प्रतिभा र सुशिला साथी हुन्। उनीहरु एकदिन छिमेकमै रहेकी अर्की साथी सुमीलाई भेट्न उसको घरमै पुग्छन्। पुरानो साथी भएकाले आफ्ना कुरा सुनाउन सुमी आतुर थिई।
सुमीको एउटा छोरा थियो, आरोहण। निकै पीडा भोग्नु परेकोले उनको अनुहारमा निराश बाहेक प्रतिभाले केही देखिन। साथी भेट्न आतुर थिई। तर उसको दुःख सम्झिँदा कालो बादलले ढाकेको अनुहार कसरी हेर्ने भन्ने प्रतिभालाई चिन्ता थियो।
सुमी कलिलो उमेरमै एक्लो हुँदा उनको कथा प्रतिभाका लागि पिल्सिएको मकै जस्तै भएको थियो। प्रतिभा कुरा सुन्छु भनि सुमीको घरमा पुगेकी थिई। सुमीको मनमा गुम्सिएका कुरा बाहिर निकाल्न सकेपनि केही हदसम्म मल्हम लगाउन सक्छु कि भन्ने प्रतिभाले सोची।
कलिलो उमेरमा एकल हुन पर्दाको पीडा सायद पर्नेलाई भन्दा बढी कसलाई थाहा होला र? उनको नजिक प्रतिभा गई।
सुमीले भन्दै थिई, 'आज मेरो मन भारी भएको छ। संसार नै उजाड अनि एक्लो महसुस हुँदैछ। किन-किन नर्कमै होस बरु मर्न मन लागेको छ।'
सुमीको कुराले मन नै भारी बनाइदियो प्रतिभाको। ऊ केही बोल्नै सकिन। मात्र उसको कुरा सुनिरही।
'घरमा सकारात्मक कुरा कोहीसँग हुँदैन। बुढाले संसार छोडेको नि निकै वर्ष भयो। आजसम्म मलाई कसैले के गर्दैछस् भनेर नि प्रश्न नसोध्दा नाम मात्रको नाता रहेछ लाग्छ।'
सुमीको कुराले उसको मन उथलपुथल भयो। न त सुमीलाई सहयोग गर्छु भन्न सकी न त म छु भन्न नै सकी। सुमीको वेदनाले प्रतिभाको अनुहार धमिलिएको थियो। प्रतिभाले यति मात्र भनि, 'पिर नगर, बच्चा ठूलो भएपछि सबै बुझ्छ अनि एकदिन सुखको दिन आउँछ।'
तर सुमीलाई विश्वास सबै उठिसकेको थियो। त्यो दिन उसलाई मरेपछि मात्र सम्भव लाग्छ।
कुराकानी चल्दै थियो-
सुमीः हेर प्रतिभा, मैले जीवनमा दुःख बाहेक केही पाउन सकिनँ। खै! भाग्यले किन ठगेको मलाई? बिहे गर्दिनँ भन्दा नि बुवा-आमालाई बोझ भयो भनी बिहे गरीदिनु भयो। डिग्री पास गरेपछि बिहे गर्ने सोच थियो।
प्रतिभाः त्यसपछि तिमीले गर्दिनँ भनेनौ त?
सुमीः बढेको छोरी समाजले कुरा काट्छ रे! उमेरमै बिहे नगरे बुढीकन्या भइ भन्छन् रे! त्यसैले बुवा-आमाको खुसीको लागि गरेँ।
प्रतिभाः अनि त्यसपछि के-के भयो त? सुनाऊ न तिम्रो केही गर्न नसके पनि तिम्रा कुरा सुन्न सक्छु
सुमीः हेर, जीवनका सुख त आकाशकै फल थिए मेरा लागि, बिहे गरेँ तर बच्चा एक महिना नहुँदै पेटमा बस्यो। अनि कसरी बुझुन् बुढाको बानी! दिनदिनै गाह्रो हुँदै थियो, खान नरुच्ने, बान्ता आउने। आफैलाई सन्चो नभएपछि अरुसँग राम्ररी कसरी संचार गर्न सक्थे जब कसैलाई चिनेकै छैन? बिहे भएको दुई महिनापछि थाहा भयो कि श्रीमान् रक्सी खानु हुँदो रहेछ। अचम्म परेँ जबकि रक्सीको स्वाद कस्तो मलाई थाहा थिएन।
दिनदिनै हद बढ्दै थियो। न उहाँलाई मेरो चिन्ता थियो न त समयमा घर जानुपर्छ भन्ने हेक्का। एक्लो महसुस भइरहेको थियो। अनि एकदिन दिदीले फोन गर्नुभयो 'के छ नयाँ परिवार? ज्वाइँ कस्ता छन्? मुटु फुट्ला झैँ भयो, धेरैबेर रोएँ फोनमा तर दिदीलाई लाग्यो उहाँहरुको याद आएर होला। मन यति पिल्सिएको थियो कि कुरै छोड।
प्रतिभाः श्रीमानलाई सम्झाएनौ त?
