कोदालोले पाखो खन्दा खन्दा
हातभरि ठेला उठाएर पनि
कोदालीले आली कान्ला ताछेर
रोपाइँको बाउसे गर्दा गर्दा
हँसियाले भीर-पखेराको घाँस काट्दै
डोकोभरि घाँसको भारी बोकेर
उकाली ओराली गर्दा गर्दा
परालको भारी बोकेर गाउँ जाँदा
हलो जुवा बोकेर बेँसी झर्दा
दिनभरि खेतबारी जोत्दा
वर्षभरि लखतरान काम गरेर
महिना दिन पनि खान नपुग्दा
किसानको मन बरु दुखेन होला।
कारखानाभित्र काम गर्दा-गर्दा
लखतरान हुँदै घर डेरा फर्केर
पेटभरि खान नपाएर पनि
मजदुरको मन बरु दुखेन होला
अँध्यारो खानीभित्र निस्सासिएर
अर्कैको लागि खनिज झिक्ने मजदुर
खानीले पुरिएर मर्दा
उसको परिवार रुन पनि पाएन होला।
महिनाभरि बालबच्चा पढाएर
शिक्षकको तलबले गुजारा चलेन
कर्मचारीको न्यून तलबले
आधा महिनाको गुजारा चलेन
फौबन्जारको कृत्रिम महंगीले
उपभोक्ताको जीवन चलेन
कोही कसैले बरु मन दुख्यो भनेन।
तर आज किन हो कुन्नि
उदेक लाग्ने गरी उल्टो भएको छ
घाघडान नेताको मन दुखेको छ
कसैलाइ सत्ताबाट बाहिरिनुले दुखेको छ
कसैलाइ भित्रिन नपाउनुले दुखेको छ
कसैलाइ हैकम गर्न नपाउनुले दुखेको छ
कसैलाइ मान नपुग्नुले दुखेको छ
मन दुख्नु पर्नेको बरु मन बरु दुखेन
नदुख्नु पर्नेको दुखिरहेछ
अनर्थको आर्तनाद रोइरहेछ
आज उल्टै उल्टो भएको छ।
अवान्छित मन दुखाइले बरु
सारा रात रोएको छ
सारा दिन उदासिएको छ
घाम अस्ताएको छ
जून चाउरिएर बिलाएको छ
जगमग तारा बादलले ढाकिएको छ
आज उल्टै उल्टो भएको छ।
अनपेक्षित मन दुखाइले बरु
एकता रोएको छ
अनेकता हाँसेको छ
कार्यकर्ता रोएको छ
विचौलिया हाँसेको छ
इमानदारी रोएको छ
बेइमानी हाँसेको छ
देशभक्ति रोएको छ
राष्ट्रघात हाँसेको छ
अनुशासन रोएको छ
अराजकता हाँसेको छ
सुशासन रोएको छ
कुशासन हाँसेको छ
व्यवस्था रोएको छ
अव्यवस्था हाँसेको छ
आज उल्टै उल्टो भएको छ।