माथि थियो तुइन, तल थियो खोला
पापीले लट्ठा खुस्काए, कहाँ पुग्यौ होला?
परदेश जाँदै थियौ होला केही पैसा कमाउन
अरबौँ गाडीमा खर्चनेले सकेनन् पुल बनाउन।
तर्दै गर्दा तुइन प्रकृतिमा विलीन भयौ
मान्छे भएर जन्मियौ, मान्छे भएर नै गयौ।
बाँचेर नि मान्छे जब भित्रबाट मर्दो रैछ
मान्छेले नै मान्छेलाई यतिसम्म गर्दो रैछ।
भेट्छन् जब परिवार, पोल्छ होला तिनलाई पनि
भेट्ने छैन कसैले आफ्नो परिवार कहिल्यै भनि।
एउटा मान्छे डुब्दा, उसको सपना नि डुब्दो रैछ
कहाँ हिँडेको मान्छे आखिर कहाँ फेरि पुग्दो रैछ।
देश ठूलो हुन्छ न त क्षेत्र न त धनले
देश ठूलो हुन्छ न्याय गर्न सक्ने मनले।
गल्ती जसले गर्यो, उसलाई सजाय होस्
मेरो भन्नु यति नै हो,
जयसिंह धामीलाई न्याय मिलोस्।