सुमीः कति सम्झाउनु? खान्न भोलिदेखि भन्नुहुन्थ्यो फेरि बेलुका अफिसबाट फर्किँदा त्यही पारामा आउनु हुन्थ्यो। सबैबाट विस्तारै थाहा भयो, उहाँको बानी त धेरै अघिदेखि थियो र बिहे हुनु अगाडि यसो छोडेको रे!
प्रतिभाः त्यसपछि?
सुमीः बच्चा जन्माउने दिन आउँदै थियो। धर्तीले साथ छोडे झैँ मेरा हातखुट्टाले पनि छोड्दै थिए तर बच्चा सकुशल जन्मियो। रक्सी खाने दर बढ्दै गयो। दिनरात तनाव भयो। आज कुन दिनको पाप बोकेको रहेछु भनी सहेर बसेँ। माइतमा पनि कसैलाई केही भनिनँ। मेरा आँखामा आँसु ओभानो कहिल्यै भएन।
केही समय पश्चात उहाँको बानी अलिकति परिवर्तन हुँदै गयो। तर, एकदिन उहाँको साथीभाइ सबै बसेर कोठा बाहिर रक्सी खानुभयो। त्यतिबेला हाम्रो बच्चा जम्मा ६ महिनाको थियो। 'अर्को जागिर खोज्न मान्छे भेट्छु' भन्नुभयो।
खाएको बेला बाइक चलाउनु हुँदैन भनेर दबाब दिँदा पनि नसुनी हिँड्नुभयो। केही समयमा नै फोनको घण्टी बज्यो। आत्तिएर फोन उठाएँ, पुलिसले फोनमा भने- 'यहाँ दुर्घटना भएको छ। तपाईंको को पर्छ? आउनुस्।' छाँगाबाट खसे झैँ भएँ।
प्रतिभाः ओहो! कति दुःखका साथ बच्चा हुर्काउनु भयो होला। आज तपाईंको बच्चा १० वर्ष भइसकेछ। तपाईंलाई मेरो सलाम छ। जागिर नहुँदा कसरी खर्च जुटाउनु भयो?
सुमीः यस्ता पीडा त कति छन् कति, एकदिन बसेर सुनाउँला ल? हिजो मेरो बच्चाले सोध्यो, 'तपाईं घरीघरी छोडेर जान्छु, दुःख दिइस् भन्नुहुन्छ। बिहे गरेर गएपछि मलाई छोडिदिनु हुन्छ? अनि अर्को बुढाले तपाईंलाई पिट्यो भने अनि मलाई पनि गाली गर्यो भनी के गर्नु हुन्छ ममी? छोड्न नि मिल्दैन बिहेपछि, बिहे गरेपछि मलाई भुल्नु हुन्छ?'
उसको प्रश्नको जवाफ मसँग थिएन। कहीँ जान्न तिमीलाई छोडि भनेँ तर उसलाई विश्वास नै थिएन। 'मेरो बाबा कहिल्यै देखाउनु भएन किन? अर्को बिहे गरेपछि अर्को बच्चा हुन्छ अनि त्यसलाई माया गर्नुहुन्छ।' गर्दिनँ भन्दा नि उसलाई आमाप्रति विश्वास लागेन।
पछि फेरि भन्यो 'जानू न त छोडेर।' मैले बाबुलाई भनेँ 'तिमीलाई गए हुन्थ्यो झैँ भएको छ?' 'अनि तपाईं खालि जान्छु भन्नुहुन्छ' उसले भन्यो। मैले भनेँ 'तनाव धेरै छ नि मलाई, तिमी बुझ्दैनौँ अनि भन्न मन लाग्छ।'
प्रतिभाः त्यसपछि के भन्यो त हजूरको बच्चाले?
सुमीः बाबुले भन्यो, 'किन ममी मलाई बाबाले छोड्नु भएको? सबैले बाबा भन्दा मेरो छैन किन? कहिल्यै बाबाको फोटो पनि देखाउनु भएन। अर्को बिहे गर्नुभयो भनी माया गर्नुहुन्न होला अर्को बाबाले?'
