त्यतिखेर लन्च ब्रेक भएकोले उनीहरु कोठामा थिए। आ-आफ्नो बेडमा कोही पल्टिएका थिए भने कोही पलेटी कसेर बसेका थिए। ढोकाकै छेउनेरको दराजमाथि टिभी र त्यसको मुनि भिसिडी थियो। र त्यही भिसिडी लगाएर टिभीमा लोक गीत हेरिरहेका थिए।
'खैरेनीमा गेट
अन्तै दिल बस्यो कि निरमाया
हुनै छोड्यो भेट...'
भगवान भण्डारी र बिमाकुमारी दुराको मधुर स्वरले कोठा गुन्जयमान थियो। विदेशी भूमिमा त्यस्तै गीतहरुले नै हो गाउँको याद ताजा बनाइराख्ने। जब सुस्ताउने मौका मिल्थ्यो तब त्यस्तै लोक गीतहरु सुन्थे, हेर्थे। उनीहरुको आँखा टिभीमा र मन गाउँमा डुल्दै थियो।
उनीहरु आठ जना थिए त्यो कोठामा। कृष्ण, लालबिन्द, हिरा बहादुर, पदम, टेक बहादुर, विवेक, जीवन र करिमान।
विवेक भने घरबाट आएको चिठी पढ्नमा व्यस्त थियो। उसको पुरै ध्यान पत्रमा भएकोले, कोठामा गुन्जिएको गीतले उसलाई कुनै प्रभाव पारेको थिएन। घरबाट आएको चिठी त्यही दिन उसको हातमा परेको थियो।
चिठी पढिसकेपछि चिठीलाई कच्याक कुच्युक पार्न खोज्यो। तर त्यसो गरेन। टाउकोमा हात राखेर व्यग्र हुँदै जीवनतर्फ नजर फ्याँक्यो। र ऊ बोल्यो- 'म त घर जानु पर्यो हो।'
उसको नजर जीवनतर्फ स्थिर भयो केहीबेरको लागि। विवेक बोलेकोले गर्दा गीत सुनिरहेका अरुहरुको पनि ध्यान भंग भयो।
'के भो र? किन जाने?' जीवनले विस्मित हुँदै विवेकतर्फ मुन्टो फर्कायो। अरुहरुले पनि ध्यान टिभीबाट मोडेर विवेकतर्फ हेर्दै थिए।
'घरमा त सबैलाई सञ्चै छ?' जीवनले पुन: सोध्यो।
विवेकले जवाफ दिएन। ऊ घोसे मुन्टो मात्र लाइरह्यो।
टिभीमा गीतको भोल्युम कम हुँदै गयो। कोही भने अचम्म मानेर ट्वाल्ल पर्दै थिए। सबैको मनमा कौतुहलता जिज्ञासा उत्पन्न भयो। र अनेकौं सम्भाव्य घटना र शंका-उपशंकाले मनमा तुषारपात गर्दै थियो। उनीहरुले पुन: मुन्टो टिभी तिर फर्काए।
विवेक बेडबाट उठ्यो। उसले सिरानीमुनि चिठी राख्यो र पर्स निकाली खल्तीमा हाल्यो। अनि अरु कसैलाई नहेरी नूर झुकाउँदै ऊ कोठाबाट बाहिरियो।
ऊ बाहिरिए पनि उसको हतासपनले गर्दा कोठालाई कौतुहलताले छोडेको थिएन।
'के भएछ केटालाई? घरमा कोही बिरामी परेछ कि?' कृष्णले जीवनतर्फ हेर्दै सोध्यो।
'खै केही भनेन' त्यतिमात्र भन्यो जीवनले।
'घरकोले बोलायो होला अरु के हुन्थ्यो?' पदमले कुरा थप्यो।
'सधैं त्यस्तो बोली रहने केटो अघिदेखि चुप चाप छ' हिरा बहादुर बोल्यो।
'घरमा केही समस्या नभैकन किन जान्छु भन्थ्यो र?' टेक बहादुरले पनि अनुमानित कारण बतायो।
***
कामदारहरु बस्ने क्याम्पलाई चारैतिरबाट पर्खालले घेरिएको थियो। क्याम्पको पश्चिमपट्टि उत्तर-दक्षिण तन्किएको लमतन्ने सडक। सडकदेखि पारि क्षितिजसम्म बञ्जर मरुस्थल।
उत्तर र दक्षिण दुवै तर्फको सडक त्यही लमतन्ने पश्चिमको सडकमा आएर मिसिएको थियो। जहाँ यदाकदा फाट्ट फुट्ट गाडी गुड्थे। पूर्वपट्टि भने पर्खाल बाहिर अफिस र काष्ठ उद्योग थियो। उनीहरु त्यही काष्ठ उद्योगमा काम गर्दथे। त्यसैले दुई घण्टाको लन्च ब्रेकमा उनीहरु कोठामा आएर आराम गर्न पाएका थिए।
गेट दुईतिर थियो। अफिस र काष्ठ उद्योगमा जानलाई पूर्वी गेट प्रयोग गर्थे। साइटमा काम गर्न जानेहरु भने दक्षिणी गेटबाट आव-जाव गर्थे। विवेक त्यही पूर्वी गेट हुँदै अफिस पुग्यो (अफिस र उद्योगको लन्चको समय फरक थियो)। अनि उसले राजीनामा लेखिदिनको लागि अफिस क्लर्कसँग अनुरोध गर्यो।
क्लर्कले सोध्यो 'के कारणले घर जाने?'
