'ओहो! कति गरुङ्गो भएछ यो लगेज उचल्नै नसकिने। कति किनेछु हौ सामान पनि! उफ्,' दुई वटा सुटकेस, एउटा ह्यान्ड लगेज अनि एउटा ल्यापटप ब्याग लतार्दै इम्मिग्रेसन चेकिङबाट बाहिर निस्किँदै छु म।
आहा! फाइनल्ली नेपाल आइपुगेँ है। दुई वर्ष नर्वेको पढाइ सकि आफ्नो देश फर्किँदाको खुसी कसरी बयान गरुँ म खै! खुसीले गद्गद हुँदै बुद्ध एयरको टिकेट लिएँ भरतपुर एयरपोर्टको लागि। दिउँसो २ बजेको मात्र टिकेट पाएँ, बल्ल ११ बज्दै छ। अब के गरेर टाइम पास गर्ने होला।
घर फोन गरूँ, सरप्राइज दिनको लागि भोलि आउँछु भनेर आजको फ्लाइटमा आएको छु। धन्न मोबाइलमा एउटा फिल्म डाउनलोड गरेको रहेछु कहिले, अब त्यही हेरेर भएको समय कटाउन पर्यो त नि। फिल्म हेर्दाहेर्दै समय बितेको पत्तै भएन, धन्न अलार्म राखेको थिएँ १:४५ को र झसंग भएँ। त्यसपछि फेरि भएजति पोको पुन्तुरो घिसार्दै गएँ प्लेन चढ्न।
कति भिड हो बरै! दशैँको बेला भएर होला। आफूलाई कसैले नाचिने नि हुन्थ्यो भनेर मास्क र चस्माले पूरै नचिनिने गरी बसेँ। २ बजे उड्ने भनेको प्लेन बल्ल बल्ल २:३० मा उड्यो। झ्यालको सिट परेछ झन् दामी भयो, बाहिरको सिन हेर्दाहेर्दै कति चाँडो ल्यान्डिङ भएछ पत्तै भएन।
प्लेनको पांग्राले भुइँ छुँदा प्लेन हल्लिँदा बल्ल भरतपुर एयरपोर्ट आएको थाहा पाएँ। फेरि प्लेनबाट ओर्लेर लगेज घिसार्दै बाहिर निस्किएँ। एउटा अटोलाई रोकेर दाइ 'प्रेरणा स्कुलसम्म जान थियो कति लिनुहुन्छ?' भनेको त, मेरो लगेज हेरेर '५००' अरे!
त्यसका बाजे, ट्याक्सीको भाडाभन्दा नि चर्को भन्दिनी यार! 'भयो दाइ, मैले काठमाडौँ जाने भन्या हैन भर्खर त्यहीबाट आको' भनेको त्यो दाइले हाँस्दै 'कति दिनुहुन्छ त?' भने।
मैले 'दाइ भाडा त ५०-६० होला तर सामान बढी छ १५० दिन्छु नि' भनें। ती दाइ फेरि 'बहिनी २०० देउ न दशैँको बेला अलि अलि खर्च पनि हुन्छ नि' भन्नुभयो। मैले नि मनमनै लौ गरिखाऊ तनि भनेर 'ल दाइ हुन्छ त नि' भनेर सामान सबै राखेर चढें।
बा! कति चेन्ज भएछ बाटो त। चौबिसकोठी हुँदै मालपोतको बाटो लैजाँदा पहिला कलेज जाँदा हिँडेको सबै मेमोरिजहरुले नोस्टाल्जिक फिलिङ दिँदै थियो। जब अटो चोकबाट घरको बाटो मोडियो, मुटु ढुकढुक हुन थाल्यो।
ला! घर त आउन लाग्यो, बाबा-ममीको के रियाक्सन आउने होला, गाली गर्नुहुन्छ होला ढाँटेर आको भनेर! जे होला होला भन्दाभन्दै अटो घरको गेट अगाडि रोकियो। त्यो दाइले सबै सामान गेट भित्र राखिदिनु भयो।
