अहं ब्रह्मास्मि!
भूत, भविष्य र वर्तमानको
दूर दृष्टिगोचर संवाहक
अन्वेषण समृद्धि र विकास खातिर
आफू जल्दै प्रकाश बाँड्ने रोशनीको
हामीमा अद्वितीय सोपान छ
ब्रह्मज्ञानको विज्ञान छ
सद्भावनाको अतृप्त दम छ
सकारात्मक उर्जाले सकृय
चलायमान कदम छ
सौम्य शालीन सहिष्णुताको परिचायक
निवृत्त शिक्षक हामी
हाम्रो छुट्टै पहिचान छ
पेशाको अवसान भएपनि
हामीमा आफ्नै पसिनाको
शरीरमा रक्त संचार छ
कसैले औँला ठड्याउन नसक्ने
निष्कलंक प्रतिष्ठाको
ललाटमा निशान छ
गौरवशाली इतिहासमा
निवृत्त शिक्षकको प्राज्ञिक प्रतिष्ठान छ
निवृत्त शिक्षक हामी
हाम्रो छुट्टै पहिचान छ
निभेको आगो होइन
खरानी भित्र भर्भराउँदो
अग्नीज्वालाको ज्योतिपुञ्ज छ
तिरस्कारभेदी स्वआर्जित
दम्भरहित औकात छ
नैतिकतामा हुर्किएका हामी
अनैतिकता अन्याय शोषण
र भ्रष्टाचार विरुद्ध
आवाज वुलन्द गर्ने
स्वाभिमानी मौलिक अधिकार छ
राष्ट्र र राष्ट्रियतामा
राष्ट्रप्रेम सद्भावना र
अपनत्वको महत्वका हिमायती
सुसंस्कृत सभ्य समाज
परिकल्पनामा जारी अनुष्ठान छ
योगदान र कर्ममा विश्वास छ
कर्मभूमिको आलोकित पृष्ठभूमि
साक्षी विगत छ
लेखनीमा नसिद्धिने
मसीको दममा आयुष्मान छ
निवृत्त शिक्षक हामी
हाम्रो छुट्टै पहिचान छ
अग्रगामी मार्गदर्शन अभियन्ताको
हाम्रो प्रखर वौद्धिक जमात छ
सहानुभूति र आदरभावको सम्मान छ
नवागन्तुक महानुभावप्रति हाम्रो
अभिनन्दन र कदरसहित स्वागत छ
मर्यादित नागरिक समाजमा
निवृत्त शिक्षक हामी
हाम्रो छुट्टै पहिचान छ।