियो। पछाडि फर्केर हेरे। दाहिने खुट्टाको चप्पलको तुना चुँडिएछ। मनमनै सोँचे- जीवनभरको मायाको साथ त चुँडिन्छ, जाबो तीन पल्ट गाँसेर लगाएको चप्पलको तुना किन नचुडियोस्!
आफैले बनाएको चितालाई जस्तै दुवै चप्पललाई किनारमै छाडेर उनी ठेला धकेल्दै अघि बढे। गण्डकी भने उही रफ्तारमा उर्लेर बगिरहेको छ।