'के भन्दा छिटो पास हुन्छ राजीनामा?' विवेकले प्रतिप्रश्न गर्यो।
'फेमिली प्रबलम भन्यो भने हुन्छ' क्लर्कले सुझायो।
'हुन्छ हुन्छ, त्यही लेखिदिनुस्,' उसले भन्यो।
केहीबेरमै क्लर्कले राजीनामा तयार पारीदियो। उसले राजीनामा पत्रमा दस्तखत गर्यो र उही पूर्वी गेटबाट कोठामा फर्कियो।
***
सन् २००२ को डिसेम्बरमा विवेकले पहिलो चोटि पाइला राखेथ्यो कतारको दोहामा। त्यतिखेर नेपाल चिसो ठन्डीले कक्रिरहेको थियो। सधैँ हिउँदमा त्यस्तै चिसोले कक्रिन्छ नेपाल। तर दोहा भने त्यति चिसिएको थिएन। र त्यति चिसिँदैन पनि।
त्यतिमात्र होइन। गृह युद्धले पनि आक्रान्त बन्दै थियो नेपाल। द्वन्दले प्रत्यक्ष या परोक्ष असर पार्दै थियो दैनिक जीवन यापनमा। विवेकले १० कक्षा पढ्दा पढ्दै बीचैमा छोडिदियो। द्वन्दको प्रत्यक्ष प्रभावले भने होइन।
उसलाई पढ्न त्यति रुची थिएन। पढ्न छोड्यो भनेर उसको बुबा ऊदेखि क्रुद्ध भए। झन् केही महिनापछि उसले घरमा सल्लाह नगरी केटी भगाएर ल्यायो। जसले गर्दा बुबाको रिसलाई आगोमा घ्यू थप्ने काम गर्यो।
त्यतिखेर गाउँबाट विदेशिनेको लहर चलेको थियो। विशेष गरेर गाउँका युवा-नवयुवाहरु विदेशिँदै थिए आशाको दियालो जगाएर जिउने आधार खोज्दै। जसरी हिउँदमा कर्याङ कुरुङका बथान सिरेटो छल्न साइबेरियाबाट आकाशिँदै खाडीको सामुन्द्रिकतटमा आइपुग्छन्। त्यसैगरी केही युवाहरु आफ्नो गन्तव्य खोज्दै आइपुगेका थिए त्यही खाडी मुलुकमा।
ऊ पनि त्यस्तै लहरको लहरमा लहरिँदै विदेशियो। र जहाज अवतरणसँगै उसको पाइला पनि अवतरित भयो कतारको माटोमा। उसले विवाह गरेको दुई महिना पनि भएको थिएन।
***
राजीनामा दिएको पर्सिपल्ट ऊ स्वदेश फर्कियो। ऊ जम्मा जम्मी ५ महिना बस्यो विदेशी भूमिमा।
किन फर्कदैंछु भनेर उसले वास्तविकता कसैलाई भनेन। अरुहरु पनि समझदार थिए। घरायसी कुरा भनेर खोजीनीति गरेनन्।
ऊ गएपछि पनि कोठाको भित्ताहरुमा वार्तालापका अनुमानित ध्वनीहरु ठोक्किँदै थिए।
कृष्णले भन्यो 'भर्खरका केटा श्रीमतीले आइज भन्यो होला, अड्न सकेन हिँड्यो।'
'तिम्लाई थाहा भयो होला नि खुबै मिल्थ्यौ त' टेक बहादुरले जीवनतर्फ हेरेर सोध्यो।
'भनेन, मैले पनि खोट्याइन' मनमनै गुनासियो जीवन।
'घरमा कोही बिरामी पनि पर्न सक्छ नि' पदमले पनि बोली मिसायो।
'के थाहा भर्खरको केटी। भगाएर ल्याएको भन्थ्यो न अर्कैले पो भगायो कि?' पदमले टेक बहादुरसँग साउती मार्यो।
कृष्णले उनीहरुले के साउती मार्दै छ भनेर बुझ्ने चेष्टा गर्दै थियो तर भेउ पाउन सकेन।
विवेक गएको धेरै दिनसम्म उसले छोडेको बेड खाली रह्यो। झन्डै दुई हप्तापछि क्याम्पको क्लिनर आयो र विवेकको बेड रिप्लेस गर्न लाग्यो। त्यसको मतलब त्यो बेडमा अब कोही नयाँ कामदार आउँदै छ भन्ने जानकारी हो। बेड सफा गर्ने क्रममा बेड उचाल्दा भुइँमा एउटा पत्र फुत्रुक्क झर्यो।