मैले छोरालाई भनेँ, 'जहाँ म जान्छु तिमीलाई साथमै लान्छु पिर नगर। म छु जीवनभर तिम्रो, साथमा कोही नहोस् जीवनभर तिम्रो आमा तिमीसँगै हुन्छे। जति दुःख परेपनि तिमीलाई दुःख दिन्न।' यति भनेपछि बाबु अंगालो हालेर रुनसम्म रोयो।
मैले उसलाई सम्झाउँदै भनेँ, 'तिम्रो साथमा म छु, पिर नगर बाबु।' बच्चाको मनका धेरै प्रश्न हुन्छन् तर अभिभावकले सही उतर नदिएमा उनीहरुमा शंका बढ्ने रहेछ। उनीहरुलाई बुझाउन सकिएन समयमा भने मानसिक बिरामी पनि हुनसक्छ भन्ने विचार आयो।
सुमीले आफ्नो छोरालाई सबै नालीबेली भनी। सुमीको छोराको अनुहार बलेको आगो सरी उसको रिस अनि मनको वेदना एकैचोटि आँसुका ढिकासँगै मनमा उर्लिएका शब्दसँग पोखिँदै थिए। सुमीको भनाइबाट प्रष्ट बुझिन्थ्यो।
सुमीले भनी, 'प्रतिभा, जीवन यही रहेछ। जति पीडा होस, परिवारका सदस्यले कुरा सुनिदिए अनि यसको कोही छैन भनी मिठो बोलिदिए नि जीवनमा अरु नभए पनि परिवारका सदस्यले माया गर्छन् भन्ने लाग्थ्यो होला। त्यो पनि पाइनँ। किन-किन सानो जागिरले बच्चाको आफनो र्खच पुर्याउन नि सकेको छैन।
जसलाई पर्यो त्यसले नै भोग्ने रहेछ, न बाबा-आमा न कोही। बाल्यकालमा कठै मेरो बच्चा भनी लडेको बेला हात समाउने बाबा-आमाले पनि ठूलो भएपछि त हात छोड्ने रहेछन्। आज थाहा पाउँदै छु। पहिला मलाई मात्र जीवनमा दुःख परे झैँ लाग्थ्यो। दाजुभाइ, दिदीबहिनी पनि साथ नहुने।
सानो हुँदा त्यो माया, त्यो संरक्षण त आज अपरिचित नाता जस्तो लाग्न थाल्यो। साँच्ची नै मर्नेबेला श्रद्धाञ्जली दिनका लागि मात्र आफन्त हुन् त? बुझ्दै गएँ आजभोलि एउटा न एउटा पीडा नभएको मान्छे को होला र जस्तो लाग्छ। मेरो ठाउँमा श्रीमान् बाचेको भए बिहे गरी आफनै संसारमा बाचेको हुन्थे होला। तर नेपाली समाजमा खुलेर हिँड्न पनि डर रहेछ।'
केही समय उनीहरुको कुरामा ध्यान दिइ सुनिरहेँ। अनि मात्रै कथा लेख्नका लागि हात अगाडि बढ्यो। प्रतिभा र सुमीका कुराबाट कसैलाई प्रेरणा र हौसला मिलोस्। सुमी तिमी बहादुर छौ, सलाम गर्छु म तिमी र तिमी जस्तै पीडामा परेका हरेक आमालाई जसले आफ्नो खुसी लुकाइ पानी बिनाको माछा सरी आफ्नो जीवन काँडा र खुकुरीको धारमा टेकेर बच्चाको खुसीमा बाचे।
यति भन्न चाहन्छु हरेक परिवारका सदस्यलाई, समय जस्तो आएपनि जसलाई दुःख पर्दा पनि कहिल्यै हात नछोडौँ। सकेको आफनो तर्फबाट सहयोग र कुरा सुनिदियौँ भने केही हदसम्म मानसिक र शारीरीक रुपमा स्वस्थ बनाउन र मानसिक समस्याबाट टाढा रहन मद्दत पुग्दछ।
सही समयमा बालबालिकाको भावना बुझ्न नसक्दा मनोसामाजिक समस्या देखिन सक्छ। त्यसैले हरेक परिस्थितिलाई स्वीकार गरी बालबालिकाको भावनाको कदर र माया दिन सकेमा उनीहरुको हेरचाह र सक्षम बनाउन बाबा होस या आमा, उनीहरुको ठूलो हात रहेको हुन्छ।