उर्वर भूमिमा
छरिन्छ बिउ
आकाश तर्फ उम्रिने
र धरतीको गर्भमा अझै भित्र घुस्रिने
बराबर अवसर हुन्छ बिउलाई
एकातिर
जो जान्छ गहिराइमा
थेग्छ उसले सम्पूर्ण बोटको भार
पुर्याउँछ जीवनामृत नसा-नसामा
अनि भरिरहन्छ प्राण निरन्तर
अर्कातिर
जो लम्कन्छ उचाइतिर
लिन्छ उसले विभिन्न रूप
लहराउँछ पात, फूल अनि फल
अनि थामिरहन्छ सम्पूर्ण भार
अन्धकारमै सही
फैलिरहन्छ चारैतिर जरा
बन्दै आफू मजबुत
र पुर्याइरहन्छ काण्ड, पात, फूल अनि फललाई
निस्फिक्री हावामा तैरिरहने शक्ति
उज्यालोमा यता
झुलिरहन्छ एकनाससँग बोट
दिँदै सारालाइ प्राण
र बनाइरहन्छ सुन्दर वातावरणलाई
नित्य निरन्तर मनमोहक
तिमीलाई थाहा छ
यहाँ अनगिन्ती बिउहरू
उम्रन नपाउँदै कुहिएर जान्छन्
घामको स्पर्श नपाएरै मरी जान्छन्
हावा र पानी नछुँदै सकिन्छन्
बिन्ती गर्छु
तिमी जहिल्यै हराभरा भएर बस्ने नसोचिदेऊ
मौसमअनुसार चल्ने गर
छैन अब बारम्बार
मलाई लेख्ने रहर
भुइँमा झरेर,
तिम्रो छायामा परेर
उम्रिन नसकेकाहरूको कथा
जरा बिर्सिएर
शिर निहुर्याएर
अन्धकारमै जिउनेहरूको व्यथा।