त्यो क्लिनरले बेडलाई पुन: खाटमा पहिले जस्तै अवस्थामा राख्यो। अनि 'केटोलाई कस्तो चिठी लेखोको रैछ?' उसले चिठी उठाउँदै मनैमन आफैलाई सोध्यो। एकचोटि कोठाको चारैतिर हेर्यो। कोठामा कोही थिएन। किनकि त्यति बेला सबै काममा गएका थिए।
उसको आँखामा उत्सुकताले भरियो। र उसले त्यो चिठी पल्टायो। ऊ पनि भर्खरको नव जवान थियो। त्यस्ता पत्र पढ्न उत्सुक भइरहन्थ्यो। ऊ कहिलेकाहीँ पत्र बाहक पनि बन्थ्यो (अफिसबाट ल्याएका चिठीहरु तख्तामा नराखी कोठा कोठामा पुर्याउँथ्यो) र आफ्नो मनले जितेको केटाहरुसँग 'के लेखेको रैछ खै' भनेर ऊ बेस्वमतिलो निर्लज्ज तवरले सोध्थ्यो।
विशेषत: केटीको नामबाट आएको पत्रहरु हेर्न ऊ लालायित देखिन्थ्यो। कहिलेकाहीँ गल्लीमा कसैले चिठी फालेको छ भने ऊ उठाउँथ्यो र पढ्थ्यो। किनकि उसको नाममा कहीँबाट पत्र वा प्रेम पत्र आएको थिएन। ऊ त्यही बेडमा बस्यो अनि चिठी पढ्न थाल्यो।
***
मिति: चैत्र २२ गते, २०५९
मेरो प्यारा!
तिमीलाई असीम प्यार र अटुट सम्झना।
प्रिय! खै म कसरी लेख्न सुरु गरुँ? के के भनेर लेखुँ? सोच्छु किन लेखुँ? लेखुँ या नलेखुँको बीचको द्वन्दमा पिल्सिँदै लेखीरहेछु। मनका भावनाहरु, कौतुहलताहरु। असन्तुष्टीहरु, अत्रिप्त चाहनाहरु, सपनाहरु, अभिलाषाहरु। मन भित्रको शंका उपशंकाहरु। अनेकौं अनेक उद्वेगहरुले, मन उद्वेलित भइरहेको छ। वर्षामा कोशीको भेल जस्तै भएर।
तिमी विदेशिएर गएको दिनदेखि तिम्रो हाल खबर कहिले आउँला भनेर म बाटोभरि आँखा बिछ्याइ रहेँ। कोही नौलो मान्छे हाम्रो घरतिर आउँदा तिम्रै खबर पो लिएर आयो कि भन्ने आशाले जिउभरि काँडा उम्रन्थ्यो। तिम्रो ठेगाना आइपुग्न पनि १२५ दिन लाग्यो।
यी १२५ दिन मेरो निम्ति एक कहाली लाग्दो युग जस्तै भए। अझ, तिमी आइपुग्न कति दिन लाग्ने हो? दिनहरु गन्दैमा मन भित्र विरक्तिले उपद्रो मच्चाउँछ। जे होस् तिम्रो कुशलताको खबरले म खुसी भएकी छु। आँधी सँगसँगै उर्लेको समुन्द्र, आँधी रोकिएपछि लहर शान्त भए झैं। कयौं दिनदेखिको मन भित्रको छटपटी अलिकत भए पनि शान्त हुँदै छ।
तिम्रो पत्र पाएको क्षण, तिमी नै मेरो सन्मुख आए जस्तै लाग्यो। तिम्रो पत्रलाई तिमी नै सम्झेर बारम्बार चुमीरहेँ। मैले पटक-पटक दोहोर्याएर पढिरहेँ। तिमीले लेखेको हरेक शब्दहरुमा तिम्रो मधुर आवाज सुनिरहेँ। र तिमीले नझर्कीकन त्यसरी नै बोली रह्यौ।
'तिम्रो माया लाग्छ तिमीलाई हरपल सम्झिरहेछु' भन्दा मेरो मुटुको ढुकढुकी यसरी बढ्यो कि, हृदयलाई प्रकम्पित गरेर आँखाको तलाउमा बाढी नै आयो।
