पसिनाको मूल्य के थाहा हुन्छ र देशको खोला नालाहरु बेचेर खानेहरुलाई ।
पसिनाको मूल्य त थाहा हुन्छ काली र सेतीबाट ढुँगा बालुवा बोक्नेहरुलाई ।।
पसिनाको मूल्य के थाहा हुन्छ र नेता बनेर देशको ढिकुटी सिध्याउनेहरुलाई ।
पसिनाको मूल्य त थाहा हुन्छ खाडी मुलुकमा दिन रात पसिना बगाउनेलाई ।।
पसिनाको मूल्य के थाहा हुन्छ र सरकारी कुर्सीमा कोट झुण्ड्याई हिंड्नेलाई ।
पसिनाको मूल्य त थाहा हुन्छ देशको विकास हुन्छ कि भनेर कर तिर्नेहरुलाई ।।
पसिनाको मूल्य के थाहा हुन्छ र धान फल्ने खेतमा घर बनाएर बस्नेहरुलाई ।
पसिनाको मूल्य त थाहा हुन्छ बाँझो खेत जोतेर कोदो मकै फलाउने लाई ।।
पसिनाको मूल्य के थाहा हुन्छ र शहरमा पोके दूध र घ्यू किनेर खानेहरुलाई ।
पसिनाको मूल्य त थाहा हुन्छ गाई भैंसी पालेर दूध र घ्यू उत्पादन गर्नेलाई ।।
पसिनाको मूल्य के थाहा हुन्छ र नेता भएर खोक्रो भाषण गर्दै हिँड्नेहरुलाई ।
पसिनाको मूल्य त थाहा हुन्छ गाउँ गाउँमा गै विद्यार्थी पढाउने शिक्षकलाई ।।
पसिनाको मूल्य के थाहा हुन्छ र सडकमा सवारी गुडाउँदै मौज गर्नेहरुलाई ।
पसिनाको मूल्य त थाहा हुन्छ ढुँगा गिटी कुटेर भीरमा बाटो बनाउनेहरुलाई ।।
पसिनाको मूल्य के थाहा हुन्छ र बिजुली बाली मोबाईल र टिभी हेर्नेहरुलाई ।
पसिनाको मूल्य त थाहा हुन्छ हाड्रो पावरको सुरुङ्ग बनाई बत्ती निकाल्नेलाई ।।
पसिनाको मूल्य के थाहा हुन्छ र प्रवेश आज्ञा लिएर देश विदेश डुल्नेहरुलाई ।
पसिनाको मूल्य त थाहा हुन्छ जाडो र गर्मीमा देशको सिमा रक्षा गर्नेहरुलाई ।।
पसिनाको मूल्य के थाहा हुन्छ र कुरै नबुझी नेताको पछि हिड्ने जनतालाई ।
पसिनाको मूल्य त थाहा हुन्छ डुब्ने देशलाई भुमरीबाट निकाल्ने नेतालाई ।।