म पनि तिमी जस्तै हुँ
मैले पनि त तिमी जस्तै गरी सास फेरिरहेकी छु
म पनि त रमाउँछु हरेक खुसीहरूमा
अनि मलाई पनि दुःख लाग्छ हरेक पीडाहरूमा
म तिमी जस्तै छु
मानेँ मैले
मेरो शरीरको बनावट
तिमीभन्दा केही फरक अवश्य छ
तर मसँग पनि त तिमी जस्तै एउटा मस्तिष्क छ
तिमी सधैँ नहेर मेरो सौन्दर्यता
अनि नदाज मलाई
ती अति मूल्यवान वस्तुसँग
किनकि
म पनि त तिमी जस्तै हुँ
जब म गगनभन्दा माथि
माथि उड्ने प्रयास गर्नेछु
हो त्यतिबेला
त्यतिबेला तिमी नरोक मलाई
मलाई साथ देऊ
त्यो पनि सक्दैनौ भने तिमी मौन बस
किनकि
मैले तिम्रा हरेक उडानमा तिमीलाई साथ दिएकै हुन्छु
कहिले आमा बनेर
कहिले दिदी/बहिनी बनेर
कहिले छोरी बनेर
कहिले श्रीमती बनेर
अनि सधैँ तिम्रो असल साथी बनेर
कहिले मौन रहेर
म पनि तिमी जस्तै हुँ
तिमी मलाई कहिल्यै पनि पैरनको
हिसाबले मूल्यांकन नगर
तिमी मलाई मात्र आफ्नो रगतको
नाताले सम्मान नगर
म पनि त तिमी जस्तै हुँ
म सुन्दरताभन्दा पर
धेरै पर जान चाहन्छु
जहाँ सम्मान होस् मेरो विचारहरूको
जहाँ मूल्यांकन होस् मेरो बौद्धिकताको
हो, म पनि त तिमी जस्तै हुँ
म पनि पुग्न चाहन्छु ती उचाइमा
अनि भुल्न चाहन्छु ती तिमीले
मेरा लागि कोरेका सीमा रेखा
म स्वतन्त्रता चाहन्छु
हो, म पनि तिमी जस्तै हुँ
म उड्न चाहन्छु।