म चरी काठमाडौंको
बसाइ सरी विदेश गएथेँ
फर्कि आउँदा धान झुल्ने गरोमा
घरहरु फलिसकेछन्।
टायले घरका बार्दलीमा
लसुन खुर्सानीका माला सुकाउँथे,
बिजुलीका तार टाँगेछन्।
म चरी काठमाडौंको
बसाइ सरी विदेश गएथेँ
पाटीका दलिनमा रात बिताउँथेँ,
मल बनिसकेछन्
पोखरीका खाल्टाहरुमा
फोहरले सुकिसकेछन्।
म चरी काठमाडौंको
बसाइ सरी विदेश गएथेँ
मानिस भेट्न सहर जानु पर्थ्यो
अहिले गल्ली-गल्लीमा
ठोकिँदै उड्नु परेछ।
अब त मान्छेका अतिक्रमणले होला
मास्क लगाउनु परेछ।
म चरी काठमाडौंको
बसाइ सरी विदेश गएथेँ
फाट्टफुट्ट लुखुर लुखुर हिँड्ने मान्छे
गाडी चढी बाटोमा घन्टौं कुरेछन्
पट्याँस पट्याँस अन्न निफन्ने आमै
मोबाइलमा टिकटक बनाएर बसिछन्।
म चरी काठमाडौंको
बसाइ सरी विदेश गएथेँ
मैले पानी खाने नालाहरुमा
काला बाटाहरु बनिसकेछन्
कलकल बग्ने ढुङ्गे धारा
प्यासले होला प्याक प्याक परेछन्।
म चरी काठमाडौंको
बसाइ सरी विदेश गएथेँ
फर्की आउँदा काठमाडौं प्रलय नै भएछ।