त्यतिकैमा भाइ 'बाहिर को आएछ?' भन्दै माथि बरन्डामा आइपुग्यो। मलाई देख्नासाथ त्यो त चिच्याउन पो थाल्यो। 'ओ! ममी दिदी आई। ममी दिदी आइसकिछे हेर्नु त भन्दै नभनी। ओ! ममी हेर्न आउनु न भन्या साँच्चै हो।'
म तलबाट हाँस्दै, 'अँ के अँ म आएँ, २०० रुपैयाँ लिएर आइज त, यो दाइलाइ भाडा दिन पर्यो' भन्दै कराउन लागेँ। त्यतिकैमा ममी पनि बाहिर बरन्डामा निस्किनु भयो र मलाई हेरेर मुसुक्क हाँस्नु भयो।
म तलबाट ममीलाई जिस्काउँदै 'बुढीमाउ, छोरी आइ भनेर मक्ख परिछौ त, आउनु ह्या तल सामान बोक्नालाई' भन्देको ममी 'नक्कली' भन्दै भित्र पस्नुभयो। एकछिनमा भाइ र ममी तल आउनुभयो।
भाइ हाँस्दै 'ओहो! हाम्रो दिदी त पूरै विदेशी जस्तो देख्खेकी छे हेर्नु त ममी' भन्यो। मैले 'विदेशबाट आएको अनि विदेशी जस्तो नदेखिए कस्तो देखिनु त?' भनें। बाबा पनि पछाडि पछाडि आउँदै हुनुहुन्थ्यो। ममीलाई भेट्नासाथ हाँस्दै बुढीमाउ भनेर ग्वाम्मै अंगालो हालेँ।
अंगालो हाल्ने बित्तिकै खै के भयो म त रुन पो थालेछु। बाबाले पछाडिबाट 'ए नानी, नरोऊ त' भन्नुभाको के थियो बाबालाई अंगालो हालेर झन् डाँको छोडेर रुन थालेँ। सायद यसरी पहिला कहिले अंगालो हालेर रोएको थिइनँ म बाबासँग। झन् म नर्वे जाँदा मलाई उडाउन आउन पाउनु भएको थिएन एक्सिडेन्ट भएर।
त्यही भएर नि होला मलाई सम्झाउँदै बाबा पनि रुन थाल्नुभयो। २ मिनेटसम्म बाउछोरीको रोनाधोना चलिराख्यो। ममी र भाइले नरुनु त दुई जना, खुसीको बेला नि के रोइराको भनेसी दुवै रुन बन्द गरेर आँसु पुछ्दै यताउता हेरेको त सबै छिमेकी त के भयो भनेर हेरिराख्या रैछन्।
पब्लिक बेइज्जत, सुनिता अन्टी पनि आउनु भएको रैछ। बारीबाट साग टिप्दाटिप्दै के भएछ भनेर आउनु भएको रहेछ। अन्टी नि सुक्कसुक्क गरीराख्नु भएको थियो। मैले 'सुनिता अन्टी' भन्दै उहाँलाई नि अंगालो हालेँ। अनि बाहिर हुनुभएको सबैलाई नमस्कार गरेर हामी सबै भित्र छिर्यौं।
ओहो! आमा र ठूल्काका सबैजना आउनु भएको रहेछ। मलाई लिन भोलि काठमाडौँ ‘को’ जाने भनेर सल्लाह हुँदै रहेछ। मलाई देखेर आमा खुसी हुँदै 'मेरी जेठी नातिनी आइ' भन्दै ग्वाम्मै अंगालो हालेर रुनुभयो। आमा र म रोको देखेर फेरि सबैको आँखा रसायो, फेरि घरमा सेन्टी सिच्वेसन। पछि सबैले खुसीको बेला रुनु हुन्न भनेर सम्झाएपछि हामी आँसु पुछेर कोठामा बसेम्।
