कतै दूर भागेर जाला कि भनी
स्नेहले समेटेकी थिएँ
जीवनमाथि टेकेर अघि बढिरहने हरेक क्षणहरू।
एकोहोरो टोलाइरहेकी मलाई
मस्तिष्कको सन्दुकबाट सुटुक्क निस्किएर
विचारले– सृष्टिको प्रत्येक संघार टेक्न हिँड भन्यो इशाराले ।
एक–एक गरी ब्रह्माण्ड देखाउन
क्षितिजको काँधमा घाम नाच्नु पहिले नै
म भन्दा छिटो बिउँझिएर अघि लागे आँखाका नानीहरू...।
म हिँडे यात्रामा...
कहाँ–कहाँबाट बग्दै आएर हावाले
कानमा सुस्तरी बयान गर्यो यो सृष्टिको ।
अघि बढेँ म,
दलिनका दुबै छेउ कलश राखेर
साइत पर्खिरहेका पाइतालाहरूले –
सृष्टि छोएर उसको मर्मभेदीहरू
हृदयले बुझ्नु भन्यो मलाई
उसै बखत भन्यो–
अगाडि बाटाहरूमा भीरहरू छन्
पहिराहरू छन्, जोगिएर जानु भन्दै
गोडाहरूले अनवरत हिँडाए जीवनको गोरेटो ...।
एकदिन,
बादलका कपास बटुलेर
हातहरूले बुने प्रेमको न्यानो गलबन्दी
नदीका कल– कल धुनहरू
पछ्याउँदै–पछ्याउँदै कानले सुनाए
सत्य बाणीका ध्वनि तरंगहरू
श्वासले सुस्तरी संवादमा बयान ग¥यो
यो सुन्दर सृष्टिको ।
साँझहरूका गर्भमा उज्यालो बटुलेर
सागरले जीवनको मधुर किरण देखाउँदै
पहाडका हृदय भिजाएर
गुलाबी ओठहरू खोल्दै
स्वागत गर्यो मलाई सृष्टिको अर्को बिहानीले ।
एक युग बाँचेको स–शरिर हेरें मैले आफैँलाई...
धन्यवाद छ,
मलाई गति दिने मेरा प्रत्येक अंगहरूलाई...
तिमीलाई मेरो यो जीवन समर्पण गर्न चाहन्छु ।