ए एउटा वीर सपुत जन्माउन नसक्नेहरू हो!
विदेशको कोट ओडेर राष्ट्रवादको गीत गाउँदैछौ ।।
सन्तानलाई यहीं नपढाई विदेश पढ्न पठाउनेहरु ।
जनताका छोराछोरीलाई राष्ट्रवादको पाठ पढाउँछौ ?
जनताको दुःख नदेख्ने सत्ता र भत्तापछि लाग्नेहरु ।
बाढी पहिरोमा परि राहतको भरमा बाँच्नेलाई हेर ।।
दल र सत्ताको झगडामा सधैं अलमलिने नेताहरु ।
दुई छाक जनताले कसरी टारेका छन गएर त हेर ।।
दलको झै–झगडाको माकुरे जालमा अल्झिएकाहरु ।।
भूकम्प र बाढीपीडितका राहत पर्खेर बसेकालाई हेर ।
मन्त्रीको लिगलिगे दौडमा बालुवाटार जाने नेताहरु ।
सत्ताको खिचातानी छाड, सिंहदरबार बाहिर त हेर ।।
जनताको पसीना र रगतबाट जन्मेका रक्तबीजहरु ।
परदेशमा हैन् स्वदेशमै यी युवालाई बाँच्न सिकाउ ।।
युरोप, अमेरिका र खाडी मुलुकमा गएर मर्न होईन् ।
हाम्रै माटोमा हातका नंग्रा खियाउँदै बाँच्न सिकाउ ।।
अरुको रगत बगाएर देशमा क्रान्ति ल्याउने नेताहरु ।
एकपल्ट आफ्नै रगत दिएर शहीद भएर त देखाउ ।।
ललिता निवासको जग्गामा गिद्धे दृष्टि राख्ने नेताहरु ।
लिपुलेक र लिम्पयाधुरामा गएर घर बनाएर देखाउ ।।
भोट माग्ने बेलामा मात्र जनताको घरमा जाने हैन ।
विपदमा उनको घरमा पुगेर रसाएका आँखा त हेर ।।
आफ्नो ड्वाम्म परेको त्यो भुँडी मुसमुसाउन् छाड ।
दुःखी जनताले के खाए होला उनको पेट छामी हेर ।।
राष्ट्रियताको कुरामा तैं चुप मैं चुप भएर बस्नेहरू ।
यो जनतालाई झुक्याएर देशलाई खाल्टोमा नहाल ।।
झण्डा बोकेर हिंडेका कार्यकर्ताहरुलाई मात्र नहेर ।
हाम्रा भन्दा राम्रा कार्य गर्नेलाई पनि अजमाएर हेर ।।
देशको सिमानाको कुरा आउँदा चुप लागेर बस्नेहरु ।
सोध बलभद्रलाई नेपालको सिमाना कहाँ सम्म छ ।।
इतिहास पल्टाएरु हेर महाकालीको मुहान कहाँ छ ।
देशको लागि मर्ने गोर्खाली पुर्खाको चिहान कहाँ छ ।।
सच्चाईको पोखरीमा डुबी कसम खाएका अधर्मीहरु ।
सम्झेर आमाको दुधको भारा यो आमालाई बचाउ ।।
सुकिला मुकिला लुगा लगाएर मह चाट्दै हिंड्नेहरु ।
नुनै चाट्न नपाएका र भट्ट टोक्दै ढिंढो खानेलाई हेर ।।
प्रजातन्त्र, गणतन्त्र आयो भन्छन् उनकै हाली मुहाली ।
रामराज के आउला यहाँ ,चारैतिर छ उनकै जाली ।।
राजतन्त्र फाली अनेक वादका मिठा सपनाहरु देखाए ।
जनताले न सुख–शान्ति न मौलिकवादकै स्वाद पाए ।।
जनताले खोई के पाए ? सबैत नेताहरुलाई नै रहेछ ।
भन्ने मात्र प्रजातन्त्र र गणतन्त्र यहाँ त लुटतन्त्र रहेछ ।।
जनतालाई धेरै नगिज्याउ अझैत जनताले सहेकै छ ।
नत्र आउला जंगे कुनैदिन सबलाई शुलीमा चढाउँछ ।।
युवा जति खाडीमा र अरु मुलुकमा हिरा भएर गए ।
के गरे नेताले ? जब ति बाकसमा माटो भएर आए ।।
बाख्रा भैंसी पाल्ने र पाखुरा सुर्कनेहरु यहाँ नेता भए ।
जनता भोकै भए, तर गाईजात्रे नेताहरु अगाएरै गए ।।