तिमीले भने जस्तै, तिमीलाई जसरी यही बाटो घाटो, वनपाखाको याद आउँछ। मलाई पनि यही उकाली-ओरालीले हरपल तिम्रै याद दिलाउँछ। तिम्रो पदचाप अहिले पनि सुनिरहन्छु। यही आँगन, बाटो, गल्लीमा। यही पानी, पंधेरोमा। यही उकाली बाटोमा तिमीले डोर्याउँदै तानेको। यही ओरालीमा तिमीले हात समाएर हिंडेको। यही बाटोमा सुसेल्दै सँगै गीत गाएको। यही वनमा हामी लुकामारी खेलेको। म झलझल्ती आँखामा देखिरहन्छु।
तिमी मेरो सामुन्ने 'सानु' भन्दै आइपुग्छौ कि भन्ने मनोकांक्षाले तृषित नयनहरु बाटाभरि लम्पसार परिरहन्छ। यी आँखाले तिमीलाई नै खोजी रहन्छ यही बाटोमा। तिमी आउँदा आउँदै हामी शीतल बस्ने चौतारीमा लुकेर बसेको छौ कि भन्ने भ्रमले म वर पिपलको फेदलाई घुमीघुमी हेर्छु। जसरी तिमी मसँग लुकामारी खेल्थ्यौ।
मैले जन्म घर, आफ्नो बुवा आमालाई त्यागेर तिम्रो पछि लुरुक्क आएँ। बाख्राको पाठाले आमा पछ्याए जसरी। मेरो एक्लो सहारा तिमी नै हौ। तिमी नै मेरो प्राण, तिमी नै मेरो हृदय। जे भने पनि तिमी नै हौ। मेरो हर धड्कन तिमी नै हौ। मेरो श्वास प्रश्वास तिमी नै हौ।
तिमी अहिले दूर गएपछि म निसासिएकी छु। प्राणविहीन भएकी छु। जीवनको हर मोडमा साथ साथ हिंड्ने छौँ भनेका थियौँ। कुन अभिशापले हो केही दिनमै तिमीले मलाई एक्लो बनायौ? तिमी र म एक्लो एक्लै जिउनु थियो त किन झुठो वचन बोल्यौ? म रनभुल्लमा परेकी छु।
म अहिले पनि सपना हो कि विपना हो ठम्याउन सकिरहेकी छैन। चारैतिर हेर्छु तर तिमीलाई देख्दिनँ। कहाँ गयौ? किन गयौ? केको लागि गयौ? कसरी जान सक्यौ? कति कठोर! बुबाले 'विदेश जा' भन्ने वित्तिकै कति सजिलै झोला बोकेर हिँडीहाल्यौ? एक्कासी मलाई निर्णय सुनाएर। मेरो मनमा के बित्यो होला भन्ने अलिकत हेक्का पनि गरिनौ है? अल्लारेको भर हुन्न भन्थे साँच्चै रहेछ।
अर्को कुरा, तिमीले घरको बारेमा पनि सोधेको रहेछौ। सबै राम्रै छ भन्नु पर्यो। तिमी विदेश गएको दुई महिनापछि बुवाको गनगन सुरु हुन थाल्यो। र यो गनगन निरन्तर छ। मैले आफ्नो गुनासाहरु मात्र सुनायो नभन। के गर्नु, तिमीलाई नभने अरु कस्लाई भनौं? मैले लेख्न नचाहे पनि लेख्न बाध्य छु। मेरो कुरा अन्यथा नसोच।
मलाई ससुरा-बुवाले कामको यश दिनु हुन्न। कुरा लायो नभन। मन बिझ्नेगरी बारबार भन्नु हुन्छ 'हामीले बिहे गरेर ल्याएको होइनौँ। आफै आएको। हामी बस पनि भन्दैनौँ,जा पनि भन्दैनौँ। काम गर पनि भन्दैनौँ, नगर पनि भन्दैनौँ।' घरमा आएका मान्छेहरुलाई सुनाउँदा म तुच्छ र तिरस्कृत देखिन्छु।
खेतबारीमा काम गरेर आउँदा पनि त्यसो भनेको सुन्नु पर्दा मेरो मनको बाँध भत्किरहन्छ। निराशाको आँधी बेहरीले मलाई कुट्नुसम्म कुट्छ। भन मेरो तडप कसरी पोखुँ प्रिय? कहाँ पोखुँ? मैले तिमीसँग गरेको प्रेमको प्रतिफल यही हो? या तिमी मसँग टाढिनको लागि विदेशको यात्राको नाटक हो?
