लस्कर सेता, हिमाल चुली, दक्षिण फर्केर
हेर्दछन् तल, सुनौला फाँट, रसिला उर्वर।
हिमका ढिका, पग्लेर बग्छन्, पाखा र कन्दरा
मधुर ताल, मृदुल ध्वनि, ऊर्जाका जुहार।
कर्म हो धन, पवित्र मन, पाखुरा साधन
उर्वर माटो, पसिना मल, मनको कमान।
सिद्धान्त निष्ठा, प्रमुख मन्त्र, गीताको वचन
कर्मण्ये वाधि कारस्ते मा फलेषु कदाचन।
( कर्ममा हक, मान्छेको हुन्छ, फलमा हुँदैन )
बिहानी झुल्का, रक्तिम लाली, शैलमा ठोकिँदा
थालेको काम, सकिन्न घाम, क्षितिजमा पोखिँदा।
श्रमको फल, पुग्दैन तर, टर्दैन अभाव
तै पनि सन्तोष गरेर बस्छ, खोज्दैन वैभव।
नेपाली वीर, पुर्खाको नासो, मनको गौरव
आफ्नो छ छाती, विदीर्ण तर, प्रफुल्ल बन्दछ।
देशको माया, उसैले गर्छ, माटोको रक्षक
किसानभन्दा को छ र ठूलो हृदय पवित्र।
देशको माटो, शिरमा राख्ने, कर्मको पूजारी
बढ्दछ अघि, कर्मका निम्ति, बन्दैन भिखारी।
आश न गर्छ, न भर पर्छ, न राख्छ अपेक्षा
हे कर्मजीवी किसान साथी, सहस्र सलाम छ।