ममीले पानी ल्याउनु भयो अनि पानीको ग्लास हातमा थमाउँदै 'अब नफर्किने गरी आएको होला नि हैन?' भनेर सोध्नु भयो। मैले केही जवाफ नदिइ टाउको मात्र हल्लाएर पानी पिएँ। ठूल्काका फेरि 'अब यसले माछाको अस्पताल खोल्छे अनि माछाको डाक्टर बनेर बस्छे, जान्न अब कतै' भन्नुभयो।
बाबाले पनि थप्दै भन्नुभयो 'अब नानीले लोकसेवामा नाम निकाल्छे अनि ढोका बाहिर ‘अनुशा लामिछाने भित्र बाहिर नाम प्लेट’ राखेर सरकारी जागिर खान्छे।'
भाइ फेरि जान्ने पल्टेर 'हैन, रामपुरमा टिचर बन्छे अनि विद्यार्थी कुट्दै पढाउँछे हाम्री दिदीले' भन्दै हाँस्यो।
सबैको कुरा सुनेर म आफै अक्क न प्याक्क थिएँ। मलाई नै थाहा छैन म के गरूँ भनेर। लोकसेवा अनि रामपुर कलेजले अनुशा नर्वेबाट फर्की अब सिट खुलाउन पर्यो भन्दैन। फर्केर जाम उता पनि के हुने फिक्स छैन।
यताउता कुरा गर्दै म सुटकेस खोलेर सामान निकाल्दै, सबैलाई गिफ्ट दिंदै थिएँ। आमा फेरि कताबाट आएर एक्कासी 'यो साल त अब यसको बिहे गर्दिन पर्छ, केटा छ कि हामीले खोज्दिन पर्छ?' रे। भो त अब भनेर मैले नि 'भर्खर आकी नातिनीलाई लखेट्न कति हतार भाको' भन्दै आँखा तरेर जवाफ दिएँ।
आमाले 'उमेर भैसक्यो त अब, सँगैका साथीहरु बिहे गरेर बच्चा पाएर बसिसके, तँ चाँहि बिहे नगरी बस्। त्यो सालमा जन्मेकी जेठी तैं हो, तेरै मात्र बिहे हुन बाँकी छ' अरे!
'हे भगवान! अब तिनीहरुको बिहे बच्चा भो भनेर मैले नि गर्न पर्छ भनेर कुन शास्त्रमा लेखेको छ हौ' मैले रिसाएर जवाफ दिएँ।
सुनिता अन्टी फेरि 'नानी म त तिम्रो बिहेमा रुन्छु होला बेस्सरी, नराम्रो लागेर। अहिले सम्झिँदा नि कस्तो नमज्जा लाग्छ बाइ नानी' अरे!
'हरे भगवान! आउन पाको छैन, लखेटेर पठाउन पो लागे त हौ, बेकार आएछु' भनेर मनमनै सोच्दै थिएँ एक्कासी कसैले बाहिरबाट ‘अनुशा! अनुशा!’ भनेको सुनें।
राम्ररी सुनेको त पुष्पाले बोलाकी रहिछे। हैन यो कहाँबाट आइ, यो त नर्वेमै थिई त भन्दै थिएँ, झसंग झस्किएँ। पुष्पाले मलाई उठाउन आकी रहिछे मेरो कोठामा। 'तेरो आज काम ट्रायलमा बोलाएको हैन? ढिला भएन तँलाई, उठ् छिटो' भन्दा पो 'ला! सपना पो रहेछ' भन्ने भयो।
त्यसपछि हत्त न पत्त खाटबाट उठेर मुखसुख धोएर फ्रीजबाट पाउरोटी र जाम झिकेर हातमा बोकि दौडिएँ ट्रेन स्टेशन तिर त्यो मिठो सपनी पूरा गर्न।