मलाई दिन दिन असैह्य भइरहेको छ। म अनाथ, दीन हीन, कोही नभएको जस्तो तिरस्कार कति सहनु बिना गल्ती? म केवल मेरो दाजुको बाटो हेरी बसेकी छु। ऊ एक दुई हप्ता भित्रै लाहुरबाट छुट्टीमा आउँदै छ। मैले निर्णय लिइसकेँ। मैले एउटा व्यवसाय गर्ने निश्चय गरी सकेकी छु। यसको मतलब म घरबाट छुट्टिन्छु भनेको होइन। म आफ्नै खुट्टामा उभिएर काम गर्छु भनेकी मात्र हुँ।
घर छिट्टै आऊ। अब हामी दुवैजना मिलेर व्यवसाय गरौंला। तिमी जस्तो एक्लै डोरी बाटिन चाहन्नँ। तिमी आएनौ भने पनि दु:ख मान्दिनँ। तिमी त एक्लै हिँड्न खोज्यौ भने के म सक्दिन र? भैगो, म त्यसो भन्दिनँ। किनकि तिमी मेरो सबैथोक हौ।
उमेरको प्रभाव भन या मेरो हठ। तिमीलाई थाहै छ हाम्रो प्रेम भएको मेरो बुवाले थाहा पाएपछि 'अब त्यही केटासँग जा!' भनेर हप्काउनु भयो। मैले पनि सोचेँ, तिमीसँग जिउन सकिन्छ भनेर तब निर्णय लिइहालेँ। र अहिले परिस्थिति जेसुकै होस्, मैले निर्णय लिएँ। र यो अकाट्य हो। अहिलेलाई त्यही डिहीमा एउटा पसल राख्छु। मलाई नसोधी निर्णय लियौ भन्ला भनेर सोधेकी छु। र अवगत गराएकी हुँ।
प्यारा! हात समाएर दु:ख सुखसँगै जिउँला भन्दै खाएको कसम सम्झाउन चाहन्नँ। तिमीबिना म जिउन सक्तिनँ भन्दै आँसुले भिजेको रुमाल देखाउन चाहन्नँ। म त केवल प्रेमले नै सर्वस्व दिन्छ भन्ने मान्यता राख्छु। प्रेमबाट विमुख हुने कल्पना गर्न सक्दिनँ।
यति हो, कहिलेकाहीँ यो मन बाख्रा हुन खोज्छ र मात्र पिर लाग्छ। जता जता हरियो घाँस देख्यो उतै उतै जान खोज्ने। भिर पखेरा केही नभन्ने। यो बाख्रो मनलाई कसरी कति दिनसम्म गोठालो हुन सकुँला। दु:ख सुख जे गरौंला सँगै गरौंला, जे भोगौंला सँगै भोगौंला। छिट्टै घर फर्की आऊ। फूल ओइलिनुभन्दा अगावै। सुवास हराउनुभन्दा अगावै। तिम्रो अंगालोमा बाँधिएर सप्तरङ्गी सपनाहरु देख्न चाहन्छु।
तिम्रो प्रियतमा
बिनिता। '
***
त्यो क्लिनरले चिठी पढिसकेपछि ओल्टाइपल्टाइ हेर्यो। सायद उसले ठेगाना खोज्दै थियो। पत्रको बाहिरी खोल थिएन। एकचोटि पट्याएर खल्तीमा राख्न खोज्यो। त्यति नै बेला गल्लीतिरबाट 'क्याम्प बोस' बोलेको आवाज उसको कानमा पर्यो।
त्यसपछि उसले पत्रलाई कच्याक कुचुक पारेर डल्लो बनायो। अनि डस्टबिनमा फ्याँक्यो। र बेड रिप्लेस नगरी ऊ कोठाबाट बाहिरियो।